खोला–खहरेमै बिते रमाइला दिन

समयसागै गाउँबाट छुट्टियो, पढाइ अनि रोजगारी राम्रै भयो, सपनामा पनि नचिताएको काठमाडौं जस्तो ठूलो सहरमा घर, जागिर परिवार सबै भयो तर योभन्दा त्यो बालपनको खुसी, साथीहरूको त्यो सामीप्य, गाउँठाउँको त्यो माया अनि ती खोला–खहरेहरूको छमछम–छमछम केहीसाग तुलना हुन सक्दैन ।

कार्तिक ८, २०८२

मनोज ज्ञवाली

A fun day spent in the river

What you should know

काठमाडौँ — म  अलिकति सामाजिक र विकासको हिसाबले पिछडिएको ठाउँ दैलेखको भैरवी गाउँपालिकामा जन्मिएँ । हाम्रो पालामा गाउँघरमा गाडी हुन्थेनन् । म एसएलसी पास भएर काठमाडौं आउने बेलासम्म पनि सुर्खेतसम्म हिँडेरै आएको थिएँ । तर, अहिले गाउँसम्म गाडी जान्छ । 

एक पटक कुनै दुई जना विदेशी साइकल लिएर स्कुल अगाडितिरबाटै कुदाउँदै हिँड्दै रहेछन् । थाहा पाएपछि सबै कक्षाका विद्यार्थी साइकलको पछिपछि डेढ–दुई किलोमिटर पर (डाँडीमाडीबाट जगत्रा) सम्म पछिपछि गएका थियौं । कति बेला साइकल उचाल्ने र अलि परसम्म पुर्‍याइदिने अनि साइकल छुने काममा साथीहरूबीच प्रतिस्पर्धा नै भएको थियो । 

दुल्लुमा पढ्दै गर्दा एक पटक आर्मीका कर्णेल दीप्तप्रकाश शाह हेलिकोप्टरमा दुल्लु आउने कुरा थाहा भयो । हेलिकोप्टर हेर्न पाइने भयो भनेर हामी अत्यन्तै खुसी थियौं । जब हेलिकोप्टर दुल्लुनजिक आकाशमा आइपुग्यो, कक्षामा भएका सबै विद्यार्थी हेलिकोप्टर बस्ने डाँडातिर दौडियौं । दौडिँदै गर्दा म अघि नै थिएँ । जब हेलिकोप्टरको नजिकै पुगें, पंखाको हावाले मलाई झन्डै उडाइदिएको । तैपनि हेलिकोप्टर नजिकैबाट हेर्न पाउँदा कम्ता खुसी मिलेन । 

सानोमा रेडिमेड कपडाका लागि धेरै पसल हुँदैनथे । कपडा सिलाएर मात्र लगाउने गरिन्थ्यो । त्यही कपडा अर्को वर्षसम्म लगाउनुपर्थ्यो । गाउँघरतिर उद्यम व्यवसाय खासै हुन्थेन । सानासाना पसल र चिया पसल मात्र हुन्थे । केही व्यवसायीले व्यापार गर्थे । शिक्षण पेसामा भने धेरै मानिस आबद्ध थिए । 

केही मान्छे स्वास्थ्य क्षेत्रमा पनि काम गर्थे । त्यति बेला सरकारी नोकरी नै ठूलो कुरा हुन्थ्यो । मेरा बुबा पनि स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले गाउँमा हाम्रो परिवार हुनेखानेमै गनिन्थ्यो । तसर्थ त्यहाँको परिवेशअनुसार राम्रो लगाउने, मीठो खाने अनि राम्रो पढाइ पनि गर्ने अवसर मलाई प्राप्त भयो । 

स्कुल पढ्ने बेला बिदा कहिले हुन्छ भनेर बसिन्थ्यो । चाडबाड र मेलापर्वका बेला गाउँ छुट्टै रौनक र उत्साहले भरिन्थ्यो । गाउँतिरका धेरै मान्छे काम गर्न भारततिर जाने र चाडबाडमा घर फर्किन्थे । घर आउँदा उनीहरूले नयाँ कपडा, केही पैसा, काँधमा रेडियो, टेपरेकर्डर र चकलेट ल्याउँथे । उनीहरूको आगमनले गाउँमा छुट्टै रौनक थपिन्थ्यो ।

जिल्लामा कलेज–विश्वविद्यालय थिएनन् । १० कक्षासम्म पढ्न ९/१० वटा स्कुल थिए । मैले सात कक्षाससम्म घरनजिकै ‘हिमालय मावि डाँडीमाडी’ मा पढें । कक्षा आठदेखि भने ‘विजय मावि, दुल्लु’ मा पढें । यो स्कुल हाम्रो घरदेखि करिब साढे २ घण्टा पैदल बाटोमा थियो । त्यति बेला स्कुलहरूमा धेरैजसो गणित र विज्ञान पढाउने शिक्षकको अभाव भइरहन्थ्यो । 

हामी एउटै कक्षामा १ सय ६७ जना विद्यार्थी पढ्थ्यौं । कक्षामा राम्रो पढ्ने विद्यार्थीलाई शिक्षकहरूले अत्यन्तै माया गर्ने अनि नतिजा आएपछि कक्षामा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीलाई ‘चेलपार्क मसीको बट्टा, एक/दुइटा फाउन्डेन पेन र कापी उपहार दिने चलन थियो । म पढाइमा इमानदार थिएँ । होमवर्क सधैं गर्थें । कक्षामा प्रथम हुन्थें । त्यसैले कहिलेकाहीँ होमवर्क छुटे पनि कुटाइ खानुपर्ने अवस्था आएन । 

पढाइले मलाई कक्षामा आत्मविश्वासी बन्न सघायो । त्यही आत्मविश्वासले नै होला, पढ्दैदेखि जागिर गर्ने बेलासम्म पनि मलाई सकिन्न भन्ने कुरा कहिल्यै आएन । यो सम्पूर्ण कुराको श्रेय मेरा मातापिता र शिक्षकलाई जान्छ । उहाँहरूले ‘तिमी जे पनि गर्न सक्छौ’ भनेर सधैं मनोबल उच्च गराइदिनुभयो । 

स्कुल जाँदा अढाईदेखि तीन घण्टा लाग्ने भएकाले एउटा डाँडादेखि अर्को डाँडासम्म आइरहेको साथीलाई सिटी बजाउँदै कहाँ पुग्यौ भनेर बोलाउने, कुर्दै बस्ने अनि साथीहरूको हूल बनाएर स्कुलतिर लाग्ने गर्थ्यौं । दसैं–तिहारताका स्कुल जाँदा–आउँदा पानी पर्ने, कुहिरो लाग्ने मौका हुँदासाथ बाटोको तल–माथि बारीमा फलेका काँक्रा, सुन्तला, भोगटे आदि टिपेर खान्थ्यौं । त्यही बेला केही साथीहरू बारीमा पस्ने र केही कोही आउँछ कि भनेर बाटोमै बस्थ्यौं । कहिलेकाहीँ बारी मालिकहरूसँग पनि जम्काभेट हुन्थ्यो । उनीहरूलाई देखेपछि हामीहरू कुदथ्यौं । उनीहरूले धेरै परसम्म लखेट्थे । यसरी सासै रोकेर कुद्न निकै गाह्रो हुन्थ्यो । तर, अहिले ती क्षण सम्झँदा बेग्लै आनन्द आउँछ ।

विद्यालयहरूमा खेलकुदका लागि राजाको जन्मोत्सवका बेला ‘रनिङ सिल्ड, ज्याभ्लिङ थ्रो, भलिबल जस्ता खेलकुद आयोजना हुन्थे । म उमेरले कम (धेरै सहपाठीभन्दा सानो) भएकाले खेलकुदमा खासै अघि थिइनँ । तर पढाइमा राम्रो भएकाले वक्तृत्वकला, निबन्ध, वादविवाद, हाजिरजवाफलगायत प्रतियोगितामा भाग लिन्थें । कहिलेकाहीँ जिल्लास्तरीय प्रतियोगितामा भाग लिन सदरमुकाम जानुपर्थ्यो । सदरमुकाम जाँदा ‘कोल्ड ड्रिंक्स र जिलेबी’ खान पाइने भएकाले सोच्दा पनि छुट्टै आनन्द आउँथ्यो । 

स्कुल बिदाका बेला साथीभाइसँग गाईबाख्रा चराउन जाने, घर नजिकैको खोलामा पौडी खेल्न र माछा मार्न जाने, डन्डीबियो र कबड्डी आदि खेल्थ्यौं । त्यति बेला मनमा छुट्टै उमंग आउँथ्यो । दसैंभन्दा केही समयअघि पिङ बनाउनलाई जम्मा पारेको बाबियो भिजाएर हाम्रा ठूलाकान्छा बुबालाई पिङ बनाइदिन निकै कर गर्थ्यौं । त्यति बेला महिनौं कुरेर बस्ने र मेलामा जाँदा रोटेपिङमा मच्चिँदा निकै रमाइलो हुन्थ्यो । ती क्षणको रमाइलो अहिले कुनै मज्जाले पनि बराबरी गर्न सक्दैन ।

दसैं–तिहारमा स्कुल बिदा हुने, गाउँघरमा मेला लाग्ने र मेलामा विभिन्न प्रकारका खाना खान र पिङ खेल्न पाइने भएकाले महिनौंअघिदेखि हामी पैसा जम्मा गर्थ्यौं । पैसा जुटाउन निकै कसरत गर्नुपर्थ्यो । महिनौंअघिदेखि खाजाका लागि घरबाट दिएको पैसाबाट केही जोगाउँथ्यौं । कहिले बुबाको पकेटबाट खुसुक्क पैसा निकाल्थ्यौं । मेलासम्म २० देखि २५ रुपैयाँ जम्मा भइसकेको हुन्थ्यो । त्यति बेला दुई रुपैयाँमा चमेना बिस्कुट, एक रुपैयाँमा बाबा बिस्कुट, पाँच रुपैयाँमा पाइनापल बिस्कुट, एक रुपैयाँमा सानो थैला पीपलमेट र एक रुपैयाँका ६/७ वटा साना चकलेट आउँथ्यो । यसरी किनेको सामान झोलाभरि हालेर दगुर्दा संसारै जिते जस्तो आभास हुन्थ्यो । खुसीको सीमा हुन्नथ्यो । दसैंका बेला मामाघरतिर जाने अनि टीका लगाउँदा नयाँ–नयाँ नोट दक्षिणा पाइन्थ्यो । हामीले त्यति बेला पाउने दक्षिणा ५–१० रुपैयाँ हुन्थ्यो । कतिले एक–दुई रुपैयाँ पनि दिन्थे ।

कहिलेकाहीँ बुबा र मामाहरू तास खेल्दै गर्दा जसले जित्छ उसले दुई रुपैयाँ, पाँच रुपैयाँ र १० रुपैयाँको नयाँ नोट दिनुहुन्थ्यो । गाउँघरमा साथीभाइसँग मिलेर बिदामा चाडपर्वमा रमाउनुको मज्जा बेग्लै थियो । तिहारका बेला देउसी–भैली खेल्थ्यौं । देउसी–भैली खेल्दै दुई–तीन गाउँ पुग्थ्यौं । अनि कसले कसको घरबाट कति दक्षिणा र के–के खाने कुरा दिन्छन् भनेर हेर्दा निकै रमाइलो लाग्थ्यो । जम्मा भएको पैसा टोलीमा भएका सबै साथीले भाग लगाएर बाँड्थ्यौं । त्यति बेला ५०/६० रुपैयाँमा किन्न सकेको खुसी अहिले पाँच लाख रुपैयाँमा पनि किन्न मुस्किल हुन्छ । 

समयसँगै गाउँबाट छुट्टियो । पढाइ ठिकै भयो । रोजगारी राम्रै भयो । सपनामा पनि नचिताएको काठमाडौं जस्तो ठूलो सहरमा घर, जागिर परिवार सबै भयो । तर यो सबैभन्दा बालपनको त्यो खुसी, साथीहरूको त्यो सामीप्य, गाउँठाउँको त्यो माया अनि ती खोला–खहरेहरूको छमछम–छमछम केहीसँग तुलना हुन सक्दैन । अब त गाउँ जान पनि वर्षौं कुर्नुपर्छ । आफन्तहरूले कहिले गाउँको पृष्ठभूमि देखिने गरी फोटो हाले वा टिकटक बनाए भने हजारौं सम्झना एकैसाथ ह्वारह्वारी आउँछन् । त्यो देख्दा तत्कालै सबै चिज छाडेर त्यही गाउँ र माटोमा फर्कियौं जस्तो लाग्छ । तर जिम्मेवारी र कहिल्यै पूरा नहुने सपनाहरूले खुट्टामा जञ्जिरको काम गर्छन् । यही कारण मन हुँदाहुँदै पनि सहरमा बस्न बाध्य हुनुपर्छ । 

देश–विदेश धेरै घुमें । तर संसारका सबै सुन्दर ठाउँभन्दा पनि छामघाटको खोला जस्तो राम्रो कुनै खोला भेटिएन । गल्लापानी जस्तो राम्रो कुनै जंगल भेटिनँ । दुल्लु–दैलेख जस्तो कुनै राम्रो ठाउँ भेटिनँ ।

मनोज सीईओ, नबिल बैंक

Link copied successfully