दसैं दसैंजस्तो छैन तिमी गएपछि

स्याहार नपाएका जमरा/ कुनामा कक्रक्क परेजस्तै लाग्छ/ थालभरि मुछेका अक्षता/ फिका लाग्छ, फुको लाग्छ

आश्विन १५, २०८२

अस्मिता विष्ट

Dasain is not the same as Dasain after you are gone

मधुरिएको छ शारदीय जूनको माधुर्य

बेरंगी बनेको छ गगनमा इन्द्रेणी

बतासमा घोलिएको छ बाक्लो न्यास्रो

दसैं दसैं जस्तो छैन तिमी गएपछि

आँगनमा मच्चिएको पिङ उत्साह बोल्दैन

बरु चुइँचुइँ गर्दै भक्कानिन्छ भित्रभित्रै

आकाशमा उड्ने चंगा पनि

आकाशमै हराइजाऊँ भन्छ

चेट भएर भुइँमा खसिजाऊँ भन्छ

बजारमा नानाथरी नाना छन् 

तर छैनन् राम्रो नाना हेरिदिने ती नजर

दसैं दसैंजस्तो छैन तिमी गएपछि

स्याहार नपाएका जमरा

कुनामा कक्रक्क परेजस्तै लाग्छ

थालभरि मुछेका अक्षता

फिका लाग्छ, फुको लाग्छ

कौशी रित्तो लाग्छ

रित्तो लाग्छ बार्दली

घरीघरी घरमा, घरीघरी मनमा

तिम्रो झल्को लाग्छ

दसैं दसैंजस्तो छैन तिमी गएपछि

आँगनमा उल्लास छैन

छैन छानामाथि सुकाउने स्वादको सिसा

न त छ भान्छामा मगमगाउने बास्ना

खाना खल्लो, मन झन् खल्लो

मालश्रीको धुन पनि खल्लो

दसैं दसैंजस्तो छैन तिमी गएपछि

छँदै छ मचानमा हार लगाइराखेको मकै 

भकारीभरिको धान 

गोठमा बाँधेको खसी

ढोक्साभरि तिमीले छोडेको सम्झना  

छँदै छ अझै मनभरि मस्तिष्कभरि

तिमीले रोपेको माया, तिम्रो मात्र छाया

तर छैन दसैंको त्यो रमझम

दसैं दसैंजस्तो छैन तिमी गएपछि

तिमीबिना हराएको छ हाम्रो आकाशबाट शारदीय उज्यालो

हराएको छ हाम्रो साँझबाट शालीन दीप

चाडको खुसीमा पुतली बन्न छोडेको छ मन

आफन्तको आगमनमा ओछिन छोडेको छ नयन

न त दलानमा राडी, न त मझेरीमा भतेरको अवशेष

दसैं दसैंजस्तो छैन तिमी गएपछि

तिमीले छोडेको सम्झनाको उज्यालोमा

फेरि पनि, तिमीलाई सम्झेर

लाउनु छ टीका मनको निधारमा ।

अस्मिता

Link copied successfully