तपास घाँ मामुली कवि थियो, मामुली लेखक थियो र थियो– मामुली मानिस । मामुली मानिसको जीवन यसै पनि खुद्रा–झिना मृत्युहरूको कबाडखाना हो । खुद्रा–झिना मृत्यु त यसले कति मर्यो, कति !
What you should know
असलमा त यो आलो–आलो दिवङ्गत तपास घाँ फिनिक्स पन्छीजस्तै थियो । थुप्रै पटक मरेको थियो, आफ्नो मानसलोकमा । थुप्रै पटक आफ्नै खरानीबाट पुनर्जिउँदो भएको थियो । मलाई हेक्का भएसम्म पछिल्लो कालखण्डमा यो दुई बाजी मरेको थियो ।
पहिलो– वि.सं. २०७७ जेठ ११ गते । अघिल्लो दिन— इतिहासकै ‘गोरो’ दिन— क्रूरहरूले रुकुम हत्याकाण्ड दुर्मञ्चन गरेका थिए । (कवि आहुतिले उत्पीडित ‘कालो’ माथि अतिरिक्त अत्याचार नथोपर्न र उत्पीडक ‘गोरो’ को कसुर किटान गर्न आविष्कार गरेका थिए, यो ‘इतिहासकै गोरो दिन’ वाक्यांश ।)
पृथ्वीको प्रथम प्रसुनजस्ता निर्दोष प्रेमी नवराज विक र उनका प्रणय पक्षधर कलकलाउँदा बैंसालु पाँच जना साथी— टीकाराम नेपाली, लोकेन्द्र सुनार, सञ्जीव विक, गणेश बुढा र गोविन्द शाही— का रगतले भेरी जकडिएकी थिइन् । मान्छेहरू यतिसम्म प्रेमद्वेषी हुन सक्छन्, प्रेमको सौरभ र सौन्दर्यको यतिसम्म बर्खिलाप हुन सक्छन्, भेरीलाई तत्मितिसम्म थाहा थिएन । स्तब्ध थिइन्, बेहोस थिइन् ।
ससुर बग्न बिर्सेर, बेसुर भौंतारिरहेकी थिइन् । ‘बेहुली लिन र काफल खान’ गएको निस्फिक्री जत्थामाथि जात व्यवस्थाले जुगौंदेखि जहरोन्मत्त जमात यसरी खनिनेछ र हत्याको ‘महफिल’ चल्ने छ ! सोझी भेरीले सपनामा पनि सोचेकी थिइनन् ।
कैयौं दिनसम्म यो मरेको थियो । किनभने, साराका सारा आन्दोलनप्रतिको यसको विश्वास मरेको थियो । स्पार्टाकसदेखि चे गेभारासम्मका, चन्द्रबहादुर दर्जीदेखि दिलबहादुर रम्तेलसम्मका, जोन अफ आर्कदेखि रोजा लक्जेम्बर्गसम्मका खुनले सिञ्चित विद्रोह सम्पदामाथिको यसको आस्था मरेको थियो ।
र, एक साँझ बागबजारको प्रज्ञा नेवारी खाजाघरमा एक क्वार्टर भोड्का चढाएपछि यसलाई अचानक फुर्यो दुई पङ्क्ति : ‘आहत मुटुको रगतले मात्र होइन/यदाकदा प्रेमपत्र बन्दुकले पनि लेखिनेछ ।’ त्यसपछि यसले आफूलाई फिनिक्स्याएको थियो ।
अर्को बाजी यो गत साल चैत ५ गते मरेको थियो । त्यो दिन हत्या–दुर्व्यसनी इजरायलले गाजाका १ सय ८० भन्दा बढी नानीहरूको कत्लेआम गरेको थियो । त्यसपछिका कैयौं दिन यो मरिरह्यो । उसबखत चाहिँ यसले आफूलाई कसरी फिनिक्स्यायो, मैले भुलें । गयो होला भट्टी, खायो होला रक्सी र बन्यो होला फिनिक्स । यसैले एक ठाउँ लेखेजस्तो लाग्छ, ‘आफ्नै कायरतालाई झेल्न मलाई अल्कोहल चाहिन्छ ।’
यी त भए, कवि/लेखकका रूपमा यसले बेला–बेला गर्ने मृत्युवरणका प्रकरण ।
तपास घाँ मामुली कवि थियो, मामुली लेखक थियो र थियो, मामुली मानिस । मामुली मानिसको जीवन यसै पनि खुद्रा–झिना मृत्युहरूको कबाडखाना हो । खुद्रा–झिना मृत्यु त यसले कति मर्यो, कति ! सापटी माग्दा मित्रबाट दुत्कारिँदा मर्यो । नाबालक छोराको महँगो खेलौनाको माग पूरा गरिदिन नसक्दा उसले ‘बाबासँग बोल्दिनँ, कट्टी !’ भन्दा मर्यो । जसलाई साथ दियो, उसैले चक्कुप्रहारको सौगात दिँदा मर्यो । कहिले हीनताबोधले मर्यो, कहिले पश्चात्तापले मर्यो ।
र, एक दिन तपास घाँ साँच्चै मर्यो । आफूलाई फिनिक्स्याउन नसक्ने गरी मर्यो ।
(पाठकवृन्द, गुगल गरिसक्नुभो कि बाँकी छ ? भैगो, दुःख नगर्नुस् । यो ‘तपास घाँ’ यसकै आविष्कार हो । आफूले मन नपराउनेहरूका लागि यसले इन्तजाम गरेको शब्द हो । कुनै चमत्कार छैन यसमा । बस, ‘घाँसपात’ लाई उल्टो पारेको हो । अलिकति झुक्यान सिर्जना गर्न ‘घाँ’ लाई केही मिलिमिटर पर हुत्याइदिएको हो । र, मैले यसको यस शोक–आलेखमा यसकै अस्त्र प्रयोग गरेको हुँ । म पनि यसलाई कहाँ मन पराउँछु र ?)
निधनोपरान्त यसमाथि कुनै दर्दडुबानी दस्तावेज नै लेखिनुपर्ने, यसले त्यस्तो केही गरेको थिएन । यत्ति हो, २०३३ सालको यो पैदावर जीवनवादी आन्दोलनहरूका पक्षमा रह्यो, मनसा वाचा कर्मणा । आफूले कविता भनेर गणतन्त्र ल्याएको हो भन्ने अहङ्कार यसलाई जीवनपर्यन्त प्रिय थियो ।
निधनोपरान्त यसमाथि कुनै दर्दडुबानी दस्तावेज नै लेखिनुपर्ने, यसले त्यस्तो केही गरेको थिएन । यत्ति हो, २०३३ सालको यो पैदावर जीवनवादी आन्दोलनहरूका पक्षमा रह्यो, मनसा वाचा कर्मणा । गणतन्त्र ल्याउने जुलुस्याहामध्ये एक थियो । आफूले कविता भनेर गणतन्त्र ल्याएको हो भन्ने अहङ्कार यसलाई जीवनपर्यन्त प्रिय थियो ।
श्रमप्रति बफादार थियो । अर्बौं मानिस छन् । त्यसैले यो उल्लेख्य कुरा भएन । यसको अभावग्रस्ततामाथि पनि केही भन्न जरुरी छैन । अर्बौं मानिस छन्, अभावग्रस्त । एलन मस्क, बिल गेट्स अनि फोर्ब्सको सूची रहुन्जेल ती अभावग्रस्तको अभावग्रस्तै रहनेछन् । चिज केकको तिर्सना मेट्न निजी जेट लिएर लस एन्जलसबाट पेरिस पुग्ने गर्भवती किम कार्दसियन र एक प्लेट चाउमिनको तिर्सना अधुरो बनाउन बाध्य करोडौं गभर्वतीहरूको संसार हो यो । यस्तो भद्रगोलमा तपास घाँको अभावग्रस्ततामाथि केन्द्रित हुनुको अर्थ के, औचित्य के ?
यसको मृत्यु पनि कुनै उल्लेख्य कुरा होइन । किनभने, प्रतिदिन १ लाख ७२ हजार मानिस मर्छन् । धन्न, तपास घाँ भोकले मरेको थिएन । यो यसको ठूलो सफलता थियो । जबकि प्रतिवर्ष ९० लाख मानिस भोकले मर्छन् ।
त्यसैले भन्दै छु, अबिच्युअरी समर्पित गर्नुपर्ने औकातको मान्छे होइन यो । तर, अबिच्युअरी स्वयम्को औकात निर्धारण गर्न चाहिँ एक खेप पुरस्कारको फजुल चर्चा गर्नैपर्ने हुन्छ । त्यसैले भन्दिहालम्, यसले नागार्जुन शुभप्रभात काव्य सम्मान, इच्छुक स्मृति पुरस्कार र पारिजात सृजन सम्मान गरी तीनटा पुरस्कार पाएको थियो ।
एउटा सानो वृत्तमा, खासगरी लेफ्ट र लेफ्ट–लेफ्ट खालको वृत्तमा यो लोकप्रिय नै थियो । विख्यात कवि हरि अधिकारीका शब्दमा ‘एउटा जमातले उत्पातै माया गरेको कवि’ थियो । यही ‘उत्पातै माया’ को स्थापत्यमा यसले आफ्नो अहङ्कार–शाला खडा गरेको थियो ।
लेफ्ट स्कुलिङको भए पनि यसले ट्याब्लोइड पत्रकारितामा वर्षौं गिट्टी कुट्यो । ‘यौन र अपराध’ को सौदागर मानिने पत्रिकामा यसले साहित्यका केही पृष्ठ पनि घुसाउन सकेको थियो । यसमा उसलाई ठूलो गर्व थियो । सुन्दर बालाहरूका वक्ष, नितम्ब र उरुको जंगलमा यसले श्रवण
मुकारुङका कविताका मृगशावक पनि छोडिदिन्थ्यो । यसमा उसलाई ठूलो गर्व थियो । यो वाक्य यहाँ किन दोहोर्याएको भने बाँचुञ्जेल यसले यही कुरा भनिरह्यो, यही तथाकथित उपलब्धि भजाइरह्यो ।
यसको व्यक्तित्वका दुई/चार पक्षको पर्दाफास गरिएन भने यसमाथि अन्याय हुन्छ । दिवङ्गतमाथि अन्याय गर्नु अशोभनीय हुन्छ । पाखण्ड व्यवस्थापनमा त यो उस्तादै थियो । भन्नलाई त ‘मलाई चर्चाको भोक र प्रसिद्धिको लालसा छैन’ भन्थ्यो । तर, चर्चा उत्सर्जन हुने साहित्यिक मञ्चहरूमा पुगेकै हुन्थ्यो । कम चर्चा वा चर्चै नहुने थलोसँग भने परहेज गर्थ्यो । सानातिना पुरस्कार र सम्मानको प्रस्ताव आउँदा सीधै नकार्थ्यो । तर, रकम र रवाफका दृष्टिले ठूलो पुरस्कारमा आजीवन आँखा गाढेरै बस्यो । र्याल काढेरै बस्यो । यत्ति हो, लालसा
प्रकट हुन नदिने शिल्प जानेको थियो । ऊ फलाकिरहन्थ्यो, घोषणाकै तहमा फलाकिरहन्थ्यो– मलाई पैसाको खासै मोह छैन । तर, जब ई–सेवामा १ सय १५ रुपैयाँ ५९ पैसाको मौज्दात देख्थ्यो, ऊ मनमनै दशमलवलाई बेस्कन गाली गर्थ्यो, ‘तँ मुर्दार यहाँ यसरी खलनायक नपल्टिएको भए मसँग अहिले ११ हजार ५ सय ५९ रुपैयाँ हुन्थ्यो ।’ यो पैसाप्रतिको मोह नभए के थियो त ?
तानाशाहको सालिक ढाल्ने कविहरूमा म पनि एक हुँ भन्थ्यो । तर, आफैं तानाशाहीका लक्षण देखाउँथ्यो । उदाहरणार्थ, आफूलाई असाध्यै प्रेम गर्ने केही जुनियर भाइहरू (नामै तोकेर भन्दिऊँ— किरण, उपेन्द्र) माथि कुन तहको हैकम
चलाउँथ्यो भने उसले बोलाएको बेला उनीहरू हरहालतमा हाजिर हुनुपर्थ्यो । तिनले उसलाई प्रेम गरेबापत कम्ता मूल्य चुकाएका थिएनन् । उसले बोलाएपछि मायालुसँगको अंकमाल–मग्नतालाई समेत बीचैमा रद्द गरेर उनीहरू हाजिर हुनैपर्थ्यो । खासमा त तपास घाँ पाखण्ड व्यवस्थापनको तीनहप्ते प्रशिक्षण दिन सक्ने ल्याकतवाला थियो । बागबजारतिर ‘हिपोक्रिसी म्यानेजमेन्ट इन्स्टिच्युट’ खोलेको भए यो मालामाल हुन सक्थ्यो ।
देशका थुप्रै प्रतिभासम्पन्न र प्रभावशाली कवि/लेखकसँग यसले संगत गर्न पायो । थुप्रैको प्रेम र सद्भाव पनि पायो । यसको जीवनको यही एउटा उपलब्धि हो, जसलाई भव्य भन्न सकिन्थ्यो । सिक्न चाहिँ उनीहरूबाट यसले केही सिकेजस्तो लागेन । सिकेको भए यसका सिर्जनामा खोइ त्यसको छाप र चमक ?
कसैको स्मृतिलेखमा उसका योगदानहरूको चर्चा गर्नुपर्ने बाध्यता पनि रहन्छ भन्ने तथ्यलाई उपेक्षा गर्न नसकिएला । मृतक के–के जाति सेवी थियो पनि भन्नुपर्ने हुन्छ क्यारे । जुत्ताको तुना फुस्केको पत्तो नपाएर फुटपाथमा हिँडिरहेका मानिसहरूलाई ‘तुना फुस्क्यो है’ भनेर सचेत गराउनु समाजसेवा हो भने यो खादा ओढाउनलायक समाजसेवी थियो ।
अनि कविको अबिच्युअरीमा मृतक प्रकृतिप्रेमी थियो भनेर लेख्ने विश्वव्यापी चलन त हुन्छ नै । तपास घाँ चन्द्रमाप्रेमी थियो । किनभने, चन्द्रमालाई निःशुल्क प्रेम गर्न पाइन्थ्यो । प्राकृतिक स्थलहरूको भ्रमणमा छनलाई यसको रुचि थियो, तर तीन दिनको प्रकृतिप्रेमले तीन महिनाको बजेट गडबड हुने जोखिम उठाउन ऊ तयार हुँदैनथ्यो । बरु चन्द्रमा हेर्थ्यो, त्यहीं सौराहा देख्थ्यो, त्यहीं बेगनास ताल, अनि त्यहीं ह्यातुङ झरना ।
यसको एउटा धोको भने अपूरै रह्यो । यसले वर्षौंपहिले एउटा प्रतिगामी कविता लेखेको थियो, ‘तुलसीको मठ’ । यस कवितालाई ऊ परित्याग (डिस्ओन) गर्न चाहन्थ्यो । पहिचानका नाममा ‘चुच्चो नाक काटिन्छ, आलो रगत चाटिन्छ’ को नारा उरालिरहेका एकाध नश्लवादीसँग एकदुई खेप व्यक्तिगत— नितान्त व्यक्तिगत— कलह परेपछि यसले सो प्रतिगामी कविता लेखेको थियो । तपास घाँले के भुलेको थियो भने कवितालाई व्यक्तिगत प्रतिशोधको हतियार बनाउनु घोर अपराध हो । त्यसको दण्ड भुक्तान नगरी यो गयो । अब गई त गयो । यसका तर्फबाट पहिचानका पक्षमा आफ्ना खुन–पसिना एक गरेका आन्दोलनकारीहरूसँग मै माफी माग्छु ।
यसलाई केहीले अवश्य ‘मिस’ गर्नेछन् । एकाध चियापसले र भट्टीपसलेले अवश्य गर्नेछन् । उनीहरूले महसुस गर्ने रिक्ततामा यसको उधारो खातापाताको धेरथोर योगदान हुन सक्छ ।
जनाबोज्ज्वल, अ.मा. जरोनि, सप्रिसा, रा.रा., पेन्टर, एनडीएस, सुसमीश्री, दुसारा, रघु, शिव, विश्वदर्शन, अविनाश श्रेष्ठ, नारायण ढकाल, श्यामल, आहुति, राजेन्द्र महर्जन, केशव सिलवाल, अभय श्रेष्ठ, युग पाठक, नारायण अमृत, विकास बस्नेत... यी सबै र थप केही नामलाई केही कालसम्म यसको न्यास्रो लागिरहनेछ । प्रेम र मित्रताले घटित गराउने न्यास्रो त छँदै छ, थपमा— यसमाथि उनीहरूको भौतिक तथा भावनात्मक लगानी परेको थियो । यो जे बनेको थियो, जेजति बनेको थियो (कवि/निबन्धकार/अनुवादक/सम्पादक) कुनै न कुनै कालखण्डमा उनीहरूले यसनिम्ति केही न केही भूमिका निर्वाह गरेकै थिए ।
अँ साँच्ची, खगेन्द्र संग्रौला यसलाई असाध्यै माया गर्थे । यसै पनि हरेक तमसद्वेषी, उज्यालो–अन्वेषी र जीवनवादी जुलुस्याहालाई आफ्नै सन्तान ठान्छन् उनी । तपास घाँ त उनले पर्लय प्रेम गरेको मान्छे थियो । सन्तापमा बूढाले छोडिसकेको चुरोट पुनः सुरु गरेछन् । उनका कानमा सायद केही हप्ता गुन्जिरहेनछ, ‘दाइ, लालसलामी ढोग छ है !’
मर्नुभन्दा एक दिनअघिसम्म ऊ लेआउट आर्टिस्ट सुनील खड्गीसँग आफ्ना चार वटा अप्रकाशित किताबको गफ गरिरहेको थियो— ‘दुःखफूलहरूको आगामी वसन्त’, ‘ज्यास्मिन म्याम’, ‘षोडश चन्द्रमाका रोटी, गीत र घोक्रेठ्याकहरू’ र ‘मिर्जा गालिब किन कबाडखाना धाउँदैन ?’ थाहा छैन, यी ‘गफै त हो नि सम्धीजी’ मार्काका उडन–शृङ्खलाका अंश थिए वा साँच्चै उसले लेखेको थियो ।
सुनीलले उसलाई आफ्नो अफिसको एउटा कुनो दिएको थियो, जसलाई उसले ‘दालभात स्टुडियो’ नाम दिएको थियो । त्यहाँ थियो, उसलाई असाध्यै प्रेम गर्ने एक जना साथीले दिएको ल्यापटप, अर्थात् जम्माजम्मी जेथापुँजी । सम्पादन र अनुवादबाट रोजीरोटी जुटाइरहेको (भनूँ, जुटाउन प्रयत्नरत) ऊ यसरी हठात् एक रोज रोटीको आवश्यकताबाट मुक्त हुनेछ— सुनील पत्याइरहेको छैन । ऊ आज पनि आफ्नो माइनस पाँचवाला पावरको चस्मा फुकालेर हेर्छ र किप्याडमा नृत्यमग्न उसका औंलाहरू खोज्छ । यस उपक्रमको व्यर्थताले झल्याँस्स हुन्छ, तपास घाँलाई धोकेबाज करार गरेर प्रेमपूर्ण भद्दा गाली बक्छ र क्याप्टेन चुरोट सल्काउँछ ।
उसका दुस्मनहरू पनि मान्छन्, तपास घाँ आधारभूत रूपमा खराब मान्छे थिएन । यसले कसैलाई जानी–जानी हानि पुर्याएन । यसको जीवनको सार्थकता यही थियो । सायद ।
दुर्भिक्षको अनाज खाएर यसलाई किन कोही सम्झिबसोस् ? सम्झिनलाई दुनियाँसँग आफ्नै वेदना र बाध्यता पर्याप्त छन् ।
