‘तुलु राजा’ लेखनको कथा : लखन थापा र बाकावीरभन्दा तुलेको विद्रोह जेठो

गोरखाका लखन थापा र सुदूरपश्चिमका बाकावीरकै स्तरको विद्रोह नभए पनि तुलेको विद्रोहको कारण भने उस्तैउस्तै थियो ।

मंसिर २०, २०८२

चन्द्रप्रकाश बानियाँ

The story of writing 'Tulu Raja': Tule's rebellion is older than Lakhan Thapa and Bakabir

What you should know

काठमाडौँ — तुले रोहानीको कथा लेख्ने योजना निकै पुरानो हो । के–के मिलेन, मिलेन । निकै विलम्ब भयो । लेख्छु भनेर मसक्क आँटेपछि पनि केही अप्ठ्यारा आइलागे ।

पाखापानीको भूगोलसँग उति गहिरो चिनजान नहुनु मुख्य कारण थियो । अर्को अप्ठ्यारो पनि थियो । कथा ‘तुले रोहानी’को सुनिएको थियो । तुलेको नामसँग जोडिएको 'रोहानी' थर हो कि होइन भन्ने कुराले पनि लामो समय अलमल्यायो । पाखापानीकै केही इष्टमित्र, आफन्तले 'रोहानी होइन; पाइजा लेख्नुपर्छ' भन्ने सल्लाह दिनुभयो ।

गाउँघरतिर केटाकेटी उमेरमा लेकाली बस्तीका मानिसहरू छन्त्याल, मगर आदि सबैलाई रोहानी (र्‍वानी, रुइनी) भनिएको सुनेको हो । नराम्रो अर्थमा रोहानी भनिएको हो भन्ने जानकारी थिएन । मगर समाजकै केही विद्वान् मित्रसँगको कुराकानीबाट पनि रोहानी वास्तवमा किन भनिएको हो भन्ने रहस्य खुल्न सकेन । सायद रोहानी गालीको रूपमा प्रयोग हुने शब्द रहेछ कि जस्तो पनि लाग्यो ।

लेख्दै गर्दा पुनहरूको एउटा समूहले “हाम्रो जाति अलग हो, मगर होइन” भन्ने अभियान चलाउन थालेको देखियो, सुनियो । त्यसैले तुलेसँग रोहानी मात्र होइन, मगर जोड्नु पनि उपयुक्त नहुने परिस्थिति बन्यो । रोहानी लेख्नुपर्छ/लेखनुहुन्न, मगर भन्नुपर्छ/भन्नु हुँदैन भन्ने दुबैथरी तर्क–सुझाव धेरै पुन मित्रबाट आए । पुनहरूको किचलोले ‘एउटी माग्ने पानी, अर्की माग्ने घाम, अभागी म कतातिर जाऊँ’ जस्तै परिस्थिति निर्माण गरिदियो ।

कसैले माने पनि नमाने, वरपरका छिमेकी गाउँलेहरूले पाखापानीलाई एउटा मगरवस्तीको रूपमा चिन्दै आएको कुरा सत्य हो ।

पाखापानी झिगुरुकतिरकी एउटी महिलालाई तुले रोहानीका बारेमा केही जान्नुहुन्छ भनेर सोध्दा उनले ‘ए, तुलु राजा’ भनेर आदरपूर्वक नाम लिइन् । स्थानीय बासिन्दाले तुलेलाई साँच्चैको राजा मानेछन् । माया र सम्मान गरेछन् । पुन समाजको प्रकाशन ‘पुन जाति र भाषा’ पुस्तकमा पनि तुले राजाका बारेमा केही किंवदन्ती कथाहरू समेटिएका रहेछन् ।

पाखापानीको वर्तमान अवस्था हेर्दा आजभन्दा झण्डै दुई सय वर्षअघिको अनुमान गर्दा, त्यतिखेर पाखापानीलाई राजधानी बनाएर कुनै राज्य स्थापित भएको थियो होला भनेर कल्पना गर्न गाह्रो पर्छ ।

पुन समाजले प्रकाशित गरेको ‘पुन जाति र भाषा’ पुस्तकमा पाखापानीभन्दा एक किलोमिटर माथि देउराली भन्ने ठाउँमा तुले राजाको दरबार थियो भनेर लेखिएको छ । स्थानीय बासिन्दाले भने त्यस ठाउँलाई ‘बारवन’ भनिन्थ्यो । तुले मारिएको ठाउँमा आज सिद्धस्थान रहेको छ । सिद्धस्थान पुरानै हो कि नयाँ स्थापना भएको हो भन्ने बताउन सक्ने मान्छे फेला पर्दैन ।

बारवनमा दरबार होइन, गोरखालीसँग लड्नका लागि अस्थायी किल्ला बनाइएको थियो भनिन्थ्यो । तत्कालीन बाग्लुङ–बेनीका कर्मचारीले सरकारलाई लेखेको पत्रमा भने तुले रोहानी देउराली डाँडामा तम्बु टाँगेर बस्थे भनेर लेखिएको छ ।

न दरबारको भग्नावशेष बाँकी छ, न त्यतिबेला गाउँ–ठाउँमा तम्बुको व्यवस्था हुन सक्थ्यो भन्ने पत्याउन सकिन्छ । किल्लाको अवशेष पनि देखिँदैन । “राजापानी” भनेर चर्चित पानीको मूल कुन हो भनेर बताउन सक्ने मान्छे पनि कोही फेला परेन ।

गाउँदेखि अलि तल बारीको छेउतिर बर्खामा पानी पलाउँछ, हिउँदमा भने चिसो मात्र रहन्छ भन्ने जानकारी मिल्यो । सम्भवतः प्रयोग गर्न बन्देज लगाइएको 'राजापानी' भनेको त्यही होला भन्ने अनुमान गर्नुपर्ने हुन्छ ।

गोरखा राज्यको शासन–प्रशासनसँग तत्कालीन समयमा जनता असन्तुष्ट रहेको, सानो–ठूलो विद्रोह हुने, र राज्यद्वारा दमन हुने सन्दर्भमा पाखापानीका तुले पाइजासहित अरु आधा दर्जन मानिसको हत्या भएको कुरा सत्य थियो ।

गाउँलेहरू असन्तुष्ट हुनु स्वाभाविक देखिए पनि, विद्रोहविरुद्ध सशक्त प्रतिरोध र हत्या–दमनमा उत्रनुपर्ने कारण के थियो भन्ने अनुमान गर्न कठिन थियो । मसिनो अध्ययन–विश्लेषणबाट फेला परेका सम्भावित कारणका आधारमा ‘तुलु राजा’ को कथा लेखिएको छ । कथाका धेरै पात्र वास्तविक छन् । पात्रको चरित्र काल्पनिक भए पनि, नाम सकभर इतिहासबाटै लिने कोसिस गरिएको छ ।

गोरखाका लखन थापा र सुदूरपश्चिमका बाकावीरकै स्तरको विद्रोह नभए पनि, तुलेको विद्रोहको कारण भने उस्तै–उस्तै थियो । उमेरका हिसाबले अघिल्ला विद्रोहभन्दा तुलेको विद्रोह जेठो छ । कारण पनि फरक थियो भन्ने सहज अनुमान गर्न सकिन्छ ।

नेपालका अधिकांश राज्यविद्रोह राणाशाही स्थापनापछि देखिन्छन् । तुलेको विद्रोह भने राणाकालपूर्वकै हो । भीमसेन थापाको पतनपछि काठमाडौंको सत्ता लामो समय अस्थिर रहेको थियो । भीमसेन थापाको पतनमा महत्त्वपूर्ण भूमिका निभाउने काजी रणजङ्ग पाण्डेको दोस्रो मुख्तियारीकालको घटना थियो– ‘पाखापानी विद्रोह’ ।

कागज–प्रमाणले तुलेलाई रोहानी भन्छ । बाग्लुङ गोश्वारा अड्डाका कर्मचारीको निवेदनमा स्पष्टसँग ‘तुले रोहानी’ लेखिएको छ । आजका दिन रोहानी थर प्रचलनमा छैन । रोहानी थर हो कि होइन भनी किटान गर्न सकिँदैन ।

यतिखेर पाखापानी सप्तरंगी मगरवस्तीमा फेरिएको छ । उतिखेर मूलतः पाइजाहरूको बसोबास थियो भन्ने स्थानीय भनाइ छ । त्यसैले तुलेको वंशानुगत थर पाइजा नै थियो भन्नुपर्छ ।

उपन्यासको नाम ‘पाखापानी विद्रोह’, ‘तुले रोहानी’ अथवा ‘तुले पाइजा’ राख्ने सोच थियो । पाखापानीकी एउटी साधारण महिलाको मुखबाट निस्केको ‘तुलु राजा’ भन्ने मीठो सम्बोधनलाई उपन्यासको नाम दिनु उचित लाग्यो । उपन्यासको न्वारानको श्रेय उनैलाई जान्छ । तर उनको नाम सम्झनामा रहेन । सायद नाम सोधिएन होला ।

तुले पाइजाको कथाको ऐतिहासिक पक्ष ज्ञानमणि नेपालको ‘नेपालको महाभारत’, डा. कर्णबहादुर बानियाको ‘म्याग्दीको इतिहास, संस्कृति र सम्पदा’ र चन्द्रप्रकाश बानियाको ‘पाखापानी विद्रोह’बाट लिइएको छ । र मेजन पुनको उपन्यास ‘धौलासिरी’, ‘अनुसन्धानपत्र’ तथा ‘पुन समुदायः एक अध्ययन’ र पुन समाजको ‘पुन जाति र भाषा’ लाई आधार बनाएर सामाजिक पक्ष तयार गरिएको छ ।

पाखापानीको भूगोलको मसिनो जानकारी लिने क्रममा तोरीपानीका गङ्गाबहादुर बानिया, कृष्ण बानिया, अमर मावि पाखापानीका प्रधानाध्यापक युव गर्बुजा तथा शिक्षिका सुशीला पाइजाले ठूलो सहयोग गर्नुभएको छ ।

‘महारानी’ उपन्यासमा परेको पुरानो पर्वते बोलीले पाठकलाई अप्ठ्यारो परेको गुनासा आएका थिए । त्यसैले यसपटक राउगाड सेरोफेरोको बोली प्रयोग गर्ने हिम्मत गरिएन । स्थानीय पाठकलाई त्यो विषय खट्कन सक्छ । त्यसका लागि क्षमायाचना गर्दछु ।

थोरै भए पनि पाखापानीमा बोलिने भाषिकाको नमुनाका रूपमा कथामा प्रयोग गर्ने कोसिस गरिएको छ । के–के मिलेन, मिलेन । पाखापानीमै जन्मिए पनि बसाइँ सरेर अन्यत्र गएका मानिसका लागि त्यो भाषिका दुर्बोध्य भइसकेको रहेछ । भाषा जान्नेहरूको सहयोग पाउन सकिएन । यो मेरै कमजोरी हो ।

पाठकलाई झिँजो लाग्ने भए पनि, प्रसङ्ग मिलाएर स्थानीय संस्कृतिको मसिनो विवरण राख्ने मनसाय थियो । यही भेकका एकजना मित्रले तदविषयक एमएको थेसिस लेखेको छु भन्नुभएको थियो । तर, लेख्नेले आफैंले अनुसन्धान गर्नुपर्छ, अरुले किन सहयोग गर्ने भन्ने तर्कमा ती मित्र पनि बहकिए सायद ।

आफैले अनुसन्धान गर्ने हो भने, कम्तिमा एक वर्ष त्यही भेकमा बस्नुपर्ने हुन्थ्यो । त्यस्तो सम्भावना थिएन । कहिले त नलेखूँ कि जस्तो पनि लाग्यो । तर मनले मानेन । पूर्ण त के हुन्छ र ? जति भेटिन्छ, त्यति लेखिदिँदा पनि आंशिक इतिहास सुरक्षित रहन्छ । कथा जीवित रहन्छ ।

मानिसले कुरा काट्न त कहिले छोड्छ र ? नलेखिएको कुरामा प्रश्न उठाउँछन्, लेखिएको कुरामा पनि प्रश्न र गुनासो गर्छन् ।

नलेखिएको कुरामा प्रश्न उठाए पनि, लेखिएको कुरामा प्रश्न र गुनासो नआओस् भन्ने इमानदार प्रयास गरिएको छ भन्ने ढुक्कसँग भन्न सक्छु । बस् ।

चन्द्रप्रकाश

Link copied successfully