रुचि नभए पनि पृथ्वीले बुबाको सम्मानमा सरकारी जागिर खाए, बुबाको विचार थियो– खान/लाउन हामीलाई दुःख छैन, त्यसैले पैसा कमाउनेभन्दा पनि नाम र प्रतिष्ठा रहने काम गर्नुपर्छ।
What you should know
त्यो दिनको स्मृतिले खुब झस्काउँछ– नेपाल इन्भेस्टमेन्ट–मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई । काजी कालु पाँडेका सातौं पुस्ताका पृथ्वी त्यस दिन सम्झिन्छन्, ‘घरमै बसिरहेको थिएँ, अचानक बुबा बिरामी हुनुभएको खबर पाएँ । हतार–हतार पुग्दा उहाँको अनुहारको उज्यालोपना खस्किसकेको थियो । हतार–हतार हामीले आर्मी अस्पताल त पुर्यायौं तर बचाउन सकेनौं ।’
हरदिन अफिसबाट घर फिरेपछि बुबालाई भेट्थे– पृथ्वी । बुबा अर्थात् प्रशासन, कूटनीतिक, लेखन, समाजसेवामा ख्यातनाम सरदार भीमबहादुर पाँडे । पिताको निधनपछि एउटा गहिरो रिक्तता लामै समय महसुस गरे– पृथ्वीले । अझै बुबाको सम्झना मात्रैले पनि उज्यालिन्छन् उनी ।
पृथ्वीको पिता–सम्झना र सम्मान उनको कार्यकक्षमै झल्किन्छ, जहाँ बुबाको ठूलो पेन्टिङ टाँगिएको छ । जब पेन्टिङमा घोरिन्छन्, पिता–स्मरणले घेरिन्छन् । पेन्टिङमा टाँगिएका पिता मुस्कुराइरहेझैं देखिन्छन्– हरनिमेष । यो पेन्टिङको अन्तर्य खुलाए उनले, ‘बुबा जर्मनमा राजदूत हुँदा खिचेको तस्बिरबाट एक जना थान्का आर्टिस्टले २ वर्ष लगाएर यो पेन्टिङ तयार पारे ।’ चित्रकलामा अत्यन्तै रुचि भएका पृथ्वी भन्छन् ।
पृथ्वी बेला–बेला बितिगएका समयमा बरालिन्छन् । बुबासँग बिताएका बाल्यकालमा स्मृतिरमण गर्छन् । उतिबेलाको समयमा उनका बुबा थिए, कडा अनुशासन रुचाउने । ‘बुबा नियम–अनुशासनमा कडा हुनुहुन्थ्यो,’ पिता सम्झनातिर पसिरहेका पृथ्वी सुनाउँछन्, ‘सधैं लेखपढ गरिराख्ने बानी थियो बुबाको । बिहान सबेरै उठ्ने, एकाध घण्टा मर्निङवाक गर्ने, सधैं फूर्तिलो भएरै बस्ने र नयाँ–नयाँ कुरामा चिन्तन गरिराख्ने । बुबाका यी सबै बानी उमेरको उपल्लो बिन्दुसम्मै कायम थियो । आखिरी दिनमा पनि बुबा बिहान एकाध घण्टा हिँड्नुहुन्थ्यो ।’
बुबाको उद्देश्य थियो– सबै सन्तानलाई राम्रो शिक्षा दिने र देशैभित्र राख्ने । ‘बुबाको यही सोचकै कारण हामी ५ छोरामध्ये चार जना सरकारी सेवामा प्रवेश भयौं,’ उनले सुनाए ।
जीवनको लामो समय प्रशासन र कूटनीतिमा बिताए पृथ्वीका बुबा भीमबहादुर पाँडेले । पृथ्वीको किशोर कालचाहिँ कहिले उतिबेलाको पश्चिम जर्मन, कहिले बेलायत र कहिले भारतमा बित्यो । बुबासँग उनले अनेक देशमा अनेक भाषा, संस्कृति र परम्परा देखे । १० वर्षको छँदा बाबुसँग जर्मन जाँदाको सम्झना उनले सुनाए, ‘दिल्ली हुँदै जर्मन जानुपर्ने थियो । त्यही बेला हो मैले दिल्लीमा पहिलो पटक कोकको स्वाद लिएको ।’
जर्मन छँदा पनि बुबा सधैं मर्निङ–वाकमा निस्कन्थे । पृथ्वी सकिनसकी बाबुसँगै हिँड्थे । बुबा बिदाका दिनमा उनलाई युरोपका अनेक सहर घुमाउन लैजान्थे । ‘जुन सहर पुगे पनि बुबा हामीलाई घण्टौं हिँडाउनुहुन्थ्यो । भन्नुहुन्थ्यो– मोटर चढेर होइन, नहिँडी सहर बुझिन्न,’ पृथ्वीले सुनाए ।
भारतबाट वाणिज्यशास्त्र विषयमा स्नातकोत्तर गर्ने पहिलो नेपाली भीमबहादुर चाहन्थे– छोराहरू पढाइमा तीक्ष्ण हुन् । उनी ‘छोराहरूले धनभन्दा धेरै प्रतिष्ठा कमाउन्’ भन्ने चाहन्थे । सन् १९७८ मा भारतबाट चार्टर्ड अकाउन्टेन्ट पास गरेर नेपाल फर्किंदा पृथ्वीले सरकारी जागिर खाने सोचकै थिएनन् । उनी जुन दिन पास भएको खबर आएको थियो, त्यो दिन उनको घरमा सानोतिनो जमघट चलिरहेको थियो । त्यहाँ थिए– राष्ट्र बैंकका तत्कालीन गभर्नर कुलशेखर शर्मादेखि भेषबहादुर थापासम्म ।
बुबाले छोरा पास भएको खबर प्रसन्न भएर साथीहरूलाई सुनाए । गभर्नरले राष्ट्र बैंकमा चार्टर्ड अकाउन्टेन्ट खोजेको तर नपाएको सुनाएपछि उनलाई बुबाले त्यही जागिर खान सुझाए । पृथ्वी भन्छन्, ‘खासमा म सरकारी जागिर खान इच्छुक थिइनँ । १२ सय ७५ रुपैयाँको तलबमा मेरो मन पनि थिएन ।’ आफ्नो रुचि नभए पनि उनले बुबाको रुचिलाई सम्मान गरे । सुनाउँछन्, ‘बुबाको विचार थियो– खान/लाउन हामीलाई दुःख छैन । त्यसैले पैसा कमाउनेभन्दा पनि नाम र प्रतिष्ठा रहने काम गर्नुपर्छ ।’
बुबाकै इच्छाको सम्मान गर्न पृथ्वीले सरकारी जागिर खाए, राष्ट्र बैंकमै छँदा अन्तर्राष्ट्रिय मुद्रा कोषमा काम गर्न अमेरिका पुगे । त्यहीँ उनले केही आकर्षक जागिर पनि पाएका थिए, तर ‘छोराहरू देशभित्रै हुनुपर्छ’ भन्ने बुबाको इच्छा बुझेरै त्यता भुलेनन् । जर्मनमा कार्यरत मेकानिकल इन्जिनियर जेठो छोरा सागरलाई पनि भीमबहादुरले १२ वर्षपछि नेपालमै फर्काएका थिए ।
विसं १९७० मा स्याङ्जामा जन्मेर राणाकालमा निजामती सेवा प्रवेश गरेका भीमबहादुर स्याङ्जाबाट आउने हरकोहीलाई घरमा स्वागत गर्थे, तिनका गुनासा वा समस्या र गाउँका सम्झना सुन्थे । पृथ्वीलाई हिजोआज पनि अनेक मान्छे भेट्छन् । धेरैले उतिबेला बुबाले गरेका कामको फेहरिस्त सनाउँछन् । ती सबै सम्झिँदा पृथ्वीलाई लाग्छ– बुबाले कति धेरै मान्छे कमाउनुभएको रहेछ । ‘म उहाँको सत्कर्मको फल खाइरहेको छु,’ उनी भन्छन् ।
पृथ्वीका अनुसार बुबाको नजिकको संगत थियो– फादर स्टेलरसँग । उनै फादरले बुबालाई ‘हरेक दिन केही न केही लेख्नुपर्छ’ भन्ने प्रेरणा भरिदिएका थिए । हरदिन डायरीमा केही न केही लेख्ने बुबाको बानी पृथ्वी अझै सम्झना गर्छन् । त्यही सुन्दर बानीको प्रतिफल हो– भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’, जसले उतिबेलामा समाज, अर्थतन्त्र र प्रशासनमाथि गम्भीर विमर्श गर्छ ।
‘टाइम्स’ देखि ‘न्युजविक’ म्यागजिनसम्म हरेक दिन खटाई–खटाई पढ्ने बुबाको बानी सम्झिन्छन् पृथ्वी । ‘ती पत्रिकाहरू पढेर उहाँ महत्त्वपूर्ण लेखहरूमा अन्डरलाइन गरेर हामीलाई पढ्न दिनुहुन्थ्यो । सायद हामी संसारसँग जोडिन सकुँ भनेर उहाँले त्यसो गर्नुहुन्थ्यो,’ पृथ्वीले सुनाए ।
नेपालदेखि विदेशसम्म फैलिएको बुबाको प्रभावकै कारण पृथ्वीले सानै उमेरदेखि प्रभावशाली मान्छेसँग भेट्न–संगत गर्न पाए । भारतीय राजनीतिमा प्रभावशाली हैसियत बनाएका माधव रावदेखि करणसिंहसम्म बुबाको चिनाजानी थियो । स्वदेश र विदेशका अनेकन प्रभावशाली कूटनीतिज्ञलाई उनले बुबाकै संगतका कारण भेट्न–जान्न पाए । बुबाको फराकिलो प्रभाव र लगनशील स्वभावबाट आफूले धेरै विषय जान्न–बुझ्न–सिक्न पाएको अनुभव उनी अझै सुनाउँछन् । भन्छन्, ‘बुबाको प्रभाव जीवनका अनेकन परिस्थितिमा अझै परिरहन्छ ।’
पृथ्वीको मन–मस्तिष्कमा अझै एउटा दुखेसो छ– बुबाले जीवनभर हाम्रा लागि अनेकथोक गर्नुभयो तर हामीले उहाँका लागि केही गर्न सकेनौं । ‘बुबाले हामीलाई संसार घुमाउनुभयो । हाम्रा लागि सबथोक गर्नुभयो । तर, हामीले उहाँलाई केही गर्न पाएनौं । जब हामी केही गर्न सक्ने भयौं, उहाँ हामीबीच रहनुभएन,’ पृथ्वी भावुक हुन्छन् ।
