जेन–जी आन्दोलन : सत्ता फेर्ने हुरी

जेन–जीले सडक, सामाजिक सञ्जाल र सार्वजनिक स्थानमा उभिएर भनेका छन्– देशको आगामी यात्रा हामी तय गर्नेछौं।

आश्विन ११, २०८२

सजना बराल

The Zen-G Movement: A Power Shift

काठमाडौँ — इतिहासका पानाहरूले प्रसंग पल्टाउँछन्– नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक आन्दोलन र पुनर्जागरणको अग्रमोर्चामा सधैं युवा नै उभिएका छन् । स्वप्नशील युवासँग हुन्छ– ऊर्जा, साहस र सपनालाई विपना तुल्याउने प्रतिबद्धता ।

राणा शासनविरुद्धको विद्रोह– विक्रम संवत् १९९७, २००७ को क्रान्ति, ०३६ को विद्यार्थी आन्दोलन, ०४६ को जनआन्दोलन, ०६२/६३ को जनआन्दोलन, ०६३ को मधेश आन्दोलन र ०८२ को जेन–जी आन्दोलन— सबैमा युवा सडकमा आए, परिवर्तनको वाहक र स्वतन्त्रता–सेनानी बने । युवाकै रगतले सिञ्चित छ– हाम्रो लोकतन्त्र । ‘कोसेली’ को यस अंकमा हामीले तिनै युवाका सपना, संघर्ष र योगदान सम्झिने प्रयास गरेका छौं ।

 ...

‘आगामी दिनहरू कस्ता हुन्छन् भन्ने तय गर्ने जिम्मा युवाहरूको हो, परिवर्तनले हामीलाई कहाँ पुर्‍याउँछ भन्ने छनोट गर्ने अधिकार पनि उनीहरूकै हो,’ तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुस भ्रमण क्रममा न्यु स्कुल अफ इकोनोमिक्स, मस्कोबाट स्नातक सकेका युवालाई सम्बोधन गर्दै मे ७, २००९ मा भनेका थिए, ‘किनकि भविष्य त्यस्ता व्यक्तिको होइन, जो युद्ध मैदानमा सेना जम्मा गर्छन् वा भुइँभरि क्षेप्यास्त्र गाड्छन् । भविष्य त शिक्षित र सिर्जनशील युवाको हो, जसले कल्पनाशक्ति प्रयोग गरेर नयाँ संसार सिर्जना गर्न सक्छन् ।’

ओबामाको १६ वर्षअघिको सम्बोधनको प्रतिबिम्ब सन् २०२५ को सेप्टेम्बरमा नेपालमा देखा पर्‍यो । नेपाली युवा पुस्ताले सडक, सामाजिक सञ्जाल र सार्वजनिक स्थानमा उभिएर भने– देशको आगामी दिशा कता जान्छ भन्ने हामी निर्क्योल गर्छौं । 

नेपालको राजनीतिक इतिहास हेर्ने हो भने हरेक पुस्ताले आ–आफ्नो समयका असन्तुष्टि, विभेद र बेथितिबारे आवाज उठाएका छन् । वि.सं. २००७ को प्रजातन्त्रको लडाइँदेखि २०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ को जनआन्दोलन र २०६२/६३ को लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म, हरेक महत्त्वपूर्ण राजनीतिक परिवर्तनको अग्रमोर्चामा युवाहरू उभिएका छन् । केही वर्षयता किसान, शिक्षक, चिकित्सक, यातायात व्यवसायीसँगै मिटरब्याजपीडितजस्ता विभिन्न समूहले आफ्ना मुद्दा लिएर सडकमा प्रदर्शन गरे पनि तिनले निश्चित सम्झौतामा विश्राम पाए । तर, जब–जब युवा सडकमा उत्रिएका छन्, त्यसले ठूलो तरंग, बलिदानी र व्यवस्थामा नै परिवर्तन निम्त्याएको छ । 

यही शृंखलाको पछिल्लो कडीका रूपमा २०८२ सालको ‘जेन–जी’ आन्दोलन देखा पर्‍यो । यसले पुनः राज्य संयन्त्रलाई हल्लाइदिएको छ र निर्णय प्रक्रियामा ढलिमली गर्दै आएका धेरैलाई सोच्न बाध्यसमेत तुल्याएको छ । 

जेन–जी आन्दोलनको पृष्ठभूमि कसरी तयार भयो ? युवाहरू किन सडकमा आए ? भर्चुअल विद्रोहको प्रभाव के रह्यो ? यसले कस्तो परिवर्तनको संकेत गरेको छ ? यो विषयले गहिरो अर्थ बोकेको छ । यो कुनै राजनीतिक दलको लामो प्रयास वा संगठित आह्वानबाट सुरु भएको आन्दोलन थिएन । 

सामाजिक सञ्जालमा सल्केको असन्तुष्टिको आगो सडकमा पुगेपछि त्यसले डढेलोको रूप लियो । सम्बन्धित पेसाकर्मी वा समूहका मान्छे सहभागी भएर रत्नपार्कदेखि माइतीघर र नयाँ बानेश्वरमा प्रदर्शन गरिने यसअघिका आन्दोलनभन्दा फरक स्वरूपमा जेन–जी आन्दोलन देखा पर्‍यो । यसमा बैंकरदेखि, ट्याक्सी चालक वा किसानका छोराछोरीले भौतिक र डिजिटल दुवै माध्यममा उपस्थित भएर खबरदारी गरे, छलफल र माग पारदर्शी ढंगले प्रस्तुत गरे, गल्ती–कमजोरी र उपलब्धिको स्वामित्व लिए ।

The Zen-G Movement: A Power Shift

देशको प्रशासनिक र राजनीतिक संरचनामा अब ‘गलत काम गरे प्रश्न उठ्छ वा विद्रोह हुन्छ’ भन्ने डर पैदा हुनु नै यस आन्दोलनले स्थापित गरेको सबैभन्दा ठूलो उपलब्धि रहेको जेन–जी प्रतिनिधि विकास यादव बताउँछन् । उनका अनुसार, अब पदमा बस्नेहरूले कुनै पनि गलत काम गर्नुअघि यो विद्रोहलाई एक पटक सम्झिनेछन् । अन्तरिम सरकारमा केही योग्य र अनुभवी व्यक्ति पुग्नु पनि आन्दोलनको सकारात्मक पक्ष रहेको उनले बताए । उनले यो चुनावी सरकारले ६ महिनाभित्रै भ्रष्टाचारलाई निर्मूल पार्न नसके पनि सुधार गर्न सक्ने विश्वास व्यक्त गरे । राम्रा उम्मेदवार उठे विदेशमा रहेका युवा भोट हाल्न देश फर्किने उनको बुझाइ छ । नयाँ सरकारले रोजगारीका अवसर सिर्जना गर्ने र शिक्षा प्रणालीलाई व्यवस्थित (जस्तै, तीन महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने) बनाउन सक्यो भने युवा स्थायी रूपमै देश फर्किने वातावरण बन्न सक्ने उनको भनाइ छ ।

आन्दोलनपछिको अवस्थाप्रति यादवको केही असन्तुष्टि पनि छ, विशेषगरी अन्तरिम मन्त्रिपरिषद् गठनलाई लिएर । उनको सबैभन्दा ठूलो चिन्ता मन्त्रिपरिषद्मा जेन–जी उमेर समूहको प्रतिनिधित्व नहुनु हो । भन्छन्, ‘हामीले संविधानको प्रस्तावनादेखि अन्त्यसम्म ‘समावेशी’ शब्द धेरै पटक पढेका छौं, तर त्यो समावेशिता क्याबिनेटमा कतै देखिएन ।’ युवा प्रतिनिधित्व नहुँदा सरकारका निर्णयहरू पारदर्शी नहुने र जेन–जी समूहप्रति जवाफदेहिताको अभाव हुने उनको तर्क छ । 

अर्की जेन–जी प्रतिनिधि रक्षा बमका अनुसार, नेताहरूले दिएका झूटा आश्वासन र सपना, सत्ता जोगाउन मात्र केन्द्रित हुने प्रवृत्ति र आमजनता एवं नेताका परिवारबीचको बढ्दो आर्थिक असमानताको खाडलले युवालाई यसपालि आन्दोलित बनाएको थियो (स्रोतः शिलापत्र र अनलाइनखबरसँग हालैका भिडियो अन्तर्वार्ता) । ‘हाम्रो पुस्ताको प्रश्न हो, हामीले तिरेको करको पैसा कहाँ र कसरी प्रयोग भइरहेको छ ? हामी कर तिर्ने, तर नेताका परिवारले विलासी जीवन बिताउने यो असमानता किन ?’ उनी भन्छिन्, ‘हामीलाई यी प्रश्न गर्न जरुरी लाग्यो । कर तिरेबापत हामीले पनि केही पाउनुपर्‍यो, हाम्रो वाक् स्वतन्त्रता सुनिश्चित हुनुपर्‍यो भन्ने माग लिएर सडकमा गएका थियौं ।’

राजनीतिक विश्लेषक झलक सुवेदी यो आन्दोलनलाई शासकीय शैलीमा जरा गाडेर बसेको ‘सामन्तवादी संस्कृति’ विरुद्धको विद्रोहका रूपमा हेर्छन् । उनका अनुसार, विगतका आन्दोलन संगठित राजनीतिक दलहरूको लामो प्रयास र वैचारिक नेतृत्वमा भएका थिए र तिनमा मध्यमवर्गदेखि राष्ट्रिय पुँजीपति वर्गसम्मको सहभागिता हुन्थ्यो । तर, यो आन्दोलनले परम्परागत राजनीतिक शक्ति र आममानिसबीचको सम्बन्ध टुटेको देखायो । यस आन्दोलनले इतिहासमा आफ्नो स्थान सुरक्षित गरिसकेको भए पनि यसको पूर्ण ऐतिहासिक गणना हुनका लागि वर्तमान सरकारले पुराना भ्रष्टाचारका फाइल खोलेर न्यायिक छानबिनमार्फत पुरानो पुस्ताका राजनीतिक नेतृत्वलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सर्त रहेको उनी बताउँछन् । 

पूर्वबैंकर अनिल शाह भन्छन्, ‘विगतका आन्दोलन कुनै न कुनै पार्टीको झन्डामुनि हुन्थे, तर यो आन्दोलन नेपालको झन्डामुनि भयो ।’ यो आन्दोलनको संगठन सामाजिक सञ्जाल र डिस्कर्डजस्ता डिजिटल प्लाटफर्ममा भयो । सुरुमा सामाजिक सञ्जाल र भ्रष्टाचारको मुद्दामा केन्द्रित आन्दोलनले उग्ररूप लिनुको कारण भदौ २३ (सेप्टेम्बर ८) को घटना थियो । विद्यालय पोसाकमा रहेका युवा टाउकोमा गोली लागेर ढलेका दृश्य सार्वजनिक भएपछि त्यसले घरघरमा आवेग जन्माएको पूर्वबैंकर शाहको विश्लेषण छ । ‘त्यो दृश्य देखेपछि मलाई पनि यो मेरै नेपाल हो भन्नेमा अविश्वास पैदा भयो,’ उनी भन्छन् । 

The Zen-G Movement: A Power Shift

यो आन्दोलनले ‘जेन–जीहरू राजनीतिप्रति उदासीन छन्, मोबाइल मात्रै हेर्छन्, विदेश जान भिसा कुरेर बसेका छन् वा सामाजिक मुद्दामा सरोकार राख्दैनन्’ भन्ने भाष्यलाई पनि गलत सावित गरेको कतिपयको विश्लेषण छ । लुम्बिनीबाट यस आन्दोलनको नेतृत्व गरेका युवा किरण विकका अनुसार, जेन–जी पुस्ता राजनीतिक रूपमा साक्षर छ, तर उनीहरू राजनीतिलाई फरक भाषा र फरक बिम्बमा बुझ्छन् । ‘हामी राजनीतिलाई समाजवादजस्ता ठूला शब्दमा होइन, सुशासनमार्फत महसुस गर्न चाहन्छौं,’ विक भन्छन् । केही शंकाबीच पनि आन्दोलनले देशलाई सही दिशामा डोर्‍याएको र एउटा ‘युगान्तकारी फड्को’ मारेको उनी बताउँछन् । 

विकको बुझाइमा आन्दोलनमा त्यस्ता युवाको सहभागिता थियो, जो राज्यका विभिन्न अंगसँग आक्रोशित र निराश थिए । यो आन्दोलनलाई आममानिसले अपनत्व लिएको दाबी उनको छ । भन्छन्, ‘यो आन्दोलनको सबैभन्दा ठूलो सफलता प्रणालीमा यसले ल्याएको ‘हाइ भोल्टेज’ झट्का हो ।’ 

राजनीतिक विश्लेषक लोकराज बराल यो पुस्ताले गहिरा सैद्धान्तिक किताब नपढे पनि सूचना प्रविधिको पहुँचका कारण भ्रष्टाचार र कुशासनजस्ता विषयमा राम्रो जानकारी राख्ने र त्यसैबाट प्रभावित हुने गरेको बताउँछन् । उनका अनुसार, कुनै पनि आन्दोलनमा युवा सडकमा उत्रिनुले उनीहरू समाज र राजनीतिप्रति सचेत छन् भन्ने देखाउँछ । ‘विगतका आन्दोलन राजनीतिक विचारधारा र व्यवस्था परिवर्तनको स्पष्ट सैद्धान्तिक धरातलमा उभिएका थिए, ती आन्दोलनमा सहभागी युवा राजनीतिक दलसँग आबद्ध थिए र पार्टीको संगठनकै रूपमा दुःख, हन्डर र जेलनेल सहेर उद्देश्य प्राप्तिका लागि लडेका थिए,’ उनी भन्छन्, ‘जेन–जीले त्यस्तो अवस्था भोगेको छैनन् । उनीहरू खुला समाजमा हुर्किएका छन्, जहाँ बोल्न, लेख्न र विरोध गर्न पाउने स्वतन्त्रता छ । उनीहरूको ज्ञान गहिरा सैद्धान्तिक किताब पढेरभन्दा पनि युट्युबजस्ता माध्यमबाट प्राप्त सूचनामा आधारित छ । त्यसैले उनीहरू सिद्धान्तको गहिराइमा जाँदैनन्, बरु सरकारले काम गर्‍यो कि गरेन, नेता ठीक छन् कि छैनन् र भ्रष्टाचार भयो कि भएन जस्ता तात्कालिक र सूचनामा आधारित विषयबाट बढी प्रभावित हुन्छन् ।’ 

अहिलेको आन्दोलन कुनै वैचारिक जगमा नभई नेताहरूको कार्यशैली, सत्तामोह र भ्रष्टाचारप्रतिको वितृष्णा र असन्तुष्टिबाट जन्मिएको बरालको विश्लेषण छ । यो आन्दोलनलाई तत्काल उचाल्ने काम (ट्रिगर) भने सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णयले गरेको उनले प्रस्ट्याए । बरालका अनुसार, जेन–जी आन्दोलनको सकारात्मक पक्ष भनेको युवाले लोकतन्त्र र संविधानको विपक्षमा आवाज नउठाउनु हो । ‘बंगलादेश वा श्रीलंकामा जस्तो सेना वा राजा बोलाउने नारा यहाँ लागेन, यसले यो पुस्ता लोकतान्त्रिक व्यवस्थाप्रति प्रतिबद्ध र सचेत छ भन्ने देखाउँछ,’ उनी भन्छन्, ‘आन्दोलनले संविधान र गणतन्त्र बचाएको छ । संवैधानिक प्रक्रियाका हिसाबले अन्तरिम सरकार गठन अपवाद भए पनि यसले देशलाई संकटबाट जोगाएको छ ।’ 

बरालका अनुसार, आन्दोलनको नराम्रो पक्ष भनेको ‘भीडको मनोविज्ञान’ को फाइदा उठाएर केही अराजकता फैलिनु हो । विश्लेषक सुवेदी यसलाई सामाजिक सद्भाव टुटाउन सक्ने डरलाग्दो घटनाको रूपमा चित्रण गर्छन् । जेन–जी प्रतिनिधि किरण विक भने यो दुर्घटना हुनुमा आन्दोलन ‘नेतृत्वविहीन’ हुनुलाई कारण मान्छन् । 

अन्तरिम सरकार बनेर चुनावको मिति घोषणा भएसँगै आन्दोलन एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ । युवामा चर्चित पूर्वबैंकर अनिल शाह यसलाई ‘सगरमाथाको आधार शिविरमा पुगेको’ अवस्थासँग तुलना गर्छन् । अबको सबैभन्दा ठूलो चुनौती भनेको सडकको आवाजलाई ब्यालेटमा बदल्नु रहेको उनी बताउँछन् । फिजिकल र डिजिटल स्पेसमा देखाइएको शक्तिलाई राजनीतिक र संस्थागत स्वरूप दिनु नै जेन–जीको अबको सबैभन्दा ठूलो र महत्त्वपूर्ण कार्यभार रहेको बरालले बताए । 

प्रश्न सोध्ने र आलोचना गर्ने स्थानबाट एकाएक जवाफ दिने र थिति बसाउने जिम्मा लिएका नेपालका युवा वर्गले आफ्ना आगामी कदम कत्तिको जुझारु र सान्दर्भिक बनाउन सक्छन् भन्नेले अब नेपाल नयाँ र स्थायित्वतर्फ अघि बढ्छ कि फेरि अर्को युवा पुस्ता ‘जिन्दावाद, मुर्दावाद’ भन्दै सडकमा आउनुपर्छ भन्ने निर्क्योल गर्ने अधिकांशको राय छ ।

सजना बराल बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully