छोराछोरी आउने आसमा बसेका बाहरू

१०३ वर्षीय मानबहादुर हरेक दिन छोरीको आगमनको प्रतीक्षामा आश्रममा बस्छन्, छोरीको प्रतीक्षा गर्दै हरेक आगन्तुकलाई नियाल्छन् ।

भाद्र ७, २०८२

आरती पौडेल

Those who are waiting for the arrival of children

What you should know

काठमाडौँ — ताकेश्वरस्थित नवजीवन परोपकार समाजमा बस्दै आएका मानबहादुर राई १०३ वर्षका भए। उनी हरेक दिन आश्रममा आउने मान्छेलाई अनौठो किसिमले नियाल्छन्। त्यहाँ आउने मान्छेमा उनी केही खोजिरहेका छन्। विगत ७ वर्षदेखि त्यहाँ बस्दै आएका उनी छोरी पो भेट्न आइन् कि भन्ने आसमा हरेक दिन मान्छे नियाल्छन् ।

बाटैबाटो छोरी आइरहेकी छिन् कि भनेर हेर्दै बस्छन्।

वृद्धवृद्धाप्रति माया र करुणा जाग्नेहरू परोपकार समाजमा रहेका वृद्धवृद्धालाई भेट्न आउँछन्, विशेषगरी हरेक वर्षको आमा औंशी, कुशे औंशीमा। त्यही भिडमा मानबहादुर भने आफ्नी छोरी खोजिरहेका हुन्छन्। बिहानै छोरी आउने आसमा खुसी बोकेर दिनको सुरुआत गर्ने उनी बेलुकीसम्म नआएपछि मन खुम्च्याएर कोठाभित्र पस्छन् । यो उनको दैनिकी हो।

'कानले खासै मेसो पाउँदिनँ, सुन्निन तर आँखा राम्रोसँग देख्छु। छोरी आएर बा भन्दा मैले नसुनुला र उनी फर्केर जाने हुन् कि भन्ने मेरो मनमा हुन्छ। यसैले यहाँ भेट्न आउने भिडमा छोरी नियाल्छु,' उनी आफ्ना दुखेसो सुनाउँछन्।

त्यसो त छोरीले आफ्नो घर लैजान्छिन् कि भन्ने आसमा मनबहादुरले छोरी सम्झिएका भने होइनन्। धेरै वर्षअगाडि श्रीमतीसहित अरू सन्तान गुमाएका उनको परिवारमा एउटा मात्र छोरी छिन्, जसको हरेक दिन उनी प्रतिक्षा गरिरहन्छन्।

दुःख पाएर पो भेट्न आइन कि भन्ने सोचेर  छोरीलाई दिन भनी जम्मा गरेर राखेको वृद्धभत्ता लिएर आश्रमबाट छोरीको घर खोज्दै कयौँ पटक भौतारिए उनी । तर उनले न छोरी भेटे न छोरीको घर नै। छोरीप्रति दुखेसो छैन उनको। उनी आफू जस्तो भएपनि छोरी सधैं खुसी होस् भन्ने चाहना छ मनबहादुरको ।

मानबहादुर यो पटकको कुशेऔंशीमा छोरी भेट्न आउनेमा ढुक्क छन्। 'पहिला जस्तो भएपनि योपालि त पक्कै आउँछिन् जस्तो लागेको छ, आइदिन्थ्यो,' उनले भने।

सोही संस्थामा छन् सबै कुराबाट अन्जान रहेका सकिल। उनको नाम, घर, परिवार कसैलाई केही थाहा छैन। 'सकिल' नाम संस्थाले राखिदिएको हो। उनी हिँड्न र बोल्न सक्दैनन्। ह्विलचेयरमा हिँड्ने उनी अन्दाजी ५० वर्ष जति भएको संस्थाले बताएको छ।

सकिल हरेक चाडपर्व आउँदा भक्कानिएर रुने नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल बताउँछन्। उनी भन्छन्, 'अरु बेला निकै नै खुसी देखिने सकिल चाडपर्व आउँदा दुःखी देखिन्छन् । न त हामीले उनले बोलेको बुझ्छौँ, भन्न सक्छौँ। तर दसैं, तिहार, कुशे औंशीमा भक्कानिएको देख्दा उनको घरपरिवार छन् कि जस्तो लाग्छ। हैन भने मेरो पनि परिवार भएको भए चाडपर्वमा सँगै हुन्थ्यौँ भन्ने हुन्छ कि भन्ने हामी आफैं अनुमान लगाउँछौँ, तर बुझ्न सक्दैनौँ।'

यस्तै आफ्ना सन्तानको प्रतिक्षामा बसिरहेका छन् सुन्दर कुमार विष्ट पनि। भोजपुर जन्मघर भएका उनी हिमालय वृद्धाआश्रममा करीब ५ वर्षदेखि बस्दै आएका छन्। सुन्दर उमेरले ९० वर्षका भए ।

छोराको वियोग सहन नसकेर घर छोडेर हिँडेका उनको परिवारसँग विछोड भएको २६ वर्ष भइसक्यो ।

सन्तानको मृत्यु स्विकार्न नसकेका सुन्दर अझै पनि घरीघरी भक्कानिन्छन्। 'श्रीमती केही वर्षअगाडि बितिन्, त्यो कुरा स्वीकार्छु। तर मेरो छोरा बितेर गएको कयौँ वर्ष भयो । त्यो घाउले हरेक दिन घोचेको छ। सपनामा पनि बोलाएको देख्छु। किन किन उ छैन भन्ने कुरा स्विकार्न सक्दिनँ,' अतित सुनाउँदै गर्दा बगेका आँसु पुछ्दै उनले भने ।

सुन्दरका एक छोरा र एक छोरी छन्। उनीहरू कहाँ र के गर्दै छन् त्यो पनि उनलाई था छैन । उनले धेरै चाहना पनि राखेका छैनन् । मात्रै बेलाबेला आफ्ना सन्तान खोज्दै भेट्न आउन् भन्ने छ। छोराछोरी सधैं राम्रो होस् भनेर हरेक दिन आफूले प्रार्थना गर्ने गरेको उनी सुनाउँछन्। उनी छोरीसँग धेरै कुरा गर्ने इच्छा पनि राख्छन्। तर पाएका छैनन् । 

चाडपर्वमा मात्र नभएर पलपल अतीत र सन्तानको यादमा दिन बिताउने गरेको संस्थामा बसेकाहरू सुनाउँछन्।

'हरेक दिन, हरेक क्षण आफ्नो सन्तानको याद आउँछ। पुराना रमाइला दिन, सबैसँग भएका क्षणहरू दिमागमा घुम्छन्। यसरी नै दिन कट्छ। जीवन यस्तै रहेछ भनेर मन बुझाउँछु, बस्छु।'

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully