बिर्‍यानी विमर्श

खानाविद् पुष्पेश पन्तका अनुसार आजभन्दा १ सय ५० वर्ष पहिलेको भारतमा बिर्‍यानीको अस्तित्व नै थिएन । र, बिर्‍यानीले ‘स्ट्रिट फुड’ को पहिचान बनाएको भने करिब ८० वर्ष मात्र भयो । त्यसकारण पन्त बिर्‍यानी अरू केही नभएर भारतीय भान्सामा सदियौँदेखि खाइँदै आएको पुलाउको बजारीकरण हो भन्छन् ।

श्रावण २४, २०८२

त्रिवेणी

Biryani discussion

What you should know

बिर्‍यानी के नाम पे सब खाते पुलाउ ।असल बिर्‍यानी खानेका हे तो हैदराबादको आउ ।।

केइडेनले गाएको र्‍याप ‘स्ट्रिट सेलिब्रेटी’ को यो गीति अंशले हैदराबादको पहिचान दर्शाउँछ । स्वादहीन बिर्‍यानीलाई पुलाउसँग दाँजेर स्वादको शुद्धता र प्रामाणिकतालाई आफ्नो सहरसँग जोडेका र्‍यापरले एउटा विषय खुला छाडिदिएका थिए, बिर्‍यानी भर्सेस पुलाउ । यो बिर्‍यानी विमर्शको सापेक्षमा पनि पुलाउ रहनेछ ।

बिर्‍यानी : मध्यपूर्वबाट भारत !

बिर्‍यानी फारसीको बुई चढेर सिन्धु नदी तर्दै भारतीयको जिब्रोमा भुन्डिएको हो भन्ने आम बुझाइ छ । त्यसैले पनि मुगल खानाको पर्याय बनेको बिर्‍यानी लखनऊका नबाबको भान्छाको नियमित परिकार थियो भनिन्छ । यद्यपि भारतीय बिर्‍यानीको रूप, गुण र दोषको बाछिटा भने फारसी खानामा कमै भेटिन्छन् ।

मुगल/फारसीले भारत ल्याएका भनेर बुझिने भारत वर्षका अधिकांश खाना वास्तवमा उनीहरूले पनि भारत आएरै पहिलो पटक चाखेका हुन् । त्यस कारण भारतीय खानासँग घाँटी जोडेको एक फ्रेजको उल्लेख गर्नु वाञ्छनीय हुन्छ, त्यो हो ‘मुगल मिथ’ । मुगल मिथभित्र बिर्‍यानी पनि पर्छ ।

सन् १५०० आसपास हालको भारतको राजस्थान र मध्यप्रदेश क्षेत्रका मल्वा शल्तनतका शासक थिए गियाथ शाह । उनको शासनकालमा लेखन प्रारम्भ भई उनका पुत्रको पालामा तयार भएको पाकशास्त्रको नाम ‘निमत्नामा’ हो । अनौठो कुरा के छ भने, फारसीले ल्याएको खाना भनिएको बिर्‍यानीबारे उक्त पाकशास्त्रमा उल्लेखसमेत छैन ।

त्यसपछिका मुगल शासकले पनि पाकशास्त्र लेखाएका छन् । निमत्नामा लेखिएको करिब १ सय वर्षपछि राजा अकबरको पालामा लेखिएको किताब ‘ऐन–ए–अकबरी’ मा पनि बिर्‍यानीको नामोनिसान भेटिँदैन । बिर्‍यानी मुगल वा फारसीसँगै भारत आएको हुन्थ्यो भने यी दुई पाकशास्त्रमा त्यसबारे कतै न कतै चर्चा हुनुपर्थ्यो ।

बादशाह र नवावको खाना भनेर आम रूपमा चिनिँदै आएको खाना बादशाही मेनुमा नभेटिनु सानोतिनो कुरा भने होइन । जबकि ती दुवै पाकशास्त्रमा खिचडी, हलुवा र पुलाउजस्तै पाकविधि भएको मसल्लमबारे भने उल्लेख छ । त्यसैले मुगलहरूले नै बिर्‍यानीभन्दा पहिले खिचडी र पुलाउ खाएका हुन् भन्न सकिन्छ ।

खानाविद् पुष्पेश पन्तका अनुसार आजभन्दा १ सय ५० वर्ष पहिलेको भारतमा बिर्‍यानीको अस्तित्व नै थिएन । र, बिर्‍यानीले ‘स्ट्रिट फुड’ को पहिचान बनाएको भने करिब ८० वर्ष मात्र भयो । त्यसकारण पन्त बिर्‍यानी अरू केही नभएर भारतीय भान्सामा सदियौँदेखि खाइँदै आएको पुलाउको बजारीकरण हो भन्छन् ।

पुष्पेशको यो निष्कर्षसँग सहमत हुन सकिने अरू थुप्रै कारण र प्रमाण छन् । कहीँकतै बिर्‍यानी इरानको खाना भएको र त्यहींबाटै भारत आएको भनी लेखिएको पाइन्छ तर यो सत्य होइन । किनभने इरानको ‘बिरोन्’ अर्थात् ‘पकाउनुअघि फ्राई गर्ने’ खाना र हाल प्रचलित बिर्‍यानीको खाद्यसामग्री मेल खाँदैन ।

इरानको त्यो प्राचीन खाना हाल फरक स्वरूपमा इरानी बिर्‍यानी भनेर चिनिएको छ । इरानी बिरोन् रुमाली रोटीमा मसला र मासु पोको पारेर पकाइने खाना थियो जसमा चामल हुँदैनथ्यो । (द जोर्नी एन्ड इभोलुसन अफ बिर्‍यानी, बीबीसी)

उसो भए बिर्‍यानीको मुख्य ‘इन्ग्रेडियन्ट’ बासमती चामलरहित खानालाई बिर्‍यानी भन्न मिल्ला त ? इरानको उक्त खानामा चामल नहुनु स्वाभाविक नै हो किनभने इरानमा उत्पादन हुने मुख्य अन्न गहुँ हो । त्यसैले पनि गहुँबाटै बनेको रुमाली रोटीको प्रचलन रहनु युक्तिसंगत देखिन्छ । बिर्‍यानी पकाउने विधि र त्यसका लागि चाहिने सामग्री पुलाउको हकमा पनि मिल्ने देखिन्छ । त्यसैले पुलउमा सज्जा थपिदिएपछि त्यो बिर्‍यानी बन्छ भन्नु अतिशयोक्ति हुँदैन । त्यस कारण पनि केइडेनले आफ्नो गीतमा भनेको हुनुपर्छ– बिर्‍यानीके नाम पे सब खाते पुलाउ ।

मांसौदनदेखि पुलाउसम्म

व्यास रचित महाभारतमा पाण्डव मात्र नभई नल नामका राजा पनि जुवा खेलेको प्रसंग छ । यो प्रसंग महाभारतको अरण्यक् पर्वमा उल्लेखित छ । तिनै राजाको प्रेम कहानी नल र दमयन्तीको विख्यात कथा हो । महाराज नल विचरित् भनिएको र दमयन्तीबारे उल्लेख भएको प्राचीन भारतीय पाकशास्त्रमा विभिन्न खानाको पाकविधि उल्लेख छ । तीमध्ये एक हो, ‘मांसौदन’ । उक्त ग्रन्थमा मांसौदन पकाउनुपूर्व ‘उत्क्राणोदक’ पकाउने विधिबारे पनि लेखिएको छ,

अनापलं ततो भाण्डे तण्डुलस्योदकं शुभे ।

निधाय शुद्धमुदकं समं कृत्वा पचेत्सुधीः ।।

पाकदर्पणम्को ६५औँ श्लोकबाट यसरी सुरु भएको पद्यको ६९औँ श्लोकसम्मको भावार्थ हुन्छ, एउटा शुद्ध पात्रमा चामल राखेर त्यति नै भाग शुद्ध जल राखी पकाउने र पानी तातेपछि पखालेको मासु राख्दिने । मासु गरम भएपछि छानेर त्यो जललाई पुष्प राखी सुगन्धित गराउने । त्यसमा कस्तूरी र कपुर मिसाउने । त्यो नै उत्क्राणोदक कहलिन्छ । नलविचरित् ‘पाकदर्पणम्’ ले उत्क्राणोदकबाट मांसौदन बनाउने विधिबारे यसरी व्याख्या गरेको छ,

यसरी तयार भएको उत्क्राणेदकलाई तताएर एक चौथाई चामल मिसाउने । त्यसपछि मासु र नुन मिसाउने । त्यसमा घिउ हालेर भुट्ने, र पानी सुकेपछि त्यो भातलाई अँगारको रापमा छाड्ने । यसरी तयार खाना मांसौदन कहलिनेछ । (सं भट्टाचार्य वामाचरण, पाकदर्पणम्, चौखम्भा संस्कृत संस्थान, वाराणसी)

महाभारतकालीन पात्रसँग जोडिएको पाकशास्त्रमा उल्लेखित मांसौदन बनाउने विधि अपनाएर आज हामीले खाद्य पकायौँ भने त्यो हामीले चिनेजानेको पुलाउजस्तो बन्न जान्छ । त्यसकारण राजा नलले खाएको मांसौदनलाई गान्धीले खाएको पुलउको प्राचीन रूप मान्न सकिन्छ । खानाको नाम फेरिँदैमा र त्यसमा हालिने सामग्री थपघट हुँदैमा त्यसको विकास क्रमलाई नजरआन्दाज गर्नु हुँदैन । तसर्थ, मांसौदनले नाम र एक हदसम्म स्वरूप फरेर आफूलाई पुलाउ बनाएको हो भन्न मज्जाले सकिन्छ । आयुर्वेदमा त पुलाउको चर्चा गरिएकै छ । तसर्थ आजको बिर्‍यानीको क्रमविकास महाभारतकालीन समयदेखि भारत वर्षमा नै भएको हो ।

पुलाउदेखि बिर्‍यानी

लखनउको अहिलेको पहिचान बिर्‍यानीले बनाएको छ । जनश्रुतिअनुसार लखनऊको इमामवाडा बनाउन आएका मजदुरले रातदिन काम गर्नुपर्थ्यो । खाना पकाउनेसमेत फुर्सद नभएका कारण ती मजदुरले सबै खाद्यसामग्री एउटै भाँडोमा राखेर नडढोस् भनी मन्द आँचमा पाक्न छाडिदिए । एक दिन बनिरहेको इमामवाडाको निरीक्षणमा निस्केका नवावलाई मगमग बसाएको चुलोले तान्यो । त्यसपछि त्यो मजदुरको खानालाई उनले नवावी भान्सामा सामेल गराए र त्यो नै बिर्‍यानी बन्न पुग्यो । (राजा रसोइ और अन्य कहानियाँ )

त्यो जनश्रुतिलाई प्रमाणित गर्ने कुनै आधार भेटिँदैन । त्यस कारण लखनऊबाट बिर्‍यानी खान सुरु गरिएको भनिहाल्न सकिने अवस्था छैन । तर बिर्‍यानीबाट पहिचान बनाएको सहरको पुरानो पहिचान भने पुलाउ नै हो । वास्तवमा लखनऊको यख्नी पुलाउ बहुतै स्वादिलो परिकार हो । आजको लखनऊको सडकदेखि रेस्टुरेन्टसम्म बिर्‍यानी पाकेको हुन्छ तर त्यहाँका रैथाने मानिसले भने आतिथ्यतामा बिर्‍यानी पस्किदैनन् । उनीहरु यख्नी पुलाउ नै खुवाउँछन् । यो तथ्यले घरमा पुलाउ व्यापारिक केन्द्रमा बिर्‍यानी पाक्ने गरेको प्रमाणित गर्छ । त्यस कारण पुलाउको व्यापारिक स्वरूप बोकेको खाना बिर्‍यानी हो भन्नु वाञ्छनीय हुन्छ ।

भारतमा प्रचलित पुलाउका प्रकारमध्ये एक ‘वृन्ज’ पुलाउ हो । यो पुलाउको नामबाट बिर्‍यानी शब्दको व्युत्पत्ति भएको देखिन्छ र वृन्ज नै बिर्‍यानी कहलिएको देखिन्छ । किनभने अरू तमाम पुलाउजस्तै मीन र मोप्ला पुलाउ आजको समयमा मीन बिर्‍यानी र मोप्ला बिर्‍यानीका रूपमा परिचित छन् ।

पुलाउसँग बिर्‍यानीको रूप, पाकविधि र नामसमेत मिल्ने हुँदा पुलाउलाई बजारीकरण गरी बिर्‍यानी बनाइएको भन्न सकिने आधार देखिन्छ । बस् हरेक जातका पुलाउको प्राचीन स्वरूपमा विभिन्न सामग्री थपी सजाएर पस्किँदा आज प्रचलित तत्तत् जातका बिर्‍यानी बन्न पुग्छन् ।

पुलाउलाई बिर्‍यानी बनाउन भारतमा सम्पन्न एसियाली खेलले पनि प्रमुख भूमिका खेलेको देखिन्छ । सन् १९८२ मा दिल्लीको जवाहरलाल नेहरु रंगशालामा खेलाइएको एसिएन गेममा आएका सहभागीलाई बस्न छुट्टै हाउजिङको व्यवस्था गरिएको थियो । सँगै, त्यहाँ सहभागी पाहुनालाई खुवाइएको खानामध्ये बिर्‍यानी पनि एक थियो । सज्जाका हिसाबले पुलाउभन्दा आकर्षक देखिने भएकाले बिर्‍यानीलाई आतिथ्य सत्कारमा प्रयोग गरिएको हुनुपर्छ ।

खाद्य इतिहासकार पुष्पेश पन्तका अनुसार उक्त एसियाली खेलमा खुवाएको कारण बिर्‍यानीले समाजमा व्यापारिक रूप लिएको हो । यसरी पुलाउलाई साजसज्जाका साथ पस्किँदा बनेको बिर्‍यानीलाई ‘मेगा इभेन्ट’ को मुख्य ‘डिस’ बनाउँदा त्यसको चर्चा सर्वत्र भएको र आम मानिसमा पनि त्यो खानाको माग बढ्न गई बिर्‍यानीले ठूलो आकारको व्यापारिक स्वरूप लिएको हो ।

पन्तकै भाषामा भन्नुपर्दा पहिलेपहिले कपाल काट्ने हामीहरु अचेल हेयर ड्रेसिङ गराउँछौँ । सारमा यी दुईमा फरक नभएपछि शैली र सज्जामा फरकपन हुन्छ । बस् बिर्‍यानी पुलाउको ड्रेसिङ गरेर पस्किएको खाना हो । मुगल मिथको हिस्सा बनेको र मुलग वा फारसीले भारत ल्याएको भनिएको बिर्‍यानी मूलतः भारतीय खाना हो र यो बजारले तयार पारेको पुलाउको नयाँ भेरियन्ट हो ।

यसलाई बिर्‍यानी बनाउन अवध क्षेत्रमा बसोबास र शासन गरेका मुगलको पनि भूमिका छ तर यो उनीहरुले आफूसँगै भारत ल्याएको खाना भने होइन । यसरी पुलाउले रुप फेरेर बनेको नयाँ भेरियन्ट आज नेपालको भान्छा र रेस्टुरेन्टमा समेत बिर्‍यानीका रुपमा पाक्दै आइरहेको छ । तर, हामी बिर्‍यानी भनी पुलाउकै स्वाद चाखिरहेका छौँ ।

काठमाडौंमा स्वादिलो बिर्‍यानी पाइने ठाउँ :

१. पत्रकार गनी अन्सारीको भान्सा

२. हलाल रेस्टुरेन्ट, ठमेल

३. हैदराबाद हाउस, विशालनगर

त्रिवेणी

Link copied successfully