मानिसहरु साउती मार्छन्– तिम्रो चेहरामा दाग छ/ तर, कमलका फूलहरुमा पनि/ जूनको कोमल छाप छ भन्ने बिर्सिन्छन् ।
जब मेरो आँखामा
तिम्रो तस्बिर लहराउँछ,
या जब एकान्तमा मेरो सम्झनाले
तिम्रो तस्बिर कोर्न थाल्दछ–
म गोधूलिमा जुनकिरीहरु
नाचिरहेको महसुस गर्छु,
तिनका मुलायम प्रकाश
मेरो आनन्दी मनभित्र
जगमगाउन थाल्छन् ।
मानिसहरु साउती मार्छन्–
तिम्रो चेहरामा दाग छ ।
तर, कमलका फूलहरुमा पनि
जूनको कोमल छाप छ भन्ने बिर्सिन्छन् ।
तिमीलाई पनि थाहा छ–
जीवन चट्टानको वरिपरि फक्रिरहन्छ,
पिँजडाभित्रै हुन्छ स्वतन्त्रता पनि ।
तर, तिमीलाई थाहा छैन
कि तिम्रो मुस्कानमै चमत्कार छ–
तिमीले दागहरुलाई आफ्नो मुहारमा
कुनै ताराझैं जडेकी छ्यौ,
घाउहरुलाई राहतमा बदलेकी छ्यौ
जसले तिम्रो पाउमा प्रकाश छरेको छ,
तिम्रो बाटोमा इन्द्रेणी ओछ्याएको छ,
तिम्रो अञ्जुलीमा फूलहरु बर्साएको छ ।
(कैयन् मानिसहरुले आफ्ना दागहरुलाई रहस्यझैं
अँध्यारोमा लुकाएका हुन्छन् ।)
तर, तिमी भने आफ्ना दागहरुलाई
उन्मुक्त जिउन दिन्छ्यौ,
र, यही कारण हो
जिन्दगीले दिएका दर्दहरुका दाग
तिम्रो मुहारमा मोतीझैं चम्किन्छन्,
र, त्यसका निसानहरु
उत्पातै मन हर्ने गहना बन्दछन्,
जो अरु कसैको अनुहारमा भन्दा
तिम्रो मुहारमा अधिक सुहाउँछ ।
(ती तमामलाई प्रेम–पत्र, जसले दर्द र दागलाई शक्ति र आत्मविश्वासमा रुपान्तर गरेका छन्)
