भलिबलका तीन तारा

हेर्दा उनीहरू तीन देखिन्छन्, तर खासमा उनीहरू नेपाली महिला भलिबल टोलीको एउटै आत्मा हुन् । सलिना श्रेष्ठको डिफेन्स, उषा भण्डारीको स्पाइक र अरुणा शाहीको सेटिङले नेपाली भलिबलको सिंगो आकाशलाई उज्यालो बनाएको छ ।

श्रावण ९, २०८२

पवन आचार्य

Three stars of volleyball

What you should know

काठमाडौँ — सबै खेल लोकप्रिय हुँदैनन् । लोकप्रिय खेलमा सधैं सफलता पनि निस्किँदैन । नेपालको हकमा भलिबल यसमा अपवादमा पर्छ । भलिबल नेपालमा लोकप्रिय त छँदै छ, पदक भित्र्याउने खेलभित्र पनि पर्छ । नेपाल भलिबल संघ ७७ वटै जिल्लामा शाखा भएको एक मात्र संघ भएको प्रमाणले पनि यसको लोकप्रियता पुष्टि गर्छ ।

भलिबलको यही लोकप्रियता र सफलतालाई सरकारले २०७४ सालमा अभिभावकीय जिम्मेवारी बोध गर्दै राष्ट्रिय खेल घोषणा गर्‍यो । आम दर्शक अभिभावक बन्दै खेल हेर्न मैदानसम्म पुगे । भलिबल संघले अभिभावकीय जिम्मेवारी पूरा गर्दै मोफसलमा सक्रिय खेललाई अन्तर्राष्ट्रियकरण गर्‍यो । केही यस्ता अभिभावक पनि निस्किए जसले आफ्ना सन्तानलाई भलिबल कोर्टसम्म डोर्‍याएर ल्याए । अहिले उनीहरू नेपाली महिला भलिबलका संवाहक बनेका छन् । हेर्दा उनीहरू तीन देखिन्छन्, तर खासमा उनीहरू नेपाली महिला भलिबल टोलीको एउटै आत्मा हुन् । सलिना श्रेष्ठको डिफेन्स, उषा भण्डारीको स्पाइक र अरुणा शाहीको सेटिङले उनीहरूलाई नेपाली भलिबलको सिंगो आकाशमा उदाएका तीन तारा तुल्याएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका हो अरुणा शाहीको जन्मथलो । उनका बुवा र दाइ भलिबल खेल्थे । आमालाई छोरीले खेलेको त्यतिसाह्रो मन नपर्ने । तर, बुवाकै प्रेरणाले अरुणा भलिबल खेल्न थालिन् । त्यसो त गाउँमा त्यतिबेला अन्य खेल त्यति हुँदा पनि हुँदैनथे । म्याग्दीमा खेल्दै गर्दा कौशिला खत्रीको नजरमा अरुणा परिन् । त्यसपछि पोखराको ज्ञानुबाबा सेकेन्डरी बोर्डिङ स्कुलमा छात्रवृत्तिमा पढ्ने र भलिबल सिक्ने मौका मिल्यो उनलाई । भलबिल खेल्ने सपना पूरा हुँदा पनि घर छाड्नुपर्ने बाध्यताबीच उनका आँखा धेरै रात रसाइरहे । त्यस्तै आँसु त्यतिबेला खस्यो जतिबेला १९ साउन २०८१ मा काभा महिला भलिबल लिगको लिग चरणमा नेपालले अरुणाकै कप्तानीमा भारतलाई पहिलो पटक हराएको थियो ।

Three stars of volleyball

भोलिपल्ट बलियो टोली इरानसँग स्पर्धा गर्नुपर्ने भन्ने थाहा हुँदाहुँदै पनि नेपाली महिला टोलीले त्यो रात अनिँदै काट्यो । भन्छिन्, ‘सबै जितले उस्तै खुसी दिँदैन । भारतलाई हराउन नसक्ने छविलाई मेटाउनु थियो । १३ औं सागको फाइनलमा भारतसँग हारको बदला लिएजस्तो लाग्यो । खुसी हुँदा सधैं मिठो निद्रा पर्थ्यो, धेरै खुसीले मानिस निदाउन पनि नसक्दो रहेछ ।’

काठमाडौंमा भएको १३ औं साग त्यही प्रतियोगिता हो जहाँ अरुणा, सलिना र उषा एउटै टिममा अटाएका थिए । अरुणा र सलिना राष्ट्रिय टोलीका नियमित सदस्य भए पनि उषा टोलीमा डेब्यु गर्दै थिइन् । मंसिर २०७६ मा बंगलादेशविरुद्धको खेलमा उषाले स्पाइकमा केही अंक बटुलिन् । संयोग के थियो भने उनलाई बल सेट गर्नेमा थिइन् कप्तान अरुणा शाही । त्यसअघि एभिसी वुमन्स सिनियर सेन्ट्रल जोन भलिबलका लागि उषा क्याम्पमा परे पनि अन्तिम टोलीमा भने अटाएकी थिइनन् । तर, अहिले उनी राष्ट्रिय टोलीको नियमित सदस्य त हुन् नै, नेपालकै मुख्य स्पाइकर पनि ।

खासमा उषा पनि गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्छिन् । तनहुँको भिमादमा जन्मिएकी उषा पहिले ब्याडमिन्टन र फुटबल खेल्थिन् । भलिबलका सौखिन पिता गजेन्द्र भण्डारीले छोरीलाई भलिबलकै खेलाडी बनाउने अठोट कसे । ढोरपाटन क्लबको परिसर नजिकै हुर्किएकी हुन् उषा । ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले बुवा गजेन्द्रसँग सल्लाह गरेर भलिबल खेल्न उषालाई बोलाए । पछि उनी सामाखुसीको पुलिस स्कुलमा भर्ना भइन् र त्यहींबाट उनको भलिबल करिअर सुरु भयो । सुरुमा उषाले अलराउन्ड पोजिसन खेलिन् । पुलिस क्लबकी स्पाइकर कामना बिष्ट घाइते भएपछि उनी स्पाइकर भएर खेल्न थालिन् । प्रशिक्षण सुरु गरेको ६ महिनामै पुलिस क्लबमा खेल्न सुरु गरेकी उषाले खेल्न थालेको ३ वर्षमै राष्ट्रिय टोलीको ढोका उघारिन् । पुलिसका प्रशिक्षक रूपेश बिष्ट भन्छन्, ‘उषाको स्पाइक जत्तिकै बलियो डिफेन्स छ । सुरुका दिनमा प्रशिक्षण गर्दा उनले ढोरपाटनमा सिनियर दाइहरूसँग ड्रिग गर्ने कलासँगै डिफेन्स पनि सिकेकी रहिछन् । त्यसले उनमा आत्मविश्वास बढाएको छ ।’

Three stars of volleyball

उषाको उचाइ राम्रो भएकाले स्कुलले उनलाई बास्केटबलको पनि प्रशिक्षण गरायो । तर, उनको लय भलिबलमा बसिसकेको थियो । प्रेरणास्रोत थिए बुवा गजेन्द्र । बुवाकै प्रेरणामा उनले १४ वर्षको उमेरमै राष्ट्रिय टोलीमा डेब्यु गरिन् । बंगलादेशबाहेकका खेलमा स्थान पाइनन् । कम उमेर भएकाले पनि प्रशिक्षक जगदीश भट्टले ‘रिस्क’ लिन चाहेनन् सायद । तर, प्रतिभा माली घाइते भएपछि भने उनी निरन्तर रूपमा नेपाली भलिबलको आक्रमण सम्हाल्ने खेलाडीमा पर्छिन् ।

उषाले माल्दिभ्समा समेत व्यावसायिक भलिबल खेलिसकेकी छन् । माल्दिभ्समा तीन पटक खेल्दा उत्कृष्ट प्रदर्शन गरेकी उषा त्यहाँको दर्शकमाझ पनि निकै लोकप्रिय छिन् । पछिल्लो समय नेपालमा सुरु भएको फ्रेन्चाइज महिला भलिबलमा उषा काठमाडौं स्पाइकर्सकी मार्की खेलाडी हुन् ।

महिला भलिबलको स्पर्धाको कुरा गर्दा जहिले पनि १३ औं सागको भारतविरुद्धको फाइनलकै चर्चा हुने गर्छ । त्यो केवल एउटा खेल थिएन । देशभक्ति, नारी सशक्तीकरण र आत्मबलको परीक्षा पनि थियो ।

सेट स्कोरमा नेपाल २–३ ले पछि पर्‍यो, तर हरेक सेटमा खेलाडीहरू दर्शकको मन जित्ने गरी लडे । दशरथ रंगशालाको कभर्ड हल नेपाल नेपाल स्वरले गुन्जायमान थियो । अन्तिम सेटमा खेल हार भए पनि ‘अभिमानको जित’ बनेर देशभर फैलियो । त्यो दिन सबै नेपालीको मनमा एउटै कुरा थियो— हामीले सक्दो खेल्यौं, हामी हारेका होइनौं । त्यो त्यही दिन थियो, जुन दिनपछि सलिना श्रेष्ठले म पनि भलिबल खेलाडी हुँ भनेर अरूलाई परिचय दिँदै हिँड्न नपर्ने अवस्था आयो । त्यस दिनपछि नेपाली खेलकुद वृत्तमा नयाँ विशेषणले चर्चा पायो– होचो कद, अग्लो खेल प्रदर्शन । हुन पनि सलिनाको अलराउन्ड प्रदर्शनमा पहिलो सेट गुमाएको नेपालले दोस्रो र तेस्रोमा पुनरागमन जित निकाल्यो । चौथो र पाँचौंमा भारत हाबी हुँदा नेपाल दोस्रो भयो ।

भलिबल कोर्टबाहेक अन्यत्र भेट्ने वा देख्ने कसैले पनि सलिनालाई हम्मेसी खेलाडी भन्दैनन् । ४ फिट ९ इन्च अग्ली सलिना जब कोर्टभित्र हुन्छिन्– अग्ला खेलाडीभन्दा उनको प्रदर्शन निकै माथिल्लो स्तरको हुने गर्छ ।

सलिनाको राष्ट्रिय टिममा डेब्यु पनि सन् २०१९ मा एभिसी वुमन्स सिनियर सेन्ट्रल जोनमार्फत भयो । ९ नयाँ खेलाडी समावेश नेपालले त्यतिबेला पाँच खेल खेल्दा अपराजित रहँदै प्रतियोगिता जित्यो । सलिनाले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै उपाधिको स्वाद पाइन् ।

Three stars of volleyball

सन् २०१९ मा घरेलु भूमिमा भएको १३ औं सागमा नेपालले ऐतिहासक रजत जित्दा सलिना टिमको मुख्य सदस्य थिइन् । यस्तै सन् २०२२ मा बंगलादेशमा भएको दोस्रो एभिसी वुमन्स सिनियर सेन्ट्रल जोनमा नेपालले उपाधि जित्दा सलिना बेस्ट लिबेरो घोषित भइन् । काभा वुमन्स भलिबल च्यालेन्ज लिगमा नेपाल तेस्रो हुँदा सलिनाले बेस्ट लिबेरो अवार्ड पाइन् ।

सलिनाको परिवारमा खेलकुदमा लाग्ने कोही छैन । आमालाई त छोरीले खेलेको मन पर्दैनथ्यो । बुवा छोरीले जे गरे पनि नाम कमाओस् भन्ने चाहना राख्थे । तर, छोरीले सफलताको शिखर चढेको उनले हेर्न पाएनन् । भलिबलमा लागेर उनले गडफादर पाएकी छन्– कुमार राई । कुमार तिनै हुन् जसले छोटो समय अरुणालाई प्रशिक्षण गराउँदा पोजिसन परिवर्तन गराएर सेटरका रूपमा खेलाए र उनलाई अन्ततः सेटरमै रूपान्तरण गरिदिए । सेटर कृपा अधिकारी आर्मीमा भर्ती भएपछि उनको स्थानमा कुमारले अरुणालाई खेलाउन थाले ।

न्यु डायमन्ड एकेडेमीमा भर्ना हुनु र कुमारको नजरमा पर्नु सलिनाका लागि पनि वरदान सावित भयो । होचो कदकी उनी पहिले खेल्न पनि धकाउँथिन् । रेश्मा भण्डारी, रमिला तन्डुकारहरूले स्कुलमा भलिबल खेलेको हेर्दै हुर्किएकी सलिनाले कक्षा ६ मा पुगेपछि मात्रै भलबिल प्रशिक्षण सुरु गरेकी हुन् । होदो कद र छरितो हाउभाउ देखेर कुमारले उनलाई लिबेरो पोजिसनमा खेलाउन मन गरे । अहिले उनी नेपालको नं १ लिबेरो बनेकी छन् ।

२०६९ सालमा भएको एनभीए क्लब च्याम्पियनसिपमा न्यु डायमन्डमा विभागीय टोलीहरूलाई पछि पार्दै उपाधि जित्दा सलिना टिमको सदस्य थिइन् । त्यसपछि लगातार न्यु डायमन्डका लागि खेलेर उनी स्थापित लिबेरो बनिन् । राष्ट्रिय टिमको ढोका उघार्न भने केही प्रतीक्षा गर्नुपर्‍यो । अहिले उनी फ्रेञ्चाइज महिला भलिबल लिगमा ललितपुर क्विन्सको मार्की खेलाडी छिन् ।

उचाइकै कारण दुई पटक खेलबाट फालिएको नमिठो अनुभव उनीसँग छ । सलिना पछिल्लो समय सानो मान्छे भएर पनि खेल्न सकिन्छ भन्ने प्रमाणित भइसकेको ज्वलन्त उदाहरण हुन् । ‘म लिबेरो पोजिसनमा खेल्छु, यसमा धेरै मुभमेन्ट चाहिन्छ,’ उनी भन्छिन्, ‘अहिले लिबेरो पोजिसनमा उचाइ आवश्यक छैन भन्ने प्रमाणित भइसकेको छ ।’

सलिना र उषा खेल जीवनको ‘पिक’ मा छन् । चोटले पिरोल्दा उषालाई दुःख लाग्छ । कोर्टमा आफ्नो अनुपस्थितिमा टिमले खराब प्रदर्शन गर्दा मन चुकचुकाउँछ । तर, टुलुटुलु हेर्नुको विकल्प छैन । ‘खेलाडीको मिहिनेत मात्रै पर्याप्त हुन्न । आफूलाई फिट राख्न र कसरी चोटमुक्त भइराख्ने भन्नेमा नि ध्यान दिन जरुरी छ । एउटा चोटले खेलाडीको करिअर समाप्त हुन सक्छ । यसमा हामीलाई प्रशिक्षित गर्न जरुरी छ,’ उनी भन्छिन् ।

सलिना र उषा दुवै यस पटक आआफ्नो क्लबलाई फ्रेञ्चाइज लिग च्याम्पियन बनाउने योजनामा छन् । सलिना न्यु डायमन्डलाई पनि नेसनल च्याम्पियन बनाउन चाहन्छिन् । तर अरुणाको सोच अर्कै छ । कुनै समय गण्डकी प्रदेश महिला भलिबलको हब थियो । मञ्जु गुरुङ, सिपोरा गुरुङसँगै फिसटेल स्कुल, ज्ञानुबाबा स्कुलले भलिबलमा कमाएको लिगेसीको निरन्तरता दिने उनको योजना छ । पुरुष भलिबल गण्डकीमा उम्दा छ तर महिला भलिबलको स्तर त्यही अनुसारको छैन । उनले भनिन्, ‘गण्डकीमा महिला भलिबलको साख फर्काउने इच्छा छ ।’

नेपाली महिला भलिबलका तीन खम्बा हुन् अरुणा, सलिना र उषा । आज उनीहरू जति चम्किएका छन्, त्यति नै नयाँ पुस्तालाई प्रेरणा दिइरहेका छन् । प्रदेशस्तरीय प्रतियोगिता, स्कुल लिग, निजी क्लबहरूको निर्माण र महिला भलिबलप्रति बढ्दो चासो उनीहरूको योगदानले सम्भव भएको हो ।

सलिना श्रेष्ठको प्रतिरक्षा, उषा भण्डारीको आक्रमण र अरुणा शाहीको सेटिङ र नेतृत्वको संयोजन— यी तीन पक्ष मिलेर नेपालको महिला भलिबललाई एसियालीस्तरमा स्थापित गर्न सक्ने आधार बनेका छन् ।

उनीहरू एउटै समयमा उभिए, एउटै झन्डा भिरे, एउटै सपना देखे । आज ती तीन तारा एउटै गगनमा चम्किरहेका छन् । अनि त्यो गगन—नेपाली भलिबलको भविष्य हो ।

पवन आचार्य

Link copied successfully