संघर्षले खारिएकी इन्दु, विश्वकप क्रिकेटको सपना देखाइरहेकी पूजा र अनुभवी रुबिनाका कथा
What you should know
इन्दु ६ वर्षको हुँदा उनको परिवार बागलुङको हुग्दिसिरबाट बुटवल झरेको थियो । ३ जनाको परिवार । इन्दु, उनका भाइ र आमाको गाउँले जीवन बडो सकसका साथ चलिरहेको थियो । गाई, बाख्रा हेर्नुपर्थ्यो । भैंसीलाई पानी, कुँडो दिनुपर्थ्यो । आमा घाँस–दाउरा काट्न जान्थिन्, इन्दुको काम भाइलाई हेर्नुहुन्थ्यो ।
उनीहरूको दिन चर्या यसरी नै बितिरिहेको थियो । राम्रोसँग खान लाउन गाह्रो भइरहेको थियो ।
इन्दुको मामाघरकी हजुरआमाले दुबईमा रहेका आफ्ना ज्वाइँलाई चिठी पठाइन्– अब यसरी हुँदैन, धेरै गाह्रो भइसक्यो, छोरी र बच्चाहरूलाई लिएर बुटवलतिर झर्नुस् । इन्दुका बुबा त्यसपछि दुबईबाट आए र सासू–आमाको निर्देशनबमोजिम नै बसाइँ सर्ने योजनामा लागे । उनले पहिले सन्तान इन्दु र छोरालाई गुल्मीको ससुराली लगेर छाडे । बुटवल बस्नेसम्मको बन्दोबस्तो मिलाएपछि दुई महिनापछि गुल्मीबाट छोरी र छोरा लिएर तराई झरे ।
इन्दुकी ठूलीआमाको घरमा भाडामा बस्ने हिसाब मिलाएर उनको परिवारले बुटवलको बसाइ यात्रा सुरु गरेका थिए । भाइलाई चाहिँ बोर्डिङ स्कुलमा भर्ना गरियो । इन्दुलाई सरकारी स्कुलमा । इन्दु त्यत्ति फरक छुट्याउने पनि भइसकेकी थिइनन् ।
स्कुलमा लगाउने कपडा फरक भएपछि मात्र उनले यो चाल पाएकी थिइन् । सरकारी स्कुलमा आकाशे रङको सर्ट र नीलो रङको स्कर्ट थियो । उनले बागलुङमा लगाएको कपडा पनि यही थियो । भाइको सेतो खाले रङको सर्ट र खैरो पाइन्ट थियो । कपडाको रङ निक फरक भयो भनेर इन्दुले आमालाई सोधिन् । आमासँग खासै उत्तर थिएन । भाइ सानै छ, त्यही भएर नजिकको स्कुलमा हालेको, तिमीलाई पनि पछि यही स्कुलमा हालौँला भनेर आमाले टारेकी थिइन् ।
इन्दु सानै थिइन्, ६ वर्षमाथि लागेकी थिइन् तर यस्तो कुरा उत्ति खेरै बुझिहाल्थिनन् । आमाले उनलाई साइकलमा स्कुल पुर्याइदिन्थिइन् । साइलकमा ५–७ मिनेटमा पुगिन्थ्यो । स्कुलबाट इन्दु हिँडेर फर्किनुपर्थ्यो, १५ मिनेट जति लाग्थ्यो । उनी पहिलो दिन नै बाटो पत्ता लगाउँदै घर पुगेकी थिइन् । भाइ एपेक्समा पढ्ने र इन्दु शारदामा पढ्नेक्रम जारी नै थियो ।
स्कुलका प्रिन्सिपलले भित्रै ल्याएर खाने सामान बेच्नुस् भनेपछि एपेक्समा आमाले क्यान्टिन चलाएकी थिइन्, आम्दानी राम्रो हुँदै गयो । बाटामा बिस्कुट, समोसा, पकौडा लगेर आमाले बेच्थिइन् । तर समान किन्ने र पैसा दिने बेलामा बच्चाहरूले ठग्न थालेको अनुभव आमालाई भयो । पहिला समान लिन्छन् अनि पैसा दिएँ भनेर भन्छन्, तर आफूले बेचेको सबै समानको पैसा नउठेको जस्ता आमालाई लाग्यो । अनि उनले ‘कान्छी सहयोग गर्न आउँछौ’ भनेर इन्दुको साथ खोज्छिन् । इन्दुलाई यो प्रस्ताव बोर्डिङ स्कुल छिर्ने बहाना पनि बन्यो ।
सरकारी स्कुल शारदाको हाफ टाइम हुने बेलामा इन्दु दौडिएर एपेक्स पुगेर आमाको हिसाबकिताब मिलाउन लाग्थिइन् । सबै जना एकै पटक रोलेमोले हुँदै समान किन्न आउने गरेको इन्दुले देखिन् । सिधा लाइन बनाउने, सिधा लाइनमा आएर पैसा दिँदै समान लैजाने भनेर नियम बनाइन् ।
इन्दुले आफूभित्रको नेतृत्व क्षमता त्यहीं देखाइन् । यम पुन भन्ने सरले टाढाबाटै इन्दुको नेतृत्व हेरिरहेका थिए । ‘छोरीचाहिँ तपार्इंले एकदमै बाठी जन्माउनुभएको रहिछ, मैले पारिबाटै हेरिरहेको थिएँ, छोरीलाई पनि यही स्कुलमा पढाउनुपर्छ’ भन्दै पुन सरले आमासँग इन्दुलाई एपेक्समै पढाउने प्रस्ताव राखे ।
स्कुलका प्रिन्सिपलसहित सबै क्यान्टिनमा आएर खाना, खाजा खाने गर्थे । उनीहरूले पनि छोरीलाई एपेक्समै पढाउन आमासामु भनेका थिए । बुबा कमाउन साउदी लागिसकेका थिए ।
आमाले छोरालाई पढाउनै गाह्रो भइसकेको, छोरीलाई पढाउन झनै कठिन हुने बताइन् । तर सरहरूले बारम्बार आएर भनेपछि आमाले आफ्ना श्रीमान्लाई थाहा नदिई इन्दुलाई पाँचौं कक्षामा एपेक्समा भर्ना गरिन् । एक महिनापछि श्रीमान्लाई थाहा दिँदा खर्चले धान्न नसक्ने भन्दै आमाले श्रीमान्को गाली सहनुपर्यो ।
बोर्डिङ स्कुलको आफ्नै नियम थियो । बुक, कपीहरू धेरै चाहिने । इंग्लिस मात्र बोल्नुपर्ने । जबकि सरकारी स्कुलबाट आएकी इन्दुले इंग्लिस टिप्न पनि भ्याइसकेकी थिइनन् । नेपाली दुईवटा विषय मात्र थियो । व्याकरण र नेपाली हुन्थ्यो, इन्दु यसैमा पास हुन्थिन्, अंग्रेजी माध्यमका अरू विषयमा फेल हुन्थिन् ।
एपेक्समा सबै इंग्लिसमा बोल्थे, नेपाली बोल्यो कि जरिवाना तिर्नुपर्थ्यो, प्रत्येक एउटा नेपाली शब्दको एक रुपैयाँ जरिवाना थियो । इन्दुलाई इंग्लिस केही बोल्न आउँदैनथ्यो । ‘अनि’, ‘यो’ भन्यो कि जरिवाना चढिहाल्थ्यो । जरिवाना बढेर ४० रुपैयाँ पुगिसकेको थियो । रुँदै इन्दु घर पुग्छिन् र कहानी सुनाउँछिन् । आमालाई यो एकदमै नराम्रो लाग्यो । मेरी छोरी भर्खर सरकारी स्कुलबाट आएकी यसरी सकिँदैन भनेर प्रिन्सिपलसँग आमाले आफैं रुँदै कुरा राखिन् ।
इन्दु भाइको टिमसँग खेतमा क्रिकेट खेल्थिन् । घरमा काम गर्न नपरोस् भनेर पनि उनी क्रिकेट खेल्न दौडिन्थिइन् । सधैं खेल्न पाए हुन्थ्योजस्तो लाग्थ्यो उनलाई । उनलाई बच्चैबाट केटाको टिमसँग खेल्न रस पसिसकेको थियो, चाहे त्यो क्रिकेट होस्, गुच्चा होस् वा कक फाइट । कति पटक चोटपटक लाग्यो, त्यसको गिन्ती छैन । बल, ब्याट आफ्नो हुँदैन्थ्यो ।
त्यही भएर फिल्डिङ मात्र गर्न पाउँथिन् उनले । ६ कक्षमा पढ्दा एपेक्समा केटाहरूको क्रिकेट भइरहेको थियो, इन्दुले पनि ईसीए इन्चार्ज उमेश श्रेष्ठसँग खेल्न इच्छा देखाइन् । सरले नाइँ भनेनन् । केटीहरू जम्मा गरेर ल्याउनू अनि खेल्न दिन्छु भनेर सरले उनलाई पठाइदिए ।
उनले १२–१३ जनाको एउटा टिम नै तयार पारिन् । ६ कक्षामा पढ्ने ३–४ जना थिए बाँकी सबै त्योभन्दा माथिको कक्षाका । इन्दुले पहिला ब्याट समातिन् । केटाको बलिङमा हानिदिए । अर्को एउटा साथीले ब्याट उचालिन्, त्यही छाडेर फर्किन् । उनी लाजले फर्किएकी थिइन् ।
ईसीए इन्चार्जले इन्दुको टोलीलाई देखेपछि केटीहरूको पनि टिम बनाउनुपर्छ भनेर प्रिन्सिपल दीपक गौतमसामु प्रस्ताव राखे । पछि एपेक्सले नै महिला टोली बनाउनुपर्छ भनेर रूपन्देही जिल्लामा अगुवाको भूमिका खेल्यो । प्रशिक्षक वसन्त शाही पनि जागिर खोज्दै एपेक्समा पुगेका थिए । २५ दिनमै इन्दुसहितको टोलीलाई निखारेपछि शाहीको पनि जागिर पक्का भयो ।
इन्दुलाई भने वसन्त सरको अनुहार देख्नेबित्तिकै डर लाग्थ्यो । जुत्ता, जर्सी र ट्राउजरसहित भोलि जो पहिला खेल्न आइपुग्छ त्यो नै कप्तान हुने वसन्तले उद्घोष गरेका थिए । बेलुका घर पुगेर इन्दुले आमालाई जर्सी चाहिएको बताइन् ।
इन्दुले ढिप्पी गरेपछि राति बेस्सरी पानी परेको समयमा आमाले रुँदै गएर उनलाई जर्सी किनेर ल्याइदिएकी थिइन् । जुत्ता थिएन । ट्राउजर पनि नभएपछि हाफ पाइन्ट अर्जेन्टिनाको फुटबल टिमको थियो । ठूलीआमाको छोराको ठूलो गोल्ड स्टार जुत्तामा कपडा कोचेर सकीनसकी उनी लागेकी थिइन् खेल्न ।
कप्तान बन्छु भन्दा पनि खेल्ने जोसमा उनी एका बिहानै स्कुल पुगेकी थिइन् । वसन्त त्यहीं थिए र इन्दुले नजिकै घर भएको भएर छिटो आइपुगेको सुनाइन् । इन्दु मुख्य बलर थिइन् । उनी हातै घुमाएर बल फाल्थिइन् । अन्य भने हात नै घुमाउन सिकाउनुपर्ने खालका थिए ।
पहिलो सहभागितामा एपेक्सले रूपन्देहीमा उपाधि उचालेर ल्यायो । नेपालगन्ज यू–१६ खेल्न गएको रूपन्देहीको टोलीमा एपेक्सकै ७–८ जना परेका थिए । तर रूपन्देही सेमिफाइनलमा पराजित हुन पुग्यो । जितका लागि ७ रन चाहिने अवस्थामा रूपन्देहीको ७ विकेट बाँकी थियो । शून्य रनमा ७ विकेट गुमाएपछि रूपन्देहीले खेल ७ रनले नै हारेको थियो ।
नेपालगन्ज जाँदा स्कुलको एउटै टिमजस्तो थियो, घर छाडेको जस्तो भएन । काठमाडौं यू–१९ राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा भने उनलाई आमाको काख छाडेको भान भयो । फास्ट बलिङ गर्ने भएकाले उनलाई पल्सर भनेर बोलाइन्थ्यो । ब्याटिङ इन्दुलाई आउँदै आउँदैन्थ्यो । इन्दुले बलिङमा नेपालकी कप्तान भइसकेकी नेरी थापाको विकेट लिएपछि उनको चर्चा ‘दिन दुई गुना रात चौगुना’ जस्तै भइसकेको थियो ।
आउट पनि चानचुने हिसाबको थिएन । इन्दुले आफ्नो बलिङमा स्लिपमा क्याच गराएर नेरीलाई आउट गरेकी थिइन् । इन्दुलाई भने उनको चर्चाबारे थाहा थिएन । राम्रो खेले नेपाली टोलीमा परेर विदेश जान पाइन्थ्यो । इन्दुलाई भने काठमाडौं आएर खेल्नु नै विदेशजस्तो लागेको थियो ।
पत्रिकामा विकेट लिएको समाचार आइसकेपछि कहिल्यै नबोल्ने मान्छेहरू घरमा आएर आमालाई छोरीले राम्रो गरिन् भनेर बधाई दिइरहेका थिए । फूलमाला लगाएर अबिर लगाइदिएका थिए आमालाई । छिमेकी आन्टीले यो छोरीले घरको काम गर्दैन, तपाईंलाई सघाउँदैन, छोरा मान्छेसँग खेल्न गएको छ भनेर कुरा लगाउने पनि आमालाई बधाई दिइरहेका थिए ।
भैरहवा क्षेत्र यू–१९ राष्ट्रिय प्रतियोगितामा उपविजेता भयो । इन्दुको प्रदर्शन औसत रह्यो, उनले ४–५ विकेट लिएकी थिइन् । तर उनको प्रदर्शनमा धेरैको ध्यान गएको थियो । आमालाई छोरीको सफलतामा गर्व हुन लाग्यो । आमाले उनलाई वैशाख–जेठको गर्मीमा पनि खसीको खुट्टाको सुप खुवाएर बलियो बनाउन लागिन् । दुई सातापछि इन्दुलाई नेपाल यू–१९ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा आउन कल आयो ।
प्रिन्सिपल दीपक र भाइस प्रिन्सिपल रोशनकिरण पोखरेलले घरमा आएर आमालाई छोरी विदेश उड्न लागेको खबर सुनाए । तर कल आएपछि पहिला प्रशिक्षणमा बस्नुपर्थ्यो । त्यो उनीहरू कसैलाई थाहा थिएन । फेरि काठमाडौं जानुपर्ने भयो । १२ वर्षे इन्दुलाई हेर्दै आमा फेरि रुन लागिन् ।
सरहरू आमालाई सम्झाउन लागे । आमाले योचाहिँ खुसीको आँसु भएको बताइन् । इन्दुलाई छाड्न ईसीए सर उमेश चितवनसम्म पुगे । त्यहाँबाट उनी चितवनकी अर्की खेलाडी आरती बिडारीसँग काठमाडौं लागिन् ।
काठमाडौंमा गएर के गर्नुपर्ने हो, उनलाई केही थाहा थिएन । उनीसँग जन्मदर्ताको कागज पनि थिएन । आमा आवश्यक कागजपत्र बनाउन सरकारी अड्डा धाएको धाए देखेर स्कुलका सरहरूले लैजाने, ल्याउने गरेर त्यसलाई सहज बनाइदिएका थिए ।
नागरिकता, पासपोर्ट बनाउँदा पनि कम्ती सकस भएन । आमाले गरेको यो दुःख इन्दु कल्पनासम्म गर्न सक्दिनँ । इन्दु एउटा के निश्चित देख्छिन् भने यो जुनीमा आमाको ऋण उनले तिर्न सक्ने छैनन् । अरूको जुठो भाँडा माझेर पढाएको, आफूले जे चाहियो, त्यो किन्देको आमाले गरेको दुःख र आमालाई दिएको दुःख इन्दुलाई झलझली छ । इन्दुको दुःख झनै भनिसाध्य छैन ।
२२ सदस्यीय टोलीबाट सिंगापुरमा एसीसी यू–१९ कप खेल्न जाने १४ सदस्यीय खेलाडीको नाम सार्वजनिक भयो । आफूभन्दा धेरै राम्रा खेलाडी थिए क्याम्पमा, तर इन्दुमा के खुबी देखेर हो, छनोटकर्ताले नेपाली टोलीमा राखेका थिए । अबचाहिँ विदेश नै खेल्न जाने भएकाले पासपोर्ट बनाउनुपर्यो । ईसीए सर उमेशले बुटवलबाट सबै कागजात काठमाडौं लिएर आइदिए ।
नेपाल क्रिकेट संघ (क्यान) ले पनि पासपोर्ट बनाउन सिफारिस गरिदिएको थियो । पुरानो दरबारभित्र कुन झ्यालमा गएर पासपोर्ट बन्ने हो, इन्दुले केही भेउ पाउन सकिनन् । त्यहाँ देखेका उनका लागि सबै नौलो अनुहार मात्र थिए । त्यहाँका एक कर्मचारीले देखेर क्यानको पत्र लिएर आएको भनेर सोधेपछि उनले नै बाँकी काम सकाइदिए । तुरुन्तै काम सकियो र पासपोर्ट लिन अर्को दिन बोलाइयो ।
तर उनले घरमा आमालाई फोन गरेर विदेश जान्नँ, तपाईंको याद आयो बुटवल नै आउँछु भनेर भनिन् । आमाले छोरीलाई फोनमै सम्झाउन लागिन् । छर छिमेकमा सबै अचम्मै परेका छन्, विदेशमा खेलेर झन् सबैलाई अचच्मै पार्देऊ भन्दै आमाछोरीलाई सम्झाउन लागिन् । नेपालको ड्रेस भनेर क्यानले कोट र पाइन्ट दिएको थियो । त्यो उनलाई निकै खुकुलो भयो । तर पहिलो पटक कोट र पाइन्ट लगाउन पाएकोमा इन्दु त्यसै फुरुङ्ग थिइन् । प्लेन उनका लागि झनै दिमाग बाहिरको कुरा थियो ।
छेउमा बसेकी ममता थापाले उनले बेल्ट लगाउन सिकाइदिएकी थिइन् । प्लेन उड्दा आधा प्राण गइसकेको थियो । सिंगापुरका ठूलाठूला बिल्डिङ उनलाई झनै अनौठो लाग्यो । काठमाडौं उनलाई विदेशजस्तो लाग्थ्यो, सिंगापुर त उनलाई कहाँ पुगेजस्तो भयो । खेल्नका लागि अहिले यति धेरै देश पुगिसके पनि उनलाई सबैभन्दा राम्रो सिंगापुर नै लाग्छ । सफा र ठूलो बिल्डिङ उनलाई अझै झलझली आउँछ । तर २०१० यता उनी त्यहाँ पुगेकी छैनन् ।
नेपाली टोलीमा रहेकी सबैभन्दा कान्छी १२ वर्षे इन्दुले सिंगापुरमा कुनै खेल खेल्न पाइनन् । यस्तो माहोलमा यसरी खेल्नुपर्छ भन्ने उनले सिकेर आएकी थिइन् । खेल्दाखेरी डलरमा भत्ता दिइएको थियो, व्यवस्थापक अमृता म्यामलाई उनले सुरक्षित राख्न दिएकी थिइन् ।
त्यो उनले जोगाएर ल्याई आमाको हातमा दुई सय डलर राखिदिइन् । सिंगापुरमा उनले एक जोर सेट किनेकी थिइन् । नीलो कलरको हाफ पाइन्ट र टिसर्ट लगाउँदा नेपाली टोलीका अन्य खेलाडी हाँसेका थिए । सोनु खड्काले उनलाई जिस्काइरहन्थिन् त्यो कपडालाई लिएर । सायद, त्यो ट्रेन्डी पहिरन थिएन ।
नेपाल फर्किएपछि इन्दु घर फर्किइन् । उनको भव्य स्वागत भयो । शंखरनगर चोकदेखि उनलाई जिपमा बुटवल परिक्रममा गराएर स्कुल पुर्याइयो । स्कुलमा आमालाई अतिथिका रूपमा बोलाई अबिर लगाइयो । इन्दुका साथीहरूलाई पनि अतिथि बनाइएको थियो ।
मालाले इन्दुको अनुहार नै छोपिएको थियो । छोरीलाई माला र खादाले गाह्रो भयो भनेर उनको गलाबाट निकालेर आफैं लगाएकी थिइन् । त्यसपछि उनले यस्तो फूलमाला, अबिर जात्रा परिक्रमा देखेको छैनन् । नेपाली महिला टोलीले खासै सफलता नपाएको भएर पनि होला । एपेक्स खेलकुदमा अब्बल छ भनेर चिनिन् लाग्यो । नयाँ सत्रमा भर्ना हुन आउनेको लर्को लाग्न लाग्यो । इन्दुको नाम आउनेबित्तिकै एपेक्स जोडिएर आउन लाग्यो । छोराछोरीलाई खेलाउनुपर्छ भन्ने पर्दै गयो ।
सिंगापुरमा एसीसी यू–१९ जितेर आएको एक महिनापछि नेपाली टोलीलाई सरकारले सम्मान गर्ने भयो । इन्दु काठमाडौं आउनुपर्ने भयो, तर एक्लै आउन नसक्ने । प्रिन्सिपल सरले उनलाई काठमाडौं ल्याइदिए । प्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटारमा नेपाली टोलीको सम्मान गर्दै जनही एक लाख सरकारी सम्मान दिएका थिए । सम्मान कार्यक्रमपछि प्रधानमन्त्री नेपालले हातमा डोर्याउँदै इन्दुलाई खाना खाने ठाउँसम्म लगे ।
भोलिपल्ट यही फोटो पत्रपत्रिकामा छापिएको थियो । प्रिन्सिपल सर पनि प्रधानमन्त्रीसँग भेट्न पाएकोमा दंग थिए । एक लाखको कर काटेर ७५ हजार हात पारेको थियो । इन्दु परिवारलाई यो एक करोडभन्दा बढी थियो । छोरी खेलेकामा सबैतिर चर्चा भएपछि बुबाले पनि त्यसको रस पाउन लागे । पहिला छोरीलाई खेल्न दिएको भनेर उनले श्रीमतीलाई गाली गरेका थिए । दुई छाक खानै धौधौ परेको अवस्थामा कसरी खेल्ने व्यवस्था मिलाउने चिन्ता बुबाको थियो ।
इन्दुको २०१० देखि अहिलेसम्मको निरन्तर यात्रा अनुभवकै हो । पहिला महिला क्रिकेटर खासै थिएनन्, त्यही भएर उनीहरूले अवसर पाइरहेका हुन सक्ने आधार उनी देख्छिन् । तर अहिलेका खेलाडीको एउटापछि अर्को टुरमा बाहिरिसकेका हुन्छन् । यत्रो लामो खेलिन्छ भनेर इन्दुले सोचेकै थिइनन् ।
अझ २०१६ मा क्यान निलम्बन हुँदा खासै प्रतियोगिता नै हुँदैन्थ्यो के गर्ने भनेर उनीहरू अन्योल नपरेका होइनन् । यत्रो वर्ष खेलियो अब के गर्ने होला भनेर चिन्ता बढेको थियो महिला क्रिकेट खेलाडीमा । पढाइ पनि ग्याप भएको थियो । एक्कासि खुला आकाशलाई बादलले ढाकाजस्तो भयो । एउटा प्रतियोगिता खेल्न एक वर्ष नै कुर्नुपर्थ्यो ।
२०१९ मा महिला फ्रेन्चाइज लिग भयो । खेलाडीहरूले क्रिकेट खेलेर पैसा पाउन लागे । पुरानो खेलाडीहरू फर्केर खेल्न आए । यसले उनीहरूलाई एउटा आशा देखायो । त्योभन्दा अगाडि २–३ राउन्ड कुदेपछि खेल्ने भन्ने हुन्थ्यो । फिटनेस भनेको उनीहरूले यति मात्रै बुझेका थिए । फिटनेस, डाइटिङ, न्युट्रिसन अहिले आएर बुझ्ने मौका पाए । २०२२ यता नेपाली क्रिकेट अझ राम्रो हुँदै आएको छ ।
महिला क्रिकेट टोलीको पनि बिस्तारै राम्रो हुँदै गरेको उनले अनुभूति गरेकी छन् । जुनियरहरूलाई क्रिकेटमा खेलाइरहन गाह्रो भइसकेको थियो । उनीहरू पढाइपछि विदेश जाने मानसिकता बनाइरहेका हुन्थे । पछिल्लो यू–१९ टोलीले विश्वकप र महिला राष्ट्रिय टोलीले विश्वकप छनोटको यात्रा बनाएपछि यसमा भविष्य देख्ने वातावरण बनेको छ । क्यानले दिने मासिक पारिश्रमिकमा पनि खेलाडीको रुचि देखिन्छ । यसले महिला क्रिकेटको माहोल बनाइरहेको छ र प्रतियोगिताहरू अझ बढी भयो भने झनै राम्रो हुने सम्भावना देख्छिन् इन्दु ।
२०२३ मा हङकङ खेल्न जाने बेला उनलाई पहिलो पटक कप्तान बनाइएको थियो । एकछिन् त उनी यत्रो जिम्मेवारी पाउँदा डराएकी थिइन् । घरमा आमालाई फोन गरेर सबैभन्दा पहिला सुनाइन्, उनको डर त्यसै हराएर भाग्यो । रुबिना क्षेत्री जसको स्थानमा इन्दु कप्तान भएकी थिइन् र अर्की सीता रानामगर टोलीमा हुनु इन्दुका लागि बोनस बन्यो । यी दुई अनुभवी खेलाडीको साथ, सल्लाहमा इन्दुको कप्तानी यात्रा अगाडि बढिरहेको छ ।
संघर्षमा हुर्केर बनेकी क्रिकेटर हुन् इन्दु । ‘मेरो भाग्यमा क्रिकेट खेल्नै लेखेको थियो होला सायद,’ इन्दु भन्छिन्, ‘त्यसैले होला म इन्जोय गरेर खेल्छु । आफ्नो रुचिमा इच्छाशक्ति लगाएर खेलेकाले नै होला यत्रो यात्रा गर्न सके । असफलता र सफलता सँगसँगै आएको हुन्छ । मिहिनेत गर्नेले सफलता पाउँछ नै, त्यसैले हरेस खानु हुँदैन ।’
नेपाली क्रिकेटमा एउटा त्यस्तो कीर्तिमान, जसको मुख्य कारक रुबिना क्षेत्री स्वयंलाई विश्वास गर्न गाह्रो पर्छ । किनकि यस्तो उपलब्धि हत्तपत्त सजिलै बन्ने पनि होइन । २००९ मा एसीसी महिला ट्वान्टी–२० खेल्दा रुबिना मात्र १५ वर्षकी थिइन्, यो उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता पनि थियो । सिंगापुरविरुद्ध नेपाल निश्चित हारको संघारमा थियो । सिंगापुरलाई जितका लागि अन्तिम ओभरमा २ रन आवश्यक थियो र उसका ५ विकेट सुरक्षित नै थिए ।
त्यो अन्तिम ओभरको बल रुबिनाको हातमा आइपुग्यो । उनले पहिलो ३ बलमा लगातार विकेट लिएर ह्याट्रिक गरिन् । त्यसपछिको चौथो बल वाइड फालेर १ रन दिइन् । त्यसपछि बाँकी २ बलमा पनि लगातार विकेट लिएर रुबिनाले आफ्नो खातामा ५ विकेट मात्र बनाइनन्, स्कोर पनि ‘टाई’ गराइन् । पछि नेपालले बल आउटमा खेल जित्यो ।
अहिले रुबिना ३२ वर्षकी भइन् । उनले लगालग त्यो ५ विकेटपछि लामो यात्रा तय गरिसकेकी छन्, तर यो यात्रा नेपाली महिला क्रिकेटका लागि नतिजामुखी हुन सकेन । अधिकांश समय यस यात्रामा नेपाली महिला टोली रुबिनाले नै हाँकेकी थिइन् । जस पाउने नतिजा दिलाउन सकिनन् ।
हालैमात्र नेपाली महिला टोली एसिया क्षेत्र पार गर्दै पहिलो पटक ग्लोबल छनोटमा पुगेको थियो । रुबिनाको एउटा ठूलो सपना यसैमा जोडिएको छ र अहिले उनी त्यसैको तयारीमा छिन् । ग्लोबल छनोटको शीर्ष चारमा रहेमा नेपाल विश्वकप पुग्नेछ । नेपाललाई विश्वकपमा डोर्याउने सम्भावनाको बाटो खोज्न रुबिना जोडतोडले लागेकी छन् ।
नेपाली टोलीको तयारीबमोजिम रुबिनासहितको खेलाडीले तयारी सुरु गरिसकेका छन् । उनीहरूलाई कोचिङ स्टाफले आफ्नो हिसाबले तयारी गर्न निर्देशन दिएको छ । त्यसैमा उनीहरू जुटेका छन् । कोचिङ टिमले अहिले यो तयारी जुमबाट हेरिरहेको छ । मनसुन भएकाले मैदानमै गएर प्रशिक्षण गर्न सम्भव छैन । सुक्खा भएका बेला, तराईतिर सबैले साँझतिर प्रशिक्षण गर्ने गरेका रुबिना बताउँछिन् ।
ग्लोबल छनोट यात्रा निकै कठिन छ । यो नेपाली टोलीले बुझेको जनाउँदै रुबिना भन्छिन्, ‘हामी विश्वकप खेल्ने ठूलो अवसरको नजिक छौं, यो मौका गुमाउन चाहँदैनौं, नेपाली टोलीमा पनि विश्वकप खेल्ने भोक अहिले मैले देखेकी छु ।’
१६ वर्ष अगाडि क्रिकेटमा पहिला आउँदा रुबिनाको डराउने खालको स्वभाव थियो, रिस उठ्थ्यो, धैर्यता थिएन । अहिले यी सबै स्वभावमा परिवर्तन आएको र क्रिकेटले नै राम्रो मान्छे बन्न सिकाएको उनी जनाउँछिन् । भन्छिन्, ‘रिसाएर के नै हुन्छ जस्तो लाग्न थाल्यो । पहिला कसैले मेरो बारेमा नकारात्मक कुरा गर्दा किन भनेको होला भनेर केलाएर बस्थें । अहिले त्यसलाई पन्छाएर हिँड्न सक्ने भएको छु ।’
यस सकारात्मक सोच नै उनको लामो यात्राको कारण बन्यो । तर यो निकै चुनौतीपूर्ण रहेको रुबिना बताउँछिन् । किनभने लाउने, खाउने समय क्रिकेट भन्दाभन्दै गयो । ‘नेपालमै पनि घुम्न पाएको छैन, पोखरा अहिलेसम्म घुम्न भनेर जान पाएको छैन । झापामा बसेर दार्जिलिङ पनि घुम्न जान पाएको छैन,’ नेतृत्वदायी भूमिकाले थिचेर पनि होला उनले पढाइ पनि धेरै पटक छाड्नुपरेको छ । ‘जीवनमा धेरै कुरा गुमाइएको छ, क्रिकेटले गर्दा । तर मलाई त्यसमा कुनै पश्चाताप छैन, क्रिकेटले नै मलाई चिनाएको छ ।’
उनी १० वर्षभन्दा बढी नेपाली महिला क्रिकेट टोलीको कप्तानमा रहिन् । कप्तान छाडेपछि उनले गत वर्ष मलेसियामा ५९ बलमै १ सय १८ रन बनाएकी थिइन् । नेपाली महिला खेलाडीको यो पहिलो अन्तर्राष्ट्रिय शतक पनि हो । यसले नयाँ खेलाडीलाई हौसला पनि दिएको छ । रुबिनालाई आफू राम्रो नभए पनि औसत खेलाडी हुँ जस्तो लाग्छ ।
त्यो किनभन्दा नेपाली महिला टोलीले नतिजा निकाल्न नसकेकाले । महिला क्रिकेट धेरै पटक प्राथमिकतामै नपरेपछि नतिजा आउने कुरै भएन । दोष भने कप्तान भएकाले रुबिनाले बोक्नुपर्यो । क्यान निलम्बनले पनि गाह्रो बनायो महिला क्रिकेटलाई । फास्ट बलर भएर खेल्न सुरु गरेको, अहिले ब्याटर भएर निस्किएकाले निकै मिहिनेत गरेको जस्तो उनलाई लाग्छ ।
रुबिनाकै केही खराब बानी पनि छन्, जुन उनी टिमभित्र सुनाउन सक्दिनन् । म्याचको अघिल्लो दिन उनलाई निकै कौतहुल हुन्छ, दिमागमा धेरै कुराले घेर्छ । सोच्दासोच्दै बिहान हुन्थ्यो र सिधै मैदान खेल्न पुग्थिइन् । तर म्याचमा त्यसले अहिलेसम्म आफ्नो प्रदर्शनमा कुनै असर पर्न दिएन । विश्वकप छनोटसहित महत्त्वपूर्ण खेलमा सोचेअनुरूपको नतिजा नआउँदा यस्ता रातहरू उनले धेरै बिताएको सम्झना छ ।
जति युवा खेलाडी आउनुपर्ने थियो त्यति आएको छैन । २–३ जना खेलाडी मात्र राम्रो आएका छन् । युवा खेलाडीले राम्रो खेल्ने हो भने सिनियर खेलाडीलाई पनि दबाब हुन्छ र एकरूपमा प्रदर्शन राम्रो हुँदै जाने विश्लेषण रुबिनाको छ । ‘हामीले यस्तो संरचना बनाऔं जसले विश्वकप छनोटमा पुग्न अर्को १८ वर्ष पर्खनु नपरोस् । त्यसका लागि सिनियर खेलाडीले पनि अझ राम्रो प्रदर्शन गर्नुपर्छ,’ रुबिना बताउँछिन् ।
कप्तान हुँदा जस्तो थिएँ, अहिले पनि त्यस्तै भएको उनलाई लाग्छ । बरु टिमले उनलाई अहिले पनि नेतृत्वकै भूमिकामा राखेको छ र सरसल्लाह गर्ने गरेको छ । ‘जति खेल्दै गयो, जति बुझ्दै गयो त्यत्ति राम्रो प्रदर्शन दिन सकिने रहेछ,’ आफ्नो खेललाई निरन्तर जारी राख्ने जनाउँदै उनी भन्छिन्, ‘उमेरले रोक्नु हुन्न, सकुन्जेल खेलिरहन्छु । मैले अझै राम्रो ब्याटिङ गर्नुछ । त्यही भएर अतिरिक्त ब्याटिङमा ध्यान दिएको छु । कम्तीमा २ वर्ष अझै खेल्छु ।’ एउटा निश्चित के छ भने खेल्न छाडे पनि फिटनेस रोक्ने पक्षमा उनी छैनन् । उनको ‘विस लिस्ट’ मा रहेका वृन्दावन, गोल्डेन टेम्पल खेल्न छाडेपछिका योजना हुन् ।
आईसीसी यू–१९ विश्वकप छनोटमा पूजा महतोले गत कात्तिकमा कुवेतविरुद्ध शतक हानेकी थिइन् । नेपाली महिला क्रिकेटमा यो दुर्लभ उपलब्धि थियो । यसअघि नेपालका लागि रुबिना क्षेत्रीले मात्रै शतक हानेकी थिइन् । कुवेतविरुद्धको त्यो खेलमा पूजाको ब्याट मात्रै चलेको थिएन, ५ विकेट पनि लिएकी थिइन् ।
यो त झनै दुर्लभ भयो । एकै खेलमा शतक बनाउने र ५ विकेट लिने कीर्तिमान नेपालमा मात्रै नभएर विश्व क्रिकेटमै विरलै छ । संयोगले यो कीर्तिमान बनाउने अर्की नेपाली खेलाडी तिनै रुबिना थिइन् । अर्को संयोग के हो भने रुबिनाले शतक बनाउँदा मलेसियाको बाङगीमा ननस्ट्राइकमा पूजा नै थिइन् । त्यसैगरी, त्रिवि क्रिकेट मैदानमा नेपाली महिला खेलाडीको ट्वान्टी–२० मा पहिलो अर्धशतक, त्यो पनि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त टोली नेदरल्यान्ड्सविरुद्ध । पूजाले बनाएको यो अर्को कीर्तिमान हो ।
सियिनर टोलीबाट पनि शतक बनाउने र ५ विकेट लिने सपना छ, उनको । खासमा दोहोरो शतककै सपना देखेकी छन् उनले । क्रिकेटमा उनलाई असम्भव जस्तो केही पनि लाग्दैन । ‘जुन कीर्तिमान कसैले राखेको छैन, त्यसैमा मेरो ध्यान जान्छ । कुनै दिन ओपनिङमा फेरि ब्याटिङ गर्ने अवसर आयो भने धेरै गर्न सकिन्छ जस्तो लाग्छ’ टिमको आवश्यकताले उनी अहिले थोरै तल्लो क्रममा ब्याटिङ गर्छिन् ।
‘मेरो प्रदर्शन राम्रो नै भइरहेको छ, तर मान्छेहरूको आशा ठूलो छ, हरेक खेलमा पूजाले शतक प्रहार गरुन् र हरेक खेलमा ५ विकेट लिऊन् भन्ने चाहना नराखिदिए हुन्थ्यो, एक/दुई प्रतियोगितामा तलमाथि हुन्छ’ पूजा भन्छिन् । तर यही दुर्लभ कीर्तिमान अहिले पूजालाई गह्रुंगो भइरहेको छ ।
त्यसो त नेपाली समर्थकलाई यो आशा पूजाले नै बनाइदिएकी हुन् । प्जूाकै नेतृत्वमा नेपाल यू–१९ महिला टोली पहिलो पटक विश्वकपमा छनोट भएको हो । उनै पूजा अहिले नेपाली महिला राष्ट्रिय टोलीको उपकप्तान छिन् । गत मे महिनामा बैंककमा भएको विश्वकपको एसिया छनोट चरणमा नेपालको बहराइनविरुद्धको पहिलो खेल वर्षाले बिथोलियो । वर्षाले नै प्रभावित हङकङसँगको दोस्रो खेल नेपालले हार्न पुग्यो ।
नेपालको भरोसा टुटेको थियो त्यो हारले । त्यसपछि भने बाँकी खेलहरू नेपालले जित्दै गयो । तर यत्तिले नेपाललाई पुग्दैनथ्यो । अन्तिम खेलमा हङकङले कमजोर मानिएको बहराइनलाई पराजित गरेको भए नेपाल बाहिरिन्थ्यो । तर उक्त खेलमा पनि पानी परेर अंक बाँडिएपछि नेपाल तालिकामा माथि आयो । पूजाले जिम्मेवारी पाएको पहिलो प्रतियोगिताबाट नेपालले विश्वकप छनोटको यात्रा तय गर्यो । यो पनि नेपाली महिला क्रिकेटको हकमा पहिलो नै थियो ।
सन् २००७ मा पहिलो अन्तर्राष्ट्रिय सहभागिताका क्रममा फाइनल पुगेयता नेपाली महिला क्रिकेट टोलीको विश्वकप छनोट यात्रा सबैभन्दा ठूलो उपलब्धि थियो । ‘हामीले भर्खर सुरुआत गरेका थियौं, त्यही भएर हामीलाई छनोटको खुसीबाहेक अरू त्यस्तो केही लागेन,’ पूजाले भनिन्, ‘तर नेपाली टोलीमा दिदीहरूले धेरै अगाडि देखेको सपना थियो । विश्वकप छनोटमा पुग्ने सीता र रुबिना दिदीको सपना पूरा भएको थियो । हामी त जुनियर हौं, त्यही भएर हाम्रो यो ब्याच धेरै भाग्यमानी बन्यो ।’ सीता र रुबिनाको सपनामा अहिले पूजा ठूलो भरोसा भएर निस्किएकी छन् ।
दुई वर्ष हुन लाग्यो पूजा नेपालमा आएर खेल्न थालेको । महोत्तरीमा जन्मिएकी पूजा ४ वर्षको हुँदा नै बुवाको कर्मथलो भारतको दिल्ली पुगेकी थिइन् । त्यहीं उनले क्रिकेट सिकिन् र ओपनिङ ब्याटर तथा ओपनिङ बलर बनिन् । त्यसपछि नेपालका लागि एउटा इतिहास कोर्छु भनेरै उनी स्वदेश फर्किएकी हुन् ।
छनोट चरण पार गरिसकेकाले उनी अहिले विश्वकपको सपना देखेकी छन् । नेपालले २०२६ मा ट्वान्टी–२० विश्वकप छनोट खेल्ने छ, १० राष्ट्र सहभागी यही छनोटबाट नेपाली महिला क्रिकेटले देखेको ठूलो सपनाको निष्कर्ष निस्किनेछ ।
‘पहिला २ टोली मात्र छनोट हुन्थे, यसपालि ४ टिम छनोट हुन्छन् । यसले नेपाल जस्तो राष्ट्रलाई फाइदा हुनेछ । खेल नेपालमै हुने सम्भावना पनि छ, त्यसो भए झनै फाइदा,’ पूजा नेपाल छनोट हुने आधार केलाउँछिन्, ‘पछिल्लो पटक हामी घरेलु मैदानमा नेदरल्यान्ड्स र थाइल्यान्डसँग थोरै अन्तरले मात्र हारेका थियौं तर यस पटक राम्रो प्रशिक्षण गर्ने हो भने थाइल्यान्डलाई पराजित गर्न सक्छौं ।’ पूजाको यिनै सपना वरिपरि नेपाली क्रिकेट अहिले दौडिरहेको छ ।
