डटपेनले लेखिएको जुगै जानी पिरती

तिमी किराना पसलमा बस्थ्यौ, म माग्थें– एउटा डटपेन दिनु न ! तिमी मसिनो मधुर स्वरमा सोध्थ्यौ– कति जानी ? मेरो मनले जवाफ फर्काउँथ्यो– जुगै जानी !

भाद्र १४, २०८२

प्रकाश सपुत

Jugai Jani Pirti written in dotpen

What you should know

प्रिय विन्दु ! रातको साढे ११ बजे, तिमी हाम्रा दुई मुटुका टुक्राजस्ता छोरी र छोरासँग मस्त निदाइरहेकी छौ । म तिमीहरूको निदाइरहेको निर्दोष अनुहार हेर्दै यो पत्र लेखिरहेको छु । यति विशाल विश्वमा तिमीहरू नै हौ, जसलाई म औधी माया गर्छु । अनि तिमीहरू नै हौ, जसले मलाई औधी माया गर्छौ भन्ने विश्वास पनि गर्छु । 

एउटै ओछ्यानको छेउबाट तिमीहरूलाई हेर्दै सोचिरहेको छु– अहो समय कति छिटो बिती पो सकेछ है विन्दु ! कुनै दिन म तिमीलाई एक झलक देख्न दिनमा सयौं पटक घडी हेर्थें र साँझ पर्नेबित्तिकै बागलुङ बजारको ढिकैढिक घुमेर तिम्रो घरको चक्कर काट्थें । मलाई आज पनि याद छ– तिमी प्रायः पहेंलो टिसर्ट (पछि थाहा भयो, पहेंलो तिम्रो मनपर्ने रङ रहेछ) र हाप पेन्ट लगाएर आफ्नो किराना पसलमा बस्थ्यौ, म पसलमा गएर भन्थें, ‘एउटा डटपेन (कलम) दिनु न !’ तिमी मसिनो मधुर स्वरमा सोध्थ्यौ, ‘कति जानी ?’ मेरो मनले त जवाफ फर्काउँथ्यो– जुगै जानी । 

यसरी तिम्रो उज्यालो मुहार हेर्नकै लागि र मसिनो बोली सुन्नकै लागि चरम आर्थिक अभावबीच पनि मैले थुप्रै पटक रु. १० खर्चेर किनेको छु कलम र लेखेको छु केही कविता, गीत, गजल र प्रेम–पत्र ! पत्रको जमाना अलि हराइसकेकाले तिमीलाई खाममा हालेर पठाउन पाइएन, तर आज पनि पुराना डायरीका मैलो पानामा तिम्रो नाममा मैले लेखेका प्रेम–पत्र र भावना पढेर बस्दा अलि शरम त लाग्छ । तर, एक पटक फेरि त्यो एकतर्फी प्रेम सम्झिँदा छुट्टै मज्जा आउँछ । साँच्ची ! मैले धेरै पछिसम्म तिम्रो पसलमा किनेका कलमहरू सँगालेर राखेको थिएँ नि ! पछि सकिएछन् क्यारे, जीवनमा थुप्रै परीक्षा जो दिइयो । 

बजारको बीचमा घर । घरमै पसल । बाबा विदेशमा । पढाइमा अब्बल । मेरो तुलनामा त भयंकर हुनेखाने तिमी ! मसँग त सपनाबाहेक केही थिएन । तिमी बोहरा, म त गाउँबाट झरेको अर्कै जातको मान्छे ! कतै कहींबाट साइनो पनि नलाग्ने, चिनजान नातागोता कहीं, केही नभएको । बाटोमा हिँड्दै गर्दा राम्री देखेको, मन पराएको । सोधखोज गरेर घर, ठेगान पत्ता लगाएको । हरेक साँझ कलम किन्न गएको । घरको ल्यान्डलाइन फोन नम्बरमा फोन गरेर उठिहाल्यो भने ‘हाई–हेलो’ गरेको । आफ्नो परिचय आफैं दिएर साथी बनेको । फोनमा दोहोरो कुरा गर्न थालेको । एफ.एम. सुन्न लगाएर गीत र कविता डेडिकेसन गरेको ! जिन्दगी र मायाको मीठो–मीठो कुरा गरेर तिमीलाई पट्याएको । यत्ति त हो हाम्रो लभ–स्टोरी ! 

हुन त केटाकेटीको कुनै संयोगले भेट हुन्छ । केटाले मन पराउँछ, पछ्याउँछ, पट्याउँछ । यस्तै त हुन्छ प्रायः लभ–स्टोरी । हाम्रो पनि त्यस्तै– मैले तिमीलाई देखें, मन पराएँ...। त्यसैले यो स्टोरीमा तिमी र मलाई मात्रै हेर्ने हो भने त त्यस्तो रोचक र सनसनी केही छैन । तर, तिम्रो र मेरो पछाडिको धरातल र समाज हेर्ने हो भने हामी निकै आँटिला हौं । कलिलै उमेरदेखि नै जीवनको फैसला आफैं लिन सक्ने परिपक्व युवा हौं । परिवार र समाजको अघोषित बन्धनबाट मुक्त एक जोडी, स्वतन्त्र पन्छी हौं । प्रेम र बोलीमै विश्वास गरेर मेरो रित्तो हात समाउन आएकी तिमी त झन् स्वतन्त्र र आत्मविश्वासी छोरी हौ । तिम्रो आँटको अगाडि मेरो आँट फिक्का छ । किनभने एउटा पुरुष भएकाले समाजले लगाउने अघोषित धाराहरू मलाई अलि कम छन् । तिम्रो आँटलाई सलाम, तिम्रो प्रेमलाई सलाम ! 

Jugai Jani Pirti written in dotpen

हामीबीच प्रेम त थियो, तर त्यत्तिकै बलियो गरी हामीलाई बाँधेको थियो एकअर्काको सपनाले । देशमै केही गर्ने, समाजमा परिचय स्थापित गर्ने मेरो सपना थियो । एक लाइनमा भन्नुपर्दा नाम र दाम कमाउने मेरो सपना थियो । तिम्रो सपना थियो– उच्च शिक्षा अध्ययन गर्ने र आफ्नै खुट्टामा उभिने, युगौंदेखि चलिआएको उमेर पुग्नेबित्तिकै बिहे गर्ने र पोइको घर गरिखाने स्वाभाविक चलनलाई तोड्ने, यसका लागि एकअर्कालाई सपोर्ट गर्ने, मिलेर अगाडि बढ्ने ! 

अहो ! त्यो बैंसालु उमेरमा पनि हामीले कति परिपक्व सम्झौता गरेका रहेछौं । त्यसैले त काँचो उमेरमै बिहे गरे पनि हाम्रा रुचिहरू बदलिएनन्, विचार बदलिएन, मन बदलिएन । झन्झन् बलियो हुँदै पो गयो । मलाई त छिट्टै बिहे गरेकोमा कहिल्यै पछुतो भएन । तिमीलाई भयो र विन्दु ? यी दुई प्यारा सन्तानसँग निर्धक्क निदाइरहेकी तिमीलाई अहिले भर्खरै फेरि हेर्दै छु– त्यस्तो पछुतो छ जस्तो त लाग्दैन । छैन होला नि है ! भोलि बिहान फेरि एक पटक सोध्छु । 

विन्दु !

सपनाको कुरा आयो, हामीले एकअर्काको सपनालाई उत्तिकै सम्मान र सपोर्ट गर्दै अगाडि बढ्यौं । मैले धेरथोर नाम कमाएँ, तिमीले डिग्री पास गर्‍यौ । त्यसपछि हाम्रो पहिलो सन्तान छोरी जन्मिइन्, अनि छोरा । 

थाहा छैन, आजकाल तिमी के सोचिरहेकी छौ ! तर, म कहिलेकाहीं सोच्छु– तिमी हाम्रो सन्तानको जिम्मेवारी र मेरो करिअरको बोझले थिचिएकी छौ । किनकि दुई सन्तानकी आमा हुनु र एउटा सर्जक–कलाकारको श्रीमती हुनु दुवै उत्तिकै गाह्रो भूमिका हो । सन्तानको अनुभव त धेरैलाई होला । यो आफैंमा एउटा चुनौतीपूर्ण जिम्मेवारी हो । तर, कलाकारको श्रीमती हुन सानोतिनो सोच, विश्वास र आँटले पुग्दैन । विश्वासको एक विशाल धरातलमा उभिएर तिमी मेरो उडानको साक्षी बनेकी छौ । दुई सन्तानलाई आफूले गुँडमा च्यापेर मलाई उड्न दिएकी छौ । भलै म चारो खोज्न निस्किएको हुँ, तर तिमी म जत्ति उड्न पाएकी छैनौ ।

हामीले सँगै गुँड बनाउने र सँगै चारो खोजेर जीवन चलाउने समतामूलक समाजवादको परिकल्पना गरेर बिहे गरेका थियौं, तर समयक्रम सँगै फेरि परम्परागत विवाह संरचना जस्तो म स्वतन्त्र रूपमा कहाँ–कहाँ उड्न पाउने तिमी सधैं गुँड छोपेर बस्नुपर्ने भइरहेको छ । तिमी धन्य छौ, महान् छौ । तर, म तिमीलाई यी फूलबुट्टा गाँसिएका शब्दहरूमा सीमित गर्न चाहन्न । तिमी पनि मजस्तै स्वतन्त्र भएर उड्ने र दुवै मिलेर गुँड समाल्ने समय पर्खिरहेको छु । तिमी आफ्नो अर्को सपना र उडानका लागि तयार रहनु । 

विन्दु !

एक सर्जकको विचार स्थिर हुन सक्छ, तर उसको स्वभाव भने अस्थिर नै हुन्छ । मैले बोक्ने विचार र बनाएका योजनाहरू त्यति गलत छैनन्, त्यसैले व्यावहारिक रूपमा हाम्रो जीवन ठीकठाक छ । तर, भावनात्मक रूपमा मेरा अस्थिर स्वभाव र संवेदनाहरूलाई सहनु र सन्तुलन गरेर सम्बन्ध बनाइराख्नु पनि सानोतिनो क्षमता होइन । म तिम्रो क्षमताको कदर गर्छु । छिनमै हाँस्ने, बोल्ने र छिनमै आफ्नै संसारमा हराउने एक अजीवको मान्छेलाई झेल्न अर्को अजीवको मान्छे चाहिन्छ । 

Jugai Jani Pirti written in dotpen

त्यसो भए तिमी पनि त अजीवकै मान्छे भयौ नि है ! क्या मिलेको जोडी ! खैर, मेरो स्वभाव अस्थिर हुनु र त्यसलाई सम्हाल्नु त तिमी र म बीचको कुरा भयो । यो केही हदसम्म हाम्रै वशको बात पनि हो । तर, हेर न बिस्तारै समाज अस्थिर भइरहेको छ । चरम निराशा र नकारात्मकता बढिरहेको छ । मानवता र करुणा हराइरहेको छ । यस्तो हुनुका थुप्रै कारण छन् । प्रमुख कारण त देशको राजनीति र नेतृत्व नै हो, जुन तिम्रो र मेरो वशको बात होइन । हामी त एक लाचार नागरिक हौं । सहनुको विकल्प छैन । तर, सहनु पनि कति है !

मेरो करिअरका कारण तिमीलाई पनि गौरब हुनुपर्ने, तर सामाजिक सञ्जालमा आएका नकारात्मक टिप्पणी देखेर कति अपमानित महसुस गर्दिहौ । ‘कति सजिलै गाली गर्न सकेका’ भनेर ममार्फत आफूलाई हलुका पाउँदी हौ । छरछिमेकी र आफन्तले गर्ने प्रश्नहरूबाट कसरी भाग्दिहौ ! मेरो निराशा र मानसिकता देखेर कति चिन्तित हुदिहौ । यो देशमा हामी र हाम्रो भविष्यलाई लिएर कति असुरक्षित महसुस गर्दिहौ । ‘ह्या बरु आफ्ना थुप्रै साथीहरू जस्तो कुनै सम्पन्न देशमा गएर आनन्दको जीवन बाँचम्’ जस्तो विचार पनि आउँदो हो, तिम्रो मनमा घरिघरि ।

यत्ति जीवन बाँचिसकेपछि हामीलाई थाहा भइसक्यो कि जीवन सजिलो चैं छैन । त्यसमाथि मेरो पेसाको प्रकृति सार्वजनिक भएकाले हाम्रा व्यक्तिगत जीवनका कुराहरू पनि सार्वजनिक चासोका विषय हुनु स्वाभाविक हो । यसलाई सहनु, स्विकार्नु र सन्तुलन गर्नुको विकल्प छैन । यसरी साना–साना विषयमा पनि धेरै गाली–गलौज र नकारात्मक टिप्पणीहरू आउनुका पछाडि हाम्रो दोष र कमजोरी होइन, यो त हाम्रो नियति हो । राजनीतिक निराशा र सामाजिक अस्थिरताको उपज हो र कहींकतै विभेदी मानसिकता पनि हो । 

यद्यपि हेर त ! हामीले माया पनि त पाइरहेका छौं । विश्वभरि फैलिएर रहेका नेपालीले तिमी, म र हाम्रो परिवारलाई माया र शुभेच्छा दिइरहनुभएको छ । हामी आम मानिसभन्दा भाग्यमानी छौं । त्यसैले कुनै पनि परिस्थितिमा देश छोड्ने सोच चाहिँ नराख्नु है । यो देशको परिवर्तन हाम्रो वशको बात होस् या नहोस्, मैले मेरो सिर्जनामार्फत समाजलाई सुसूचित गर्ने र तिमीले तिम्रो आइडिया र सक्रियतामार्फत थोरैलाई भए पनि रोजगारी सिर्जना गर्ने हाम्रो साझा सपना र योजनामा काम गर्दै एकबारको जुनी दुःख–सुख तिमीसँगै नेपालमै बिताउने हो । कस्सम ! धेरै माया । 

— उही तिम्रो, प्रकाश

प्रकाश प्रकाश सपुत गायक/कलाकार हुन् । उनका ‘पीर’, ‘सकम्बरी’, ‘गलबन्दी’, ‘कुरा बुझ्नुपर्छ’ देखि ‘दमाई महाराजा’ जस्ता चर्चित गीत छन् ।

Link copied successfully