मुन्दुम पदमार्गमा लेमलेमेको कथा

उनलाई छुन अनेक प्रयास गरेँ, तर कसरी–कसरी नछोइएकी हुन्थिन् । जबरजस्ती छुन खोज्दा उनका रिसाएको ओठ देख्थेँ र म हच्किन्थेँ । बिहानीको झुल्के घामले मेरो अनुहार छोयो, तिनी अलप भइन् ।

कार्तिक २९, २०८२

प्रगति राई

The story of Lemlema on the Mundum Trek

What you should know

‘ओरालोमा लामो कपाल पत्करहरू लतार्दै सररर आवाजका साथ अगाडि बढ्थिन् । मैले उनको कपाल बाहेक केही देख्दिनथेँ । उनको पछिपछि म हिँडेको हिँड्यै ।

रातभरि जङ्गल, गुफा, झरनामा हिँडियो । मैले उनको कपाल टेक्न लाग्दा स्वाट्ट अगाडि तान्थिन् । थकाइ लागेर म हिँड्न नसक्दा उनी मिलेको दाँत देखाएर खिस्स हाँस्थिन्, अनि मलाई पुनः हिँड्ने शक्ति मिल्थ्यो । भीरपहरामा म उक्लिन नसक्दा उनले हात दिन्थिन्, म फुत्त भीरमाथि उक्लन्थें । त्यस्तै शक्ति मलाई सधैं प्राप्त हुनुनि । थकाइ लाग्दामात्र म जहिल्यै लेमलेमेलाई पुकार्छु । फेरि पनि लेमलेमे भेट्न पाए हुन्थ्यो भन्ने मनमा लागिरहन्छ ।’

गाउँका कुरा । जङ्गलका कुरा । बहिनी सरुले बाल्यकालको आफ्नो भोगाइ सुनाइन् । उनलाई एक साँझ लेमलेमेले लगेको रहेछ ।

बैशाख महिना, यसो त मेरो जन्ममहिना पनि । नाना ललिताले भन्नुभयो, ‘स्कुले भू.पु. विद्यार्थीको पुनर्मिलन कार्यक्रम राखेको छ, जाऊँ है ।’

एक नम्बर प्रदेश साकेला गाउँपालिका मेरो बाल्यकाल पढेर, पढेर हिँडेको ठाउँ हो । मैले यसै पनि बारम्बार गईरहनुपर्ने ठाउँ । तर नगएको झन्डै १० वर्ष जति भएछ । नानाको कुराले मनमा ममतामाया/तिर्सना पलायो ।

अनेक लहराले बाधिएको रुखजस्तै समस्याले बाधिएको मेरो जिन्दगीलाई बलजस्ती फुकाउने आँट गरेर ‘हस्’ भनें । स्कुलमा कार्यक्रम दुई दिने भएकाले म दोस्रो दिन मात्र उपस्थिति जनाउने निधो गरें । किनकि त्यहाँ साहित्यका लागि उस्तो स्वागतयोग्य वातावरण छैन भन्ने मेरो धारणा छ । तर म गलत रहेछु भन्ने कुरा त्यहीँ पुगेर थाहा भयो । मैले पहिलो दिन नै जानुपर्ने रहेछ भन्ने ग्लानी भयो । कार्यक्रम आयोजक ‘विद्यार्थी मञ्च’ का अध्यक्ष बाबै शालिक राईले ‘बस’ भन्नुभयो । पछिल्लो दिन मात्र पुगेकाले दाइदिदी, साथीहरू, गुरुहरू सबैको गालीले स्वागत पाएँ । शुभचिन्तकको गाली भनेको त्यस्तै त हो, गालीको ढकनीले छोपेर सम्मान र मायाको उपहार सजाइदिन्छन् । केही क्षणमै मलाई अविर टिका लगाएर सम्मान गरे । आशिर्वाद दिए । मैले कोशेली मेरो उपन्यास ‘थाङ्ग्रा’ केही प्रति उनीहरूलाई चढाएँ । मेरो लेखनबारे बताएँ । प्राचार्य सिवेन्द्र राईले मेरो विषय अघिल्लो दिनको मासमा सुनाउनु छुटेकोमा नराम्रो मान्नुभयो । गालीबाट सुरु भएको भेट अत्यन्त सद्भाव र प्रेमले छुट्यौँ ।

The story of Lemlema on the Mundum Trek

बन्धनबाट खुस्केको जनावरझैं मेरा पाइला माईती–मावली हुँदै ससुरालीतिर फर्कियो । टेम्केमुनि रैथाने महोत्सव चलिरहेको रहेछ । बजार भर्न पुगियो । डाँडातिर रमिता हेर्न गएको समयमा मलाई मञ्चमा आतिथ्यका लागि बारम्बार बोलाइरहेको रहेछ, म छुटेँछु । अलि-अबे्र स्टेजछेउ आइपुग्दा फेरि गाली पाएँ । सोल्टी–सोल्टीना, सम्धी–सम्धेनाहरूले ‘किन आतिथ्य स्वीकार भएन ?’ भन्दै रैथाने रक्सीले भरिएको कठुवा हातमा थमाइदिनुभयो । ‘पूर्वजानकारी थिएन हजुर’ भन्नलाई सजिलो भयो । कोदोको मःमः, फापरको सेल, मकैको जाँड, गहुँको रक्सी, पाहा, असला माछा… अहो, स्वाद र आनन्दको सीमा रहेन । त्यो ठाउँको सबैभन्दा मिठो त झन् धाराको पानी । हल्का गुलियो लाग्ने साँच्चै मिठो । र, जे खायो त्यै मिठो ।

त्यही बजार भर्ने क्रममा परतिर उसै नागवेली पारामा घुमेको दुबोवाला बाटो देखाउँदै प्रियसी सुनिला स्वङ्गेचोले भनिन्, ‘हामी पनि मुन्दुम पदयात्रा गरौँ न ।’

मैले भनेँ ‘हुन्छ, म समूह बनाउँछु है त ।’

साँच्चै नै बजारमा पुगेर यसो एक–दुई जनासँग कुरा राख्दा स्थानीय ‘महिला सशक्तिकरण समिति’ का सदस्यहरू त्यो पदयात्रामा केही दिनपछि जाने योजना रहेछ । हामी पनि त्यसैमा मिसियौँ । तर भोलिपल्ट सुनिला गइनन् । अलिकति पानी परिरहेको थियो । तर पनि अन्य ठाउँका मान्छेहरू बसमा, बाइकमा त्यो पदमार्गका लागि हिँडिरहेकै थिए । मैले समूहकी सदस्य पनु राईलाई सोधें, ‘वर्षा बाक्लिँदै गएको छ, के हामी यात्रामा निस्कने नै हो ?’

‘आँ… दिदी, वर्षा त के हो र ? चट्याङ परे पनि जाने भनेपछि जाने नै हो ।’

अर्का सदस्य नीरा राईले पनि थप्नुभयो, ‘अनुभव सुखको मात्र होइन, दुःखको पनि सँगाल्नुपर्छ । ओढ्न प्लास्टिक, मकै–भटमास खाजा अनि इनर्जी ड्रिङ्क (रक्सी) बोकेपछि ढुक्क ।’

संस्थाका सदस्यहरू १८ जना जाने सल्लाह रहेछ । हिँड्ने बेला त्यस्तै भएर आठ जना भयौँ । कुहिरो लागेर धुम्म बिहानी । नजिकको साथी मात्र देखिन्छ । हुस्सुको चिसोले परेला भिजेका छन् । बीच–बीचमा उभिएर इनर्जी ड्रिङ्क चढाउँदैछौँ । नपिउनेहरू हामीलाई हेरेर हाँस्छन् । अहिले पनि निर्माणकै क्रममा रहेको पदमार्ग राम्रो छ भनेर मात्र स्पष्ट हुँदैन । अति राम्रो र आनन्ददायक बनेको रहेछ । म कच्ची बाटो हुँदा नै त्यो यात्रा गरिसकेको यात्री हुँ । तर त्यो बेला उमेर थियो, डाँडाखोला नाच्दै–गाउँदै हिँडिन्थ्यो । अहिले सक्तिना । भाग्यवश बाटो बडो सुगम बनाइएको रहेछ । केही ढुङ्गाका सिँढीहरू र सिँढी पनि लगातार नभई दम्साइलो बाटो । बाटामा दुबोका चपरी बिछ्याएर मलमलको कार्पेटझैं लाग्ने । वरिपरी चिमल, गुराँसको सहर । अग्ला भेगबाट देखिने वरिपरीका दृश्य र सबैभन्दा स्वादको चाहिँ स्वच्छ हावा ।

‘राष्ट्रपतिले अफिसमा कति लाखको कार्पेट बिछ्याए रे भन्ने समाचार सुनेको, ईः हामी त्यो भन्दा राम्रो प्राकृतिक कार्पेटमा क्याटवाक गर्दैछौँ,’ निरा राईले हिँड्दा–हिँड्दै भन्नुभयो । साँच्चै नै आनन्दको हिँडाइ थियो । मैले फोक्सो फुइल्याइ–फुइल्याईकन सास लिएँ । अन्तिम विन्दु साल्पा, सिलीचुङसम्म जाने हो भने छ दिनको यात्रा, तर ३३०० मिटर उचाइको माङ्युङ/मै‍युङसम्म मात्र जाने हो भने तीन दिनको यात्रा हुनेछ । खुरुखुरु हिँड्ने हो भने दुई दिनको यात्रा । तर रमणीय ठाउँ पुगेपछि त्यसै छोड्न मन लाग्दैन । नाच्दै, गाउँदै हिँड्दा तीन दिन लाग्ने रहेछ ।

घरबाट हिँडेको दिन हामी माङ्युङको फेदसम्म पुग्यौँ । त्यहाँ अलिक तल होमस्टे र अलिक माथि गोठस्टे रहेछ । हामी होमस्टे गयौँ । त्यसको छेउमा हाँसपोखरी रहेछ । एउटा हाँस पनि थियो, र प्लास्टिकका हाँसे डुङ्गा एक जोडी किनारमा थन्किएका । त्यसको वरिपरी बाक्लो जङ्गल । त्यो जङ्गलभन्दा मुनि रहेछ सरु र नीराको गाउँ । विवाह गरेर दिल्पा आउँदा हामी छिमेकी भएछौँ । होमस्टेमा साँझको खाना खाएर ओछ्यानमा बसेर उनै सरुले बोकेको तोरीको लेतलले आ–आफ्नो गोडा मालिस गर्दै–गर्दा उनलाई लेमलेमेले लगेको कथा सुनाइन् । हामी डरले रौँ ठाडो पारेर उनको कथा सुनिरह्यौँ । उनले भन्दै गइन्,

‘म एघार वर्षकी थिएँ । चरनको बाख्रा घर फर्काउन गएको थिएँ । मलाई कसैले बोलायो । म गएँ । मलाई थाहा थियो, म बाख्रा फर्काउन आएको हुन्थेँ, बाख्राले गहुँ खान लागेका छन् । बाख्रा लिएर गएपछि घरमा बिगौती खानु छ । म छिट्टै फर्किनु छ । तर उनले मुसुक्क हाँसिदिएपछि उनैलाई पछ्याउन पुग्थेँ । उनले कस्तो–कस्तो गुफामा पुर्‍याउँथिन्, म निस्सासिन्थेँ । उनी मुसुक्क हाँस्दैथिन् । भङ्गालामा उनी फुत्त पारी पुगेर मलाई हात दिन्थिन्, म पनि उनैजसरी फुत्त पारी पुग्थेँ । पहरामा उनैजसरी सरासर हिँड्थेँ । अरुबेला कहिल्यै उक्लन नसक्ने पहरामा म उनको पछिपछि बडो मजाले हिँड्न सकेकोमा अलौकिक आनंद आउँथ्यो । सधैं यस्तै शक्तिशाली भईरहन पाऊँ भनी कामना गर्दै उनलाई पछ्याउँथेँ । तर त्यत्रो लामो संगतमा मैले उनका सुन्दर दाँत, ओठ र नागवेली कपालभन्दा अरू केही देख्न सकिन । उनलाई छुन अनेक प्रयास गरें, तर कसरी–कसरी नछोइएकी हुन्थिन् । जबरजस्ती छुन खोज्दा उनका रिसाएको ओठ देख्थेँ र म हच्किन्थेँ । बिहानीको पिरिरी झुल्के घामले मेरो अनुहार छोयो, तिनी अलप भइन् । म झस्केझैँ भएर मेरो बाख्रा खोज्न लागेँ । गहुँ खाइसक्यो होला भनेर आत्तिएँ । तर मलाई खोज्न गाउँभरिका मान्छे छ्याप्छ्याप्ति जङ्गलभरि रहेछन् ।’

त्यो ठाउँतिर त्यसरी हराउन उनी एक्लै रहिनछन् । अरू पनि तीन/चार दिन गायब पारिएका रहेछन् । उनीहरूको कथा सुन्दा बडो आनन्द आयो । पुरै ‘हरर’ फिल्म हेरेझैँ अलौकिक अनुभूति भयो ।

अब, यस्ता कथाहरू सुन्दा मुन्दुम पदयात्रामा जाने सोचमा रहेका मानिसमा त्रास फैलन सक्ला । म यसलाई क्लियर गरिहाल्छु । हामीहरू देवताप्रति आस्था/अनास्था जे राखेपनि, ‘केही आत्माहरू सक्रिय छन्, जसको फन्दामा कुनै बेला परिन्छ’ भनी मानिदिँदा हामीलाई अप्ठेरो नपर्ला । अप्ठेरो त त्यतिबेला परिन्छ, जब मानिसले आत्माहरूलाई नियन्त्रण गरी खेतालो बनाउन खोज्छन् । तर आत्माहरू कसैका खेतालो हुँदैनन् । ‘मलाई धनी बनाइदेऊ, मलाई नराम्रो लाग्ने मान्छेहरूको भस्म गरिदेऊ, श्रम नगरि सर्वश्रेष्ठ बनाइदेऊ’ आदि माग राखेर पूजा–आराधना जो गरिरहेका छन् ती कार्यहरू साँच्चै नै निन्दनीय र मूर्खतापूर्ण विश्वास हुन् । आत्माहरूले त्यस्ता भ्रष्टकाम गर्दैनन् । खेल देखाउने ती मानिसका शरीर हुन्, जो जन्मदै केही लक्षण लिएर जन्मेका हुन्छन्—जस्तो काम्ने, अँध्यारोमा छाया देख्ने आदि । अँध्यारोमा छाया त के बाटो नदेखेर लडिहिँड्ने मान्छेलाई त्यस्ता आत्माले साथ लिएको आजसम्म थाहा छैन । यदि कोही रातमा साया/छाया देख्नुहुन्छ भने ती मान्छेलाई त्यस्ता ठाउँमा पुग्दा केही अनौठो अनुभूति हुन सक्छ । सरुको हकमा पनि त्यो लागू भएको देखियो । त्यस्ता मानिसले अग्रिम आफू त्यो ठाउँतिर जाने र ‘दुःखकष्ट नदेऊ’ भनी दर्शायो भने केही आपत् पर्दैन भनिन्छ ।

The story of Lemlema on the Mundum Trek

यो पल्टको हाम्रो यात्रामा चाहिँ संस्थाकी सचिव किसान कुमारी राईले तीन दिनको यात्रालाई झन्डै दुई दिनको बनाइदिनुभयो । बासमा नरोकेर ‘रातको ११ बजेसम्म घर पुगिन्छ, जाऊँ’ भनी उनले भनेपछि मेरा गोडा कामेर थचक्कै भए । हिँड्न सक्ने र नसक्नेको मत विभाजित भयो । यात्रा निक्कै खल्लो–जस्तो भयो केही घण्टा । आरामले हिँड्ने र हतारले हिँड्नेमा एकअर्काप्रति खल्लोपन आयो । तर हतारले हिँड्नेहरूले नै ‘सागै आएकोले सागै फर्किनुपर्छ’ भनी हामीलाई कुर्नुभयो । सँगै भयौँ । अन्तिममा राम्रो भयो । घर नजिक पुगेपछि दुई–चार जना च्याउ टिप्न जङ्गल छिरे, केही डाँडै–डाँडाको बाटो लागे, म लागेँ पाहुनाचारतिर पवित्रा कुलुङको साथमा ।

यो वर्ष मैले साहित्यिक महोत्सवमा भाग लिन एनसेल फाउन्डेसन र बुद्ध एयरले आयोजना गरेको नेपाल लिटरेचर फेस्टिभलमा फाइनप्रिन्टका प्रकाशक अजित बरालको निम्तोमा पोखरा पुगेँ । टिकापुर महोत्सवमा साहित्यकार महेशविक्रम साहको निमन्त्रणामा सामेल हुने अवसर जुरियो । यी फेस्टिभलहरूको छुट्टै रौनक थियो । टिकापुर महोत्सवको स्लोगन नै ‘उडेर, गुडेर, तैरेर’ भन्ने थियो । साँच्चै नै नेपालगञ्जसम्म प्लेनमा, त्यसपछि बसमा र अन्तिममा कर्णाली नदीमा बोटिङको आनन्द दिलाउँदै हामीलाई टिकापुर चनाइयो । समथर जमिन, बजार र रैथाने थारूको संस्कृति साँच्चै नै वर्णनयोग्य थियो । रैथाने नाच, केराको परिकार, फेरि सुविधासम्पन्न होटलको सेवा । सम्झनलाई सधैं–सधैं मनमा आदर लागिरहने टिकापुरको आतिथ्य ।

आ, मुन्दुम पदयात्राको कुरा हुँदै छ । यदि त्यो यात्रा गर्ने हो भने खर्च, समय र मौसम के होला, खर्च कति लाग्ला भन्ने तर्कना उठिहाल्छ । यसलाई छोटकरीमा भन्दा, काठमाडौँदेखि चखेवाससम्म बसमा रु. २५ सय, त्यहाँबाट सिलिचुङसम्म आउजाऊ एक हप्तादिन मस्तीको यात्रा गर्ने हो भने जिउको छ हजार लाग्ला । मैले आधा बाटो माङ्युङ ३३०० मिटर उचाइसम्म पुगेर आउँदा घरेलु खाजा खाईकन रु. १७ सय खर्च भएको थियो ।

जानलाई मनमोहक दृश्यका लागि समय चाहिँ फागुन–चैतमा गुराँसको रमिता हेर्न पाइन्छ भने असोज–कात्तिकमा हरियो फाँट, हिमाल र टाढा–टाढाका दृश्य हेर्न मिल्छ ।

यस्ता ठाउँहरूको सम्झनाले मन मिठो भइरहन्छ । पहाडी यात्रा, मुन्दुम पदयात्राजस्ता अनुभवले दिमाग, शरीर ताजगी बन्दोरहेछ । यसरी ऊर्जा थपिएको अवस्थामा अर्को उपन्यासको थालनी गरौँ कसो ? मुन्दुम र जीवनको तादात्म्यलाई उतार्दै उपन्यास लेख्ने सोच पो आयो त ?

प्रगति राई साहित्यकार प्रगति राईको 'लेखककी स्वास्नी', 'बिर्सिएको मृत्यु', 'थाङ्ग्रा' र 'बादी विज्ञप्ति' लगायतका कृति प्रकाशित छन् ।

Link copied successfully