ओ नदी, आफैँ तिर्खा बोकेर भौंतारिन्छौ कति ?

हामी नदीको पनि जीवित अस्तित्व छ । हाम्रो पनि धड्कन छ । हामी यो पृथ्वीको जीवनरस हौं, जसरी तपाईंको शरीरका नसानसामा बग्ने रगत तपाईंको जीवनरस हो । पृथ्वी र मान्छेको शरीर दुवैको ७० प्रतिशत हिस्सा पानी हुन्छ, के यो संयोग मात्रै हो?

भाद्र २१, २०८२

अजय दीक्षित

O river, how many of you wander with thirst?

What you should know

अविराम यात्रामा नदीले चट्टानसँग ठोक्किनुपर्छ, खोचमा खस्नुपर्छ, हुत्तिनुपर्छ– कहिले फराकिलो किनार बनाउँदै, कहिले सानो गल्छीमा च्यापिँदै आफ्नो बाटो खोज्नुपर्छ। बगिरहेका नदीहरूले मान्छेलाई जीवनका दुःखसुखका पाठ पढाउँछन् । नदी बेलाबेला रौद्र उर्लिन्छ, बेलाबेला मायालु देखिन्छ– कहिले आफ्नै रूपले कीर्तिमान कमाउँछ, कहिले आफ्नै स्वरूपले बदनामी बोकेर बगिरहन्छ ।

नदीपूजक नेपालीका प्रमुख नदी–प्रणालीहरू कोशी, गण्डकी र कर्णाली पनि कथाहरू सुनाउँदै अनवरत बगिरहेकै छन् । मान्छेको संस्कृति र सभ्यतामा नदीहरूको विशिष्टतम् महत्त्व छ । नदीतिर हेर्दै मान्छे र मान्छेतिर हेर्दै नदी अडान, संघर्ष र सुन्दर यात्रामा सभ्यताको सुरुदेखि नै अनन्त बगिरहेकै छन् । त्यसैले नदीको आरोह–अवरोह र लय मान्छेको जीवनजस्तै हुन्छ । तर, वर्तमानमा नदीहरू मान्छेकै कारण भयानक महासंकटमा छन् । अब पृथ्वीको जीवनरस नदीहरूको जीवित अस्तित्व जोगाउनु छ । ‘कोसेली’ को यो अंकमा नदीसँग गाँसिएको सभ्यता र त्यसले भोगिरहेका संकटमाथि विमर्श गर्ने प्रयत्न गरिएको छ ।

आज दक्षिण एसियाका नदीहरूले गम्भीर संकटको सामना गरिरहेका छन् । बाँध निर्माणका कारण नदीहरू विखण्डित हुँदै छन् । ठोस र तरल दुवैखाले फोहोर नदीमा फ्याँकिन्छ, खेतबारीमा हालिएको रासायनिक मल नदीमै चुहिन्छ । बालुवा र गिट्टी निकालेर नदीको प्रवाह छेक्ने गरी तटबन्ध र बाँध बनाइँदै छ । नदी कुनै मान्छे हुन्थ्यो भने यस्तो भयानक दुर्व्यवहारप्रति उसले कस्तो प्रतिक्रिया जनाउँथ्यो होला ? प्रस्तुत छ, नदीका तर्फबाट मान्छेसामु गरिएको याचना :

हामी प्राकृतिक रूपले उत्पन्न स्वच्छ पानीको स्रोत हौं । हामी निरन्तर बग्छौं, गतिशील र जीवन्त छौं । हामी यस पृथ्वीको जीवनरस हौं, रक्तनली हौं ।

तपाईंहरूमध्ये थुप्रै मान्छे कुनै आर्थिक लाभ नदिई निरन्तर बगिरहेको नदी देख्दा पानी खेर गयो भन्ने ठान्नुहुन्छ होला । तर, त्यो सोच सरासर गलत छ । हामी लाखौं वर्षदेखि पृथ्वीको जैविक प्रणालीको अभिन्न अंग रहँदै आएका छौं । नदीमा पानी बग्नु भनेको खेर जानु होइन । नदीको न कुनै स्रोत हुन्छ, न अन्त्य ।

हाम्रो यात्रा समुद्रबाट सुरु हुन्छ । सूर्यको तापले पानीलाई बाफमा परिणत गरिदिन्छ । त्यो बाफ बादल बनेर हावासँगै आकाशमा उड्छ । अनि मैदान र हिमालमा फर्किन्छ– झरी र हिउँ बनेर ।

O river, how many of you wander with thirst?

हामी अग्लो ठाउँबाट ओरालोतिर बग्छौं । जलचक्रको हिस्साका रूपमा रहेका अरू नदी, तालमा मिसिँदै अन्ततः समुद्रमा पुग्छौं । हाम्रो यो यात्रा समुद्र, बादल र जमिनलाई एउटै सूत्रमा जोड्ने सेतु हो ।

हामी थिग्रेनी ओसार्छौं । यसले बगर बनाउन, खेतीका लागि मलिलो जमिन तयार पार्न, बालुवा थुपार्नर् अनि समुद्रमा मिसिने ठाउँमा नदी–मुख तयार पार्न सघाउँछ । यी सबैलाई चाहिने पोषक तत्त्व हामी नै पुर्‍याउँछौं ।

आफ्नो यात्रामा हामी मान्छेका अनेकौं आवश्यकता पूरा गर्न सहयोग गर्छौं । मान्छेको स्वास्थ्य, स्वच्छता, पारिस्थितिक प्रणाली कायम राख्न सघाउँछौं । सिँचाइ, उद्योग, जलविद्युत् र ऊर्जामार्फत भौतिक उत्पादनमा मद्दतदेखि आत्मिक, मनोवैज्ञानिक, सांस्कृतिक र आस्थासँग सम्बन्धित आवश्यकतासमेत पूरा गरिदिन्छौं ।

तर, हाम्रो यो यात्राको मुख्य पात्रचाहिँ हामी होइनौं, मान्छेहरू हुन् । तपाईंहरूको गतिविधिले हाम्रो प्राकृतिक निरन्तरता भंग गरिदिएको छ । जलचक्रको अनेकौं हिस्सालाई असर पारेको छ । तपाईंको कर्मले प्रकृति, मानवजगत् र अबोला जन्तुजगत्मा पार्ने असर भने हामी नदीहरूले बेहोर्नुपरिरहेको छ । आजको जलचक्र पहिलेभन्दा फरक भइसकेको छ ।

चरा, जीवजन्तु, माछा र स्तनधारी जलचरहरू हाम्रो स्वच्छ बहावमा निर्भर छन् । हामी सधैँ शुद्ध भएर बगिरहनुपर्छ ।

O river, how many of you wander with thirst?

आफ्नो उत्पादनको आवश्यकता पूर्तिका लागि नदीको माथिल्लो खण्डबाट पानी लैजानुअघि कृपया यति कुराचाहिँ याद राखिदिनुस्– जलचर प्राणीहरू नदीको प्राकृतिक पारिस्थितिक प्रणालीका अभिन्न हिस्सा हुन् । तिनले आफ्नो पीर–व्यथा कहन सक्दैनन् । न त तिनले आफ्नो अधिकार दाबी गर्न नै सक्छन् । तर, उनीहरूको अस्तित्व संकटमा परेको छ । उनीहरू मरे भने तपाईंको पनि हार हुनेछ । किनकि स्वस्थ जैविक विविधताबिना मानव जीवन निरर्थक हुनेछ ।

त्यसैले कृपया, तपाईंले उत्पादन गरेका ठोस र तरल फोहोर हामी नदी र तालतलैया, सिमसारजस्ता जलाशयमा फ्याँक्न बन्द गर्नुहोस् । अझ राम्रो त, फोहोर उत्पादन नै कम गर्नुहोस् । अनि आफ्नो घर, सहर, कारखाना, जहाँ फोहोर उत्पन्न हुन्छ, त्यहीँ त्यसलाई प्रशोधन गर्नुहोस् । कीटनाशक र रासायनिक मलले हामीलाई ठूलो क्षति पुर्‍याउँछ । त्यसैले, प्रांगारिक मल प्रयोग गर्न थाल्नुहोस्, खेतीपातीको नयाँ तरिका अपनाउनुहोस् ।

घर, सहर, नहर, पूर्वाधार बनाउन अनि अरू आवश्यकता पूरा गर्न तपाईं गिट्टी र बालुवालाई सिमेन्टसँग घोलेर कंक्रिट बनाउनुहुन्छ । आफ्नो यो उद्यमका लागि तपाईं हाम्रो सतहबाट बिनाकुनै नियमन अनियन्त्रित रूपमा बालुवा र गिट्टी निकाल्नुहुन्छ । तपाईंहरूमध्ये थुप्रै तुरुन्त नाफा कमाउने ध्येयले यो काम गर्नुहुन्छ । यो कर्मले आफ्नै सन्तानलाई कति भयानक र दीर्घकालीन असर पार्छ भन्ने कुरा तपाईं सोच्नु पनि हुन्न । कृपया आफ्नो ज्ञान र सीपलाई वैकल्पिक निर्माण सामग्री विकासमा लगाउनुहोस् । र, नदी दोहनका गतिविधिलाई प्रभावकारी ढंगले नियमन गर्नुहोस् ।

O river, how many of you wander with thirst?

बारम्बार बाढी आउन थाल्यो, झन्झन् ठूलो बाढी आउन थाल्यो र जनधनको क्षति पनि ज्यादा हुन थाल्यो भनेर तपाईं गुनासो गर्नुहुन्छ । सत्य हो । जलवायु परिवर्तनले भीषण वर्षा गराउन थालेको छ । तर, बाढीले मान्छेहरूको ज्यान लिनुको कारण तपाईं स्वयं हो । तपाईंले नदीनाला, पोखरी र सिमसार अतिक्रमण गर्नुभएको छ । खुला ठाउँलाई कंक्रिटले छोपिदिनुभएको छ, जसका कारण पानी जमिनमुनि सोसिन पाउँदैन । बाढीको प्राकृतिक निरोधकलाई तपाईंले हटाइदिनुभयो ।

तटबन्ध, बाँध, बारबन्देज बनाएर तपाईंले हाम्रो प्राकृतिक बहावलाई थुन्नुभएको छ । हाम्रो किनारमा तपाईंले कंक्रिट पर्खाल ठड्याउनुभएको छ र त्यो जमिनलाई व्यापारिक प्रयोजनमा लगाउनुभएको छ । यसरी तपाईंले हामीलाई बाढी थाम्ने जमिन अर्थात् हाम्रो मिर्गौलाबाट अलग गरिदिनुभएको छ ।

बाढीको जोखिम कम गर्न र जनधनको क्षति कम गरी बस्ती, खेतीयोग्य जमिन र अर्थतन्त्र जोगाउन चाहनुहुन्छ भने कृपया सबैभन्दा पहिले हाम्रो बाटो खुला राखिदिनुहोस् । त्यसो भएमा अतिरिक्त पानी सहजै तलसम्म बगेर जान सक्छ ।

O river, how many of you wander with thirst?

नदीलाई सफा, निर्मल, निरन्तर र अविभाजित राख्ने भनेको मान्छेले नै हो । बाढी आउँदा जोखिम कम गर्ने जिम्मेवारी पनि मान्छेकै हो । संसारभरि नै नदीको प्राकृतिक लयले त्यहाँको भूगोल, समुदाय, समाज, मान्छेको इतिहास र संस्कृतिलाई झल्काउँछ । कृपया यो लयलाई नबिर्सिनुहोस् ।

म फेरि सम्झाउन चाहन्छु– हाम्रो पनि जीवित अस्तित्व छ । हाम्रो पनि धड्कन छ । हामी यो पृथ्वीको जीवनरस हौं, जसरी तपाईंको शरीरका नसानसामा बग्ने रगत तपाईंको जीवनरस हो । पृथ्वी र मान्छेको शरीर दुवैको ७० प्रतिशत हिस्सा पानी हुन्छ । के यो संयोग मात्रै हो त ? पानीबिना तपाईं बाँच्न सक्नु हुन्न । हामी मर्‍यौं भने तपाईं खुसी र सुरक्षित रहन सक्नुहोला त ?

अजय बेलायतको स्ट्राथक्लाइड विश्वविद्यालयबाट हाइड्रोलिक्स विषय र भारतको क्षेत्रीय इन्जिनीयरिङ विश्वविद्यालय उडिस्साबाट सिभिल इन्जिनीयरिङ विषय अध्ययन गरेका दीक्षितले नेपालमा स्थानीय जल व्यवस्थापन, बाँध, प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण, वातावरणीय प्रभाव विश्लेषण र अन्तर्देशीय जल व्यवस्थापनमा अनुसन्धान गरेका छन् ।

Link copied successfully