अधिनायकवादी व्यवस्था पल्टाउने २००७ सालको क्रान्ति

नेपालमा विभिन्न कालखण्डमा अधिनायकवादी व्यवस्था पल्टिएका छन्, स्वेच्छाचारी सरकार ढलेका छन् । लोकतन्त्रको ढोका खोल्ने पहिलो जनआन्दोलन भने २००७ सालको थियो । त्यो आन्दोलन हाँक्नेहरू युवा नै थिए ।

आश्विन १०, २०८२

उपेन्द्रराज पाण्डेय

The 2007 revolution that overthrew the authoritarian regime

सरकार तानाशाही भए प्रजातन्त्रका लागि मरिमेट्ने देशभक्तहरूको कमी हुँदैन । ...जीवनसम्म पनि कुर्वानी गर्ने क्रान्तिकारीहरूको त्याग–तपस्याबाट उपनिवेश स्वाधीन हुन्छ । स्वेच्छाचारी सरकार ढल्छ, अधिनायकवादी व्यवस्था पल्टिन्छ ।– भुवनलाल प्रधान, नेपालको जनक्रान्ति–२००७ ।

२००७ सालको क्रान्तिमा आफैं होमिएका भुवनलाल प्रधानले भनेझैं नेपालमा पनि विभिन्न कालखण्डमा अधिनायकवादी व्यवस्था पल्टिएका छन्, स्वेच्छाचारी सरकार ढलेका छन् । नेपाललाई नयाँ युगमा उभ्याउन २००७ सालकै क्रान्तिको योगदान थियो । त्यस क्रान्तिलाई हाँक्नेहरू युवा नै थिए ।

ब्रिटिस साम्राज्यवादीसँग साँठगाँठ मिलाउने राणाशासनअन्तर्गत हाम्रो दुर्गति कुनै पनि औपनिवेशिक मुलुकका जनताको भन्दा कम थिएन : भुवनलाल प्रधान, नेपालको जनक्रान्ति, २००७नेपालको इतिहासमा राणाशासन अँध्यारो युग नै हो । पुरातन सामन्ती सोच र मान्यतामा अडिएका राणाहरूले समाज र राज्यलाई संसारबाट अलग्याएर एक शताब्दीभन्दा बढी समय देशलाई आफ्नो निजी सम्पत्तिझैं चलाए । यो अँध्यारो सुरुङबाट बाहिर ल्याउने काम जनक्रान्तिले गर्‍यो । यही क्रान्तिबाट नेपालमा पहिलो पटक प्रजातन्त्रको सूत्रपात भयो र मुलुक आधुनिक युगतर्फ प्रवेश गर्‍यो । नेपालमा लोकतन्त्रको ढोका खोल्ने यो पहिलो जनआन्दोलन केवल राजनीतिक परिवर्तन थिएन– यो एउटा युगान्तकारी मोड थियो, जसले नेपाली समाजलाई परम्परागत सामन्ती अन्धकारबाट आधुनिकतामा धकेल्यो ।

राणाशासनको स्थापना नै छलबल र करले भएको थियो । निरंकुश थियो । सैनिक तथा निजामतीतर्फका उच्च ओहदामा राणा परिवारकै व्यक्ति नियुक्त हुन्थे । न राजाको हातमा केही शक्ति थियो न जनताको हातमा अधिकार । श्री ३ कै बोली कानुन हुन्थ्यो । जातपातका आधारमा भेदभाव थियो । एउटै सजायमा कसैलाई सजाय हुन्थ्यो, कसैलाई छुट थियो । राणाहरूविरुद्ध कुनै मुद्दा चल्दैनथ्यो ।

कुँवरबाट राणा र राणाबाट राणाजी कहलिएका जंगबहादुर र उनका खलकले मुलुकमा मात्र नभई परिवारमै पनि उत्पातै मच्चाएका थिए । तिनैका दृष्टान्त हुन्– कोतपर्व, भण्डारखाल पर्व, लाइब्रेरी पर्व, मकै पर्वलगायत । ‘राणाजीहरू सरकार भए, अरूहरू दुनियाँदार । प्रजावर्ग अरूहरूले पाउने पदमा हद, म्याद, प्रतिबन्ध लाग्थ्यो,’ प्रधान लेख्छन् । यतिसम्म कि राणाहरूले आफ्नो नाममा जोडेको फुर्को ‘शमशेर’ उनीहरूबाहेक कसैले राख्न पाउँदैनथ्यो ।

अंग्रेजसँग हिमचिम गरेरै उनीहरू नेपाली जनतामाथि थिचोमिचो गरिरहेका थिए । नेपाल सधैं स्वाधीन रह्यो भनेर भनिन्छ तर प्रधान भन्छन्, ‘हामी ब्रिटिस साम्राज्यवादी दबदबा बढिरहेको अवधिमा पनि हाम्रो देश स्वाधीन थियो भनेर यसको बाह्य रूपको गाथा त निकै गाउँछौं । तर आफ्नो आन्तरिक अवस्थातिर फर्केर विरलै हेर्छौं ।’ ब्रिटिस साम्राज्यवादीसँग साँठगाँठ मिलाउने राणाशासनअन्तर्गत हाम्रो दुर्गति कुनै पनि औपनिवेशिक मुलुकका जनताको भन्दा कम नभएको प्रधानको मत छ ।

राणाहरू जनता जागरुक भए शासन सत्ता पल्टिन्छ भन्ने डरमा थिए । त्यसैले त उनीहरू विद्यालय खोल्न दिँदैनथे, पुस्तकमाथि प्रतिबन्ध लगाउँथे र लेखकलाई जेलनेल हाल्थे । १९७७ सालमा ‘मकैको खेती’ लेखेका नासु कृष्णलाल अधिकारीलाई ९ वर्ष कैद सुनाइयो । पशुपति प्रेसमा १ हजार प्रति छापिएको थियो उक्त पुस्तक । राणा सरकारले ९९९ प्रति जफत गर्‍यो । एक प्रति भेट्टाएन । किताब लेखेबापत ६ वर्ष र एक प्रति नबुझाएको भन्दै थप ३ वर्ष कैद सजाय सुनाइएको थियो लेखकलाई । राणाहरूले किताबका प्रसंग आफ्नै ढंगले बुझेका थिए । ‘मकैको बोटमा लाग्ने रातो फेटा भएको र कालो फेटा भएको कीरा’ को प्रसंगले रातो टोपी लगाउने प्रधानमन्त्री चन्द्रशमशेर र कालो टोपी लगाउने कमान्डर–इन चिफ भीमशमशेरलाई इंगित गरेको भनियो ।

२००७ सालको क्रान्तिमा प्रजा परिषद्को योगदानलाई भुल्न सकिन्न । १९९३ जेठ २० मा टंकप्रसाद आचार्य (त्यति बेला २४ वर्ष), दशरथ चन्द (३३), धर्मभक्त माथेमा (२७), रामहरि शर्मा (२१), जीवराज शर्मालगायत मिलेर भूमिगत राजनीतिक संगठन नेपाल प्रजा परिषद् गठन गरेका थिए । उक्त संगठनको उद्देश्य थियो– राणाशासनको अन्त्य र प्रजातान्त्रिक शासनको स्थापना ।

राणाशासनको अँध्यारो दिनमा नेपालीहरू भारतका विभिन्न ठाउँमा अध्ययनका लागि पुगे । कतिपय त भारतीय स्वतन्त्रता संग्राममा सक्रिय सहभागीसमेत भए, जेल परे । फ्रान्सेली क्रान्ति–गाथा सुने र नेपालमा पनि क्रान्ति गर्न सकिन्छ र गर्नुपर्छ भन्ने अठोट लिए नेपाली जनतामा क्रान्तिको बिगुल फुक्ने काममा भारतीय राजनीतिज्ञ तथा लेखक/पत्रकारहरूको पनि उल्लेख्य भूमिका छ । पटनाबाट प्रकाशित हुने ‘जनता साप्ताहिक’ ले नेपाली संगठनका गतिविधि छाप्थ्यो । उक्त पत्रिकाका सम्पादक थिए रामवृक्ष बेनीपुरी । आफूहरूलाई अप्ठ्यारो पार्ने खालका सामग्री नछाप्न भन्दै पटना पुगेर केशरशमशेरले बेनीपुरीलाई १ लाख रुपैयाँको प्रलोभन देखाएका थिए । तर बेनीपुरीको जवाफ थियो, ‘हामी सिद्धान्तका मानिस हौँ, पैसाले किनिने खालका होइनौँ ।’ (नेपालको जनक्रान्ति, २००७)

प्रजा परिषद्कै गतिविधिले आफूहरूको राजकाज ताकेको भन्दै राणा सरकार आक्रोशित थियो । त्यसैले टंकप्रसाद, धर्मभक्त, दशरथ चन्द, गंगालाल श्रेष्ठ, गणेशमान सिंह, सिद्धिचरण श्रेष्ठलगायतलाई पक्राउ गरियो । शुक्रराज शास्त्रीलाई प्रजा परिषद्मा नभए पनि इन्द्रचोकमै भाषण गरेको भन्दै समातियो । आफूहरूविरुद्ध लागेको भन्दै जुद्धशमशेर बन्दीहरूसामु कड्किन्थे– देशद्रोही, राजद्रोहीहरू कीराले हीरा बिगार्न सक्तैन बुझ्यौ ? राणाहरूकै अत्याचारका खिलाफ शुक्रराजले १९९७ माघ १०, धर्मभक्तले माघ १२, दशरथ चन्द र गंगालालले माघ १५ मा आहुति दिए ।

नेपालीहरू भारतका विभिन्न ठाउँमा अध्ययनका लागि पुगे । कतिपय त भारतीय स्वतन्त्रता संग्राममा सक्रिय सहभागीसमेत भए, जेल परे । फ्रान्सेली क्रान्ति–गाथा सुने र नेपालमा पनि क्रान्ति गर्न सकिन्छ र गर्नुपर्छ भन्ने अठोट लिए । भारतीय कंग्रेस र अन्य दलका नेता पनि नेपालमा परिवर्तन होस् नै भन्ने चाहन्थे । जागरुक जनताबाट अत्तालिएर जुद्धशमशेरले २००२ मंसिरमा राजीनामा दिए । भतिज पद्मशमशेरलाई शासन सुम्पिए । पद्मशमशेर आफूलाई उदार देखाउँदै भन्थे, ‘मैले आफूलाई राष्ट्रको नोकर सम्झेको छु ।’

देशभित्र र बाहिर नेपाली संगठन खुलिरहे । २००३ सालमा बनारस हिन्दु विश्वविद्यालयमा कृष्णप्रसाद भट्टराई (२१ वर्ष) हरूको सक्रियतामा नेपाली छात्र संघ खुल्यो । त्यसै साल कात्तिक १५ मा बनारसमा देवीप्रसाद सापकोटाको सभापतित्वमा नेपाली राष्ट्रिय कांग्रेसको विधिवत रूपमा स्थापना भयो । क्रान्तिकारी कवि गोपालप्रसाद रिमाल (२८) हरू मिलेर ‘नेपाल नेसनल लिग’ गठन गरे ।

The 2007 revolution that overthrew the authoritarian regime

२००३ फागुन २१ मा विराटनगरका मिलहरूमा हजारौं मजदुर आमहडतालमा उत्रिए । कारखानाकै कर्मचारीहरू मनमोहन अधिकारी (२६), गिरिजाप्रसाद कोइराला (२२), तारिणीप्रसाद कोइराला (२४) लगायतको तत्परतामा उक्त हडताल भएको थियो । २००४ सालमा देशव्यापी रूपमा सत्याग्रह सुरु भयो । नेपाली राष्ट्रिय कांग्रेसका प्लेकार्डसहित नारा गुन्जिन थाले– ‘इन्कलाब जिन्दावाद । नेपाली राष्ट्रिय कांग्रेस जिन्दाबाद । राज हामीले ताकेको छैन । ताज हामीले ताकेको छैन ।...नागरिक अधिकार दिनैपर्छ । मर्नमेटिन तयार छौं । गोलीदेखि डराउन्नौं ।’

राणाहरूको कडा निगरानीबीच नै नेपाल महिला संघ खुलेको थियो । काठमाडौंको म्हेपीमा वनभोज खाने बहानामा श्रीमाया, साधना प्रधान, सहाना प्रधान, स्नेहलता, मिठ्ठुदेवी राणालगायत मिलेर नेपाल महिला संघ खोलेका थिए ।

भारतीय स्वतन्त्रतापछि चर्केको आन्दोलन

भारत ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएसँगै नेपालमा पनि आन्दोलन चर्किएको थियो । १५ अगस्ट १९४७ (३१ साउन २००४) मा भारत स्वतन्त्र भयो । त्यस खुसीयालीमा भारतमा मात्र होइन, नेपालमा पनि जुलुस निस्कियो । काठमाडौं उपत्यकाका तीन सहरमा जुलुस निस्कियो । पाटनमा गान्धीका चौथा छोरा भनेर चिनिने तुलसीमेहर श्रेष्ठको अगुवाइमा ठूलो र्‍याली निस्कने तयारी थियो । तर प्रहरीले भन्यो– दस जनाभन्दा बढीको समूहमा निस्किन नदिनू भन्ने आदेश छ । तपाईंहरू ९/९ जनाको समूहमा गइदिनू । ९/९ जनाको समूहले नै मंगलबजार साइड खचाखच भरियो । जुलुसहरूमा धरपकड भयो ।

पद्मशमशेरले शासन सुधार गर्ने भनेर वैधानिक कानुन–२००४ घोषणा गरेका थिए । तर फागुन २००४ मा कमान्डर–इन–चिफ मोहनशमशेरलाई सत्ता सुम्पिएर उनी दिल्ली लागे । मोहनशमशेरले त्यसै साल ३१ चैतमा नेपाली राष्ट्रिय कांग्रेसलाई देशभित्र प्रतिबन्ध लगाए । उनीहरूले भारतमै पनि नेपाली राजनीतिक दल तथा संगठनमाथि दमन गर्न खोजेकै थिए ।

राणाहरू भारतस्थित ब्रिटिस सरकारका भक्त थिए । भारतमा ब्रिटिस सरकार रहुन्जेल नेपालका राणाहरू पनि शक्तिशाली नै थिए । भारतबाट ब्रिटिस गएपछि नेपाली कांग्रेस तथा अन्य संस्थाका नेपालीलाई भारतमै बसेर राणाविरोधी गतिविधिमा संलग्न हुन निकै सहज भयो । २६ चैत २००६ मा कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसका नेता–कार्यकर्ता सम्मिलित बृहद् सम्मेलन भयो । सम्मेलनबाट दुई दल एक भई नेपाली कांग्रेस बन्यो । सम्मेलनमा मातृकाप्रसाद कोइराला (३८) अध्यक्ष चुनिए, महेन्द्रविक्रम शाह महामन्त्री । कृष्णप्रसाद भट्टराई (२५) सहायक महामन्त्री, विश्वेश्वरप्रसाद कोइराला (३५), गणेशमान सिंह (३६) र दयाशंकर मुन्सीलगायत सदस्य चुनिए । यसबीचमा राणाहरूले शासन सुधार, सरकारमा नागरिक सहभागिता र राजबन्दी रिहाइको आश्वासन मात्र दिइरहे ।

नेपाली कांग्रेसले रौतहटको सीमामा पर्ने बिहारको बैरगनियामा १०–११ असोज २००७ मा सम्मेलन बोलायो । उक्त सम्मेलनले नै तत्काल देशव्यापी आन्दोलन छेड्ने निर्णय गर्‍यो । आवश्यक भए सशस्त्र संघर्ष पनि गर्ने सम्मेलनको निचोड थियो । सम्मेलनले क्रान्तिको सम्पूर्ण जिम्मा मातृकाप्रसाद कोइरालालाई दियो । संघर्षको इस्टर्न कमान्डको जिम्मा विश्वेश्वरप्रसाद कोइरालाले पाए, पश्चिमतिरको कमान्डर बनाइए महेन्द्रविक्रम शाह । पूर्व र पश्चिमका मोर्चाबीच तारतम्य मिलाउने कोअर्डिनेटिङ कमान्डर थिए सुवर्णशमशेर ।

राणाहरूको अचाक्ली अत्याचार बढेपछि र आफूमा केही अधिकार नभएपछि त्रिभुवनले भारतको सहयोग चाहे । त्यही प्रयत्नस्वरूप २१ कात्तिक २००७ मा उनी भारतीय दूतावासको शरणमा पुगे । २५ कात्तिकमा नेपाली कांग्रेसले हवाईजहाजबाट काठमाडौं उपत्यकामा पर्चा छर्‍यो । पहाडमा नेपाली र तराईमा हिन्दी भाषाका पर्चा छरिएका थिए । यस घटनाबारे गोरखापत्रले १ मंसिरमा ‘नेपाल चार भन्ज्याङभित्र एउटा हवाईजहाजले देशद्रोही पर्चा खसालेको’ भनेर समाचारसमेत छाप्यो । त्रिभुवनले भारतीय दूतावासमा शरण लिएकै भोलिपल्ट राणाहरूले ३ वर्षका अधिराजकुमार ज्ञानेन्द्रको राज्यारोहण गराएका थिए । २६ कात्तिकमा त्रिभुवन सपरिवार दिल्ली लागे । त्यही रात नेपाली कांग्रेसले राणाशासनविरुद्ध सशस्त्र र निःशस्त्र संघर्षका लागि जतिसक्दो प्रतिरोध गर्न सर्वसाधारणलाई आह्वान गर्‍यो ।

त्रिभुवन दिल्ली पुगेलगत्तै काठमाडौं आन्दोलित बन्यो । दिनदिनै प्रदर्शन, जुलुस, हडताल हुन थाल्यो । ज्ञानेन्द्रलाई राजा मान्न जनता तयार भएनन्, बरु प्रदर्शनमा नारा गुन्जिन्थ्यो– श्री ५ त्रिभुवन जिन्दाबाद । राणा सरकारले अधिराजकुमार ज्ञानेन्द्रलाई गद्दीमा राखेर अन्तरार्ष्ट्रिय समर्थन प्राप्त गर्न भरमग्दुर प्रयास गरे पनि सफल भएन । राणा सरकारसँगको हिमचिमका कारण अंग्रेजहरू ज्ञानेन्द्रलाई देखाउन चाहन्थे । तर ब्रिटिस प्रतिनिधि आउँदा हवाई अड्डामा उनीहरूको विरोध र राजा त्रिभुवनको पक्षमा जनलहर देखिएपछि उनीहरू हच्किएका थिए ।

भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले त १२ मंसिर २००७ मा औपचारिक विज्ञप्ति नै निकाले । त्यसमा ज्ञानेन्द्रलाई नेपालको राजा मान्न नसकिने स्पष्ट सन्देश थियो । ‘मेरो म’ मा कृष्णप्रसाद भट्टराई भन्छन्– नेपाली जनआन्दोलन चर्किने–चर्किने समय अर्थात् १९४७ ई सन्ताका अंग्रेज सरकारले पनि भारतलाई स्वतन्त्र तुल्याई बिदा लिँदै थियो । भारतका नयाँ शासक जवाहरलाल नेहरू आदिको नेपाली आन्दोलनप्रति पूर्ण सहानुभूति थियो र उनीहरूले राणाप्रति अंग्रेजकै नीति राख्दैनन् भन्ने नेपाली नेताहरूले बुझिसकेका थिए । यसले पनि नेपाली जनआन्दोलनलाई ठूलो उत्साह प्रदान गरेको थियो । राणाहरू यसले गर्दा आशंकिता भए र निरुत्साहित पनि भएका थिए ।

राणा परिवारकै प्रभावशाली मानिनेहरू आन्दोलनप्रति समर्थन र झुकाव राख्न थाले । सी श्रेणीका २०/३० जना राणाहरूको समूहले त्रिभुवनको पक्षमा नारा लगाए । बालकृष्णशमशेर, डाइमन्डशमशेर, पवनशमशेरलगायत यही समूहमा थिए । राणाहरूकै जुलुस निस्किएपछि ए श्रेणीका राणाहरूको तानाशाही शासन नांगिएको थियो । उनीहरूको जुलुसमा सर्वसाधारण पनि मिसिए । प्रहरीले मरणासन्न हुने गरी जनतामाथि लाठी बर्सायो । भोटाहिटीनेर ६३ वर्षीय न्हुछेरत्न तुलाधर रगताम्मे भए । त्यहीं उनले प्राण त्यागे । भुवनलाल प्रधान लेख्छन्, ‘२००७ सालमा भएको निःशस्त्र जनआन्दोलनमा सर्वप्रथम वीरगति पाउने न्हुछेरत्न नै भए ।’ बालकृष्णशमशेर न्हुछेरत्नलाई श्रद्धाञ्जली दिन असन पुगेका थिए । श्रद्धाञ्जली अपर्ण गर्दै भने, ‘आजदेखि म र मेरो परिवारले आ–आफ्ना नाउँबाट ‘शेर जंगबहादुर राणा’ भन्ने शब्दहरू झिकेर सहिदमा चढायौँ र बाँकी ‘शम’ को सट्टा ‘सम’ गर्दर्छौं ।’ जागरुक जनता र संगठित जनशक्ति देखेर राणा शासन धर्मराउन थालिसकेको थियो । यहाँनेर भुवनलाल प्रधानको भनाइ नै युक्तिसंगत लाग्छ– संगठित जनशक्ति प्रतिक्रियावादी सत्तावालाहरूको जस्तोसुकै सैनिक शक्तिभन्दा बलवान हुन्छ ।

वीरगन्ज र विराटनगरलगायत मुख्य सहर कब्जा

त्रिभुवन दिल्ली गएलगत्तै जनमुक्ति सेनाका २९ वटा टुकडीले सीमान्त क्षेत्रका मुख्य नाकाहरूमा संघर्ष चर्काए । स्थानीय जनताको भरपूर साथले पनि धेरै ठाउँमा मुक्तिसेनाले सफलता हात पार्‍यो । झापा, इलाम, दिक्तेल, तेह्रथुम, विराटनगर, वीरगन्ज, भैरहवा, गोरखा, डोटीलगायतका स्थानमा राणा फौज र मुक्तिसेनाबीच भीषण संघर्ष चर्कियो । पाल्पाका बडाहाकिम रुद्रशमशेर र पोखराका बडाहाकिम धनशमशेरले आन्दोलनमा सहभागी भएरै सघाए । पाल्पामा पछि आन्दोलनकारीले रुद्रशमशेरलाई नै जनप्रशासनको प्रमुख बनाएका थिए ।

सबैभन्दा पहिले मुक्ति सेनाले कब्जा गरेको थियो वीरगन्ज । वेस्टर्न फ्रन्टबाट ट्रान्सिमटरमा समाचार आयो– वीरगन्ज लिबरेटेड, क्याप्चर्ड । थिरबम मल्लको मुक्तिसेनाले १२ बजे राति वीरगन्जमा हमला गरेको थियो । राणा फौज धेरैबेर टिक्न सकेन । तर थिरबम गम्भीर रूपले घाइते भए । उनले रक्सौलस्थित डंकन अस्पतालमा सहादत प्राप्त गरे ।

२६ वर्षीय थिरबम गलकोटे राजाका छोरा तथा सुवर्णशमशेरका भान्जा हुन् । भारतीय राष्ट्रिय सैनिक महाविद्यालय देहरादूनबाट प्रशिक्षण प्राप्त सैनिक अफिसर । भारतीय सैनिकको जागिर छाडी नेपालको ऐतिहासिक जनक्रान्तिमा होमिएका थिए उनी । वीरगन्जबाट ३३ लाख भारतीय रुपैयाँ (कतैकतै फरक तथ्यांक) समेत मुक्तिसेनाले कब्जा गरेको थियो । उक्त रकम पछि पटना हुँदै दिल्ली पुर्‍याइएको गिरिजाप्रसाद कोइरालाले ‘आफ्नै कुरा’ मा उल्लेख गरेका छन् । बीपीले उक्त रकम पटनामै राख्न भने पनि दिल्ली लग्दा सुरक्षित हुन्छ भनेपछि महावीरशमशेरको हिमालयन एयरवेजमार्फत दिल्ली पुर्‍याइएको थियो । दिल्लीमा भारतीय प्रहरीले समात्यो पनि । पैसा दिल्ली लगेकामा बीपीसँग मातृका नाराज भए । नेहरूले त थर्काए नै, ‘लुटेको यत्रो पैसा दिल्ली किन ल्याएको ?’

क्रान्ति १ सय १० दिनसम्म चलेको थियो । मुक्तिसेनाले जनकपुरदेखि पूर्व झापासम्म पूर्वी मधेशको जम्मै भूभाग कब्जा गर्‍यो । धेरै ठाउँमा जनप्रशासन खडा गरिसकेको थियो । पश्चिम तराईका बाँके, बर्दिया र कैलाली–कञ्चनपुरमा कांग्रेसी शासन खडा मात्र भएको थिएन, कांग्रेसी मिलिटरी गभर्नर पनि नियुक्त भइसकेका थिए । झापा क्याप्चर्ड, रंगेली क्याप्चर्ड... । अब पालो विराटनगरको । विराटनगरका बडाहाकिमलाई २२ मंसिरमा आत्मसमर्पण गर्न आग्रह गरियो । तर उनले टेरेनन् । त्यसको भोलिपल्ट मुक्तिसेनाले विराटनगरमाथि धावा बोल्यो । तर तत्काल विराटनगर कब्जा हुने छाँटकाँट देखिएन । केहीपछि ८ पुसमा बीपीसमेतको प्रत्यक्ष सहभागितामा मुक्तिसेनाले पुनः विराटनगरमाथि आक्रमण गर्‍यो । ट्याक्टरलाई मोडिफाई गरी ट्यांकर बनाई युद्ध लडिएको थियो ।

मुक्तिसेनाका करिब ३ सय सैनिकले विराटनगर कब्जा गरे । मुक्तिसेनाको विराटनगर संग्रामबारे लेखक जगत नेपालले ‘बीपीको विद्रोह’ मा यसरी उल्लेख गरेका छन्, बीपी आफैंले माइकिङ सुरु गरे, ‘बडाहाकिम तपाईंलाई चारैतिरबाट मुक्तिसेनाले घेरिसकेको छ । आत्मसमर्पण गर्नुस् । गर्नुभएन भने मुक्तिसेना जुनसुकै बेला घरभित्रै प्रवेश गर्न सक्छ । त्यसबाट उत्पन्न हुने क्षतिको जिम्मेवार नेपाली कांग्रेस हुनेछैन ।’ क्षणभरको माइकिङपछि घरभित्रबाट सेतो झन्डा देखियो, अर्थात् आत्मसमर्पण । उक्त लडाइँमा मुक्तिसेनाका कमान्डर जीबी याक्थुम्बा (३०) को विशेष भूमिका थियो । उनी दोस्रो विश्वयुद्धमा बर्माको लडाइँ लडेका योद्दा थिए । बडाहाकिम उत्तमविक्रमका छोरासमेत मारिए । विराटनगरको संघर्षमा भारतीय डा. कुलदीप झाले समेत सहादत प्राप्त गरेका थिए ।

२००७ सालको क्रान्तिमा विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता अग्रमोर्चामा देखिए पनि सफलता भने जनमुक्ति सेनाकै कारण हात परेको थियो । जनमुक्ति सेना संगठित र सुदृढ पार्न आजाद हिन्द फौजका मेजर पूर्णसिंह ठाकुर, मेजर दिलमानसिंह मगर, कप्तान बुधसिंह गुरुङ, मानबहादुर राई, नारदमुनि थुलुङ र रामप्रसाद राईहरूको योगदानलाई बिर्सिन सकिन्न ।

श्यामकुमार तामाङ (जो आफैं पनि मुक्तिसेनामा थिए) ‘जनमुक्ति सेना ः एउटा नलेखिएको इतिहास’ मा भन्छन्, ‘मुलुकमा विद्यमान आधुनिक हातहतियारहरूद्वारा सुसज्जित एवं सैनिक प्रशिक्षणप्राप्त चौबीस पल्टनलाई पराजित गरी राणाशासनलाई धराशायी पार्नु चानचुने कुरा थिएन । जनमुक्ति सेनाका योद्धा, स्वतन्त्रताप्रेमी युवाविद्यार्थीको समर्पणभाव एवं राणा शासनको थिचोमिचोबाट उत्पीडित नेपाली जनताले देखाएको सहभागिताबाट सिर्जित सामूहिक शक्तिकै परिणामस्वरूप राणाशासन पल्टाउन अभियान सफल भएको थियो । यति हुँदाहुँदै पनि क्रान्तिका बेला आफ्नो जीवनको बाजी थापेर युद्धमोर्चामा सामेल हुनेहरूमा जनमुक्ति सेनाका योद्धा नै थिए । त्यसैले जनमुक्ति सेना २००७ सालमा सम्पन्न क्रान्तिको प्रमुख र निर्णायक शक्ति हो भन्नेमा दुई मत छैन ।’

अनि आयो प्रजातन्त्र

आन्दोलन र सशस्त्र संघर्ष सँगसँगै चर्किंदा राणाहरू हायलकायल भइसकेका थिए । जनक्रान्तिबाट तर्सिएर राणा प्रधानमन्त्री मोहनशमशेरले विजयशमशेर र नरेन्द्रमणि आदिलाई दूतका रूपमा ११ पुसमा केही बुँदागत सुधारका प्रस्तावसहित दिल्ली पठाए । ती बुँदामा बालिग मताधिकारबाट ३ वर्षभित्र संविधानसभा खडा गर्ने र नयाँ संविधान निर्माण गर्ने, ९ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने उल्लेख थियो । त्यसमा राणापक्षबाट ६ र जनताको पक्षबाट ३ जना समावेश गर्ने तथा मन्त्रिमण्डलले संयुक्त उत्तरदायित्वका आधारमा काम गर्ने भनिएको थियो । नयाँ संविधान निर्माण नभएसम्म २००४ सालको नेपाल सरकारको वैधानिक कानुनका आधारमा शासन सञ्चालन गर्ने अर्को बुँदा थियो । राजनीतिक पार्टी गठनको अधिकार सबै नेपालीलाई कानुनतः उपयोग गर्न दिइने र देशद्रोह एवं ज्यान मार्ने अपराधबाहेकका अन्य सबैलाई स्वदेश फर्कन दिइने र राजबन्दी रिहा गर्ने पनि त्यसमा उल्लेख थियो । मोहनशमशेरको प्रस्ताव भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू र श्री ५ त्रिभुवनलाई मन्जुर भयो ।

The 2007 revolution that overthrew the authoritarian regime

खासमा दिल्ली सम्झौता त्रिपक्षीय भनिए पनि राणा र भारतबीचकै थियो । नेहरूकै जोडबलमा भएको सहमति मान्न कांग्रेस बाध्य भएको थियो । यसै सन्दर्भमा मातृकाप्रसाद कोइरालाले भनेका छन्, ‘दिल्ली सम्झौता गर्न क्रान्तिका कमान्डरहरू पहिले दिल्ली पुगेका होइनन्, राणापक्ष नै पुगेको हो । र, त्यहाँ प्रायः सबै कुरा टुंगिसकेपछि हामी दिल्ली पुगेका हौं । तत्कालै युद्धबन्दी घोषणा गरिएको होइन । २ दिनपछि मात्र गरिएको हो ।’

४ माघमा राणा सरकारले प्रेस विज्ञप्ति जारी गर्‍यो र भन्यो, ‘कारागारमा थुनिएका राजबन्दीलाई रिहा गर्ने, प्रवासमा रहेका राजनीतिक कार्यकर्ता देशभित्र फर्किंदा कुनै कारबाही नहुने ।’ दुई दिनमै काठमाडौंका विभिन्न कारागारमा थुनिएका २६७ राजबन्धीमध्ये १२५ जना छुटिहाले । अरुलाई पनि क्रमशः छाड्न आदेश दिइयो । ४ फागुनमा त्रिभुवनको जहाज दिल्लीबाट उडेलगत्तै पटनाबाट पनि दुई जहाज काठमाडौं उडे । पहिलो जहाजमा नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइराला, जनमुक्ति सेनाका मुख्य कमान्डर पूर्णसिंह र ज्ञानबहादुर सुब्बा थिए भने दोस्रो जहाजमा गिरिजाप्रसाद कोइराला, डेनिस ग्राङ्दन, श्यामकुमार तामाङ, नरेन्द्र लामा, सुरेन्द्र मास्के, चन्द्रबहादुर छेत्रीलगायतका जनमुक्ति सेनाका योद्धा थिए । तीनवटै जहाज अघिपछि हुने गरी अवतरण भएका थिए ।

७ फागुन २००७ मा त्रिभुवनले प्रजातन्त्र बहाली भएको घोषणा गरे । उनले नेपाल अन्तरिम शासन विधान, २००७ घोषणा गरे । उक्त विधान नेपालको इतिहासमा जनताका लागि राजाबाट प्रदान गरिएको एवं कानुनका रूपमा लागू भएको पहिलो संविधान थियो । अन्तरिम संविधान नै राणाशासनको पतन र जनताले हासिल गरेको उपलब्धि थियो । त्रिभुवनले राष्ट्रका नाममा गरेको सम्बोधनमा अबउपरान्त देश नागरिकद्वारा निर्वाचित वैधानिक सभाबाटै चल्ने घोषणा गरे । उक्त विधान तयार हुन्जेलसम्म तत्कालीन श्री ३ मोहनशमशेर प्राइममिनिस्टरका रूपमा रहने भए । त्यस्तै, रक्षामन्त्री बबरशमशेर जंगबहादुर राणा, विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री, सुवर्ण शमशेर अर्थमन्त्री, चुडाराजशमशेर वनविभाग मन्त्री, गणेशमान सिंह उद्योग, वाणिज्य मन्त्री, नृपजंग राणा शिक्षामन्त्री, भद्रकाली मिश्र यातायातमन्त्री बने । यो राणा र जनताका प्रतिनिधि सम्मिलित सरकार थियो । अन्तरिम शासन विधान, २००७ ले संविधानसभाको निर्वाचन गरी विधायिका निर्माण गर्ने भने पनि लामो समयसम्म संविधानसभाको निर्वाचन नै हुन सकेन । नेपाल अधिराज्यको संविधान, २०१५ लागू भएपछि मात्र संसद्को निर्वाचन भयो र २०१६ सालमा गठित प्रतिनिधिसभा र महासभासहितको संसद्ले नेपालको इतिहासमा पहिलो पटक संसद्को अभ्यास गर्‍यो ।

००७ सालको क्रान्तिका विभिन्न मोर्चा र कमान्डर

काठमाडौं उपत्यका – गणेशमान सिंह

कैलाली– कञ्चनपुर सीबी सिंह

नेपालगन्ज– बाबुकृष्ण शर्मा

तौलिहवा– भक्तिशमशेर

शिवराज खजहनी– गोपालशमशेर

भैरहवा– डा. केआई सिंह

नवलपरासी– बालचन्द्र शर्मा

पर्सा–बारा–रौतहट– तेजबहादुर अमात्य र थिरबम मल्ल

जनकपुर– रुद्रप्रसाद गिरी

सप्तरी– कृष्णप्रसाद भट्टराई

विराटनगर– केशवप्रसाद भट्टराई

झापा– भैरवप्रसाद आचार्य

उपेन्द्रराज पाण्डेय १० वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । उनी हाल इकान्तिपुरमा सहायक वरिष्ठ उप-सम्पादकका रूपमा कार्यरत छन् ।

Link copied successfully