जिमखाना कृत्रिम स्पेस, साइक्लिङ विशाल प्राकृतिक संसार : तारालाल श्रेष्ठ [अन्तर्वार्ता]

'नियमित साइकल सवारी जिमखानाको विकल्प बन्न सक्छ। त्यसैले त चिकित्सकहरूले हिँड्नुभन्दा स्वीमिङ र स्वीमिङभन्दा बढी लाभदायी साइकल जीवनशैली अपनाउन सुझाउँछन्।'

मंसिर १८, २०८२

दीपक सापकोटा

Gymkhana is an artificial space, cycling is a vast natural world: Taralal Shrestha [Interview]

What you should know

साइकल अभियन्ता, आख्यानकार, अनुसन्धाता र ‘साइकल सौन्दर्य’ किताबका लेखक तारालाल श्रेष्ठसँग दीपक सापकोटाको किताब–वार्ता :

भनिन्छ– साइकल सवारीको साथै सक्रिय जीवनशैली जीउने साधन पनि हो। त्यो कसरी ?

'साइकल जीवनशैली नअपनाएको भए उहिल्यै म त माटोमा मिलिसक्थें' भन्नेहरू धेरै भेटेको छु। यस ‘साइकल सौन्दर्य’ किताबमा उनीहरूको सत्यकथा समेटेको छु। जीवनको अमूल्य सम्पत्ति शारीरिक तन्दुरुस्ती नै रहेछ। राष्ट्र बलियो बन्न पनि निरोगी नागरिक नै चाहिन्छ। अस्वस्थ अगुवाले देशलाई पनि बिरामी बनाउन सक्छ। साइकल जीवनशैलीले तन र मन दुवैलाई ध्यानमग्न लयमा बाँधेर शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्य–लाभ गराउन मद्दत गर्छ।

सक्रिय प्राकृतिक जीवनपद्धतिको प्रतीक हो, साइकल सवारी। साइकलको जस्तो आनन्ददायी गतिशीलता अरू कुनै सवारीले दिन सक्दैन।

साइकल–जीवन सुन्दर जीवनशैली जिउने संस्कृति त मानिन्छ, तर त्यही साइकल किन अहिले त्याज्य वस्तुजस्तो बनेको छ?

मध्यम वर्ग अलि बढी आडम्बरी छन्। उनीहरू स्वाङ्गे संस्कृतिमा रमाउन खोज्छन्। साइकल जीवनशैली कहिल्यै त्याज्य थिएन र छैन। आविष्कार भएको दुई शताब्दीभन्दा बढी भइसक्दा पनि साइकलको प्रयोग घटेको छैन, बरु बढेको छ। नयाँ–नयाँ स्वरूपमा साइकलको आविष्कार बढ्दो छ, घट्दो छैन। निम्न स्तरको साधन मात्र होइन साइकल सवारी। विश्वका बेस्ट ब्रेनहरू साइकल जीवनशैली रोजिरहेका छन्। सडकमा धेरै साइकल पनि थोरै देखिन्छ। थोरै यान्त्रिक साधन पनि धेरै देखिन्छ। एउटा कारले ओगटेको ठाउँमा दर्जनौं साइकल अटाउँछ। कोठा–कोठा जहाँतहीँ साइकललाई सजाउन सकिन्छ। यसर्थ, एक अर्बभन्दा बढी साइकल संसारका कुनाकाप्चामा हरपल कुदिरहेका हुन्छन्।

नेपालमै मिथकीय हिमालदेखि तराईका कुनाकाप्चासम्म साइकल हाँक्नेहरू हजारौं होइन, लाखौं छन्। यान्त्रिक साधनभन्दा साइकल नै बढी छन्। मेरै घरमा सपरिवार आ–आफ्नै साइकल छ। परिवारका सबै सदस्यले कार पाले भने बर्बाद हुन्छ। साइकल शरीरको एउटा हिस्साजस्तै घरभित्रै सबैले सजाएर राख्न सकिन्छ। सडकमा सहजै कुदाउन सकिन्छ। जहाँतहीं पार्क गर्न सकिन्छ। यस्तो सहज सवारी संसारमै अरू अहिलेसम्म आविष्कार भएको भेटिँदैन। हाम्रो राज्य–सत्ताले साइकल संस्कृतिलाई सधैं निरुत्साहित गर्दागर्दै पनि साइकल जीवनशैली मरेको छैन, मर्नेवाला छैन। लेखेरै राख्नुस्, साइकल संस्कृति कदापि सकिँदैन, बरु बढ्नेछ।

महँगा गाडीहरू समृद्धिका प्रतीक भइरहेको यो समयमा ‘साइकल चढ, यो चढ्नैपर्छ’ भनेर भनिरहे पनि कसले टेर्ने? किन टेर्ने?

कसैले नटेरे नटेरोस्। हामी हाँक्छौं, हाँकिरहन्छौं, साइकल। कार कल्चर समृद्धिको प्रतीक हुँदै होइन। जल, जमिन, जंगल केहीको पनि हितमा छैन, कार कल्चर। काठमाडौंजस्ता सम्पदा सहरहरूको सत्व जोगाउन साइकल संस्कृतिको विकल्पै छैन। यो बटुकजस्तो उपत्यकाको दीगो यातायात निजी यान्त्रिक साधन हुँदै होइन। हाम्रो समग्र स्वास्थ्यका लागि पनि मोटर–कार क्रेजी जीवनशैली बेकार साबित भइसकेको छ। मोटरसाइकल मेट्रोपोलिटन सिटीजस्तो पनि सुहाउँदैन यहाँ। यद्यपि म कार विरोधी होइन। विकास विरोधी पनि होइन। बेकारमा कारको बोझ बोक्नेहरूदेखि भने दया लाग्छ।

केही किलोमिटर यात्रामा कार चाहिएजस्तै चाहिएन। साइक्लिङले कसैलाई कहिल्यै बेफाइदा गर्दैन। एक वर्ष नियमित साइकल चढ्नुस्, अर्को एक वर्ष नियमित कार चढ्नुस्। र, दाँज्नुस् आफ्नो शारीरिक–मानसिक स्वास्थ्य अवस्था। आफ्नै शरीरलाई हेर्दै अन्तरमनलाई सोध्नुस् कुन जीवनशैलीले के दियो, के दिएन? अर्काको कुरा किन सुन्ने? आफैं अनुभव गरेर हेर्नुस् न। आफ्नै अन्तरमनलाई सोध्नुस्। चराको जस्तो चङ्गा जीवनशैली छाडेर कोही किन बाँच्न चाहन्छन्, बोझिलो जीवन?

त्यसोभए, इज्जत बन्नुपर्ने साइकल उपेक्षित किन छ? सडकमा साइक्लिस्टहरूले ठूला सवारीहरूबाट पेलान खेप्नुपर्छ— खतरा, अपमान र उपेक्षा त छँदैछ। ठूला सवारी–चालकलाई सद्बुद्धि प्रदान गर्न कसरी सकिएला?

सर्वप्रथम राष्ट्रिय साइकल–कानुन चाहिन्छ। साइकल संस्कृति स्थापित देशहरूमा साइकल कानुन बनेका छन्। हामीले देशभरबाट हस्ताक्षर बटुलेर सर्वोच्च अदालतमा रिट दायर गर्‍यौं। सर्वोच्च अदालतबाट निर्देशनात्मक आदेश पनि पायौं। हामी पूर्णपाठको प्रतीक्षामा थियौं। सर्वोच्च अदालतमा पनि आगलागी भयो। उक्त फैसलाको पूर्णपाठ अब के होला? जे होस्, साइकलप्रेमी घट्ने छैनन्। उनीहरू उपेक्षित पनि छैनन्। कसैको सोचमा समस्या छ। हामी त साइकल साथीलाई अति सम्मान गर्छौं। कार चढ्दैमा महान अनि साइकल हाँक्दैमा कोही कनिष्ठ हुँदै हुँदैन। सकेसम्म साइकल, साह्रो–गाह्रो पर्दा यान्त्रिक साधन रोज्ने सोच विकास गर्न बौद्धिक र व्यवहारिक अभियान आवश्यक छ।

पाठ्यक्रममा पनि यस्तो नैतिक गतिशीलताको महत्त्वबोध गराउने विषय समावेश गरिनुपर्छ। शिक्षण संस्कृतिसँग साइकल संस्कृति जोड्नुपर्छ। सबै सवारीको अस्तित्व छ, आवश्यकता पनि। आम सवारीमाझ साइकललाई केन्द्रमा राखिनुपर्छ। किनकि निकै नैतिक सवारी साधन पनि हो, साइकल।

साइकलले भौतिक रूपमा गन्तव्यमा मात्र पुर्‍याउँदैन र प्रत्येक पेडलले मन, मस्तिष्क, मुटुलाई खुसी बनाउँछ भनिन्छ। त्यसलाई विस्तारमा भन्नुस् त।

यो सही कुरा हो। साइकल हाँक्नेहरू हँसिला, रसिला, फुर्तिला हुन्छन्। दिक्दारी, अनिद्रा, आलस्य, अपच सबै भाग्छ। भोक, प्यास, निद्रा लाग्छ। सार्थक जीवनशैली सादगीमा खोज्न थाल्छ। जतिजति नयाँ ठाउँ पुग्यो, उतिउति परपर पुग्न मन लाग्छ। आजभन्दा भोलि अझ बढी परसम्म साइकल हाँक्न सक्ने हिम्मत बढ्छ। साहसिक संसारमा रमाउन मन लाग्छ। उदाहरणका रूपमा हामी थोरङ्ला पास पार गरेर अन्नपूर्ण सर्किटमा समेत साइकल कुदाउँछौं। वर्षेनी हजारौं साइक्लिस्ट विश्वभरबाट हाम्रा हिमालहरूमा साइकल हाँक्न नेपाल आउँछन्।

Gymkhana is an artificial space, cycling is a vast natural world: Taralal Shrestha [Interview]

गत महिना विश्वका विभिन्न देशका प्रसिद्ध प्राध्यापक, डाक्टर, व्यवसायीहरूसँग हामीले अन्नपूर्ण सर्किट हिमालमा साइकल हाँकेर आयौं। त्यसमध्ये क्यालिफोर्निया, अमेरिकाका प्राध्यापक डाक्टर पनि सहभागी थिए, वरिष्ठ सर्जन अमिर मातित्याहु। उनी दैनिक १६ घण्टासम्म अपरेसन थिएटरमा बिताउँदा रहेछन्। जीवन सिद्धिएको बोध भएपछि साइक्लिङबाट पुनर्ताजगी प्राप्त गर्दा रहेछन्। त्यति व्यस्त सर्जन वर्षेनी विश्वभर साइकल हाँक्न हिँड्दा रहेछन्। यस वर्ष हामीसँगै १० दिन अन्नपूर्ण सर्किटमा साइकल हाँकेर स्वदेश फर्किए, वरिष्ठ प्राध्यापक डाक्टरहरूको समूहसहित। अर्को दिनदेखि फेरि नियमित सर्जरीको तालिका देखाउँदै थिए मलाई, हिमालमा साइकल हाँक्दै। मुटुको धड्कन, अक्सिजन लेभल र साइकलको गतिमा सामञ्जस्यता ल्याउँदा समग्र स्वास्थ्यमा फाइदा पुग्दो रहेछ। यो पेडल पेल्दापेल्दै महसुस गर्ने कुरा रहेछ।

यस्तो साइकल सौन्दर्यबोध नगरिकन अनगिन्ती मानिस मरेर गए, मर्दैछन्, मरेर जानेवाला छन्। समग्र खुसीलायी तन्दुरुस्त सक्रिय ताजगी जीवनशैलीमै रहेछ। त्यो नियमित साइक्लिङजस्तो सक्रिय जीवनशैलीबाट प्राप्त हुन्छ। अन्य व्यायामभन्दा साइक्लिङ सबैभन्दा शक्तिशाली साधन भन्ने यथार्थ अनुसन्धानबाटै सिद्ध भइसकेको छ। अझ चालिस वर्ष कटेपछि साइकल जीवनशैली अपनाउनु जीवनको सबैभन्दा सुन्दर निर्णय बन्न सक्छ। तौल बढी भएकाहरू हिँड्दा घुँडाको हड्डी खिइने समस्या हुँदो रहेछ। साइकल वा पौडीजस्ता सक्रिय जीवनशैलीले हड्डी खिइने समस्याबाट पनि बचाउँदो रहेछ।

हामीसँग गत महिना अन्नपूर्ण सर्किटमा साइक्लिङ गर्ने सहकर्मी ६९ वर्षसम्मका थिए। सबैभन्दा ज्येष्ठ नागरिकको स्टामिना देखेर युवावर्ग चकित परे। हामीसँग नियमित साइक्लिङमार्फत अन्तिम स्टेजको क्यान्सर जितेका थोरङ्ला पास पार गर्ने साइकल साथीहरू पनि थिए। साइकल हाँक्दाहाँक्दै मर्न पाए हुन्थ्यो भन्नेहरू थिए। साइक्लिङमा जत्तिको थेरापी अचुक औषधि अरू कुन चीजमा होला?

‘जिमखाना नधाउ, साइकल चलाउ’ भन्ने पनि रहेछन्। साइकल नै सम्पूर्ण व्यायामको गुरु भइदिएको भए न संसारमा जिमखाना जन्मिन्थे, न मान्छे रोगी हुन्थे। साइकल सवारी कसरी जिमखानाकै विकल्प बन्न सक्छ?

हामी साइकल नै सबै थोक हो भन्दैनौं। जिमखानाको आफ्नै अस्तित्व छ। साइकल जीवनशैली अपनाएपछि जिमखाना सधैं धाइरहनु पर्दैन। साइकल दैनिकी रोजेपछि जिमखाना जान छाडेका धेरै साइकल साथी छन्। जिमखाना कृतिम सीमित स्पेस हो भने साइक्लिङ विशाल प्राकृतिक संसार। जिमखाना जाने समयमा नियमित साइक्लिङ गर्दा कामसँगै व्यायाम पनि हुने भयो।

नियमित साइक्लिङले थेरापीकै काम गर्छ। जिमखाना जाँदाजाँदा वाक्कदिक्क लाग्छ। साइक्लिङमा कहिल्यै वाक्कदिक्क लाग्दैन। झन्–झन् परपरसम्म पेडल पेल्दै नयाँ ठाउँ पुग्न मन लाग्छ। शरीर सर्लक्क साइजमा बस्छ। मन सधैं फुरुङ्ग र रङ्गीन रहन्छ। नियमित साइकल सवारी जिमखानाको विकल्प बन्न सक्छ। त्यसैले त चिकित्सकहरूले हिँड्नुभन्दा स्वीमिङ र स्वीमिङभन्दा बढी लाभदायी साइकल जीवनशैली अपनाउन सुझाउँछन्।

साइकलले इन्धन खपत गर्दैन, हाम्रै ऊर्जाबाट चल्छ, न धुँवा फाल्छ, न आवाज निकाल्छ। यसो हुँदा साइकल संस्कृति मौलाउनै पर्ने हो र सहरका सडक शान्त, प्रदूषणमुक्त रहनुपर्ने हो। हामीले मानिसलाई यसको महत्ता बुझाउन सकेनौं कि तिनले बुझेर पनि साइकललाई बाले दिएनन्?

हाम्रो समाज स्वाङ्गे समाज हो। हाम्रा अगुवा, सेलिब्रिटी समेत स्वाङ्गे भइदिएपछि कसको के लाग्छ र? यद्यपि, साइकल सौन्दर्य बुझ्नेहरू बढ्दै छन्। बौद्धिक र व्यवहारिक अभियान चलाउन सकिए क्रमशः साइकल सहरको सपना विपना बन्न सक्छ। काठमाडौं उपत्यका संसारकै सबैभन्दा सुन्दर साइकल सहर बन्न सक्छ। हाम्रा प्राध्यापक, डाक्टर, शिक्षक, कर्मचारी, सेना, प्रहरी सबैको ध्यान यान्त्रिक साधनतिर छ। चिकित्सक पनि कार क्रेजी छन्, अपवादबाहेक। अभियन्ता छिपछिपे छन्। शासक त झन् स्वाङ्गे, आडम्बरी, सामन्ती शैलीका भोका छन्। यसर्थ, कन्सल्टेन्ट कल्चरभन्दा पर, सार्वजनिक वृत्तमा साइकल सौन्दर्यलाई स्थापित गराउन बौद्धिक वर्गको भूमिका अत्यावश्यक हुन्छ। हामी यहाँ चुकेका छौं।

हाम्रो पाठ्यक्रम, अध्ययन, अनुसन्धान, संस्कार सबैतिर सादगी जीवनशैलीलाई स्वीकार गर्ने संस्कृति विकास गर्नुपर्ने छ। आजसम्म शासक वर्गले सक्रिय गतिशीलतालाई महत्त्व दिएको छैन। बौद्धिक वर्ग तिनकै पक्षपोषणमा लाग्नु हुन्न। अहिले धेरै नचढे पनि घरमा साइकल राख्ने, बेलाबेला मनोरञ्जनका रूपमा साइकल चढ्नेहरू बढ्दै छन्। “मेरो पनि साइकल छ नि” भन्नेहरू भेटिन्छन्। विस्तारै उनीहरूले साइकल सवारीलाई बढावा दिन सक्ने सम्भावना छ। उत्प्रेरक वातावरण बनाइदिन सकिए साइकल संस्कृति उर्लाउन असम्भव छैन। म त आशावादी छु।

भन्छन् जान्नेहरू– साइकल व्यावहारिक मात्र होइन, भावनात्मक पनि छ। साइकलको गति हाम्रो सासको लयसँग तालमेल हुन्छ र साइकलले पृथ्वीलाई थप उकुसमुकुस हुनबाट जोगाउँछ। तपाईंहरू पनि यस्तै–यस्तै भन्नुहुन्छ, तर न भुइँमान्छे साइकलप्रति आकर्षित छन्, न मोटरसाइकल हाँक्ने मध्यमवर्ग नै साइकललाई साधन बनाउन चाहन्छ। मोटरसाइकल किन्ने हैसियत बनेको दिन भुइँमान्छेले पनि साइकल त्याग्छ। किन यस्ता दिन आए?

मान्छे सुविधाभोगीको साथसाथै स्वार्थी प्राणी पनि हो। साइक्लिङबाट लाभ–हानि प्राप्त हुने कुरा सुनाएर मात्र हुँदैन, बोध गराउन सक्नुपर्छ। स्कुलदेखि विश्वविद्यालय तहसम्म पाठ्यक्रममै हामीले सिर्जनात्मक शैलीमा हस्तक्षेप गर्नुपर्ने छ। सादगी, स्वास्थ्य, तन्दुरुस्त जीवनशैली नै सम्पत्ति मान्ने मानक स्थापित गर्नु छ। साइकल सबैभन्दा सुन्दर साधन र साध्य मान्ने मानक बनेपछि साइक्लिङबिना मानिस बाँच्नै नसक्ने खालको संस्कृति विकास हुन सक्छ। विचारशील, ज्ञानी, ध्यानी मानिसले साइकल सौन्दर्यलाई अस्वीकार गर्नै सक्दैन।

तपाईंले भनेजस्तै मोटरसाइकल र स्कुटीमा कुद्ने मध्यम वर्ग धेरै छन्। सकिनसकी कार पाल्नेहरू पनि बढ्दै छन्। सब साधन विकल्प हुँदाहुँदै साइकल जीवनशैली रोज्ने पनि छन्। जीवन बाँच्ने विकल्प छ भने हामी यस्तो जीवनशैली अपनाइकन बाँकी जीवन बाँचौं कि आफ्नै इतिहासतिर फर्केर हेर्दा भोलि झसङ्ग भई तर्सिन नपरोस्।

उसोभए साइकललाई नै जीवनको अभिन्न अंग वा संस्कृति बनाउन के–के अभियान वा योजना ल्याउनुपर्ला?

राष्ट्रिय नीतिसँगै सामूहिक साइकल आन्दोलन हाँक्नुपर्छ। अगुवाले सादगी जीवनशैली अपनाउने संस्कृति विकास गर्नुपर्छ। हप्ताको एक दिन साइकल–बार घोषणा गरी यसलाई अवलम्बन गरिनुपर्छ। यान्त्रिक सवारी चालकलाई साइकल शिक्षा दिइनु उत्तिकै आवश्यक छ। पैदल, सार्वजनिक सवारी वा नियमित साइकल चलाउने जीवनशैलीप्रति अभिप्रेरित गर्ने चिन्तन विकासमा बौद्धिक वर्गले अग्रणी भूमिका खेल्नुपर्छ। पेडल पेल्दा अलिकता पसिना पोखिँदैमा, धुलोमैलो लाग्दैमा केही फरक पर्दैन। रोग लाग्यो भने चाहिँ धेरै फरक पर्छ जिन्दगीमा।

रोगको बोझ बोकेर सुकिलामुकिला बन्नुको अर्थ छैन। नीति निर्माता सम्मलाई बोध गराउने व्यवहारिक, बौद्धिक र सामूहिक अभियान उर्लाउनु आवश्यक छ। हाम्रा शिक्षालय, समाज र संस्कृति पैदल, सार्वजनिक सवारी तथा साइकलमैत्री गतिशीलतालाई प्रश्रय दिने खालको बनाउनुपर्छ। जबरजस्ती लादेर होइन, वातावरण बनाइदिएर आम नागरिकलाई अभिप्रेरित गर्ने हो।

अपवादबाहेक साइकल मान्छेको दैनिकीबाट कटिएर केवल त्यसमाथि केही अति मोह भएका साइक्लिस्टको फेसन मात्र बनिरहेका बेला यो कसरी फेरि दैनिकी बन्न सक्ला?

साइकल संस्कृति हाम्रो दैनिकीबाट बाहिरिनुमा हाम्रो शासकीय पद्धति दोषी छ। शासकीय पद्धतिले सामन्ती जीवनशैलीलाई सम्मान दियो। जमिनसँग जोडिएको जीवनशैलीलाई सम्मान गरेन। शिक्षण पद्धतिले पनि यस्तै कुरा सिकाइदियो। पपुलर कल्चरले त्यस्तै कुरालाई प्रश्रय दियो। घुमिफिरी मानिस फेरि माटोसँगै नजिक हुनैपर्छ। मानिस माटोसँग नजिक हुँदैछन्। पसिनालाई प्रेम गर्दैछन्। साइकल फेसनसँगै साधारण तथा असाधारण साहसिक जीवनशैली पनि बन्दैछ। साहसिक जीवनशैलीले आत्मबल, आत्मसम्मान र हिम्मत दिन्छ। कतिलाई साइकलले जीवन गुजाराको आधार दिन्छ। कतिलाई पहिचान पनि दिन्छ।

साइकल संस्कृतिलाई बहुआयामिक दृष्टिले हेरिनु आवश्यक छ। कवाडीवालादेखि मनोरञ्जन तथा सुपर साहसिक साइकल प्रयोगकर्ताका कथा विशिष्ट छन्। साइकलबाटै गुजारा गर्ने अनगिन्ती छन्। एकपक्षीय दृष्टिले साइकल संस्कृतिलाई हेर्नु हुँदैन। बहुपक्षीय दृष्टिबाट हेर्दा साइकल संस्कृति सप्तरङ्गी देखिन्छ।

‘साइकल केवल अभियन्ताको फेसन भयो’ भन्दाभन्दै पनि यो तराई–मधेसको रक्तनली वा धमनी नै हो। पहाडचाहिँ साइकलबाट कसरी र किन विरक्तियो?

साइकल पहाडका लागि पनि उत्तिकै उपयोगी साधन हो। अप–हिल र डाउन–हिल दुवै साइकल–सौन्दर्य पहाडमै पाइन्छ। उकालोपछि ओरालो, ओरालोपछि उकालोको मज्जा बेग्लै हुन्छ। हाम्रा मिथकीय ग्रेट हिमालयहरूमा समेत साहसिक साइक्लिङ पर्यटन बढ्दैछ।

अहिले त अझ पेडल–असिस्टेड विद्युतीय साइकल आएको छ। पेडल अलिकता पेल्दा पनि उकालोमा सलल साइकल कुद्छ। मैले पनि काठमाडौंमा दैनिक ४० देखि ५० किलोमिटर सहजै पेडल पेलिरहेको छु। हिमालमा पनि साइकल हाँकिरहेको छु, पहाडको त के कुरा? तराईको आफ्नै आनन्द, पट्यार पनि– निरन्तर पेडल पेल्नुपर्छ। पहाडमा आफ्नै सुखदुःख छ। उकालोको क्षतिपूर्ति ओरालोले भर्छ।

साइकल संस्कृतिका अभियन्ता, सुप्रसिद्ध वन्यजन्तुविद् डा. प्रल्हाद योञ्जन साइकलको पेडल घुमाइरहँदा ट्रकको ठक्करबाट परलोक भए। असलमा नेपालमा साइकलवाला असुरक्षित छन्। तिनलाई कसरी ‘साइकल सुरक्षित छ’ भनेर आश्वस्त पार्ने? सरकारले ‘सुरक्षित साइकल यात्रा’का लागि केही सोचेको छ? वा सरकारले के सोच्नुपर्छ?

राष्ट्रिय साइकल नीतिबाटै साइकल यात्रीलाई सुरक्षा प्रदान गर्नु राज्यको दायित्व हो। सडक सबै यात्रीका लागि समान हुनुपर्ने हो, तर साइकल तथा पैदल यात्री मारमा पर्छन्। दुर्घटनाको शिकार हुन्छन्। साइकलले ठक्कर दिएर संसारमा आजसम्म कोही मानिसको मृत्यु भएको छैन। यान्त्रिक साधनबाटै अत्यधिक दुर्घटना हुने गर्छ। साइकल सहरको अवधारणा अवलम्बन गरिएपछि दुर्घटना शून्यमा झारेका सहरहरू विश्वभर बढ्दैछन्। काठमाडौं उपत्यकाजस्ता सम्पदा सहरहरूमा अत्यधिक प्रदूषणसहित दुर्घटना बढ्दो छ। हाम्रा सम्पदा सहरहरूलाई साइकल–सहरमा रूपान्तरण गर्ने नीति अत्यावश्यक छ। उकालोमा पनि सहजै कुद्न सक्ने इ–साइकल विश्वभरै बढिरहेको सन्दर्भमा हाम्रा पहाडी सहरहरू पनि साइकल–सहर बन्न सक्छन्। काठमाडौं उपत्यका अझ नमुना साइकल सहर बन्न सक्छ, किन सक्दैन? सरकारले चाहेमा साइकल सहर सहजै सम्भव छ।

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully