जति बाट्यो उति बलियो प्रेमको धागो

नाटकघरमा टुसाएको हाम्रो प्रेम नाटकघरमै फक्रियो, संयोगले को–एक्टर भयौं, ब्याकस्टेजमा एकअर्काको कपडा मिलायौं, कपडासँगै मन पनि मिलायौं, तिनै दिनदेखि हामीले प्रेमको यात्रा तय गर्‍यौं ।

भाद्र १४, २०८२

विजय बराल

The more it is woven, the stronger the thread of love

What you should know

प्रमिला ! मलाई प्रिय भन्न त आउँदैन तर प्रिय भएरै तिमी मन परेकी हौ । जीवनमा कसैको दाइ वा भाइ मात्रै बनिरहँदा कता–कता लाग्थ्यो– म पनि कसैको प्रेमी बनुँ ! अचानक कोही आयो र मलाई आफ्नोभन्दा बढी ख्याल गर्‍यो । त्यो केवल तिमी थियौ । म हाफ पाइन्ट र चप्पलमा हिँडिरहँदा तिमीले जुत्ता किनिदियौ ।

सम्झन्छु, ती घुर्मैला दिनहरू । म मण्डला थिएटरको कोठामा एक्लै सुतिरहँदा कोही आउँथ्यो र प्रेमिल लवजमा भन्थ्यो– सर, यो खानु न ! त्यसरी प्रेमपूर्ण आग्रह गर्ने तिमी नै थियौ । 

तिम्रो उपस्थितिले मलाई खुसी दिन्थ्यो । तर मैले त्यो प्रेमलाई किन बुझिनँ ? कोही आएर भनिदिनुपर्‍यो कि– तिमी मलाई प्रेम गर्छौ । मैले तिम्रो महसुसको बदला महसुस गर्न किन सकिनँ ? सायद त्यसअघि कसैलाई जीवनमा प्रेम गरेको भए पो बुझ्थें । भलै कोही हेर्दा राम्रो लाग्थ्यो तर प्रस्ताव कहिल्यै गरिनँ । यदि अहिलेको समयमा हुन्थें भने म आफैं तिमीलाई प्रेमको प्रस्ताव गर्ने थिएँ । समय त लाग्यो तर समयको सुस्त गतिसँगै मैले तिम्रो प्रेम बुझ्दै गएँ । म कसैको दाइ र भाइ मात्रै भइरहेको समय पहिलो पटक प्रेमी हुन पाएँ । प्रेम र विवाहलाई दूरी बनाएर हिँडेको म पहिलो पटक तिमीलाई प्रेम गर्न थालें ।

प्रमिला ! धन्यवाद छ तिमीलाई, तिम्रा शब्दहरूलाई, न्यानो साथलाई । तिमी मसँग जोडिनु भनेको मभित्र प्रेमको फूल फुल्नु थियो र ढकमकाउनु थियो । एउटा सामान्य मान्छे, जो नाटक मात्रै गथ्र्यो । अभिनयबाहेक भोक थिएन कुनै । तिम्रो आगमनपछि थाहा भयो, अभिनयबाहेक अरू केही पनि चाहिन्छ जीवनमा । त्यो तिमी थियौ । कहिल्यै आफैंभित्र गर्न नसकेको विश्वास दिलाइदियौ । तिमी दुःखी हुँदा बढी मन मेरो रुन्छ । कहिलेकाहीँ गाली गरिहालें भने उति नै खेर माया जागेर आउँछ । सायद प्रेम यही त होला, हैन र ! प्रमिला, प्रेम भनेको त सम्बन्धका धागाहरू रहेछन् । जति बाट्यो उति बलियो । यो महसुस गर्न पनि त तिमीले सिकायौ मलाई ।

तिमीलाई सोचिरहँदा कहिलेकाहीँ मलाई छुटेका समयतिर फन्को मार्न मन लाग्छ । पुराना स्मृतिमा मण्डलाको ल्याबका दृश्य चलमलाउँछन् । संयोग पनि कहिलेकाहीँ मीठो हुँदोरहेछ । जस्तो कि तिमीसँग भेट हुनु, त्यही बेला मेरो खुट्टाको लिगामेन्ट च्यातिनु, म नाटक लिएर इन्डिया जान नपाउनु । त्यति नै बेला दया दाइ (दयाहाङ राई) ले मलाई भन्नु– विजय ! तिमी र म भएर कक्षा ह्यान्डल गरौं । त्यही कक्षामा तिमी हुनु । मैले तिमीलाई हेर्नु, मैलेभन्दा ज्यादा तिमीले मलाई हेर्नु ! मैले तिमीलाई गुरुका रूपमा गाइड गर्नु । तिमीले प्रेमीका रूपमा पछ्याउनु, जुन मैले पत्तै नपाउनु । म माथि कोठामा सुतिरहँदा तिमी आउनु । थोरै डर तर धेरै आँट भरिएको तिम्रो कम्पनसहितको आवाज अहिले पनि मेरो कानमा गुन्जिरहेझैं लाग्छ, जसरी तिमी पुरानो मण्डलाको भवन तल रिहर्सलमा हुँदा माथि कोठामा बसेर मैले गाएको गीतले आकर्षित हुन्थ्यौ–

हजार आँखा हेर्ने मेरी मायालुलाई

हजार हात छेक्ने मेरी प्रियसीलाई

कसोरी म भेटुँ, म देखुँ उनीलाई

यी बाधा छिचोली अँगालु उनीलाई 

साथी सुष्मा निरौला आएर एक दिन मलाई सुनाइन्, ‘दाइ तपाईंलाई प्रमिलाले मन पराउँछे रे !’ त्यसपछि तिम्रो र मेरो आँखा जुध्यो, म झस्किएँ । त्यही बेला कम्पनसहितको स्वरमा तिमीले पनि एकै सासमा मन खोलिदियौ, ‘सर म तपाईंलाई मन पराउँछु, आई लभ यु !’ प्रमिला, त्यो क्षण मेरो शरीरमा काँडा उम्रेका थिए । त्यसअघि तिमी मलाई मन पराउने भाव पठाउँथ्यौ, भावसहित सामान पठाउँथ्यौ । मैले किन पो बुझिनँ । कहिले कफीका बट्टाहरू आउँथे, कहिले जुत्ताहरू, त्यसपछि त तिमी नै आयौ । कोही त आयो जीवनमा !

नाटकघरमा टुसाएको हाम्रो प्रेम नाटकघरमै फक्रियो । ‘सकेको तिरौंला नत्र फिरिमा’ नाटकमा संयोगले हामी को–एक्टर बन्यौं । ब्याक स्टेजमा एकअर्काको कपडा मिलायौं । कपडासँगै मन पनि मिलायौं । तिनै दिनदेखि हामीले प्रेमको यात्रा तय गर्‍यौं । 

प्रमिला, मेरा कारण कहिलेकाहीँ तिम्रो मन दुख्छ । तिमी गुनासो पनि गर्छौ, ‘तपाईंलाई प्रेम गर्नै आउँदैन ।’ त्यति बेला म आफैंलाई खोतल्छु, ‘शृंगार रस कम छ कि ममा ?’ तर, त्यस्तो पनि हैन । मेरो सपनाबाट तिम्रो सपना, तिम्रो सपनाबाट मेरो सपना ! हाम्रो सपना पूरा गर्दागर्दै म कतै छुटें कि जस्तो लाग्छ । हिजो मेरो सपना अभिनय गर्ने र अभिनेता बन्ने मात्र थियो । अहिले मेरो सपना मेरो मात्रै कहाँ छ र ? सपनाकै बीच हराएको पो हुँ कि म ? तिमी बेलाबेला सम्झाउँछौ, ‘पैसा मात्र ठूलो कुरा हैन है ।’ तर, सपना पूरा गर्न पनि त पैसा नै चाहिँदो रहेछ । म सोच्ने रहेछु, ‘सपनाले नै सम्बन्ध मजबुत बनाउँछ ।’ म हराएँ कि भन्ने क्षणमा धन्न तिमीले झकझक्याउँछौ । सुस्तरी भन्छौ, ‘हराउनु हुन्न है ।’ तिमी थप बुझाइदिन्छौ, ‘पैसा र सपना अर्कै अर्कै चीज हो विजय सर । सम्बन्ध भएन भने पैसा केका लागि ?’ प्रमिला, जिन्दगीको भागदौडबाट समय झिक्न चाहन्छु र तिमीलाई बाँड्न चाहन्छु । प्रेम भनेको रिचार्ज 

रहेछ हगि ! आज र भोलि मात्रै गरेर कहाँ पुग्छ र ! यो त निरन्तर बगिरहनुपर्छ, चलिरहनुपर्छ । त्यो म मेरोतर्फबाट तिमीलाई दिइरहन चाहन्छु ।

The more it is woven, the stronger the thread of loveप्रेमको यात्रा थालनी गरेको एक वर्षपछि हामी विवाहको जग्गेमा बस्यौं । बिहेअघि कुनै रात ऐंठनमा बितेका पनि छन् । तिमीसँग सहयात्रा गर्न पाउन्न कि भन्ने डरले अँठ्याएको छ । सबै कुरा मिल्नु त लाभदायक हो नि । तर एकअर्काको गोत्रै मिल्नुचाहिँ प्रेममा बाधक रहेछ– तिमी खनाल थियौ, म बराल ।

सम्बन्धको पर्खाल भएर बसेको गोत्र सम्झेर म खुब पीडामा जमें । तिम्रो आमाले ‘हुँदैन’ भनेपछि तिमीले ‘बिहे नगर्ने’ भन्दाको समय म कति गलेको थिएँ । त्यो रात मैले आँसुसँगै डायरीमा लेखेको थिएँ– 

दिन्न कसैलाई दोष म गल्ती आफ्नै भएपछि

सच्चा प्रेम गरेर के गर्नु पुरानै जमाना भएपछि

स्कुलमा कहिल्यै फेल नभएको मलाई पहिलो पटक प्रेममा फेल भएझैं लाग्यो । तर मैले तिम्री आमासँग कुरा गरें, मैले जितें । हामीले जित्यौं । त्यो जितले जग्गेसम्म पुर्‍यायो हामीलाई । तिनताका तिमी डान्स सिकाउँथ्यौ । आफ्नै सीपले चाहिने सामान जोडेकी थियौ । म त अव्यवस्थित थिएँ । बिहेअघि कोटेश्वरमा फ्ल्याट लिएको पनि त अस्तिजस्तो लाग्छ हामीले । जे–जे जोड्यौ, तिमीले नै त जोड्यौ । हामीले बिहेलाई खर्चिलो बनाएनौं । कम पैसामै बिहे उतार्‍यौं । जग्गेमा पहिलो दिन बस्दा मलाई सुटिङजस्तो महसुस भयो । अझ आफ्नो बिहेका लागि अघिल्लो साँझसम्म आफैंले सामान बोक्दा लाग्यो, मानुँ कि नाटकघरमा कुनै नाटक चल्दै छ । हामी प्रप्स खोजिरहेका छौं । बिहेको क्षण तिम्रो सिउँदो भर्ने बेला मात्रै पो म झसंग भएको थिएँ । त्यति बेला बल्ल अनुभूति गरें– अब हामी आधिकारिक हुँदै छौं । अचानक मलाई सामान्य मान्छेबाट जिम्मेवार व्यक्ति भएको महसुस भयो ।

हामी दुई थियौं, तीन हुने भयौं । त्यो थाहा भएको दिन मनमा औधी खुसी थियो । खुसीसँगै डर पनि थियो । न खल्तीमा पैसा थियो न बैंकमा बचत । तर हामीले हार खाएनौं । छोरा जन्मिनुअघि उसका लागि चाहिने सामानहरू तयार गर्न थाल्यौं । त्यति बेला तिमीलाई कति दुःख हुन्थ्यो । तिमीले पाइरहेको दुःख ममा भएको भए के गर्थें ? कल्पना पनि गर्न सक्दिनँ । मैले हाम्रो प्रेमको रूपान्तरण देखिरहेको थिएँ त्यस क्षण । पहिलो पटक अस्पतालबाहिर म तिम्रा लागि मनमनै प्रार्थना गरिरहेको क्षण सम्झन्छु । जब स्वास्थ्यकर्मीले हातमा नवआगन्तुक बच्चा थमाइदिँदै भनिन्, ‘तपाईंको छोरा भयो ।’ त्यतिबेला पहिलो प्रश्न गरें, ‘प्रमिलालाई कस्तो छ ?’ तिमीलाई ‘ठीक छ’ भन्ने जवाफ पाएपछि मात्र सोधेछु, ‘अनि बाबुलाई ?’ बाबु त झन् मस्त थियो । उसले नयाँ खुसी थपिदियो । लाग्छ, नयाँ भाग्य कोरिदियो । बाबु आएपछि नै हाम्रो जीवनमा बहारहरू थपिए । मेरो समयको घडी सुखद चल्न थाल्यो ।

अचेल तिमीसँग कुरा हुँदा मेरो पहिलो प्रश्न हुन्छ, ‘बाबुलाई कस्तो छ ?’ बाबुलाई सोध्दा तिमीलाई सोधेन कि लाग्ला ! मन अमिलो होला, बेवास्ता गरेको लाग्ला । पहिला–पहिला व्यक्त गरेका प्रेम सम्झौला । र, माया बाँडियो ठानौला । तर प्रेम त बाँडिन्न । प्रेममा पर्सेन्टेज नै हुन्न । यो त निरन्तर गरिरहने मीठो अभ्यास पो हो, जुन कहिल्यै परिवर्तन हुन्न । 

प्रमिला, कोही छैन भनेको समयमा ‘कोही छ’ भन्ने महसुस गर्नु कति मीठो हुन्छ । कोरोनाका बेला मसँग काम थिएन । अनिश्चितताको भयले सताएको थियो तर त्यति बेला मसँग तिमी थियौ । तिमीले र तिम्रो आयले हामीलाई भर दिएको थियो । म कामविहीन हुँदा रोएँ पनि । त्यति बेला तिमीले भर दियौ, ‘चिन्ता नलिनु । म गरिहाल्छु नि ! दुःखचाहिँ कसैलाई नदेखाउनु ।’ 

The more it is woven, the stronger the thread of love

मभन्दा कत्ति साहसी रैछौ तिमी । तिमी जहिल्यै ‘एक दिन तपाईंको राम्रो हुन्छ’ भन्थ्यौ । तिमीले भनेझैं भई त गयो । ‘जारी’ फिल्म चल्यो । अनि अरू प्रस्तावहरू आउन थाले । ‘पूर्णबहादुरको सारंगी’ ले करिअरको ग्राफ नै कहाँ पुर्‍याइदियो । त्यही बेला पनि फिल्म रिलिजको पहिलो दिन हामी ६ बजेको शो हेर्न गएका थियौं । हलमा जम्मा चार जना दर्शक थिए । तिमीले भनेकी थियौ, ‘फिल्म राम्रो छ त । चल्छ, टेन्सन नलिनु ।’ मैले निन्याउरो अनुहार लगाउँदै भनेको थिएँ, ‘टेन्सन त लिएको छैन तर मान्छे छैनन्, हेर न ।’ तिमीले अर्थपूर्ण कुरा गरेकी थियौ, ‘आज लक्ष्मी पूजा ! सबै जना घर–घरमा पूजा गरिरहेका छन् । पूजा गर्न छाडेर काँ तपाईंको फिल्म हेर्न आउँछन् त ! भोलिचाहिँ आउँछन् ।’

तिमीले भनेजस्तै भयो । भोलिपल्ट सानो क्लिप्स भाइरल भयो । पर्सिपल्ट भाइरल भएको आधारमा फिल्म हेर्न आउने दर्शकको संख्या अनपेक्षित बढ्यो । निपर्सिदेखि त ग्राफ नै कहाँ पुग्यो, पुग्यो ! तिमी आउनु नै मेरो जीवनका लागि महŒवपूर्ण छ । तिमीले जहिल्यै मेरो सपनामा जोड दियौ । मेरा लागि आफ्नो सबै कुरा छोड्दियौ । तर सपना त तिम्रो पनि छ । तिमीले केही दिनअघि भनेकी थियौ, ‘मेरो त अब सपना पनि छैन । यही बच्चासँग बस्ने, खुसी हुने त होला ।’ 

तर त्यस्तो हैन प्रमिला । केही समयपछि तिमी फेरि आफ्नो यात्रामा फर्किनेछौ । तिमी हराउने छैनौ । तिमी यहाँसम्म आउनु पनि त तिम्रै सपनाले डोहोर्‍याएर हो नि । मेरा सपनामा तिमीले सधैं साथ दियौ । तिम्रा सपनामा मैले हात दिनु छ अब । हामी हाम्रा सपनाहरू सँगै डोहोर्‍याउनेछौं । एकअर्कालाई भर दिइरहनेछौं । प्रमिला, प्रेम त कति सुन्दर र सुखमयी छ है ! 

— उही तिम्रो, विजय सर !

विजय अभिनेता

Link copied successfully