उषासँग निशा भन्ने गर्थिन्, ‘दिदी, हाम्रो बुबा भइदिएको भए स्कुलमा भेट्न आउनुहुन्थ्यो होला । छुट्टीमा लिन आउनुहुन्थ्यो होला ।’ उषा केही न केही कुरा गरेर निशाको जिज्ञासा मेटाउने कोसिस गर्थिन् । तर कहिलेकाहीा त्यस्ता प्रश्नमा उनको उत्तर आँसुबाहेक केही हुँदैन थियो ।
What you should know
नेपाली कम्युनिस्ट आन्दोलनका लोकप्रिय नेता मदन भण्डारीको अल्पायुमै निधन हुँदा उनका छोरीहरू धेरै साना थिए । जेठी उषाकिरण बल्ल ९ वर्षमा टेक्दै थिइन्, कान्छी निशाकुसुम ६ वर्षकी मात्र थिइन् । उषा र निशासँग मदनको धमिलो सम्झना मात्र छ । साँच्चैको मदनभन्दा तस्बिरको मदन उनीहरूको हृदयमा बढी गहिरोसँग गढेको छ ।
आम रूपमा बाल उमेरमा आमा–बुबासँग झनै बढी समीपता हुन्छ । उषा र निशाले त्यो समीपता र आधारशिला पाएनन् । उषाको हृदयमा भने बुबाका थोरै याद ताजै छन् । २०४६ सालअघि मदनसँग उषा र निशाको भेट कम हुन्थ्यो । उनीहरूको बाल उमेर आमा विद्या भण्डारीसँगै बित्यो । काठमाडौंको नक्सालस्थित चारढुंगेमा बस्न थालेपछि मात्र उनीहरूले बुबासँग समय बिताउन पाए, बहुदलीय व्यवस्थाको स्थापनापछि । त्यो पनि एकदमै थोरै समय ।
उषालाई बुबासँग बसेर नेपाल टेलिभिजनमा शनिबार दिउँसो आउने सिनेमा सँगै हेरेको सम्झना अझै आउँछ । अन्तिम सम्झना भने मदन चीन भ्रमणका लागि प्रस्थान गर्दाको हो । मदनलाई बिदाइ गर्न विद्या दुई छोरी उषा र निशाका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष पुगेकी थिइन् ।
उषालाई बुबासँको भेटको र बारबार याद आउने आखिरी क्षण यही नै बन्न पुग्यो । यसको कारण बन्यो, मदन चीन प्रस्थान गर्नुअघि खिचाएको पारिवारिक तस्बिर । यो मदनको अन्तिम पारिवारिक तस्बिर बन्न पुग्यो । मदनले चीनबाट फर्कंदा छोरीहरूलाई ‘टेडी बियर’ आकारको चकलेट ल्याइदिएका थिए, जुन छोरीहरूको विस्मृतिबाट कहिल्यै हराउने छैन ।
३ जेठ २०५० । बार थियो आइतबार । चितवनको दासढुंगामा मदन भण्डारीको रहस्यमय मृत्यु भयो । बुबाको रहस्यमय मृत्युको पीडा उषा र निशाको स्मृतिबाट कहिल्यै मेटिने छैन । जीवनभर नै त्यो दिन कहालीलाग्दो दिनका रूपमा सम्झना हुन्छ । सुरुमा आजभोलि गर्दागर्दै र पढाइमा ध्यानकेन्द्रित हुँदा धेरै सम्झना भएन । उषा र निशा दुवै बूढानीलकण्ठ स्कुलको होस्टेलमा बसेर पढ्थे । उषा सम्झिन्छिन्, ‘स्कुलको होस्टेल बसाइमा बुबाको मुख हेर्ने दिन कहिले पर्छ र आमाको मुख हेर्ने दिन कहिले हो भन्ने पत्तै हुँदैन थियो ।’
जब उनीहरूले आफनो बुबाको महत्त्व र स्थान बुझ्न थाले, बुबाको मुख हेर्ने दिनको पनि महत्त्व बढेर जान थाल्यो । ‘समयको चक्र जति अगाडि बढ्दै जान्छ, यस दिनले हाम्रो जीवनलाई बुबासँग अझ जोड्छ, उहाँको अनुहार सम्झाउँछ र उहाँको मायाको गहिरो स्पर्श आत्मामा जगाइदिन्छ,’ उषा भन्छिन्, ‘तर म र मेरी बहिनी निशाका लागि यो केवल सम्झनाको होइन, अपूरणीय रिक्तताको दिन पनि हो । किनभने, हामीले धेरै सानो उमेरमै बुबालाई गुमाएका थियौं । बुबाको मायाले रंगीन हुनुपर्ने हाम्रो बाल्यकाल अचानक कालो छायाले ढाकिदियो ।’
पञ्चायतको कठिनकालमा जन्म
मदन भण्डारी र विद्या भण्डारीकी जेठी छोरीका रूपमा उषाको जन्म २२ साउन २०४१ मा कोशी अञ्चल अस्पताल विराटनगरमा भयो । त्यही अस्पतालमै १५ असार २०४४ मा कान्छी छोरी निशा जन्मिइन् । निशा जन्मँदा विद्या मोरङ बेलबारीको उत्तरतिरको गाउँ नक्सलबारीस्थित एक विद्यालयमा प्राथमिक तहकी शिक्षक थिइन् ।
उषा र निशाको बाल्यकालका सुरुवाती वर्षहरू त्यहीं बितेका थिए । पूर्वराष्ट्रपति विद्या भण्डारीका स्मृतिमा दुवै छोरी जन्मँदा मदन भूमिगत जीवनमा कडा अनुशासनसहित नेकपा (माले) लाई देशव्यापी फैलाउने अभियानमा समर्पित थिए । दुवै छोरी जन्मँदा मदन आफ्नो वास्तविक परिचयमा अस्पतालमा उपस्थित हुने अवस्था थिएन । यही कारण, अस्पतालको दर्ता किताबमा आमाको नाम विद्या पाण्डे लेखिए पनि बुबाको नाम ‘जीवन शर्मा’ लेखियो । अर्थात् एउटा क्रान्तिकारी नेताले सन्तानको जन्मदर्ता कागजमा
आफ्नो असली नाम लेख्न सक्ने अवस्था थिएन । विद्या भन्छिन्, ‘छोरीहरूको बुबा भूमिगत राजनीतिमार्फत मुलुक परिवर्तनको आन्दोलनमा हुनुहुन्थ्यो, हामी छोरीहरूको जन्ममा खुला रूपमा खुसी हुन सक्ने अवस्था थिएन ।’ यो एउटा साधारण परिवारको घटना मात्र थिएन, यो एउटा नेताको संघर्षपूर्ण भूमिगत जीवनको साक्षी थियो– जहाँ व्यक्तिगत जीवन पनि राजनीतिक गोपनीयताको छायामा बाँधिन बाध्य हुनुपरेको थियो ।
मदनको मृत्यु : छोरीहरूको अनुभूति
३ जेठ २०५० को दिन उषा र निशा दुवैको कहालीलाग्दो र असाध्यै पीडादायी क्षण थियो । बालसुलभ मनले बुझ्नै नसक्ने गरी भएको ठूलो दुर्घटना भएको थियो त्यो दिन । उषा ९ वर्ष लागेकी मात्र थिइन् भने निशा ६ वर्ष मात्रै । उषा भर्खर ३ कक्षा सकेर ४ कक्षामा गएकी थिइन् भने निशा भर्खर दिदी सँगसँगै लागेर स्कुल जान थालेकी थिइन् । दुवै काठमाडौं ज्ञानेश्वरस्थित महेन्द्र भवन स्कुलमा अध्ययन गर्थे । मदन आफ्नो स्कुल गएको उषालाई सम्झना छैन ।
भण्डारी परिवारको बसाइ नक्साल चारढुंगे थियो । घटनाको जानकारी आइपुगेपछि उषा र निशालाई तत्कालै मालीगाउँमा रहेकी फुपूको घर लगियो । स्कुल बिदा छ भनेर उनीहरूलाई घरमै राखियो । मदनको अन्तिम दाहसंस्कार गर्ने दिन ८ जेठमा मात्र उषा र निशालाई लिएर नक्साल चारढुंगेस्थित डेराघर लगियो, जहाँ विद्या भावविह्वल अवस्थामा थिइन् ।
उषा त्यस दिनको सम्झना गर्छिन्, ‘म घर पुग्दा मानिस रोइरहेका थिए । फुपूकी एक छोरी पनि रोइरहेकी देखें । मेरो पनि आँसु रोकिएन । घरमा एउटा पत्रिका देखें । पत्रिकामा बुबाको दुर्घटनाको समाचार थियो । मैले ठानें, दुर्घटनामा मात्र पर्नुभएको होला । एकैछिनमा हामीलाई अस्पताल लैजाने भनेर कतै लगियो । तर हामीलाई पुर्याइयो, दशरथ रंगशाला जहाँ हजारौं मानिस रोइरहेका, कराइरहेका थिए । त्यहीं कतै बुबाको शव पशुपति आर्यघाट लैजाने तयारी भइरहेको थियो ।’
उषा थप्छिन्, ‘म सम्झन्छु, मेरी आमाको अनुहारमा अकल्पनीय पीडा थियो । जब मैले आमाको सिउँदोको सिन्दुर पुछेको र हातमा लगाइएका चुरा फुटाएको देखें, मलाई महसुस भयो कि अब हामीले कहिल्यै बुबालाई फिर्ता पाउने छैनौं, बुबासँग कुरा गर्न पाउने छैनौं । मनलाई दह्रो बनाएँ । र, आमालाई थप पीडा नदिने अठोट गरें ।’
दशरथ रंगशालामा श्रद्धाञ्जलीका लागि राखिएको बुबाको शव देखेर निशा भन्थिन्, ‘बुबा किन सुतिरहनुभएको छ ? कति बेला उठेर आउनुहुन्छ ?’ निशालाई अब बुबा कहिल्यै उठेर आउनु हुन्न भन्ने चेत थिएन । हेर्दाहेर्दै उषा र निशाले आफ्नो बुबाको शरीर खरानी भएको र धूवाँ बनी आकाशतिर उडेको देखे । उषालाई यो सबै घटना चरणबद्ध देखेपछि के लाग्यो भने ‘बुबाको मृत्यु पनि जीवनको एक अभिन्न पाटो रहेछ ।’
मदनको मृत्युपछि विद्या र छोरीहरूलाई भेट्न आउने सबैले एउटै कुरा भन्थे, ‘मदनको मृत्यु तपाईंहरूको परिवारलाई मात्र होइन, सिंगो पार्टी र देशलाई नै अपूरणीय क्षति हो ।’ विद्या छोरीहरूलाई सधैं भन्थिन्, ‘तिमीहरूको बुबा असाधारण व्यक्ति हुनुहुन्थ्यो, परिवार मात्र होइन, सिंगो राष्ट्रको मुहार फेर्ने उहाँको सपना थियो ।’ बुबा बितेको ३२ वर्षपछि उषा सम्झिन्छिन्, ‘उहाँ हाम्रो मात्र होइन, तमाम अबोध नेपालीको असाधारण बुबा हुनुहुन्थ्यो, सपना हुनुहुन्थ्यो ।’
बाल्यकालको रिक्तता
उषा र निशालाई बुबाबिना बाल्यकाल बिताउनु निकै कठिन थियो । अरू बच्चा आफ्ना बुबासँग खेलिरहेको, रमाइरहेको, स्कुलमा ल्याइदिएको देख्दा मनमा चसक्क पीडा हुन्थ्यो । तर विद्या सम्झाउँथिन्, ‘मैले पनि १० वर्षकै उमेरमा बुबा गुमाएको पीडा व्यहोरेको थिएँ, मन दह्रो बनाउनुपर्छ, आफ्नो गन्तव्य र कर्तव्यपथमा लाग्नुपर्छ ।’
कालान्तरमा उषा र निशाले एउटै स्कुल पढ्ने अवसर पाए, बूढानीलकण्ठ स्कुल । दुवैले त्यहींबाट विद्यालयस्तरको अध्ययन पूरा गरे । निशाले सधैं भन्ने गर्थिन्, ‘दिदी, हाम्रो बुबा भइदिएको भए स्कुलमा भेट्न आउनुहुन्थ्यो होला । छुट्टीमा लिन आउनुहुन्थ्यो होला ।’ उषा केही न केही कुरा गरेर निशाको जिज्ञासा मेटाउने कोसिस गर्थिन् । ‘तर मेरो मन बुबाको सम्झनाले भारी हुन्थ्यो । कहिलेकाहीं त त्यस्ता प्रश्नमा मेरो उत्तर आँसुबाहेक केही हुँदैन थियो । तर म सम्हालिनुको अर्को विकल्प थिएन,’ उनी भन्छिन् ।
यो मार्मिक कथा सुनाउने क्रममा उषा पुनः भावुक बनिन् । र, आइसकेको आँसु पनि थामेर सम्हालिँदै भनिन्, ‘बुबाको कुरा गर्नै सक्दिनँ... ।’
विद्या उषा र निशालाई कुनै कुराको कमी नहोस् भनेर हरहमेशा ख्याल पुर्याउँथिन् । ‘हामीलाई आमाले पढाइमा पनि कुनै कमी आउन दिनुभएन । उहाँ हौसला दिँदै भन्नुहुन्थ्यो– तिमीहरू जीवनमा अघि बढ्नैपर्छ, किनभने तिमीहरूको बुबाले यही सिकाउनुभएको थियो,’ उषा भन्छिन्, ‘समग्रमा आमाले बुबाको अधुरो सपना पूरा गर्न आफ्नो सम्पूर्ण जीवन अर्पण गर्नुभयो ।’
अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा स्नातकोत्तर गरेकी उषा असीमित सम्भावना हुँदाहुँदै पनि मदनले अगाडि वढाएको नेपाली जनताको मुहार फेर्ने सपना बोकेर अगाडि बढेकी छन् । ‘किनभने नेपालमा राजनीतिक परिवर्तन पूरा भयो, तर जनताको बहुदलीय जनवादको उद्देश्य पूरा भएको छैन । त्यसैले बुबाले अधुरै छाडेको सपना पूरा गर्ने अठोटसाथ अघि बढेकी छु,’ उनी भन्छिन् । उषा हाल बुबा मदनको स्मृतिमा स्थापित मदन भण्डारी फाउन्डेसनको अध्यक्ष छिन् ।
मदनको विरासत
मदन भण्डारी उषा र निशाका मात्र बुबा मात्र थिएनन्, उनी सम्पूर्ण नेपालका लागि प्रेरणाको स्रोत थिए । उनले नेपाली राजनीतिक जीवनमा ल्याएको ‘जनताको बहुदलीय जनवाद’ आज पनि उत्तिकै सान्दर्भिक छ । यो देशका लागि मौलिक मार्गदर्शक सिद्धान्त बनेको छ । त्यसैले यसको थप व्याख्या र विश्लेषण आवश्यक देख्छिन् उषा । र, साथै सही कार्यान्वयनमा जोड दिन्छिन् ।
‘हामीलाई व्यक्तिगत रूपमा बुबाको स्मरणले आँसु ल्याउँछ, तर त्यही आँसुले हामीलाई शक्ति पनि दिन्छ,’ उषा भन्छिन्, ‘हामी गर्व गर्छौं– हाम्रो बुबा हाम्रा लागि मात्र नभई सम्पूर्ण राष्ट्रका लागि महान् नेता हुनुहुन्थ्यो ।’ हरेक वर्ष बुबाको मुख हेर्ने दिन उषा मदनको फोटो अगाडि फलफूल र फूल चढाउँछिन् ।
‘त्यो केवल धार्मिक वा संस्कारगत काम होइन, त्यो हाम्रो आत्मिक संवाद हो । हामी उहाँलाई भन्छौं– बुबा, तपाईं जहाँ भए पनि हामी तपाईंलाई धेरै सम्झन्छौं । तपाईंबिना हाम्रो जीवन अधुरो छ, तर तपाईंको अधुरा सपना पूरा गर्न हामी निरन्तर संघर्ष गर्दै छौं । आजको दिन हामीसँगै आमाको पनि आँसु झर्छ, तर त्यही आँसुले हामीलाई सम्झाउँछ– अझै मजबुत बन्नुपर्छ,’ उनी भन्छिन् । यस वर्षको बुबाको मुख हेर्ने दिन उषाले प्रतिज्ञा गरेकी छन्, ‘हामी बुबाको नाम, आदर्श र सपना जोगाउँछौं । तपाईं हाम्रा लागि मात्र होइन, देशभरका सर्वहाराका सहारा पनि हुनुहुन्छ । तपाईं सधैं हाम्रो हृदयमा जीवित रहिरहनुहुनेछ ।’
