छुट्टी सकिएपछि स्कुलमा कोही साथी नयाँ कपडा लगाएर आउँथे, कोही नयाँ चप्पलमा । तर सबैसाग नयाँ कपडा किन्ने र लगाउने अवस्था थिएन । एक पटक मैले खेतमा धानको सिला बटुलेर डेढ सय हात पारें । त्यसले किनेको नयाँ सर्ट लगाएर स्कुल जाँदा अप्ठेरो लागेको थियो ।
What you should know
काठमाडौँ — स्कूल भन्नेबित्तिकै धेरैको सम्झनामा ठूलो खेलमैदान अनि व्यवस्थित कक्षाकोठा, डेस्क–बेन्च र कालोपाटीको सम्झना आउँछ । तर मेरो सम्झनामा यी कुनै पनि कुरा छैनन् । त्यसो भन्दैमा म स्कुल नगएको मान्छे होइन । रौतहटको गढीमाई गाउँपालिका वडा नं ९ मा पर्ने मेरो गाउँमा एउटा स्कुल थियो । स्कुलको आफ्नै भवन थिएन । त्यसैले हामी महाजनको टहरामा पढ्थ्यौं । त्यो टहरा लामो थियो । ठ्याक्कै व्यावसायिक कुखुरा पाल्ने खोरजस्तो ।
कक्षा थियो तर त्यहाँ डेस्क–बेन्च थिएनन् । कालो पाटी थिएन । हामी घरबाटै बोरा लिएर जान्थ्यौं । भुइँमा ओछ्याउँथ्यौं र पढ्थ्यौं । चर्को गर्मीमा हामीलाई नजिकैको ठूलो रुखमुनि राखेर पढाइन्थ्यो । १ कक्षा सकिने बेलाको कुरा हो । महाजनले जमिन दिए । त्यहाँ अलिक व्यवस्थित स्कुल बन्यो । २ कक्षापछि बेन्चमा बसेर पढ्न पाएँ ।
मेरो घरबाट करिब १५ मिनेटको दूरीमा स्कुल थियो । हिउँदमा धूले बाटोमा धूलो उडाउँदै र वर्षामा हिलोमा चोपिँदै हामी स्कुल जान्थ्यौं । हामी केटाकेटी खाली खुट्टा नै स्कुल जान्थ्यौं । २ कक्षा पुगेपछि मैले चप्पल लगाउन थालेको थिएँ । तर त्यो चप्पल ३ कक्षामा पढ्दा चोरी भयो । त्यसपछि मैले केही वर्ष अरू साथीजस्तै खाली खुट्टा नै स्कुल जाने आउने गरें । ५ कक्षामा पुगेपछि बुबाले चप्पल किनिदिनुभयो ।
६ कक्षामा पुग्दा त्यो चप्पल पनि हराएँ । त्यसपछि चप्पल लगाउन म ८ कक्षा नै पुग्नुपर्यो । त्यति बेला धेरैजसो अभिभावकले गरिबीका कारण चप्पल किन्न सक्दैनथे । तर हामीलाई स्कुलमा चप्पल हराउँछ वा चोरी हुन्छ भनेर खाली खुट्टा नै जानुपर्छ भनेर सिकाइन्थ्यो ।
मेरो गाउँमा धेरै यादव थिए । उनीहरू जमिनदार थिए । अरू भनेको पचपौनिया अर्थात् कुम्हाल र अरू दलित थिए । पचपौनियाहरू महाजनको खेतीपातीमा निर्भर थिए । हामीले पनि खेत अधियाँ गर्थ्यौं । अनि दिनभर महाजनको खेतबारीमा काम गर्थ्यौं । बिहान ६ बजेदेखि १२ बजेसम्म वा ११ बजेदेखि ४ बजेसम्म महाजनको खेतमा काम गर्दा ५ किलो धान पारिश्रमिक दिने चलन थियो । म पनि बेलाबेला बाआमालाई सघाउन महाजनको बारीमा पुग्थें । मेरो घरमा एक दिदी, दुई बहिनी, एक भाइ र मसहित पाँच छोराछोरी थियौं । मैले हजुरबाको त मुख देख्न पाइनँ । घरमा हजुरआमा हुनुहुन्थ्यो ।
हाम्रो गाउँ परम्परागत विश्वासमा अडिएको थियो । भाग्यमा विश्वास गर्ने अनि उपचार नगरी धामीझाँक्री लगाउने प्रथा व्यापक थियो । यसमा बदलाव आए पनि कतिपय कुरा उस्तै छ । झाडापखाला लागे पनि, ज्वरो आए पनि धामीझाँक्रीकामै जाने चलन थियो । कसैमा निःसन्तानपनको समस्या देखियो भने पनि धामीझाँक्रीमै जाने गरिन्थ्यो ।
हाम्रो स्कुलमा एक जना साथीको दाइ थिए । उनलाई दमको रोग रहेछ । तर सबै जना भन्थे, ‘ऊ जिउँदो भूत हो ।’ उपचार नै नपाएर ती दाइ बिते । पाका महिलालाई ‘डायन’ को आरोप लगाउँथे अनि गाउँमा कसैका छोराछोरी असाध्यै बिरामी परे वा मृत्यु भए तिनलाई दोष लगाइन्थ्यो र कतिपय अवस्थामा ‘डायन’ भन्दै दिसा घोलेर खुवाइन्थ्यो । ती दृश्य सम्झिँदा मलाई अहिले पनि नमज्जा लाग्छ ।
५ कक्षा पास गरेपछि स्कुल बदलियो । घरबाट करिब आधा घण्टा दूरीमा पर्ने सरस्वती मावि भर्ना भएँ । स्कुलमा हाजिरीजवाफ र चम्चा दौड जस्ता प्रतियोगिता हुन्थे । हाजिरीजवाफ प्रतियोगितामा भाग लिन म स्कुलको प्रतिनिधित्व गर्दै विभिन्न स्कुलमा जान्थें । मेरो कक्षामा झन्डै डेढ सय विद्यार्थी थियौं । दलित समुदायका हामी तीन जना थियौं । स्कुलमा दलित भनेर छुवाछूत गरेको नमिठो सम्झना भने छैन ।
हाम्रो स्कुलमा एक जना सर हुनुहुन्थ्यो । उहाँको काँधमा गम्छा छुट्दैनथ्यो । आफूले भनेको नमाने वा मन नपरेको विद्यार्थीलाई उहाँ लौरीले कुट्नुहुन्थ्यो । त्यति बेलासम्म कुटाइ जारी रहन्थ्यो, जतिबेलासम्म काँधको गम्छा भुइँमा झर्दैनथ्यो । हामी त उहाँको छेउमै पर्दैनथ्यौं । स्कुलमा केही लफडा परेको बेला उहाँ अगाडि उभिएपछि सबै शान्त हुन्थे । मानौं कि एकछिन अघि त्यहाँ केही भएको छैन ।
अर्का सर हुनुहुन्थ्यो– कक्षामा छिरेपछि विद्यार्थीलाई स्ट्यान्ड अप र सिट डाउन मात्रै गराइराख्ने । कहिलेकाहीं त पालैपालो त्यसो गराएर उहाँको कक्षाको समय सकिन्थ्यो । एक अक्षर नपढी कक्षा सकिएकामा हामी दुःखी पनि हुँदैनथ्यौं ।
अर्का एक सर अचम्मकै संगीतप्रेमी हुनुहुन्थ्यो । उहाँ हरेक शुक्रबार कक्षामा हामीलाई पालैपालो गीत गाउन लगाउनुहुन्थ्यो । म भोजपुरी गीत गाउँथें । मेरो स्वर राम्रो मानेर हो कि किन हो, कहिलेकाहीं मलाई अरू कक्षामा पनि लगेर ‘ल रामजी गीत गाऊ’ भन्नुहुन्थ्यो । गीत गाउन र सुन्न असाध्यै रमाइलो हुन्थ्यो ।
स्कुले उमेरमा मैले पनि कैयन् बदमासी गरें । लामो कपाल भएको साथीको कपालभित्र डटपेन घुसारेर बिस्तारै घुमाउने र रौंसहित तानेर दुःख दिँदै मज्जा लिने गर्थें । डटपेनले कानतिर छुवाउँदै साथीलाई डिस्टर्ब गर्थें । स्कुलबाट भाग्ने वा स्कुल नै जान नमान्ने पनि गरें । कहिलेकाहीं घरमा खाना समयमा पाक्दैनथ्यो । स्कुल जान ढिला भइसक्यो भनेर म स्कुल जान मान्दिनथें । तर बुबा ‘जसरी हुन्छ छिटोछिटो गरेर जाऊ’ भनेर कर गर्नुहुन्थ्यो । त्यस्तो बेला म घरबाट निस्कन्थें तर स्कुल जाँदिनथे । बरु नजिकैको नहर छेउको रुखमा चढेर सिंगो दिन बिताउँथें । रुखमै बसेर होमवर्क गर्थें । घाम कति पर पुगेको छ भनेर हेर्थें अनि अब त स्कुल छुट्टी हुने बेला भयो भन्ने अनुमान गरेर घरतिर जान्थें ।
हाम्रो गाउँमा घडी हेरेर समयको हिसाब हुँदैनथ्यो । घडी हातका नाडीमा देख्न पाए पो । घरको छानाको छाया कति बजे आँगनमा पर्छ, कति बजे सर्दैसर्दै कहाँसम्म पुग्छ, हेरेर कति बज्यो भनेर अन्दाज गर्न सक्ने भइसकेको थिएँ । लुसुक्क घर फर्केर म आँगनमा छाया कहाँ पुगेको छ भनेर हेर्थें अनि सही समयमा घर फर्कें कि फर्किनँ भनेर हिसाब गर्थें । बेलाबेला स्कुलबाट भागेर हामी मेला पनि जान्थ्यौं ।
खाजा लिएर स्कुल जाने चलन थिएन । बरु बेलाबेला हामी स्कुलबाट भागेर नजिकैको खोलामा जान्थ्यौं, माछा मार्थ्यौं । कहिलेकाहीं चरा मार्थ्यौं । अनि माछा वा चरा पोलेर खान्थ्यौं । आँप फलेका बेला काँचो आप नुन–खुर्सानीसँग चोबेर खान्थ्यौं ।
चाडबाडमा पाइने लामो बिदाका दिनहरू भने असाध्यै रमाइला हुन्थे । होमवर्कले भने बिदा खल्लो बनाउँथ्यो । ‘अप्सनल म्याथ’ का सरले एकपटक त्रिकोणमितीका सबै हिसाब सक्न लगाउनुभयो । अरू सरले होमवर्कको त्यस्तै भारी बोकाउनुहुन्थ्यो । बिदामा मस्तले घुमफिर गर्ने, अन्तिमतिर रातदिन होमवर्क भ्याउने मेरो बानी थियो । बुबाको चिन्ता भने छुट्टी सकिने बेलासम्म छोराछोरीले होमवर्क सक्छन् कि सक्दैनन् भन्नेमा हुन्थ्यो ।
हामी भुइँमा पराल ओछ्याउँथ्यौं । त्यसमाथि परालको गुन्द्री हुन्थ्यो । मैले एकदिन बुबालाई भनें, ‘मलाई बिहान ३ बजे नै उठाइदिनू । म सबै होमवर्क भ्याउँछु ।’
म ३ बजे नै उठेर होमवर्क गर्न थालें । होमवर्क गर्दागर्दै कतिबेला झ्याप्प निदाएछु, पत्तो भएन । मट्टीतेलवाला टुकी पल्टेर परालमा आगो सल्किएछ । मेरो कपाल पनि आगोको लप्काले भेटेछ । धन्न, बुबाले हत्तपत्त उठेर आगो निभाउनुभयो र घर खरानी हुनबाट जोगियो ।
म सिरक भएका साथीहरूको घर जान्थें ताकि सिरक ओडेर रातभर होमवर्क गर्न सकियोस् । म साथीलाई भन्थें, ‘मेरो घरमा त सिरक छैन, म तिम्रामा आउँछु ।’ कतिपय बेला हामी परालको चाङ पारेर सानो घरजस्तो बनाउँथ्यौं । त्यहींभित्र बसेर होमवर्क गर्थ्यों । उस्तै परे राति पनि त्यहींभित्र सुत्थ्यौं । बुबाले रेडियो किन्नुभएको थियो । मेरो एसएलसीताक रेडियोमा ट्युसन जसरी पढाउने कार्यक्रम आउँथ्यो ।
हामी मेलामा गएर अनेक नाच हेर्थ्यौं । झन्डै डेढ घण्टाको पैदल दूरीमा पर्ने मामा घर पनि पुग्थें । त्यहाँ तीन चार दिनसम्मै रमाइलो गरेर बस्थें ।
लामो छुट्टी सकिएपछि स्कुलमा कोही साथी नयाँ कपडा लगाएर आउँथे । कोही नयाँ चप्पलमा ठाटिएर आउँथे । तर सबैसँग नयाँ कपडा किन्ने र लगाउने अवस्था पनि हुन्थेन । नयाँ नकिनेकाहरूले पुरानै कपडा राम्रोसँग धोएर लगाएका हुन्थे । एक पटक मैले खेतमा धानको सिला बटुली मेलामा बेचेर डेढ सय हात पारेको थिएँ । त्यो पैसाले नयाँ सर्ट किनें । त्यो वर्ष एउटा गैरसरकारी संस्थाले दलित समुदायका जेहेन्दार विधार्थीलाई भनेर कापी कलम पनि दिएको थियो । नयाँ कापी कलम र नयाँ सर्टमा स्कुल जाँदा अप्ठेरो लागेको थियो तर त्यो रमाइलो र अनौठो खालको थियो ।
हामी धेरैसँग धेरैजोर कपडा हुन्थेन । म मेला जाँदा पनि स्कुल पोसाकमै हुन्थ्यौं । मामाघर जाँदा पनि त्यही पोसाक । चाडबाडमा त्यही नै । कहिलेकाहीं अघिल्लो दिन धोएको पोसाक स्कुल जाने बिहानसम्म सुकेको हुँदैनथ्यो । त्यस्तो बेला म भन्थें, ‘ड्रेस सुकेकै छैन । आज म स्कुल जान्नँ ।’ तर आमा हत्त न पत्त घुर सल्काउनुहुन्थ्यो र त्यसको रापमा पोसाक सुकाइदिनुहुन्थ्यो । आगोको रापमा त्यसरी सुकाउँदा कहिलेकाहीं झिल्काले प्वाल पार्थ्यो । कहिलेकाहीं आमाले नसुकेकै कपडा लगाउन कर गर्नुहुन्थ्यो । आमा भन्नुहुन्थ्यो, ‘सुक्नै लागेको छ । स्कुल जाने बेलासम्म सुकिसक्छ ।’ नभन्दै हुन्थ्यो पनि त्यस्तै ।
