मेरो हुर्काइका आधारभूत वर्षहरू बासँग प्रत्यक्ष भेटघाट र कुराकानीमा होइन, पत्र आदानप्रदानमै गुज्रिए । प्रेम, ज्ञान, जिज्ञासा, सुझावले भरिपूर्ण ती चिठीका पाना सम्झिँदा लाग्दै छ– चिठीबाटै जीवनको कखरा सिकें, चिठीमै बालाई चिन्न पाएँ, चिठीभित्रै बालाई पाएँ ।
What you should know
मेरा साना–साना हात समाएर डोर्याउँदै बाँगेमुढास्थित संयुक्त जनमोर्चाको कार्यालय र इटुम्बहाःको प्रेसमा बा मलाई सँगै हिँडाउनु हुन्थ्यो । त्यो नै हो मेरो बासँगको प्रारम्भिक स्मरण । ‘बा’ विशेष अंकमा बामाथि अलिअलि विगतका संस्मरण, अलिअलि वर्तमानका कुरा लेख्ने ‘कोसेली’ सम्पादकको आग्रह बडो अप्ठेरोले स्विकारें । लेख्न बसें, तर यो त निकै सकसपूर्ण काम रहेछ । राजनीतिक विषयमा लेख्दा दिमाग बढी सक्रिय हुन्छ, तर निजी जीवनको विषयमा लेख्दा अनेकौं भावना सक्रिय हुँदा रहेछन् । लेख्दै गर्दा घाँटीमा टन्सिल दुःखेझैं हुँदोरहेछ ।
सानो छँदा मलाई अक्सर टन्सिल दुखिरहने समस्या थियो । सन् १९९३ मा म ७ वर्षको छँदा आमासँग बेलायत गएको थिएँ । त्योबेला बाले एउटा चिठीमा ‘अब त टन्सिल दुख्न छोड्यो होला’ भनेर लेख्नुभएको रहेछ । बा र मेरो पत्राचारको अनवरत शृंखला त्यही वर्षदेखि सुरु भएको हो । ‘म तपाईंकी छोरी हो भने मलाई चिठी लेख्नुहोला’ भनेर मन्द धम्क्याएको पनि रहेछु । ‘खासमा आमाले त्यस्तो लेख्न लगाउनुभएको’ भनेर अर्को पत्रमा लेखेकी रहेछु ।
कालान्तरमा मेरो हुर्काइका आधारभूत वर्षहरू बासँग प्रत्यक्ष भेटघाट र कुराकानीभन्दा बढी पत्र आदानप्रदानमै गुज्रिए । प्रेम, ज्ञान, जिज्ञासा र सुझाव आदिले भरिपूर्ण ती चिठीका पानाहरू अहिले पल्टाइरहँदा लाग्दै छ– चिठीबाटै जीवनको कखरा सिकें, चिठीमै बालाई चिन्न पाएँ, चिठीभित्रै बालाई पाएँ ।
म जन्मिनुअघिदेखि नै पूर्णकालीन राजनीतिमा लाग्नुभएका बासँग घरमा समय बिताएको खासै स्मरण छैन । सडक आन्दोलनमा, विचार गोष्ठीहरूमा, पत्रिका प्रकाशनमा, पार्टी कार्यक्रमका देशव्यापी दौडाहामा व्यस्त बा घरमा विरलै रहनुहुन्थ्यो । घरभित्रै रहँदा पनि राजनीतिक भेटघाट र किताब वा पत्रपत्रिकाकै पानाहरूमा मुहार लुकेको देख्थें । ‘बा...बा’ भनेर बोलाउँदा ‘म्मा...म्मा’ भनेको सम्झिन्छु ।
जनयुद्धअघि पनि बा अर्ध भूमिगत नै हुनुहुन्थ्यो, तर मेरा लागि त पूर्ण भूमिगतसरह । मेरो सामुन्ने हुँदा पनि विरलै उपलब्ध हुनुहुन्थ्यो । दरिलो गुणात्मक उपलब्धता कतै पाएँ भने चिठीमै पाएँ । त्योबाहेक अरू स्मरण मधुरा छन् । बाल्यकालीन सम्झनाहरू कोट्याउने विषय अलि जटिलै रहेछ । कुन घटना वा क्षणलाई मस्तिष्कले सँगालेर राखेको छ र कुन मेटिइसकेको हुन्छ ? त्यो आफ्नो नियन्त्रणमा नहुने रहेछ । प्रविधिले ‘नोटिफिकेसन’ मार्फत जन्मदिन र वर्षौंअघिका फोटाहरू स्मरण गराइदिने युगमा स्वतस्फूर्त आउने अनियन्त्रित सम्झनाहरू बेस्सरी प्रिय र पवित्र लाग्दा रहेछन् । भनिन्छ, प्रायः गहिरो भावनात्मक प्रभाव पारेका– चाहे सकारात्मक हुन् या नकारात्मक– सेन्सरी अनुभवहरू (जस्तैः कुनै वासना, ध्वनि, स्पर्श) ले जीवन्त र भावनात्मक सम्झना ट्रिगर गर्छन् ।
बाल्यकालमा मलाई बाले स्नेहपूर्ण अंकमाल त पक्कै गर्नुभयो, फोटा साक्षी छन् । तर, मैले ‘भिसेरल’ रूपमा सम्झिने भनेको म सायद ५–६ वर्षको छँदा गोरखाको धन्सार घरको माथिल्लो कोठाको खाटमा मैले आमालाई बोलेको केही अपशब्दपश्चात् बाले मेरो गालामा प्याट्ट हान्नुभएको त्यो स्पर्श र ध्वनि हो । त्यसबेला भक्कानिएर रोएको र निकै चित्त दुखेको याद छ ।
आज पनि मैले यदि आधा पाकेको काउली खाएँ भने त्यो दिन स्मृतिमा घुमिरहन्छ– २०५१ सालमा जनयुद्ध सुरु हुनुअघि बासँग हात समातेर गोरखा दरबार घुम्न गएको, सुन्तला खाएको र बजारको होटलमा खाना खाँदाको काउलीले बान्ता आउलाझैं भएर पछि सब बान्ता गरेको । त्यो अर्ध काँचो काउलीको स्वाद र गन्धसँगै मिसिएर बसेको छ– विशुद्ध बाउ–छोरीका रूपमा गरिएको अन्तिम स्वच्छन्द घुमफिरको सम्झना । त्यसपछि बा–आमा दुवै जना मलाई कोटेश्वरमा आफन्तसँग छोडेर भूमिगत हुनुभयो । भेटघाट अब चिठीमार्फतै हुन थाल्यो । विरलै हुने भेटघाटहरूमा मैले आफ्नै बा मात्र भेटिन । उहाँ बाका रूपमा मात्रै सीमित हुनुहुन्थेन, उहाँको राजनीतिक परिचय अनिवार्य ‘बा’ को परिचयसँग मिश्रित हुन थाल्यो, क्रमशः हाबी नै हुन थाल्यो ।
हुन त जनयुद्धअघि नै बालाई राजनीतिक नेताका रूपमा चिन्थे अरूले । मैले पनि ‘उहाँ नेता हो’ भन्ने त अलि–अलि थाहा पाउँथें, तर नेता हुनु भनेको के हो ? बुझिसकेकी थिइनँ । बाल पुस्तकका रूपमा लेनिनको बायोग्राफिकल कथा पढेको याद छ, मार्क्सको फोटोलाई ‘बाजेको फोटो’ भनेको याद छ । सायद नेता हुनु भनेको उहाँहरू जस्तै हुनु हो जस्तो लाग्थ्यो । तर, मेरो साथीको अर्कै बुझाइ रहेछ । सायद आममानिसको बुझाइ त्यही हुँदो हो त्योबेला । आज पनि लगभग उस्तै छ । २०५२ सालतिरै होला, बुद्धनगरको स्कुलमा मेरो साथी पलिस्था हरेक क्लास ब्रेकमा ‘मेरा पिया घर आया औ राम जी’ भन्दै मज्जाले नाच्थिन् ।
ठ्याक्कै माधुरी दीक्षितजस्तै कस्तो राम्रो नाचेको भन्थे सबैले । आफूलाई अत्तोपत्तो थिएन गीतको, झन् माधुरी कसरी नाच्थिन् देखेकै थिइनँ । मैले ‘यस्तो लोकप्रिय गीत र नृत्य मलाई त थाहा छैन’ भन्दा ‘तिम्रो घरमा केबुल च्यानल आउँदैन ?’ भनेर सोधिन् । ‘अहँ छैन त’ भनें । ‘नेताको घरमा केबुल पनि हुँदैन’ भनिन् । म अकमक्क परें । अरू नेता कस्ता हुन्छन् ? अनि मेरो बा कस्तो नेता हुनुहुन्छ ? वा हुन नसक्नुभएको हो ? अलमल्ल परेको याद छ ।
बिस्तारै चिठीकै माध्यमबाट उहाँ कस्तो चरित्र र उद्देश्य बोकेको नेता हुनुहुन्छ भन्ने पनि बुझ्न थालें । कालान्तरमा नजिकैबाट सँगै काम गर्दै, बैठकहरूमा सहभागी हुँदै उहाँको नेतृत्व प्रत्यक्ष नियाल्ने मौका मिल्यो । नयाँ शक्ति पार्टी निर्माणदेखि यता अझै निकटबाट अनुभूत गर्न पाइरहेको छु । नेताका रूपमा मेरा बा बाबुराम भट्टराईका केही स्थिर र बदलिएका विशेषताबारे अरू कुनै बेला लेखौंला । आज उहाँलाई ‘बा’ कै रूपमा सम्मान र सम्झना गर्न चाहन्छु ।
विवाह नै नगरी तपस्वी (एसेटिक) राजनीतिज्ञका रूपमा रहने योजना बनाएका व्यक्तिले कालान्तरमा प्रेमविवाह गर्लान् र बच्चाको पनि बुवा बन्लान् भन्ने सोचेका थिएनन् होलान् पक्कै । यद्यपि जीवनले आश्चर्यहरू थप्दै जान्छ । बाले राजनीतिक परिस्थिति र निजी स्वभावले निर्धारण गरेको परिधिभित्र आफूले प्रदान गर्न सक्ने जत्तिको पितृत्व निर्वाह गर्नुभयो भन्ने लाग्छ । र, भौतिक रूपमा उपलब्ध हुन नसक्ने त्यस बखतको समय र परिस्थितिमा उहाँले चिठीहरूलाई एउटा गतिलो साधन बनाउनुभएको रहेछ ।
बा र आमाले चिठीमार्फत बडो संवेदनशीलताका साथ मलाई हुर्काउनुभयो । १० वर्षे जनयुद्धको दौरान म १० वर्षकै उमेरदेखि २० वर्षको हुँदासम्म ‘प्रिय छोरी’ बाट सुरु हुने बाका चिठीहरू बिस्तारै ‘माइ डियरेस्ट यङ्ग लेडी’ भनेर सम्बोधन हुन थाले । विषयवस्तुहरू गम्भीर हुन थाले । उहाँले मलाई कहिल्यै हल्का र ठट्यौली रूपमा लिनुभएन । स्वतन्त्र विचार राख्न सक्ने, मेच्योर यङ्ग लेडीकै रूपमा व्यवहार गर्नुहुन्थ्यो । त्यसैले होला कसैले पनि (विशेषगरी कोही पुरुषले) होच्याएको मलाई पटक्कै मन पर्दैन । ‘मेरा आफ्नै विद्वान् बाले त पेटर्नलिस्टिक व्यवहार मप्रति देखाउनुभएन’ भन्ने लाग्छ ।
बा, आमा र म सम्मिलित हाम्रो सानो परिवार एकाध दिनबाहेक सँगै बस्न पाएनौं । बा एकातिर, आमाको कार्यक्षेत्र अर्कोतिर । म कहिले कुनै अपरिचित नेपाली परिवारकोमा त कहिले होस्टलमा हुन्थें । वर्षमा केही दिन मेरो छुट्टी हुँदा र संयोग मिलेका बेला कहिले गोरखपुर, फरिदावाद, इलाहाबाद, दिल्ली, रोल्पामा सँगै बस्थ्यौं । परिस्थिति कहिल्यै सामान्य हुँदैनथ्यो । गम्भीर, तनावग्रस्त, मौनता र व्यस्तताले नै भरिपूर्ण हुन्थे प्रायः दिन । म अलि अन्तरमुखी, बा झन् अन्तरमुखी । आमा जस्तो हुनुहुन्छ, त्यस्तो नहुनु भएको भए हाम्रो परिवार त परिवार जस्तै हुँदैन थियो सायद ।
त्यसैले हुनुपर्छ, बाले मलाई चिठीहरूमा आफूभन्दा बढी आमाबाट सिक्नुपर्छ भनेर भन्नुभएको याद छ, ‘तिम्रो आमाको असाध्यै महत्त्वपूर्ण गुण भनेको महिलाहरूमाथिको शोषण उत्पीडनविरुद्ध संघर्ष गर्ने भावना हो । हाम्रो समाजको सबभन्दा ठूलो शोषित उत्पीडित समूह आधा आकाश धर्ती अगट्ने महिलाहरू भएकाले उनीहरूको मुक्तिबिना समाज र देशको मुक्ति हुनै सक्दैन ।’
बाका रूपमा आफूबाट हुन सक्ने र नसक्ने कुराको स्पष्ट स्वमूल्यांकन गर्नुभएको र आमाले निभाउने अभिभावकत्वमा पूर्ण विश्वास देखिन्छ बामा । त्यसनिम्ति उहाँ आफैं र मैले पनि आमाको विशेष सम्मान गर्नुपर्छ भन्ने जोड बाको चिठीहरूमा निरन्तर पाइरहन्थें । उहाँहरू मेरा बा–आमा मात्र होइनन्, हजारौं–लाखौंको अभिभावक हुनुहुन्छ भन्ने यथार्थलाई मैले स्वाभाविक रूपमा ग्रहण गर्न थालें । अझ सुरेश वाग्ले अंकल र मैले प्रत्यक्ष भेटेका दिदी दाइहरूको शहादतको खबरले मलाई कम्तीमा बा–आमा आजसम्म जीवित त हुनुहुन्छ भन्ने भान हुन्थ्यो । म सोचिबस्थें– हजारौं बालबच्चा अभिभावकविहीन भएका छन्, उनीहरूको तुलनामा म निकै ‘प्रिभिलेज्ड’ छु, चिठी त पाइरहेको छु । र, आजका दिनसम्म पनि मलाई प्राप्त भएको लाभ समग्र सामाजिक हितका निम्ति सदुपयोग गर्नुपर्छ भन्ने मोरल कम्पासले म निर्देशित छु ।
बा हुनुहुन्थ्यो र अहिले पनि हुनुहुन्छ– किताबको किरा, ज्ञानको भोको । मलाई उहाँको असाध्यै अनुकरणीय र लोभ लाग्ने बानी हो– उहाँ सबैखाले पठनसामग्री पढ्नुहुन्थ्यो र मलाई पनि त्यही भन्नुहुन्थ्यो । उहाँको यो बानी आजपर्यन्त छ । एउटै विचारधारामा मात्रै आधारित किताब होइन, विविध र विपरीत कोणबाट लेखिने सामग्री पनि पढ्नुपर्छ भन्ने जोड उहाँको छ । जतिसुकै व्यस्तताका बाबजुद उहाँ नयाँ–पुराना किताबकै अध्ययनमा भएको पाउँछु । ‘मेरो सम्पत्ति भनेकै यही किताबहरू हुन्’ भन्नुहुन्छ बा ।
मैले सानै उमेरमा मार्क्स, लेनिन, माओ, चे ग्वेभारा, ग्राम्सी मात्र नभई जेनी मार्क्स, क्लारा जेट्किन, रोजा लक्जम्वर्ग, नादेज्दा क्रुप्स्काया, अलेक्जान्ड्रा कोलोन्ताई, याङ काइ हुई, चियाङ चिङ जस्ता महिला नेतृबारे पढ्न, बुझ्न र प्रेरणा लिन बाकै पत्रहरूबाट सिकें । कोही किन धनी र गरिब हुन्छ ? राजनीतिको उद्देश्य के हुनुपर्छ ? समाजवाद–साम्यवाद के हो ? पितृसत्ता के हो ?
नेताहरूबीच वैचारिक मतभेद किन हुन्छ ? एकता–संघर्ष–रूपान्तरण भनेको के हो ? र, यो राजनीतिमा मात्र नभई पारिवारिक सम्बन्धहरूमा पनि किन र कसरी देखा पर्छन् ? भन्ने खुराक बाकै चिठीहरूबाट प्राप्त गरें । राजनीति, अर्थशास्त्र, समाजशास्त्रबारे मात्रै नभई साहित्य, सेल्प हेल्प किताबहरू, खानपिनबारे पत्रिकामा आएका कटिङहरू, चलचित्रका रिभ्युहरू पनि पढ्न प्रेरित गर्नुहुन्थ्यो बा ।
कटथ्रोट प्रतिस्पर्धाको युगमा बजारकेन्द्रित टेलर्ड शिक्षा/ज्ञानको उपभोग गर्दै बजारमा आफ्नो मूल्य खोज्ने, बेच्ने वा बढाउने परिपाटी विपरीत कसरी आफ्नो सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र मनोवैज्ञानिक सर्वाङ्गीण विकासतर्फ उन्मुख हुन सकिन्छ भनेर मलाई दिशाबोध गराउने प्रयत्न रहेछन् ती सबै चिठीहरूमा । सामान्य कागजमा लेखिएका अक्षरहरू पनि जीवनैभर काम लाग्ने बलिया जग बन्दारहेछन् । विभिन्न आरोह–अवरोह–अभाव–अन्योलताका दिनमा आफूलाई सम्हाल्न चाहिने सम्पूर्ण शक्ति वा ज्ञान त म भन्दिनँ, तर गजबको क्लु पाउँछु उहाँका कुराहरूमा ।
०६४ सालदेखि यता म बा र आमाको नजिकै छु, तर उहाँ प्रधानमन्त्री हुँदा बालुवाटारमा र सानेपा निवासमा केही महिनाबाहेक हामी सँगसँगै एउटै घरमा बसेका छैनौं । समय, परिस्थिति र राजनीति यति चाँडै बदलिएको छ कि विगतको कुरा सम्झिँदा केही घण्टाको फिल्म थियो जस्तो लाग्छ । अहिले हामी टोखामा ३–४ मिनेटको दूरीमा बस्छौं । बासँग यति नजिक, यति लामो समय बिताएको पहिलो पटक हो । जीवनमा सबभन्दा धेरै कुरा चिठीमै भएर होला, सँगसँगै बसेको अनुभव पनि नभएर होला, हामी बा–छोरीको भेटघाटमा कुराकानी अझै उति खुलस्त हुँदैन, प्रायः राजनीतिमै केन्द्रित हुन्छ ।
उहाँको पितृत्व समाजशास्त्रीय कोणबाट परम्परागत बुवाको भूमिकाभन्दा एकदम फरक छ, असाधारण छ । तर, बा भनेको बा नै हुनेरहेछन् । उहाँले चिठी पठाउन अझै छाड्नु भएको छैन । कहिलेकाहीं एकदम छोटो हस्तलिखित पत्र आइपुग्छ, ‘केही समस्या छ भने बिना हिच्किचाहट भन है’ भन्ने पछिल्लो चिठी सँगालेर राखेको छु घर्रामा । बेला–बेला हेरेर भावुक हुन्छु ।
केही महिनाअघि अनुपस्थित/अनुपलब्ध बुवा (एबसेन्ट फादर्स) को छोरीमा पर्ने प्रभावबारे कुनै किताब बाको टेबुलमा देखें । एकैपटक मुसुक्क मुस्कुराएँ र आँखा पनि रसाए । अब त उमेरले म बाको बलियो सहारा बन्ने समयमा बा भने अझै असल बुवा बन्ने निरन्तर प्रयत्नमा हुनुहुँदोरहेछ !
म ०७९ सालको निर्वाचनमा उम्मेदवार हुँदा केही–केहीले म र मजस्ता राजनीतिक परिवारबाटै आएका र राजनीतिमै सक्रिय रहने निर्णय गरेका महिलालाई सामाजिक सञ्जालमा ‘पापाकी परी’ पनि भनेका रहेछन् ।
तमाम दुःख र संघर्षका बाबजुद राजनीतिमा लागेका अभिभावकको जीवन, कर्म र निरन्तर रूपान्तरणको प्रयत्नबाट प्रेरणा लिएर आफू पनि सो असल अभियानमा लागौं, साथ दिऔं भनेर मिहिनेत गर्ने मानिसलाई निरुत्साहित गर्ने कार्यको खण्डन त आफ्नै कामबाट मात्रै सम्भव छ । तर, आज यति भन्न मन लाग्यो– सबै छोरीहरू बाका अमूल्य परी हुन् । सबै छोरीहरू बाको परी बन्न पाऊन् ! कत्ति परिवारमा घृणा/हिंसा वा अत्यधिक प्रेमले परीका पखेंटा निमोठिइन्छन् । सबै छोरीहरूले पाऊन्— पखेंटा निमोठ्ने होइन, आफ्नै उडान भर्न सक्ने दरिला–स्वावलम्बी प्वाँख निर्माण गर्न सघाउने बाबुरामझैं बा !
