भुइँमान्छे [कविता]

म एक्लै कहाँ बाँचेको छु र ? अनि एक्लै कहिले मरेको छु र ? म बाँच्दा सारा प्रकृति बाँच्छ म मर्दा सारा प्रकृति मर्छ । हो, विश्वमा होइन प्रकृतिमा बाँच्ने म भुइँमान्छे ।

कार्तिक १५, २०८२

दीपेन्द्र आचार्य

Earthling [Poem]
news-wrap-sec

ताराहरूमा खोज्नू

जूनहरूमा खोज्नू

निस्पट्ट अन्धकारमा नभेटेपछि

उज्यालो घाममा खोज्नू

तर त्यहाँ पनि नभेट्दा

आफ्नै पाइतालाको माटोमा खोज्नू

त्यहीँ हुनेछु म भुइँमान्छे

सागरहरूमा खोज्नू

महासागरहरूमा खोज्नू

जमेर बसेको पानीमा नभेटेपछि

पहाड टाकुराहरूमा उडिरहेको बादलमा खोज्नू

तर त्यहाँ पनि नभेट्दा

आफ्नै गाउँको ढुङ्गेधारामा खोज्नू

शान्तसँग

बगिरहेको हुनेछु म भुइँमान्छे

देशहरूमा खोज्नू

news-wrap-sec

महादेशहरूमा खोज्नू

तिम्ले कोरेको काल्पनिक भूगोलहरूमा नभेटेपछि

सहरका हाटबजारहरूमा खोज्नू

 तर त्यहाँ पनि नभेट्दा

आफ्नै गाउँको खेतखल्यानमा खोज्नू

पसिनाले निथ्रुक्क भिजिरहेको हुनेछु म भुइँमान्छे

किन भाग्दै छौ

डम्फु, च्याब्रुङ, मादलहरूदेखि टाढा तिमी

अबोध बालक बिराम पर्दा झाँक्रीबडाले रातभर ढ्याङ्ग्रो बजाएर

निको पारेकै हो तिम्लाई

कात्तिक महिनाको निस्पट्ट रातमा

जोगीको फेरी सुन्न मन पर्दैन ?

news-wrap-sec

म त अझै पनि

स्याल रुने रातहरूमा बाँच्दछु

मेरो आकाशभरि

गौंथली, भँगेरा, चीलहरू उड्छन् 

अनि धरतीभरि

फापर, कोदो, धानहरू नाच्छन्

म एक्लै कहाँ बाँचेको छु र ?

अनि एक्लै कहिले मरेको छु र ?

म बाँच्दा सारा प्रकृति बाँच्छ म मर्दा सारा प्रकृति मर्छ

हो,

विश्वमा होइन प्रकृतिमा बाँच्ने म भुइँमान्छे ।

दीपेन्द्र

Link copied successfully