गीत गाएरै बिते बिदाहरू

बालापनका स्कुले बिदाहरूमा म आफैंले लेखेका गीतहरू गाउँदै निर्धक्क बरालिएँ । तेह्रथुम म्याङलुङ बजारको हाटमा कमिनिस्ट पार्टीले बनाएका मञ्च चढेर ‘बेटरी’ हालेको माइकमा गीत गाउँथे । मेरो गीत सुन्न मानिसको भीड लाग्थ्यो । मैले गीत गाएर जम्मा भएको भीडलाई उबेलाका कमिनिस्ट नेताहरूले भाषण गरेर सम्बोधन गर्थे । यसरी बिदाका बेला म व्यापक व्यस्त हुन्थें ।

कार्तिक ८, २०८२

अभि सुवेदी

Holidays spent singing

What you should know

काठमाडौँ — म तेह्रथुमको आफ्नो स्कुले जीवनका केही स्वतन्त्र र अरू कतिपय क्षणका सम्झना यहाँ लेखिरहेको छु । ती संस्मरणहरू मेरो जीवनमा मैले नै भोगेका क्षणहरू थिए त ? ती सुदूर गाउँले दिनहरूतिर पसिहेर्दा म आफैं आश्चर्यहरूले घेरिन्छु ।

तर, जहाँको भए पनि एउटा स्कुले जीवनको अनुशासित अवस्थाबाट फुत्त मुक्त भएर आफ्नै जगत्मा निस्किनु अनि स्वतन्त्र हुनुका संस्मरण सम्झिएर लेख्न बस्दा कविता लेख्न बसेजस्तो लाग्ने रहेछ । 

रेडियोबाहेक अरू केही आकाशवाणी सुन्न नपाइने, किताबमा पढेका र देखेका बाहेक अरू केही दृश्य देख्न नपाउने त्यो युगका हामी स्कुले केटाकेटीका निम्ति बिदाका दिनहरू अनुभव गर्नु ठूलो विषय थियो । आजको इन्टरनेटको युगमा बिम्बहरू, कथाहरू, पात्रहरू, दृश्यहरू, टिकटकीय अभिनयहरूले बालबालिकाको समय कब्जा गरेका छन् । उनीहरूको निकै समय त्यसमा बित्नु स्वाभाविक भएको छ । तर, हरेक युगमा हुर्के–बढेका स्कुले युवाका निम्ति आफ्नै जगत्का आश्चर्य र उत्तेजना हुन्छन्, त्यही आफ्नो परिवेशमा एउटा सिर्जनशील र महान् क्षणहरू हुन्छन्, सम्पूर्णताका भावना हुन्छन् । 

अहिले सम्झिँदा निकै दशक पहिलेका अर्कै युगका हामी बालबालिकाका बिदाका क्षणहरू अत्यन्तै सिर्जनशील र आविष्कारमुखी हुन्थे । त्यसबेला बिदा दुई किसिमका हुन्थे— एउटा निकै लामो अथवा महिना दिन जति जाने हुन्थ्यो जुन वर्षमा एक पटक आउँथ्यो, अर्को हप्तैपिच्छे अनि विशेष अवसर र तिथिमितिमा पाइने बिदा हुन्थ्यो । मेरो बिदा मनाउने विषय यिनै अवसरले दिएको समयले निर्धारण गर्थ्यो । 

लामो बिदामा घर छाडेर टाढा जाने चलन थिएन । गए पनि आफन्त अथवा मावलीतिर गएर केही दिन बस्नेसम्म हुन्थ्यो । म त्यस्तो अवसरमा पुगेको ठाउँका कुनाकानी घुमेर हेर्थें । अनि मलाई हरेक त्यस्तो ठाउँ एउटा चलायमान शक्ति जस्तो लाग्थ्यो । अब के गरूँ भन्ने छटपटी हुन्थ्यो । अनि एक पटक मलाई सानैमा स्कुलको बिदामा मावल याङरूप शुभाङ गएका बेला त्यस्तो छटपटी भयो । मलाई त्यो ठाउँमा ‘केही गरौं’ जस्तो भयो । अनि धर्मराज थापाका गीतसँग परिचित भएको र तिनलाई सुरिलो स्वरमा गाउँदै हिँड्ने मेरो बानी भएकाले लाग्यो, त्यो ठाउँको वर्णन त्यस्तै भाकामा लेख्दा कसो होला ! कोसिस गर्नुपर्‍यो भनेर एउटा आफूलाई मनपरेको थलोमा कापी र फुल्टिन लिएर बसें, अनि त्यो ठाउँको अनि वरपरको दृश्यको वर्णन गरेर गीत लेखें । गाएँ, श्रोता आफैं । गीत भयो, मिल्यो । 

त्यो दिन म आफूले लेखेको त्यो ठाउँको वर्णन गाउँदै आमा र मावली घरमा सुनाउन दौडिँदै गएँ, निर्धक्क भएर गाएँ । बालकको राम्रो स्वरमा गीत सुनेर सबै चकित परे । आमा धेरै खुसी हुनुभयो । उहाँले सुरिलो स्वरमा रामायण गाएको प्रभाव नै होला, मैले गाएको । मलाई आमाले ‘अबदेखि यस्तो बिदाको बेलामा, कहीं गएको बेलामा गीत लेखेर गाउनु’ भन्ने सल्लाह दिनुभयो । सानैमा पिता गुमाएको मेरा निम्ति आमा नै महत्त्वपूर्ण गुरु र संरक्षक हुनुहुन्थ्यो । त्यस दिनदेखि मेरो बिदाका दिन मनाउने पहिलो काम भनेको कुनै पनि ठाउँमा गएपछि त्यो ठाउँको विषयमा गीत लेख्ने अनि गाउने भयो । 

बिदाका बेला प्रकृतिमा जाने मेरो चाख थियो । मेरो मात्र होइन, मेरा साथीहरू सबैको त्यस्तै चाख थियो । कुन मौसममा जंगलमा कस्ता फल फल्छन् ? हामीलाई थाहा हुन्थ्यो । काफल पाकेको बेला रूख चढेर टिप्नु सबैभन्दा रमाइलो हुन्थ्यो । कति पटक रूखबाट खसेर घायल भयौं । ऐँसेलु र अरू फलका रूखका काँडाले रक्ताम्मे पारेर कोर्नु, तर त्यसको उत्तेजनाले त्यस्ता पीडाले नछुनु बिदाका क्षण मनाउने बेलाको अर्को अनुभव थियो मेरो र साथीहरूको । 

तेह्रथुम म्याङलुङ बजारमा थियो मेरो स्कुल । त्यहाँबाट गढीको जंगल जानु सजिलो थियो । जंगली फलका रूखहरू ती जंगलमा धेरै थिए । अहिले सम्झिँदा लाग्छ, स्कुलमा बिदाको बेला हाम्रो समय फल फल्ने जंगलमा निकै बित्थ्यो । त्यसपछि हामी अर्को गाउँको दृश्यावलोकन गर्न निस्किन्थ्यौं । केटाकेटीले आफ्नो समय मिलाएर घुम्न जानु अलिक नौलो विषय हुन्थ्यो । मेरा त्यो बेलाका कतिपय साथीहरू अहिले छैनन् । कति आफ्ना सन्तान गएका देश अमेरिका र अस्ट्रेलियामा होलान् । कति दिवंगत भए । 

मलाई लिम्बूहरूको प्रसिद्ध धान–नाच गर्न लगाउने/सिकाउने साथीहरू अहिले छन् कि छैनन् ? ती कहाँ छन् ? थाहा छैन । मलाई पहिलो पटक धान–नाच गर्न प्रेरणा दिने र आफूसँगै नाच्न लगाउने नाफेती कहाँ छिन् ? थाहा छैन । ती कहीं जीवितै छन् भन्ने आशा गर्छु । छोटो बिदाको मौका छोपेर म धान नाच्न जान्थें । बिस्तारै लयात्मक गीत गाएर पाइला चाल्दै नारी–फुरष, केटा र केटी नाच्नु धान–नाचको विशेषता थियो । लिम्बूइतर मेरा साथीहरूमा एक/दुई जना मेरो कुरा मानेर नाच्न जान्थे । बिदाको बेला भएको हुनाले हामी अलिक नदेखिने गरी नाच्न जान्थ्यौं । घरमा म धान नाच्न गएको कसैलाई थाहा हुँदैनथ्यो । तर, पछि कसैले आमालाई सुनाइदिएछन् । आमा अलिक हाँस्नुभयो, तर त्यहाँ ‘फौदारी’ खेल्छन् जानु हुँदैन भन्ने सल्लाह दिनुभयो । अनि बिदाका बेलामा जाडोयामका धान काटिसकेका खुला खेतका गरामा गएर खेल खेल्नु अर्को कर्म थियो मेरो । डन्डिबियो, फलानी खेल्नु (जुन लङ्जम्पको नाममा पछि स्कुलमा पनि खेलें) मैले बिदाका बेलामा गरेका अरू कर्म थिए । 

स्कुले जीवन अहिले सम्झिँदा लाग्छ, निकै लामो पो हुनेरहेछ । मेरा बिदाका कतिपय क्षण बढ्दो उमेर र चाखले बनाएका रचना रहेछन् । बिदाका दिनहरूमा गीत गाएर हिँड्ने मेरो बानी बनेको थियो । मेरो स्वर राम्रो र सुरिलो थियो । म्याङलुङ बजारको हाटमा गएर पार्टीहरूका (खासगरी दाजुहरूको कमिनिस्ट पार्टीले बनाएको) मञ्चमा चढेर ‘बेटरी’ हालेको माइकबाट गीत गाउने कुराले मलाई अत्यन्तै आकर्षित गर्थ्यो । मेरो गीत सुन्न मानिसहरूको भीड लाग्थ्यो । मलाई मानिसहरू बाल–कवि भनेर फुर्क्याउँथे । मैले त्यसरी गीत गाएर जम्मा भएको भीडमा कमिनिस्ट नेताहरू, दाइहरू (लयप्रसाद सुवेदी, मित्रलाल सुवेदी) अनि जिल्लाका नेता विष्णुकुमार तुम्बाहाम्फे, तिलबिक्रम लिम्बूले भाषण गरेर आफ्ना कुरा राख्थे । चुनावका बेला त्यो क्रम धेरै चल्यो । म बिदाका बेला यसरी धेरै व्यस्त हुन्थें । आमालाई यो कुरा त्यति मन परेको थिएन । तर, मेरा र मैले गाएका गीतलाई मानिसले महत्त्व गरेकोमा आमा खुसी हुनुहुन्थ्यो । बिदाको बेला पर्‍यो भने मात्रै मैले गीत गाएर कार्यक्रममा सामेल हुनु भन्ने आमाको सल्लाह थियो । 

म्याङलुङ बजारमा विदेशी पत्रिकाहरू पुग्थे । जयश्वरमान श्रेष्ठ दाइको पसलमा ती पत्रिका केही बिक्रीका निम्ति, केही यसै देखाउन र त्यहीं बसेर तिनका चित्र हेर्न–पढ्नका निम्ति राखिएका हुन्थे । ती अक्सर रुस र अरू कमिनिस्ट देशका दिल्लीमा रहेका दूतावासहरूले सित्तैमा हुलाकबाट पठाएका प्रचारमुखी प्रकाशन थिए । तर, ती पत्रिकामार्फत विश्वमा पुस्ता 

(जेनरेसन) परिवर्तन भएका विषयको भाव बुझ्न सकिन्थ्यो । बिदाका बेला म केही साथीहरू लिएर तेह्रथुम र आठराईका स्कुलहरूमा विद्यार्थीहरूको अन्तर्राष्ट्रिय संगठन ‘विद्यार्थी फेडरेसन’ को शाखा खोल्न हिँड्थें । सबै कुरा बुझेको थिइनँ, तर मलाई त्यो एउटा कर्ममा विश्वसँग जोडिने आधारहरू देखजस्तो लाग्थ्यो । त्यसैले बिदाका दिनहरूमा म ती काममा पनि निकै सक्रिय भएर लाग्थें । बिदाका बेला मलाई जिल्लाका स्कुलहरूमा जाने र मित्रहरू बनाउने अवसर थियो । त्यो साहित्यिक थियो । म गीत र कविता लेख्थें । एउटा पाठ गर्ने र गाउने शैली बनाएको थिएँ । बिदाका बेला कविता पढ्दै अनि स–साना गोष्ठीहरू गर्दै हिँड्थें । त्यो बेला हाइस्कुल कक्षा प्रवेश गर्न लागेको अवसर थियो । 

तर, मेरो बिदाको समय उपयोग गर्ने अर्को किसिमको अवसर र पद्धति निस्कियो । म पढ्ने श्री सिंहवाहिनी हाइस्कुल म्याङलुङ बजारमा दुई जना केरालाका युवा आइपुगे । तीसँग बोल्ने माध्यम अंग्रेजी भाषा थियो । ती क्रिस्तानी धर्म प्रचारक रहेछन् । लिम्बुवानमा त्यो काम गर्न सकिन्छ कि भनेर बुझ्न र केही गर्न आएका ती युवकलाई तिनका सर्टिफिकेटहरू हेरेर हाम्रो स्कुलले शिक्षकको काम दियो । म कक्षामा पहिलो हुने विद्यार्थी थिएँ । मलाई उनीहरूले नजिक बनाए । त्यो कथा लामो हुन्छ । मैले ६/७ कक्षातिर तिनलाई भेटेको हुँ । मैले तिनीहरूसँग बिस्तारै थाहै नपाई अंग्रेजी भाषा सिक्न थालें । बोल्न, अंग्रेजीका उपन्यास र कथाहरू पढ्न थालें । मलाई लाग्छ, मेरो अंग्रेजी भाषासँगको सम्बन्ध त्यहींबाट आरम्भ भएको थियो । उनीहरू लगभग मैले एसएलसी दिने बेलासम्म त्यहाँ थिए । तिनीहरू बाहिर पनि जान्थे । भ्रमण पनि गर्थे । तिनले कति धर्म प्रचार गरे र तिनको कोसँग सम्बन्ध थियो ? मलाई केही थाहा भएन । 

लगभग तिनीहरू गाउँ आएको केही समयपछि एक जना तामिल साधु पनि त्यहाँ आइपुगे अनि स्कुलमा पढाउन थाले । म तिनको पनि अत्यन्तै नजिकको विद्यार्थी थिएँ । ती पनि अंग्रेजी मात्र प्रयोग गर्थे । तिनलाई पछि मैले कीर्तिपुरमा अंग्रेजीमा एम.ए. पढेका बेला पशुपतिनाथमा भेटें र भेटिरहन थालें । ती काश्मीर तीर्थमा गएर ‘देहत्याग’ गर्छु भन्थे । केही समयपछि ती हराए । पछि तिनको एउटा चेलालाई पशुपतिमा भेटें । उसले भन्यो, ‘गुरुले काश्मीरमा देहत्याग गर्नुभयो । म सँगै थिएँ ।’ मेरा शिक्षकहरू अनेकौं किसिमका थिए– गाउँदेखि, काठमाडौं र ब्रिटेनसम्मै । 

त्यसरी अंग्रेजी किताब पढ्न जानेपछि मेरो बिदाका दिनहरूमा विविधता आयो । म हाम्रो पुस्तकालयले पाएका र यी दुई शिक्षकले दिएका अंग्रेजी उपन्यास र कथा खुब पढ्न थालें । बिदाका बेला आमाले भैंसी चराउने अलिक सहज काम दिनुभयो । म किताब बोकेर जान्थें । एउटा उपाय भेटें । भैंसीका ढाडमा बसेर मज्जाले किताब पढ्न सजिलो भयो । मेरो बिदा रमाइलोसँग भैंसीको ढाडमा बसेर पढ्दै बित्न थाल्यो । मैले अनेकौं उपन्यास पढें, कथा पढें । त्यसमा रुसी लेखक फियोडोर दोस्तोएभस्कीको उपन्यास ‘द ब्रदर्स कार्माजोभ’ को सम्झना रह्यो । बिदाको त्यो एउटा सम्झना मलाई आइरहन्छ । दाजुहरूका पार्टी–सभाहरूमा गीत गाउन जान छोडें, बिदामा । मलाई निकै कर गर्थे, तर गइनँ । गीत लेख्ने र गाउने काम भने छोडिनँ । पछि कविता पनि लेख्न थालें ।

एसएलसी परीक्षा दिन जाँदा मैले धरानमा पहिलो पटक गाडी देखें, चकित परें । त्यो बेला मसँग विश्वको भूगोलको साधारण जानकारी मात्रै थियो । राजनीतिक प्रणालीहरूको विषयमा थाहा थियो । विश्वमा के भइरहेको छ भन्ने कुरा साधारण रूपमा मात्रै थाहा थियो । तर, मैले गाडी देखेको थिइनँ । त्यसपछिको यात्रा जीवनको लामो र विविध भयो । नेपाल र ब्रिटेनका विश्वविद्यालयमा पढें । अस्ट्रेलियाबाहेक सबै महादेश पुगें । कथा लामो छ । तर, तेह्रथुम म्याङलुङ अनि मेरो गाउँ साबला र उताको परिवेशमा बिदा मनाएका दिनहरू मलाई भित्रैबाट प्रेरणा र शक्ति दिई बस्ने क्षण हुन् ।

अभि सुवेदी प्राध्यापक सुवेदी साहित्यकार तथा कान्तिपुरका लेखक हुन् ।

Link copied successfully