दसैं–तिहारका लामा बिदामा दिइने ‘होमवर्क’ र स्कुलका परीक्षा सम्झँदा मलाई ‘नाइटमेयर’ हुन्छ । बिदाहरू सक्किने बेला हतारै–हतारमा सक्थें होमवर्क । बिदाबाट होस्टेल फर्कंदा साथीहरूलाई सुनाउन हामीसँग थुप्रै कथाहरू हुन्थे, कुरा गर्ने थुप्रै विषय हुन्थे ।
What you should know
काठमाडौँ — कहिल्यै सामान्य बितेन मेरो बाल्यकाल । सानो छँदा थुप्रै ठाउँ, समाजसँग घुलमिल हुनुपर्यो । धेरै फरक समाजसँग हुर्कें । कहिले म मच्छेगाउँको नेवारी समुदायमा हुर्कें, कहिले क्रिश्चियनको ‘अर्फनेज’ मा बसें । त्यहाँ सबैजना क्रिश्चियनहरू थिए । हामी सधैं आइतबार चर्च जान्थ्यौं । त्यसपछि त्यस्ता आफन्तकहाँ हुर्कें, जो हिन्दु हुनुहुन्थ्यो ।
मेरो ठूलोबुबा योगा गुरु हुनुहुन्थ्यो । हामी हरेक बिहान योगा गर्थ्यौं । समुदायका मानिसलाई उहाँ बिहान–बिहान योगा सिकाउनुहुन्थ्यो । यसरी म धेरै फरक समुदायसँग हुर्कें । सायद त्यही हुर्काइले मलाई एक निश्चित धर्मसँग मात्रै बाँधेर राखेन । फरक ठाउँ, फरक समुदायसँग घुलमिल भएकै कारण मेरो सोच्ने तरिका पनि फराकिलो बन्यो सायद ।
खासमा मच्छेगाउँ ठूलीआमाको माइतीघर हो । त्यहाँ बसें होला, १/२ वर्ष । मच्छेगाउँमा सधैं केही न केही भइरहन्थ्यो । जस्तो नेवाः समुदायको बसोबास हुने भएकाले त्यहाँ लाखे नाच भइरहन्थ्यो । म नजिकै पुगेर लाखे नाच हेर्थें । लाखे के रहेछ ? म निकै जिज्ञासु हुन्थें । त्यसैले एकदमै रमाइलो लाग्थ्यो, लाखे नाच हेर्न । त्यहाँ म्हः पूजा हुन्थ्यो, त्यो मेरो ‘फेभरेट’ पूजा हो । आफ्नै शरीरलाई पूजा गर्नुपर्ने, कस्तो रमाइलो । मैले भर्खरै थाहा पाएँ, म पनि म्हः पूजाकै दिन जन्मेको रहेछु । त्यो थाहा पाउँदा झनै रमाइलो लाग्यो ।
मच्छेगाउँमा उतिबेला बाटो पुगिसकेको थिएन, पिच रोडै थिएन । मैले सम्झेसम्म सडकमा धूलो उडिरहेको हुन्थ्यो, ढुंगा बिछ्याएको बाटोमा । त्यहाँका मानिसहरू व्यवसाय गर्थे । छिमेकीहरू सबैको किराना पसल थियो । मेरो एक जना छिमेकी चाहिँ मिठाई बेच्थे । नेवारी मिठाई त्यहाँ पाइन्थ्यो । त्यो मलाई मनपर्ने पसल पनि थियो । जेरी मेरो फेबरेट ! मच्छेगाउँका सबैजना पसले हुनुहुन्थ्यो । केही समय अर्फनेजमा हुर्केपछि म मच्छेगाउँमा हुर्केको हुँ । अर्फनेजमा हुर्कंदा पास्टर बुबाको आफ्नै चर्च थियो । त्यो अर्फनेजलाई हामी ‘प्रिन्सेस होम’ भन्थ्यौं । पास्टर बुबा र आमा म्युजिसियन पनि हुनुहुन्थ्यो । उहाँहरूले नै त्यो अर्फनेज खोल्नुभएको थियो । त्यसैले हाम्रो हुर्काइ एकदमै म्युजिकल रह्यो । त्यहाँको हुर्काइले पनि मलाई संगीतसँग नजिक बनाइदिएको हो ।
सानो बेला बच्चालाई एउटा घर चाहिँदो रहेछ । तर, म सानैमा बुझ्ने भइसकेकी थिएँ– मेरो परिवारको अवस्था यस्तो रहेछ भनेर । त्यसैले समयअनुकूल हुने बानी भइसकेको थियो । कहिलेकाहीं चाहिँ असहाय अनुभव पनि हुन्थ्यो, आफ्नो जीवनमाथि आफ्नै पकड थिएन । कुन बेला कहाँ गएर बस्नुपर्ने हो ? जीवनको कुनै स्थायी ठेगाना थिएन । कुनै एक ठाउँलाई बल्ल आफ्नो बनाइसक्दा अचानक अर्को नयाँ ठाउँ अँगाल्नुपर्थ्यो । तर, त्यही विषयले मलाई म कुनै निश्चित ठाउँको मात्रै हुँ भन्ने अनुभव गराएन । अहिले पनि मलाई म कुनै ठाउँलाई ‘बिलोङ’ गर्दिनँ भन्ने कुरामै गर्व लाग्छ ।
मेरो पारिवारिक पृष्ठभूमि पनि रोचक छ । आमा टिबेटियन हुनुहुन्छ । आमापट्टिको हजुरबुबा झाँक्री । उहाँ आमा जन्मनुभएको टिबेटको गाउँको प्रमुख पनि हुनुहुन्थ्यो । आमातर्फका आफन्त सबै बुद्ध धर्मावलम्बी । त्यसैले आमा अलि आध्यात्मिक हुनुहुन्छ । एकदमै मिहिनेती हुनुहुन्छ । अहिले उहाँको गहना पसल छ । एकदमै प्रतिभाशाली आर्टिस्ट नै हुनुहुन्छ उहाँ । हातैले गरगहना बनाउनुहुन्छ । बुबा पनि सानैदेखि म्युजिसियन । हजुरआमाले त नेपाली टेलिशृंखलामा अभिनय नै गर्नुभयो । बुबाले पनि सानैदेखि स्कुल जान छोडेर गितार समात्नुभयो । म्युजिक स्टुडियो नै खोलेर बस्नुभयो । त्यसैले म मेरो परिवारलाई विद्रोही देख्छु, समाजभन्दा केही भिन्न ।
म धेरै सानो छँदै बुबा–मम्मी छुट्टिसक्नुभएको थियो, सायद म ४/५ वर्षको थिएँ त्यतिबेला । उहाँहरू उतिबेला परिपक्व अभिभावक हुनुहुन्थेन । युवा उमेरमै मलाई जन्माउनुभएको कारण अभिभावकीय जिम्मेवारी उहाँहरूले जान्नुभएन कि ? तर, स्कुले बिदाका दिन म उहाँहरू दुवैसँग समय बिताउँथे ।
मलाई स्कुल भन्नेबित्तिकै होस्टेल याद आउँछ । तर, मेरो होस्टेल जीवन त्यति राम्रो भएन । नेपालमा कति स्कुलहरू बाहिरबाट राम्रो देखिए पनि भित्र त्यस्तो छवि हुँदैन । शिक्षकहरू पनि ‘बुलिङ’ गर्ने किसिमका हुन्छन् । होस्टेलमा सबै शिक्षकलाई नराम्रो नै त म भन्दिनँ । कोही धेरै राम्रो पनि हुनुहुन्थ्यो । एक जना इङ्लिस पढाउने शिक्षक हुनुहुन्थ्यो । तीे शिक्षकले मेरो संगीतप्रतिको रुचि देख्नुभएको थियो । उहाँ सधैं भन्नुहुन्थ्यो, ‘दीक्षिता तैंले म्युजिकमा केही गर्नुपर्छ । यसमै तेरो भविष्य उज्ज्वल देख्छु ।’ मलाई लाग्छ, नेपालका विद्यालयमा यस्तो किसिमको शिक्षक चाहिन्छ, जसले बालबालिकामाथि विश्वास गरोस् । साथ दिने शिक्षक हुनुपर्छ । ‘तँ केही पनि हुँदैनस् । ठूलो भएपछि केही पनि हुँदैन’ भन्ने कुराले त बच्चालाई नराम्रो असर पुग्छ । म स्कुलमा पपुलर थिएँ । साथीहरू धेरै थिए । केटी साथी सबैभन्दा धेरै थिए । साथी सर्कल एकदम राम्रो थियो । हाम्रो स्कुलमा अतिरिक्त क्रियाकलाप एकदमै धेरै हुन्थ्यो– बास्केट बल, फुटबल पनि खेलिन्थ्यो । गितार कक्षा हुन्थ्यो । स्विमिङ हुन्थ्यो । एक समयमा मैले स्विमिङ कक्षा पनि लिएँ । त्यो छाडेर बास्केट बल सिकें । त्यसपछि गितार कक्षा जान थालें । अतिरिक्त क्रियाकलापका लागि राम्रो वातावरण थियो त्यहाँ ।
दसैंको छुट्टीमा होस्टेलबाट घर जान पाइन्थ्यो । मेरो परिवारमा दसैं मनाउने चलन थिएन । तर पनि रमाइलो गरिरहेको हुन्थें म । मेरो आमा बुद्धिस्ट, बुबा क्रिश्चियन । दसैं मनाइँदैनथियो परिवारमा । तर, साथी दसैं मनाउँथे, कहिलेकाहीं साथीको घरमा गएर पनि दसैं मनाएको छु । रमाइलो हुन्थ्यो । छुट्टीमा म पापाको घर फर्कन्थें । एक हप्ता पापासँग बस्थें । सानेपामा मम्मी बस्नुहुन्थ्यो । अनि हिँड्दै सानेपा पुगेर आमासँग बस्न जान्थें । होस्टेलबाट फर्केपछि केही समय पापा अनि केही समय मम्मीसँग बिताउँथें । मेरो दुई वटा घर थियो नि त ! आमाकहाँ जाँदा स्विमिङ गर्न पाइन्थ्यो । मज्जै हुन्थ्यो !
दसैं–तिहारका लामा बिदामा दिइने ‘होमवर्क’ सम्झँदा अहिले पनि मलाई ‘नाइटमेयर’ हुन्छ । स्कुलका परीक्षा सम्झँदा पनि ‘नाइटमेयर’ हुन्छ । स्कुलमै हुँदा पनि म होमवर्क गर्नु सट्टा गीत लेखेर बस्थें । होमवर्क गर्न बस्दा पनि दिमागमा नयाँ–नयाँ गीत फुर्थ्यो । डेस्कमा संगीतको बिट बजाउँदै गीत लेखिरहेको हुन्थें । अनि दसैंको बिदा सकिने बिहान हतार–हतारमा भ्याउँथें होमवर्क । बिदाबाट होस्टेल फर्कंदा साथीहरूलाई सुनाउन थुप्रै कथाहरू हुन्थे । हामी सबै एकअर्कालाई नयाँ–नयाँ कथा सुनाउँथ्यौं । हामीसँग कुरा गर्ने धेरै विषय हुन्थे । बिदापछिको स्कुलको त्यो समयमा इक्जामको चटारो पनि भइहाल्थेन । त्यसैले पढाइमा धेरै गम्भीर बनिहाल्नु नपर्दा एकदम रमाइलो लाग्थ्यो ।
