‘स्वर्ग’ लाग्छन् बिदाका दिनहरू

‘बिदा’ शब्द सुन्नासाथ हाम्रा कान चनाखा हुन्थे । लामो बिदा हुादा हाम्रो शरीरमा अर्कै स्फूर्ति भरिन्थ्यो । दसैं, तिहारका लामा बिदामा जिन्दगी अत्यन्तै आनन्दमयी हुन्थे । शुक्रबार त म कहिल्यै स्कुल जान्नथें ।

कार्तिक ८, २०८२

खगेन्द्र लामिछाने

Holidays feel like 'heaven'

What you should know

काठमाडौँ — जब–जब म गाउँ पुग्छु, सुन्दर स्मृतिहरू फिल्मका दृश्यझैं चल्मलाउन थाल्छन् । सुसाइरहेका आँधीखोलामा बाल्यकालीन स्वरहरू सुनिएझैं लाग्न थाल्छन् । सहर पसेसँगै छुटेका बाल्यकाल, विकास भित्रिएसँगै हराएका गोरेटो र स्याङ्जा पुतलीबजारको ऊबेलाका अर्ग्यानिक सौन्दर्य— यी सबै–सबै सजीव भएर आउँछन् ।

यो तिहारमा १७ वर्षपछि गाउँमा भाइटीका लगाइयो । दिदीबहिनी, आफन्तहरू र साथीभाइसँगको जमघटले न्यानो महसुस गराएसँगै सम्झन थालें ती दिन । जुन दिनहरू यो उमेरको लेन्सबाट चिहाउँदा ‘स्वर्ग’ जस्ता लाग्थे ।

बिदा भन्ने शब्द सुन्नासाथ हाम्रो कान निकै चनाखो हुन्थे । जब कि पूरा कक्षाभरि सरले पढाएका कुनै पनि अक्षर एउटा कानले सुनेर अर्कोले उडाइन्थ्यो । यही कारण एक पटक सरको रामधुलाइ भेट्यौं । कहिलेकाहीं पढाइ भइरहेको समयमा स्कुलमा हाफ छुट्टीको सूचना टुप्लुक्क आइपुग्थ्यो । कक्षा ८ मा पढ्दाको कुरा, त्यतिबेला मलगायत केही साथी कक्षाको अन्तिम बेन्चतिर बस्थ्यौं । अवधेश झा सर तेस्रो घण्टीको कक्षामा विज्ञान विषय पढाउँदै हुनुहुन्थ्यो । उहाँले पढाउँदा–पढाउँदै कक्षामा एउटा सूचना आयो, त्यो पढेर सुनाउनुभयो । सूचनामा बिदा लेखिएको रहेछ । अचानक बिदा पाउँदा हामी असाध्यै खुसी भयौं । सरको अगाडि न आवाज निकालेर बोल्न मिल्यो, न हाँस्न । तैपनि हाँसो रोक्न के सकिन्थ्यो । सरले देखिहाल्नुभएछ । त्यसपछि त रिसाउँदै भन्नुभयो, ‘बिदा हुँदा बहुत खुसी हुन्छौ तिमीहरू । ल उठ्, त अब म तिमीहरूलाई ‘क्वेस्चन’ सोध्छु ।’ हामी तीन जनालाई उहाँले प्रश्न सोध्नुभयो । जवाफ दिन सकेनौं । अनि त यसरी कुट्नुभयो कि, त्यो सबैभन्दा कडा कुटाइ थियो । 

हाफ छुट्टीमा त्यसरी खुसी मनाउने हामीलाई लामो बिदा आउँदा के होला ? दसैं–तिहारमा त्यस्तै हुन्थ्यो । त्यसमाथि म शुक्रबार कहिल्यै स्कुल जान्नथें ।

तीन कक्षा पढ्दाताकाको कुरा, हरेक शुक्रबार चौथो घण्टी पढिसकेपछि स्कुलमा अतिरिक्त क्रियाकलाप हुन्थ्यो । सबै विद्यार्थीलाई चौरमा राखेर सर–मिसले कुनै बेला गाउन र खेल्न लगाउनुहुन्थ्यो । एक पटक मलाई सरले गीत गाउन लगाउनुभयो । मलाई भने गीत गाउन, नाच्न एकदमै 

अप्ठ्यारो लाग्ने । सरले भनेपछि त कि गाउनुपर्‍यो, कि कुटाइ खानुपर्‍यो, गाएँ । गाउँदा यति लाज लाग्यो कि कान रातै भयो । त्यति बेला ‘मिरेमिरे जाली रुमाल’ गीत गाएको याद छ मलाई । त्यही गीत पछि ‘टलकजंग भर्सेस टुल्के’ फिल्ममा टुल्केले गाउँछ । मैले त्यति बेला त्यही स्टाइलले गाएको थिएँ । त्यो दिन लाजको गह्रौं भारी बोकेर म घर फर्किएँ । त्यसपछि कुनै पनि शुक्रबार म स्कुल गइनँ । 

घरमा विभिन्न बहाना बनाउँथें । मेरो जिद्दीअघि बा–आमाको के लाग्नू ? 

दसैं–तिहारको लामो बिदामा हामी गाउँको युवा पुस्तकालय जान्थ्यौं । त्यहाँ कथा, उपन्यासका पुस्तक थिए । पुस्तकालयमा एक जनाले सस्वर वाचन गर्थ्यो, अरूले सुन्थे । मलाई एकदम रुचि लाग्थ्यो त्यहाँ जान । चूडामणि अर्याल अंकलले म्याक्सिम गोर्कीको ‘आमा’ उपन्यास सस्वर वाचन गरेको अझै ताजा छ । मलाई बच्चैदेखि कथा, उपन्यासप्रति चासो रहेछ । लेख्न मन लाग्छ भन्ने त्यति बेला थाहा थिएन । पछि रस पस्दै गएपछि लाग्यो– म त लेखक बन्छु ।

दसैं–तिहारमा हाम्रो मन सानैदेखि तासमा बसेको थियो । घरमा थाहा पाए बित्याँस हुन्थ्यो । हामी सुरक्षित ठाउँको खोजीमा हिँड्थ्यौं । जसको घरमा एक जना बुढीआमा मात्र हुनुहुन्छ, उहाँलाई थोरै पैसा दिएर त्यहाँभित्र लुकेर खेल्थ्यौं । कहिले पाटीपौवामा खेल्थ्यौं । हामीले जंगलभित्र पसेर उठी–उठी पनि खेलेका छौं तास । त्यति बेलाका तास खेल्ने साथीहरू थिए– दीपक अर्याल, खिला अर्याल, उत्तम अर्याल, खिमलाल लामिछाने, खगेन्द्र अर्यालहरू । हामी त्यति बेला पैसा छउन्जेल पैसाले र सकिएपछि उधारो पनि खेल्थ्यौं । अहिले गाउँ जाँदा तिनै पुराना साथीभाइ भेटिन्छन् । उनीहरूलाई भेट्दा म ठट्टा गर्छु, ‘यार तिमीसँग मैले उधारो तासको पैसा लिनुछ ।’ उनीहरू हाँस्छन् । अनि हामी बाल्यकालीन स्मृतिमा सँगै विचरण गर्न थाल्छौं ।

आँधीखोलामा हामी पौडी खेल्न पनि जान्थ्यौं । आँधीखोलामा त्यति बेला धेरै माछा पाइन्थ्यो । माछा मार्दै पोलेर खान्थ्यौं । खोला सुन्दर थियो । पानी सफा थियो । पिउँथ्यौं र तिर्खा पनि मेट्थ्यौं । तर, अहिले आँधीखोला आँधीखोलाजस्तो छैन । मान्छेले यसको स्वरूप बिगारे । गाउँको जीवन बिताएर सहर गएको मान्छेलाई आफ्नो गाउँको असाध्यै याद आउँछ । म त गाउँ गइरहन्छु । 

स्याङ्जा जाने भएपछि अघिल्लो दिनदेखि नै योजना बनाउँछु, ‘म सुन्तला बगैँचालाई यस्तो गर्छु, गाउँमा यस्तो गर्छु ।’ तर, जब हाइवेबाट आँधीखोला देख्छु, मलाई सबैभन्दा नरमाइलो लाग्न थाल्छ ।

दसैं–तिहारको बिदा सकेर स्कुल फर्कंदा आफ्ना प्रिय साथी भेट्ने उत्साहले खुसी लाग्थ्यो । खुसीसँगै एउटा डर पनि मिसिन्थ्यो । किनकि यति लामो बिदामा एक पटक पनि किताब र कापी पल्टाइएको हुन्नथ्यो । होमवर्क नगर्दा निगालोको लट्ठी हातमा बजारिन्थे । लाग्थ्यो, ‘आ होस्, बरु हातमा लट्ठी थापिदिन्छु । एकछिन दुख्छ । सकिन्छ । यत्रो दुःख गरेर होमवर्क किन गर्नु ।’

मैले दुई वटा स्कुल पढें । गाउँकै दिव्य ज्ञान प्राइमरी स्कुलमा कक्षा ५ सम्म पढेपछि हामी लेकको स्कुल गयौं । हाम्रो गाउँमा ब्राह्मणहरूको बाहुल्य थियो । माथि डेढ घण्टा पैदल हिँडेर पढ्ने स्कुलमा गुरुङको बाहुल्यता । कक्षा ६ देखि त्यहाँ भर्ना भयौं । म सबैसँग मिल्थें । त्यसमध्ये गुरुङ साथी धेरै थिए मेरा । स्कुल पढ्दा साथीको घरमा बस्न जाने चलन हुन्थ्यो । हामी पनि जान्थ्यौं । रामबहादुर गुरुङ मेरो निकै मिल्ने साथी थिए । कक्षा ९ सम्म हामीले सँगै पढेको । अहिले पनि ऊ र उसको परिवारसँग उत्तिकै मित्रता छ मेरो ।

एक जना अवधेश झा सर हुनुहुन्थ्यो, गोरखपुरको । हामीलाई विज्ञान र गणित पढाउनुहुन्थ्यो । सर हिन्दी फिल्म हेर्न स्याङ्जा बजार जानुहुन्थ्यो । शनिबार हल जाँदा बजारमा हाम्रो पसलमा बुबासँग सरको भेट हुन्थ्यो । 

बुबा भन्नुहुन्थ्यो, ‘सर यो मेरो छोरा हो । यो पढ्न कमजोर छ । घरमा होमवर्क गर्न पनि मान्दैन । यसलाई बेस्सरी कुटेर पढाउनु है ।’ म पछाडि बेन्चमा बस्थें सधैं । सरले ‘खगेन कहाँ छ तिमी ? खडा हौ त’ भन्दै प्रश्न गर्नुहुन्थ्यो । नजानेपछि रामधुलाइ गर्नुहुन्थ्यो । 

म पढ्न कमजोर भए पनि टाठो थिएँ । त्यसकारण शिक्षकको आँखामा सधैं अगाडि हुन्थें । शिक्षकहरूले बाहिर प्रतिनिधि भएर कुनै विद्यार्थी पठाउनुपर्‍यो भने अग्रसर मै हुन्थें । मैले स्कुलमा पटक पटक कक्षा दोहोर्‍याएँ । 

तीनमा फेल भएँ, चारमा पनि फेल भएँ । र, कक्षा ९ पनि दोहोर्‍याएँ । कक्षा तीनमा फेल हुँदा म असफल भएँ भन्दै रुँदै आएँ । किनकि उमेरले मेरा भाइहरूले पनि मलाई टपेर गए । बुबाले त्यतिबेला मिठाई दिँदै सम्झाउनुभयो, ‘अर्को वर्ष पास भइहालिन्छ नि राम्रोसँग पढेपछि । चिन्ता नगर ।’ अरू बेला पढ्न दबाब दिने, तर दुःखी हुँदा बुबा काखमा लिएर खानेकुरा दिएर सम्झाउनुहुन्थ्यो ।

कक्षा ९ भने फेल भएर दोहोर्‍याएको हैन । पढाइ कमजोर थियो । त्यसमाथि मलाई एसएलसी पास गर्नु नै थिएन । म गाउँमै बसेर आफ्नै सुन्तला बगैँचामा काम गर्न चाहन्थें । पास भए पनि मैले कक्षा ९ दोहोर्‍याएँ । बालाई भनें, ‘म नौमै बसेर राम्रोसँग पढ्छु ।’ बाले चिन्ता गर्दै भन्नुभयो, ‘पास भएको मान्छे किन एक वर्ष ढिला गर्छस् । अब राम्रोसँग पढे भइहाल्छ नि ।’ तर, मेरो जिद्दीको अगाडि बाको के लाग्नू ? कक्षा दोहोर्‍याएपछि म राम्रोसँग पढ्न थालें । घरमा होमवर्क गर्न थालें । छैटौं महिनाको परीक्षामा त ७५ प्रतिशत आएछ । मेरो पढाइलाई लिएर आफैं चकित परें । अब त राम्रो गरें, आइहाल्यो नि भन्ने लाग्यो । फेरि पढाइमा लत्तो छाडिदिएँ । तैपनि १० उक्लने परीक्षामा तेस्रो भएछु । अबिर लगाएर कापी–कलम दिँदा त आफू मसिहा भएकै अनुभूति पाएँ । एसएलसी पास भएँ । नभएको भए पनि मलाई चिन्ता थिएन । एसएलसीपछि बुबालाई भनें, ‘म स्याङ्जाकै कलेजमा पढ्छु ।’ बुबाले मान्नुभएन । उहाँले काठमाडौं पठाउन खोज्नुभयो । घरमा हामीलाई ट्युसन पढाउने सर तिलकराम सुवेदीले मध्यस्थ गर्नुभयो, ‘तिमीले भनेको पनि भएन, बुबाले भनेको पनि भएन । ल पोखरा पढ ।’ 

यसपछि गाउँसँगै बालापन छुट्यो । जीवनको अध्यायसँगै नयाँ संघर्ष सुरु भयो । अहिले सम्झेर हेर्दा उधुमै रमाइलो लाग्छ । त्यति बेलाको खगेन्द्र लडाकु पनि थियो । 

लेखनाथ अर्याल भन्ने साथीसँग मेरो सधैं झगडा हुन्थ्यो । झगडाका कारण बोलचालसम्म बन्द हुन्थ्यो । बन्द भएको बोलचाल वर्षौंसम्म पनि खुलेनछ । चार वर्षअघि पनि हामी गाउँमा भेट्दा बोलेका रहेनछौं । मलाई अचम्म लाग्यो । अनि उसलाई भनें, ‘लेखनाथ, हामी बच्चामा गरेको झगडाले अहिले पनि बोल्दैनौं रहेछौं त ।’ ऊ हाँस्यो । उसलाई पनि अप्ठ्यारो लागिरहेको रहेछ । त्यसपछि ऊ पनि ‘त्यही त’ भन्दै गफिन सुरु गर्‍यो । हामीेले फोटो खिच्यौं ।

म सहर आएसँगै आफ्नो सपनाको बाटो पछयाएँ । कलाकार बनें । मान्छेहरूका लागि ‘सेलिब्रेटी’ भए पनि गाउँका लागि त उही खगेन्द्र नै हुँदो रहेछु । जब गाउँका मान्छेहरू बाहिर गएर मेरो तारिफ सुन्छन्, उनीहरूलाई गर्व लाग्दो रहेछ । कलाकार बनिसकेको धेरै वर्षपछि मैले स्कुलको हाम्रो प्रिन्सिपल पुरुषोत्तम सरलाई भेटें । उहाँलाई हामी हेडसर भन्थ्यौं । २० वर्षपछि भेट्दा उहाँ निकै बुढो हुनु भइसकेछ । पत्रिका पढ्दै बसिरहनुभएको रहेछ । मैले सरलाई नमस्ते गरें । उहाँले पुलुक्क हेर्दै नमस्ते फर्काउनुभयो । सरलाई भनें, ‘हजुरले मलाई बिर्सिनुभयो कि । म खगेन्द्र हो सर ।’ त्यसपछि त उहाँ बिछट्टै खुसी हुनुभयो । भन्नुभयो, ‘खगेन्द्र, ल तिमी कति राम्रो गरिरहेका छौ । पत्रिकामा पढिरहेको छु तिम्रो बारेमा ।’ 

गाउँमा मलाई हिजो पनि माया गर्नेहरू, अहिले मेरो सफलतामा खुसी भएको देख्दा आफैंलाई रमाइलो लाग्दो रहेछ । त्यसकारण जब–जब गाउँ जान्छु, पुराना साथीभाइ भेट्छु, सम्बन्धहरू भेट्छु आफैंभित्र पुनर्तागजी बोकेर सहर फर्किन्छु ।

खगेन्द्र अभिनेता

Link copied successfully