मिसिसिपीदेखि भोल्गासम्म : नदीका गीतहरू

अमेरिकी साहित्य–ब्लुजमा मिसिसिपी, रुसी श्रम–कलामा भोल्गा, चिनियाँ इतिहास–संगीतमा ह्वाङ्–हो र हिन्दु मिथकमा गंगा धड्किरहेका छन्।

भाद्र २१, २०८२

युवराज भट्टराई

From the Mississippi to the Volga: Songs of the River

कंगो‘आ यि ओ को, ये गु दे, आ यि ओ को, ये गु दे । धार बग्छ शान्त, पानी गुनगुनाउँछ, नदी बग्छ मीठो लयमा । थाक्दैन श्रम, हलुका हुन्छ भार, साथीसँग मिल्छ जब व्यवहार । हामी सबैका लागि, हामी सबै सँगै... । ये गु दे... सपना भेट, ये गु दे... सबै मिलेर, तालमा रमौं, नदीसँगै... ।’

 यी भाव पल रब्सनको गीत ‘स्यान्डर्स अफ् द रिभर’ का हुन् । खासमा उनको यो लोक भाकाले कंगो नदी आसपासका आदिवासीको डुंगा खियाउँदाको सामूहिकताको भावना, तिनको कठोर जीवनशैली र रोचक जलयात्रालाई मुख्य विषयवस्तु बनाएको छ ।

यस गीतको सीधा सम्बन्ध केहीसँग छ भने त्यो कंगो नदीसँग छ, नाविकको सामूहिक श्रमसँग छ । ‘आ यि ओ को, ये गु दे’ भन्ने अन्तराले एकातिर स्थानीय अफ्रिकन जनबोलीको प्रतिनिधित्व गर्छ भने अर्कोतिर नौका खियाउँदा नाविकहरूमा उत्साह भर्दै अझ जोडले डुंगा खियाउन अभिप्रेरित गर्छ । ‘हामी सबैका लागि, हामी सबै सँगै’, ‘नदीको तालसँगै रमाउँदै’ जस्ता शब्दहरूले श्रमिक एकता र सामूहिकताको प्रतिनिधित्व गर्छ ।

अफ्रिकाका प्रसिद्ध नदीहरूमध्ये एक कंगो नदी, लामो समयदेखि अफ्रिकी संस्कृतिमा जीवन, संघर्ष र समुदायको प्रतीकको रूपमा छ । रब्सनका गीतहरूमा नदी केवल भौगोलिक विशेषता होइन, बरु जीवन्त शक्ति बनेर नदी किनारामा बस्ने मानिसहरूको दैनिक जीवन, श्रम र सपना हो । रब्सनले परम्परागत अफ्रिकी धुनहरूलाई एक मधुर, लयात्मक भाकामा परिणत गरेका छन् । गीतले नदी र मानव जीवनको लयलाई जोडेको छ । पानीको बहाव, छालहरूको लहर र नाविकबीचको घनिष्ठ सम्बन्ध नै यस गीतको खास विषयवस्तु हो । यस गीतमा क्यानुमा नदी पार गर्न अपनाउनुपर्ने चाल, आपसी सहयोग र धैर्यमा जोड दिइएको छ ।

रब्सनले नै सिर्जेको कंगोमाथिको अर्को गीत पनि छ, बच्चालाई सुनाउने लोरी जस्तो । यो कंगो लुलबीको भावार्थ यस्तो छ :

ए, मेरो सानो कालो परेवा मेरो सानो कालो परेवा, माया–गुँडमा गुडुल्किएर, चन्द्रमाले रक्षा गर्छ, मेरो काखमा निदाएर । ताराहरू झिलिमिली, रातभर तिमीलाई हेरी, निन्द्राको नदी बग्छ, शान्त गहिरो माया भरी । निदा नानी निदा, अन्धकार हटेपछि उठ, निदा नानी निदा, घाम उदाएपछि मात्र उठ ।

From the Mississippi to the Volga: Songs of the River

आफ्नो गहिरो र धोद्रो स्वरका माध्यमबाट विभेद र बेथितिविरुद्ध तथा सामाजिक न्यायका लागि अनवरत आवाज उठाउने पल रब्सनको २० औं शताब्दीको सांगीतिक जगत्मा विशेष स्थान छ । अफ्रो–अमेरिकन मूलका रब्सनका यी सिर्जनाहरू कंगो नदी र अफ्रिकी जीवनबाट प्रेरित छन् । यी गीतहरू उनका नौका भाकाहरूअन्तर्गत पर्छन् ।

कंगो नदीमाथि गीत बनाउँदै गर्दा रब्सनको दृष्टिकोण केवल सौन्दर्यपरक छैन । बरु उनले यी गीतहरूलाई अफ्रिकी संस्कृतिप्रतिको सम्मान र पश्चिमी औपनिवेशिकताविरुद्ध काव्यिक विद्रोहको माध्यम बनाएका थिए । कंगो लुलबी वास्तवमा रब्सनका लागि गतिलो सांस्कृतिक पहिचानको माध्यम बनेको थियो ।

मिसिसिपी

नदीमाथि नै गाइएका गीतमध्ये अर्को प्रभावशाली गीत हुन सक्छ– पल रब्सनकै मिसिसिपीमाथिको ‘ओल म्यान रिभर’ । यस गीतले मिसिसिपीका अश्वेत कामदारहरूको दैनिकी, श्रम–शोषण, पीडा र उत्पीडनलाई देखाएको छ । गीतले भन्छ, ‘संसार समस्याग्रस्त भए पनि, भूमि स्वाधीन नभए पनि, बेमतलबसँग बगिरहन्छ– मिसिसिपी । यसले न त आलु रोप्छ, न त कपास नै फलाउँछ । मात्र यो चुपचाप बगिरहन्छ ।’ पहिलोपल्ट मिसिसिपीलाई ‘एउटा बूढो मान्छे’ को संज्ञा दिँदै सन् १९२७ मा ओस्कार ह्यामस्टेनले ‘सो बोट’ नामको गीति नाटकका लागि ‘ओल म्यान रिभर’ गीत लेखे । पछि पल रब्सनले १९३६ को ‘सो बोट’ शीर्षककै उनको सिनेमामा यही गीतलाई केही परिमार्जन गरेर गाइदिए ।

रब्सन भन्छन्– ‘मिसिसिपीले आम मजदुरका दुःख, पीडा, वेदना र भोगेको शोषण त देखेको छ । ... यसलाई केही त पक्कै थाहा छ, तर एक शब्द पनि बोल्दैन... थकान मेट्न हामी रक्सी पिउँछौं, अनि जेलमा थुनिन्छौं । ... तर, यो सब देखेर पनि बेवास्ता गर्दै बूढो मान्छे मिसीसीपी बगिरहन्छ– मात्र चुपचाप बगिरहन्छ ।’

गीतको नायक मिसिसिपीकै एक मजदुर हो । ऊ मिसिसिपी र श्वेत मालिकबाट मुक्त हुन चाहन्छ । यो गीत अफ्रिकन–अमेरिकीले भोगेको विभेद, शोषण र उत्पीडनको बिम्ब हो । ह्यामस्टेनका शब्दमा एउटा ठूलो व्यंग्य छ । त्यो के भने उनी आफैं त्यो केही कुराले नछुने, गम्भीर नहुने, बेमतलब बूढो मान्छे मिसिसिपी जस्तो हुन चाहन्छन्, तर रब्सन त्यो बेमतलबी बूढो मान्छे बिल्कुलै हुन चाहँदैनन् ।

अमेरिकी ‘समृद्धि’ मा मिसिसिपी नदीको भूमिका ठूलो छ । कपासदेखि मकै र गहुँ खेतीदेखि पशुपालन मिसिसिपी आसपासकै क्षेत्रमा हुन्थ्यो । डंग, जहाज र अझ स्टिम इन्जिन आइसकेपछि मिसिसिपी नदी परवहनको सबैभन्दा गतिलो माध्यम पनि भयो । तर, मिसिसिपी श्वेत र अश्वेतका लागि भने बिल्कुलै फरक थियो । श्वेतहरूका लागि अश्वेतहरूको शोषण गर्ने प्लेटफार्म थियो– मिसिसिपी । नाफाका लागि उत्पादन चाहिन्छ, त्यो पनि कम लागतमा । यसका लागि बँधुवा श्रमिकहरू चाहिन्थ्यो, अश्वेत दासहरू चाहिन्थ्यो । त्यसैले अश्वेत दास–व्यापारको एउटा अखडा पनि थियो मिसिसिपी । वाल्टर जोन्सनले ‘रिभर अफ डार्क ड्रिम्स ः स्लेभरी एन्ड इम्पायर इन द कटन’ मा लेखेका छन्, ‘मिसिसिपीले कपासको व्यापार मात्रै गरेन, यसले पुँजीवाद र दास व्यापार पनि फैलायो ।’

मिसिसिपी आफैंमा जातीय विभेद, अश्वेतहरूको उत्पीडन, दास व्यापार र श्रम शोषणको एउटा संरचना थियो । यही संरचनामाथिको सबैभन्दा पेचिलो प्रहार हो– ‘ओल म्यान रिभर’ ।

भोल्गा

रुसको नदी भोल्गासँग श्रमिकको सम्बन्धलाई जोडेरसमेत पल रब्सनले अर्को कालजयी गीत गाएका छन्– भोल्गा बोटम्यान । अनि उनको यो सिर्जना भोल्गा नदीमा सामान ओसारपसार गर्ने डुंगा र जहाजलाई घिसार्दै पानीको विपरीत दिशातिर लैजाने मजदुरहरूले कठोर श्रमका दौरान सिर्जित लोकभाका ‘ओ खयाम’ कै अंग्रजी अनुवादित भर्सन हो ।

यस गीतका खास सर्जकहरू विशुद्ध जहाज घिस्याउने मजदुर हुन् । जहाज घिस्याउँदा बल पुगोस् भनेर भोल्गालाई सम्बोधन गर्दै उनीहरू यो भाका हाल्थे । यी मजदुरलाई रसियामा ‘बुर्लाकी’ या ‘बुर्लाक्स’ भनिन्थ्यो । अनि भोल्गा नदी त्यसमाथि पनि रिबिन्स्क सहर ‘बुर्लाकी’ हरूको केन्द्र जस्तै थियो । टाढाटाढाबाट जहाज घिस्याउने कामको आशामा श्रमिकहरू यहाँ आउँथे । पारवहन र आर्थिक गतिविधिको मानक थियो भोल्गा किनारको रिबिन्स्क । ३० देखि ३५ मिटर चौडाइका जहाजहरू माथिबाट तलतिर नाविकहरूले सजिलै लान सक्थे । तर, जब जहाज तलबाट माथि अर्थात् पानीको विपरीत दिशातिर लैजानुपर्थ्यो, दर्जनौं श्रमिकका समूहले छालाका लठाराले बाँधेर किनारै किनार हिँड्दै जहाजलाई घिस्याउनुको कुनै विकल्प थिएन । अनि यो कठोर श्रमलाई जसरी पनि पार लगाउने श्रमिकहरू ‘बुर्लाकी’ हरू थिए ।

यो श्रम एउटा कठोर बाध्यता थियो । रोजीरोटीको कुनै विकल्प नहुँदा या पैसाको अत्यन्त सकस हुँदा मात्रै मानिसहरू यो काम गर्न बाध्य हुन्थे । दिनहीन महिलाहरू पनि यसमा सामेल हुन्थे । हुन त ‘बुर्लाकी’हरू कुनै दास थिएनन्, ज्यालादारीमा काम गर्ने मजदुरहरू थिए । तर तिनको काम अत्यन्त कठिन मात्र थिएन, त्यहाँ श्रमको चरम शोषण पनि थियो ।

From the Mississippi to the Volga: Songs of the River

रब्सनले गाएको भोल्गा बोटम्यानले ती ‘बुर्लाकी’हरूको कठोर जीवन र श्रमको प्रतिनिधित्व गर्छ । तिनीहरू ‘पटक–पटक तान, जोर लगाएर तान’ भन्दै गीतमै आपसमा ऊर्जा भर्छन् भने सँगसँगै ‘ओ तिमी भोल्गा, नदिहरूकी जननी, गहिरी र फराकिली’ भन्दै भोल्गाप्रति उत्तिकै आदर र सम्मान व्यक्त गर्छन् ।

त्यसो त, संसारमा यी तीन नदीमात्रै होइनन्, जसमाथि गीत सिर्जना भएको छ । अनि रब्सन मात्रै पनि नदीमाथि श्रम र पहिचानलाई जोडेर सिर्जना गर्ने एक्ला सर्जक होइनन् । मिसिसिपी अमेरिकी साहित्य र ब्लुजमा, भोल्गा रुसी श्रम र कलामा र ह्वाङ्–हो चिनियाँ इतिहास र संगीतमा, गंगा हिन्दु मिथकमा धड्किरहेका छन् ।

अन्ततः नदीहरू फगत मानिसका संस्कृति, सिर्जनाका स्रोत मात्रै होइनन्, बरु तिनीहरू राजनीतिक, सांस्कृतिक र ज्ञानका संरचनामा सक्रिय सहभागी हुन्, जसले हाम्रो सोचाइ र प्रणालीलाई निरन्तर पुनः आकार दिइरहेका छन् । नदीहरू पारिस्थितिक प्रणाली, संस्कृति, सामाजिक–राजनीतिक चेतका सहनिर्माता हुन् । मानवकेन्द्रित दृष्टिकोणबाट मात्र नदीलाई हेर्नु पनि तिनको स्वअस्तित्वमाथि नजरअन्दाज गर्नु हो । सायद नदी बुझ्न तिनलाई नै केन्द्रमा राख्ने नवभौतिकवाद जस्ता फराकिला दृष्टिकोणको खाँचो छ, जसले यसलाई वस्तु नभई सक्रिय एजेन्टका रूपमा आत्मसात् गर्छन् ।

युवराज भट्टराई युवराज प्रकृति,संस्कृति र समसामयिक बिषयमा लेख्छन् ।

Link copied successfully