स्कुलमा ‘टाइमपास’ गरेछु

गर्मीमा बिदा हुँदैनथ्यो तर जाडोमा ५० दिनको बिदा हुन्थ्यो– मीनपचास ! तिनताक जाडो उधुम हुन्थ्यो– बिहानको बाक्लो कुहिरो, तुसारोले निथ्रुक्क भिजेका चौरहरू, पानी छुनेबित्तिकै ठिहिर्‍याएको याद आउँछ मलाई । मीनपचासमा मैले जिम्न्यास्टिक सिकेको थिएा । एउटा अभ्यास अहिले पनि गर्न सक्छु । 

कार्तिक ८, २०८२

विप्लव प्रतीक

I passed the time at school.

What you should know

काठमाडौँ — जुन बखत मेरो जन्म भयो, जुन कालखण्डमा म हुर्किएँ, त्यो स्वर्णिम समय लाग्छ मलाई । मलाईझैं अरूलाई पनि आफू हुर्किएको कालखण्ड स्वर्णिम लाग्न सक्छ, नलाग्न पनि सक्छ । म अतीतको स्मरण विरलै गर्छु । जब कसैले लेख्न आग्रह गर्छन्, बाध्यतावश मलाई अतीतपुरीमा विचरण गर्नुपर्ने हुन्छ । 

बाल्यकालको सम्झना गर्नासाथ केही स्थिर छवि एकपछि अर्को आउँछन् र ती रंगीन तस्बिरमा परिणत हुन्छन् । टुँडिखेल वरिपरिको फराकिलो फुटपाथमा आवश्यक दूरीमा उभिएका ज्याकारान्डाका रूखहरू, फुटपाथमा छरिएका त्यसका बैजनी फूलहरू, भर्खर जडान भएका ट्राफिक बत्तीहरू, प्यागोडा शैली, शिखर शैली र स्तूप शैलीका मन्दिर एवं चैत्य, कहीं रातो इँटाले बनेको, कुनै टिपकारी गरिएको र कुनै ग्रीक रोमन वास्तुकलामा आधारित घरहरूले सजिएको सहरको तस्बिर एकपछि अर्को गर्दै स्मृतिको एल्बममा पल्टिन्छन् । र, याद आउँछन् अहिलेका लागि भिन्टेज मानिने एकसे एक आकर्षक कारहरू, बाघ बुट्टे ट्याक्सीहरू, रातो रङ लिपिएको बस सफा सडकमा गुडिरहेको तस्बिर । अहिले सम्झिँदा शान्त र सुन्दर थियो सहर । 

सहरका अधिकांश बासिन्दा जिज्ञासु थिए, आर्थिक–सामाजिक–राजनीतिक रूपान्तरण तिनले देख्ने नियमित सपना थियो । प्रेम र सद्भावले भिजेका थिए– मानिसका मन । 

मेरो संसार मेरो परिवार थियो अर्थात् मेरा बा र आमा ! उनीहरूले जस्तो समाज देखाए, मैले त्यही देखें । बाका साथीहरूमध्ये टीआर विश्वकर्मा, गणेशनाथ योगी, वासु शशी, भवानी भिक्षु, मोहनलाल कपाली, भवानी घिमिरे, हैदर अली, कमर शाह, भाइदाइ श्रेष्ठ, तिलबहादुर लोकसम र मदनमणि दीक्षित मैले सम्झिने केही नामहरू हुन् । उनीहरूको पहिरन आम पहिरन थिएन । सफा र सादा पहिरन तर फरक फेसन ! ती कुनै ब्ल्याक एन्ड ह्वाइट फिल्मका कलाकार लाग्थे । यी जबजब भेट हुन्थे, क्रान्तिको सपना बुन्थे, समाजको समृद्धिबारे चिन्तन गर्थे । यीमध्ये कोही होमियोप्याथीका डाक्टर थिए, कोही शिक्षक, कोही कवि, कलाकार एवं पत्रकार र कसैको किराना पसल थियो ।

बा शिक्षक हुनुहुन्थ्यो । विदेशी सहायताबाट स्थापित टिचर्स ट्रेनिङ भनेर ताहाचलमा दिइने तालिम पनि लिनुभएको थियो उहाँले । दुई छाक खान पुग्थ्यो, दसैंमा मलाई लुगा किनिदिने पैसा जुगाड गर्न सक्नुहुन्थ्यो, हप्ताको एक दिन राँगाको मासु पनि पाक्थ्यो भान्छामा । तर, शिक्षक भए पनि मलाई स्कुलमा भर्ना गर्ने खर्च भने बाले धेरै वर्ष जुटाउन सक्नुभएन । ७ वर्षको उमेरसम्म घरमै टाकनटुकन पढाउनुहुन्थ्यो आमा– कखगघ, एबीसीडी र एक–दुई–तीन–चार । त्यहीताका होला कताबाट पैसाको जोहो भएछ र मलाई मित्रपार्कको पछिल्तिर चिल्ड्रेन्स पेडागोजीमा पढ्न भर्ना गरियो । केही महिनापछि स्कुल छुट्यो । कारण दुई थिए– पहिलो पिताजीको गोजी प्वाल परेर रित्तिएछ, अर्को स्कुलबाट सिकेर ल्याएको एउटा नयाँ शब्द ! त्यो ‘मदरफकर’ को नेपाली उल्था थियो । 

आमाको रामधुलाई धेरैपल्ट भेटें सानो छँदा । यसपल्ट पनि भेटें र आदेशबमोजिम आधा सेतो र आधा रातो रंग्याइएको भित्ताको रातो भागमा क देखि ज्ञ, एकदेखि सय र ए देखि जेडसम्म रुँदैरुँदै लेखेर सिध्याएँ । त्यस साँझ त्यसपछि मात्र मैले आमाको हातको भात खान पाएँ ।

अब स्कुल थिएन । हामी भीमसेनस्थान, प्युखा, प्याफल र सिफल हुँदै पशुपतिमा बसाइँ सरिसकेका थियौं । पशुपतिस्थित शारदा माध्यमिक विद्यालयमा ४ कक्षामा दाखिल गराइएँ, म ९ वर्षको छँदा । जाँच दिएपछि रिजल्ट लिन पाइएन । किनभने वर्षभरिको शुल्क तिर्ने हैसियत बाले जुटाउन सक्नु भएनछ । अर्को वर्ष पशुपति मित्र माध्यमिक विद्यालयमा मेरो नाउँ लेखियो– ६ कक्षामा । मकबुल खाँ, महमुद खाँ, वीरबहादुर तामाङ, राजु भारती, गोविन्द वर्तमान केही नाउँ हुन्, जो मेरा सहपाठी थिए । यहाँ पनि शारदा स्कुलकै कथा दोहोरियो । फी तिरिएन, मार्कसिट पनि हात परेन । बाको एक जना साथी वसन्तबहादुर श्रेष्ठले न्यु इंग्लिस बोर्डिङ स्कुल बानेश्वरमा खोल्नुभएको थियो । मेरो अर्को स्कुल त्यही हुन पुग्यो । पास–फेल के भएँ शारदा र पशुपति मित्रमा, थाहा छैन तर क्लास उक्लिने काम भने जारी थियो । त्यहाँ थर्ड स्ट्यान्डर्डमा भर्ना भएँ । सरकारी स्कुलमा त्यो भनेको सात क्लास थियो । थर्डपछि त्यहाँ पढाइ हुँदैनथ्यो । तर, त्यहाँ थर्ड पास भएका विद्यार्थीले पद्मोदय वा विजय स्मारक माध्यमिक विद्यालयमा आठ कक्षामा भर्ना हुन पाउँथे । थर्डपछि अब म विजय स्मारक पुगें आठमा भर्ना हुन । 

स्कुलहरू चहार्दा हरेक वर्ष पुराना साथी छुट्दै नयाँ साथीसँग निर्वाह गर्ने अक्किल सिक्दै हुर्किन सम्भवतः बाल मस्तिष्कलाई गाह्रै हुन्छ होला । मनोवैज्ञानिकहरूको भनाइमा त्यस्तो अवस्थामा बालबालिकामा चिन्ता, तनाव र हतासा उत्पन्न हुन्छ । किनभने उसलाई लगातार परिवर्तनको सामना गर्नुपरेको हुन्छ र उसले नौलो शिक्षण पद्धति र सामाजिक परिवेशसँग तालमेल मिलाउनुपरेको हुन्छ । यसले उदासी, एक्लोपन र अन्योलको भावना मनमा हुर्किन सक्छ । र, आत्मसम्मान जोगाउन संघर्ष गर्नुपर्ने र नयाँ साथी बनाउन कठिनाइ महसुस पनि हुन सक्छ । मलाई के भयो ? केही याद छैन । तथाता अर्थात् वास्तविकतालाई स्वीकार गर्ने र चिन्ता नलिने मेरो सोच यही कालखण्डमा विकसित भयो कि, के थाहा ? केही कुराको अपेक्षा नराख्ने, बिनाकुनै योजना र सपना, सफरमा व्यस्त रहने एवं जे आइलाग्छ स्वीकार गर्ने बानी यदि यही विद्यालय बदलिने क्रममा मभित्र विकसित भएको हो भने त्यस नियतिप्रति म कृतज्ञ छु । 

भाँडाकुटी मात्रै खेलेको र वर्षमा एकचोटि चंगा उडाएको म एकैचोटि विजय मेमोरियल आइसकेपछि गुच्चा, खोपी, पाङ्ग्रा, ह्वाग्रा र डन्डीबियोसँग परिचित भएँ । कैलाशमा फुटबल पनि खेलियो । तर, साँच्चिकैको फुटबल होइन, भोगटेको बल । धेरैचोटि बूढी औंलाको नङ फुक्लिएर रगतपच्छे भएको थिएँ म । समर्पण कति थियो भने निको भएपछि फेरि खेल्न तैयार । बजारमा ब्याडमिन्टन थियो, टेबलटेनिस थियो । कापीको हार्डकभरलाई ब्याट बनाएर, इँटाको नेट र बेन्चको बोर्ड बनाएर पनि खेलिन्थ्यो टीटी । केही पछि लन टेनिस र क्रिकेट पनि आयो । तर, त्यो हामी गरिबका लागि थिएन । त्यसबाहेक चुरोटको बट्टाको चिटिक्क परेको कित्ता बनाउँथ्यौं हामी, जुन बनाउन सीप चाहिन्थ्यो र हामीबीच कित्ता मानौं कुनै मुद्रा थियो, बजारमा नचल्ने–हामीबीच मात्र चल्ने मुद्रा । सम्भवतः त्यसबेलाका बच्चाहरू बडो सिर्जनात्मक थिए, आदर्शवादी थिए, जुन गुण आफ्ना अभिभावकको अनुसरणका कारण उनीहरूमा सरेको थियो । ती थिए अराजक, साथै अनुशासित पनि । 

हाजिरी जवाफका कार्यक्रम हुन्थे । रेडियोमा मैले स्कुलबाट प्रतिनिधित्व गरेको थिएँ । रेडियोमा बाल कार्यक्रममा भाग लिन जान्थें– प्रस्तोताद्वय थिए धन लामा दिदी र निरोधराज पाण्डे दाइ । गर्मीमा बिदा हुँदैनथ्यो तर जाडोमा पचास दिनको बिदा हुन्थ्यो मीनपचास । पानीमा माछासमेत जम्ने भनेर मीनपचास भनेको भन्ने कतै सुनेको हुँ । तिनताक जाडो उधुम हुन्थ्यो । बिहानको बाक्लो कुहिरो, तुसारोले निथ्रुक्क भिजेका चौरहरू, पानी छुनेबित्तिकै ठिहिर्‍याएको याद आउँछ मलाई । पानी तताएर नुहाउँथे होलान् कोहीकोही तर हामीलाई त्यसको ज्ञान थिएन । हामी त शनिबारको दिन घाम लागेको छ भने घाममा पानी तताएर नुहाउने गर्थ्यौं । मीनपचासमा खेलकुदका अतिरिक्त गतिविधि विद्यार्थीका लागि आयोजना गरिन्थ्यो बाल मन्दिर नक्सालमा । जहाँ मैले पनि भाग लिन पाएको थिएँ र जिम्न्यास्टिक सिकेको थिएँ । एउटा अभ्यास अहिले पनि गर्न सक्छु म । 

मामाघर सर्लाही भएकाले मीनपचासमा आमासँग म मामाघर गएका सम्झनाहरू पनि छन् । चार–पाँच वर्षको छँदा मामाघर पुगेको सम्झना अझै छ । काठमाडौंबाट भीमफेदीसम्म बसमा, त्यसपछि अमलेखगन्जसम्म लहरीमा, त्यहाँबाट रक्सौलसम्म रेलमा र रेलबाटै सीतामढीमा ओर्लिएर चार कोस हिँडेपछि मात्रै मामाघर आइपुग्थ्यो । रक्सौल वा सीतामढीमा एक रात बिताउनुपर्थ्यो । नेपालकै भूमिमा पुग्न पनि हिन्दुस्तानको बाटो हुँदै जानुपर्ने अवस्था थियो । अहिले जिपबाट फर्पिङको बाटो हुँदै चार घण्टामा पुगिन्छ मामाघर । तर, मामाहरू त्यहाँ हुनुहुन्न । घर सम्भवतः छ वा नहुन पनि सक्छ । कसैले घर भत्काएर भव्य इमारत बनाइसकेको पनि हुन सक्छ । 

बिदाको बडो महत्त्व हुन्थ्यो । सकेसम्म धेरै बिदा होस् भन्ने हाम्रो भावना विकसित हुनुमा मीनपचासको लामो छुट्टी र दसैं–तिहारको लामो बिदाले काम गरेको हुनुपर्छ । या हामीलाई पढाइने तरिका नीरस भएर पनि हुन सक्छ । तर, मेरा केही गुरुहरूलाई म बेलाबखत सम्झिन्छु । न्यु इंग्लिसका बैकुण्ठ सर, जसले मलाई बुली गर्ने केटालाई काण्ड पुग्ने गरी सजाय दिनुभएको थियो, जसले गर्दा म वर्षभरि स्कुलमा सुरक्षित रहें । विजय स्मारकका शान्तबहादुर सर जसले मैले आफ्नो नामसँग प्रतीकको फुर्को जोड्दा मलाई स्याबासी दिनुभएको थियो । पशुपति मित्रका माधुरीप्रसाद यादव सर, जो यतिविघ्न स्नेही हुनुहुन्थ्यो कि अहिले पनि बेलाबखत उहाँको सम्झना आउँछ । पशुपतिकै हेडमास्टर, जसले मलाई वि अनि पको मुनि आधा ल र व लेख्न सिकाउनुभएको थियो । तर, मैले त्यसलाई आफ्नो सुविधा हेरेर विप्लव लेख्न थालेको धेरै वर्ष भइसक्यो । 

मसँग साइकल पनि थियो सोह्र वर्ष पुग्दा नपुग्दै । तर त्यसअघि नै साथी वीरेन्द्र भण्डारीसँग मिलेर भाडाको साइकलमा दक्षिणकाली पुगेर फर्किसकेको थिएँ । मलाई त केही भएन तर वीरेन्द्रलाई केही दिन काछ पोलेको कुरा धेरै वर्षपछि उसले मसँग खोलेको थियो ड्यालसमा । आफ्नै साइकल भएपछि म भक्तपुरस्थित नवदुर्गा चलचित्र मन्दिरमा हिन्दी सिनेमा ‘कोहरा’ र अशोकमा ‘कोरा कागज’ हेर्न गएको अझै याद छ । कोरा कागज हेर्न जाँदा मैले गोविन्द मामालाई डन्डीमा राखेर ल्याएको र पुर्‍याएको थिएँ ।

हेर्दाहेर्दै पाँच वर्ष बिते र म दसको टेस्ट दिने अवस्थामा पुगें । टेस्ट पास गरेपछि मात्रै एसएलसीको जाँच दिन पाइन्थ्यो । जाँच दिएँ । जुन स्कुलमा म पढ्थें, त्यही स्कुलमा बा प्राथमिक तहलाई पढाउनुहुन्थ्यो । विद्यालयमा म भूगोल र अंग्रेजीमा राम्रै विद्यार्थीमा गनिन्थें । र, मेरो मुहारको वर्णकै कारणले होला, मलाई मेधावी छात्रको सूचीमा राख्नुभएको थियो केही गुरुहरूले । टेस्टको रिजल्ट आयो । त्यसले नतिजा अर्कै देखायो । एउटा विषयमा रातो लागेको थियो । अर्थात् म फेल भएको थिएँ । तर सर्वहारा सरको छोरा भनेर उत्तीर्ण हुने बक्सिस पाएको थिएँ मैले । बेलुकी बा आउनुभयो । आमा र बाबीच केही गुनगुन भए । म उहाँको कोठाभन्दा माथ्लो तलामा बसिरहेको थिएँ । ढ्यांग ढोका खुल्यो । म तर्सिएँ । बाका आँखा राता थिए, थर्थर कामिरहनुभएको थियो । उहाँको हातमा आग्लो थियो । सरासर मछेउ आउनुभयो र आग्लै–आग्लोले कुट्न थाल्नुभयो । बाले त्यसअघि कहिल्यै कुट्नुभएको थिएन, त्यसपछि कहिल्यै कुट्नु भएन । अनपेक्षित व्यवहार, दुखाई, अपमान, लाचारी र फेल भए पनि पास गराइएको ग्लानि सबै मिलेर एकमुष्ट दर्द बने र त्यसले घाँटीमा गाँठो पर्‍यो । असह्य दर्द थियो त्यो, म चिच्याएर रोएपछि सम्भवतः त्यसले निकास पायो होला । सोच्दछु, त्यस प्रकारको रुवाइ विरलैले अनुभव गर्न पाएका होलान् । 

फेल भएर पनि अनुकम्पामार्फत पास भएकाले चिन्तित उहाँलाई आमाले अर्को मसला थप्नुभएछ । छिमेककी अरुणा भन्ने केटीलाई मैले प्रेम गर्छु भनेर कसैले अफवाह फैलाइदिएको खबर बासम्म पुग्दा त्यो मसला हुने नै भयो । र, कुटाइको पकवान पाक्यो । म बेहोस भएँ र बाले मलाई छाडिदिनुभयो । ब्युँझिएपछि अफवाहलाई सत्य तुल्याइदिएकामा आमासँग बेस्कन चित्त दुखेको थियो मेरो । 

भोलिपल्टदेखि मैले डेढ महिना कसैले केही नभनी कोर्सका सबै किताबहरू पढें । वास्तवमा भनुँ भने मैले स्कुलमा पढिनछु, टाइमपास गरिरहेको रहेछु । वैशाखमा रिजल्ट आयो । 

सबैले ठानेका थिए बोर्डमा नाउँ आउँछ भनेर । अघि नै भनें नि गोरो रङको भ्रम । मलाई थाहा थियो, मेरो फेलमा नाउँ आउँछ भनेर । तैपनि दुस्साहसिक महत्त्वाकांक्षाचाहिँ कस्तो भने पहिले बोर्डमा हेरें, त्यहाँ मेरो सिम्बल नम्बर थिएन । त्यसपछि ओर्लिएँ पहिलो श्रेणी, अनि दौडिएँ दोस्रो श्रेणी । अब ऊँट पहाडमुनि आयो । अब तेस्रोमा झर्नेबाहेक मसँग उपाय थिएन । तेस्रो श्रेणीको सिम्बल नम्बरहरूको हूलमा पनि मेरो नम्बर भेटिएन । मलाई उकुसमुकुस भयो । गर्मीमा आफूलाई जमेको जस्तो महसुस भयो । फेल हुन्छु भन्ने थाहा थियो तर त्यहाँ मेरो सिम्बल नम्बर पनि भइदेओस् भन्ने चाह पनि त थियो । भारी पाइला उचालेर घरतिर पहिलो कदम के चालेको थिएँ, साथीले बधाई दियो । मैले किन भनेर आँखैले सोधें । उसले ‘गोरखापत्र’ मा मेरो नम्बर तेस्रोको हूलमा स्पष्ट देखायो– २७९६५ ओ । 

जम्मा पाँच वटा क्लास पढेर टाइमपास गरेको केटोले फाइनलमा डेढ महिना स्वाध्यायन गरेर एसएलसी पास गर्ला भनेर मैले सोचेको थिइनँ । मभन्दा चिन्तित बा हुनुहुन्थ्यो । म त जाँच दिएर फुक्काफाल भएको थिएँ । घर गएँ, बालाई रिजल्ट सुनाएँ । बाले डा. मोहमद मोहसिनलाई भनेर टिचिङमा नाम निकाल्दिन्छु भन्नुभयो । मोहसिन सहृदयी हुनुहुन्थ्यो र बाका साथी पनि । सधैं श्रद्धाले मैले शिर निहुर्‍याएको, जवाफ नफर्काएको र नायक मानेको मेरा प्रिय बालाई पहिलोपल्ट नाइँ भनें । जुन कुराले मलाई अहिले पनि खिन्न तुल्याउँछ । 

बा नरहनुभएको धेरै वर्ष भयो । सहर उही सहर नरहेको पनि धेरै वर्ष भयो । मेरो शैशव बितेको धेरै वर्ष भयो । 

विद्यालय छुट्यो, कत्ति साथीहरू छुटे । तर याद बाँकी छ, जुन म रहुन्जेल रहनेछन् ।

विप्लव प्रतीक

Link copied successfully