सरदार पाँडेको स्मृतिलाई परिक्रमा गरिरहेका पृथ्वी

रुचि नभए पनि पृथ्वीले बुबाको सम्मानमा सरकारी जागिर खाए, बुबाको विचार थियो– खान/लाउन हामीलाई दुःख छैन, त्यसैले पैसा कमाउनेभन्दा पनि नाम र प्रतिष्ठा रहने काम गर्नुपर्छ।

भाद्र ७, २०८२

दया दुदराज

Earth orbiting the memory of Sardar Pandey

What you should know

त्यो दिनको स्मृतिले खुब झस्काउँछ– नेपाल इन्भेस्टमेन्ट–मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई । काजी कालु पाँडेका सातौं पुस्ताका पृथ्वी त्यस दिन सम्झिन्छन्, ‘घरमै बसिरहेको थिएँ, अचानक बुबा बिरामी हुनुभएको खबर पाएँ । हतार–हतार पुग्दा उहाँको अनुहारको उज्यालोपना खस्किसकेको थियो । हतार–हतार हामीले आर्मी अस्पताल त पुर्‍यायौं तर बचाउन सकेनौं ।’

हरदिन अफिसबाट घर फिरेपछि बुबालाई भेट्थे– पृथ्वी । बुबा अर्थात् प्रशासन, कूटनीतिक, लेखन, समाजसेवामा ख्यातनाम सरदार भीमबहादुर पाँडे । पिताको निधनपछि एउटा गहिरो रिक्तता लामै समय महसुस गरे– पृथ्वीले । अझै बुबाको सम्झना मात्रैले पनि उज्यालिन्छन् उनी ।

पृथ्वीको पिता–सम्झना र सम्मान उनको कार्यकक्षमै झल्किन्छ, जहाँ बुबाको ठूलो पेन्टिङ टाँगिएको छ । जब पेन्टिङमा घोरिन्छन्, पिता–स्मरणले घेरिन्छन् । पेन्टिङमा टाँगिएका पिता मुस्कुराइरहेझैं देखिन्छन्– हरनिमेष । यो पेन्टिङको अन्तर्य खुलाए उनले, ‘बुबा जर्मनमा राजदूत हुँदा खिचेको तस्बिरबाट एक जना थान्का आर्टिस्टले २ वर्ष लगाएर यो पेन्टिङ तयार पारे ।’ चित्रकलामा अत्यन्तै रुचि भएका पृथ्वी भन्छन् । 

पृथ्वी बेला–बेला बितिगएका समयमा बरालिन्छन् । बुबासँग बिताएका बाल्यकालमा स्मृतिरमण गर्छन् । उतिबेलाको समयमा उनका बुबा थिए, कडा अनुशासन रुचाउने । ‘बुबा नियम–अनुशासनमा कडा हुनुहुन्थ्यो,’ पिता सम्झनातिर पसिरहेका पृथ्वी सुनाउँछन्, ‘सधैं लेखपढ गरिराख्ने बानी थियो बुबाको । बिहान सबेरै उठ्ने, एकाध घण्टा मर्निङवाक गर्ने, सधैं फूर्तिलो भएरै बस्ने र नयाँ–नयाँ कुरामा चिन्तन गरिराख्ने । बुबाका यी सबै बानी उमेरको उपल्लो बिन्दुसम्मै कायम थियो । आखिरी दिनमा पनि बुबा बिहान एकाध घण्टा हिँड्नुहुन्थ्यो ।’ 

बुबाको उद्देश्य थियो– सबै सन्तानलाई राम्रो शिक्षा दिने र देशैभित्र राख्ने । ‘बुबाको यही सोचकै कारण हामी ५ छोरामध्ये चार जना सरकारी सेवामा प्रवेश भयौं,’ उनले सुनाए ।

Earth orbiting the memory of Sardar Pandey

जीवनको लामो समय प्रशासन र कूटनीतिमा बिताए पृथ्वीका बुबा भीमबहादुर पाँडेले । पृथ्वीको किशोर कालचाहिँ कहिले उतिबेलाको पश्चिम जर्मन, कहिले बेलायत र कहिले भारतमा बित्यो । बुबासँग उनले अनेक देशमा अनेक भाषा, संस्कृति र परम्परा देखे । १० वर्षको छँदा बाबुसँग जर्मन जाँदाको सम्झना उनले सुनाए, ‘दिल्ली हुँदै जर्मन जानुपर्ने थियो । त्यही बेला हो मैले दिल्लीमा पहिलो पटक कोकको स्वाद लिएको ।’ 

जर्मन छँदा पनि बुबा सधैं मर्निङ–वाकमा निस्कन्थे । पृथ्वी सकिनसकी बाबुसँगै हिँड्थे । बुबा बिदाका दिनमा उनलाई युरोपका अनेक सहर घुमाउन लैजान्थे । ‘जुन सहर पुगे पनि बुबा हामीलाई घण्टौं हिँडाउनुहुन्थ्यो । भन्नुहुन्थ्यो– मोटर चढेर होइन, नहिँडी सहर बुझिन्न,’ पृथ्वीले सुनाए । 

भारतबाट वाणिज्यशास्त्र विषयमा स्नातकोत्तर गर्ने पहिलो नेपाली भीमबहादुर चाहन्थे– छोराहरू पढाइमा तीक्ष्ण हुन् । उनी ‘छोराहरूले धनभन्दा धेरै प्रतिष्ठा कमाउन्’ भन्ने चाहन्थे । सन् १९७८ मा भारतबाट चार्टर्ड अकाउन्टेन्ट पास गरेर नेपाल फर्किंदा पृथ्वीले सरकारी जागिर खाने सोचकै थिएनन् । उनी जुन दिन पास भएको खबर आएको थियो, त्यो दिन उनको घरमा सानोतिनो जमघट चलिरहेको थियो । त्यहाँ थिए– राष्ट्र बैंकका तत्कालीन गभर्नर कुलशेखर शर्मादेखि भेषबहादुर थापासम्म ।

बुबाले छोरा पास भएको खबर प्रसन्न भएर साथीहरूलाई सुनाए । गभर्नरले राष्ट्र बैंकमा चार्टर्ड अकाउन्टेन्ट खोजेको तर नपाएको सुनाएपछि उनलाई बुबाले त्यही जागिर खान सुझाए । पृथ्वी भन्छन्, ‘खासमा म सरकारी जागिर खान इच्छुक थिइनँ । १२ सय ७५ रुपैयाँको तलबमा मेरो मन पनि थिएन ।’ आफ्नो रुचि नभए पनि उनले बुबाको रुचिलाई सम्मान गरे । सुनाउँछन्, ‘बुबाको विचार थियो– खान/लाउन हामीलाई दुःख छैन । त्यसैले पैसा कमाउनेभन्दा पनि नाम र प्रतिष्ठा रहने काम गर्नुपर्छ ।’ 

बुबाकै इच्छाको सम्मान गर्न पृथ्वीले सरकारी जागिर खाए, राष्ट्र बैंकमै छँदा अन्तर्राष्ट्रिय मुद्रा कोषमा काम गर्न अमेरिका पुगे । त्यहीँ उनले केही आकर्षक जागिर पनि पाएका थिए, तर ‘छोराहरू देशभित्रै हुनुपर्छ’ भन्ने बुबाको इच्छा बुझेरै त्यता भुलेनन् । जर्मनमा कार्यरत मेकानिकल इन्जिनियर जेठो छोरा सागरलाई पनि भीमबहादुरले १२ वर्षपछि नेपालमै फर्काएका थिए ।

Earth orbiting the memory of Sardar Pandey 

विसं १९७० मा स्याङ्जामा जन्मेर राणाकालमा निजामती सेवा प्रवेश गरेका भीमबहादुर स्याङ्जाबाट आउने हरकोहीलाई घरमा स्वागत गर्थे, तिनका गुनासा वा समस्या र गाउँका सम्झना सुन्थे । पृथ्वीलाई हिजोआज पनि अनेक मान्छे भेट्छन् । धेरैले उतिबेला बुबाले गरेका कामको फेहरिस्त सनाउँछन् । ती सबै सम्झिँदा पृथ्वीलाई लाग्छ– बुबाले कति धेरै मान्छे कमाउनुभएको रहेछ । ‘म उहाँको सत्कर्मको फल खाइरहेको छु,’ उनी भन्छन् । 

पृथ्वीका अनुसार बुबाको नजिकको संगत थियो– फादर स्टेलरसँग । उनै फादरले बुबालाई ‘हरेक दिन केही न केही लेख्नुपर्छ’ भन्ने प्रेरणा भरिदिएका थिए । हरदिन डायरीमा केही न केही लेख्ने बुबाको बानी पृथ्वी अझै सम्झना गर्छन् । त्यही सुन्दर बानीको प्रतिफल हो– भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’, जसले उतिबेलामा समाज, अर्थतन्त्र र प्रशासनमाथि गम्भीर विमर्श गर्छ ।

‘टाइम्स’ देखि ‘न्युजविक’ म्यागजिनसम्म हरेक दिन खटाई–खटाई पढ्ने बुबाको बानी सम्झिन्छन् पृथ्वी । ‘ती पत्रिकाहरू पढेर उहाँ महत्त्वपूर्ण लेखहरूमा अन्डरलाइन गरेर हामीलाई पढ्न दिनुहुन्थ्यो । सायद हामी संसारसँग जोडिन सकुँ भनेर उहाँले त्यसो गर्नुहुन्थ्यो,’ पृथ्वीले सुनाए । 

Earth orbiting the memory of Sardar Pandey

नेपालदेखि विदेशसम्म फैलिएको बुबाको प्रभावकै कारण पृथ्वीले सानै उमेरदेखि प्रभावशाली मान्छेसँग भेट्न–संगत गर्न पाए । भारतीय राजनीतिमा प्रभावशाली हैसियत बनाएका माधव रावदेखि करणसिंहसम्म बुबाको चिनाजानी थियो । स्वदेश र विदेशका अनेकन प्रभावशाली कूटनीतिज्ञलाई उनले बुबाकै संगतका कारण भेट्न–जान्न पाए । बुबाको फराकिलो प्रभाव र लगनशील स्वभावबाट आफूले धेरै विषय जान्न–बुझ्न–सिक्न पाएको अनुभव उनी अझै सुनाउँछन् । भन्छन्, ‘बुबाको प्रभाव जीवनका अनेकन परिस्थितिमा अझै परिरहन्छ ।’ 

पृथ्वीको मन–मस्तिष्कमा अझै एउटा दुखेसो छ– बुबाले जीवनभर हाम्रा लागि अनेकथोक गर्नुभयो तर हामीले उहाँका लागि केही गर्न सकेनौं । ‘बुबाले हामीलाई संसार घुमाउनुभयो । हाम्रा लागि सबथोक गर्नुभयो । तर, हामीले उहाँलाई केही गर्न पाएनौं । जब हामी केही गर्न सक्ने भयौं, उहाँ हामीबीच रहनुभएन,’ पृथ्वी भावुक हुन्छन् ।

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully