र्‍यापको यात्रा : तिरस्कारदेखि सम्मोहनसम्म

र्‍याप संगीतका आरोह–अवरोह धेरै छन्, निष्कर्ष एउटै छ– यसले सम्मान पाउन थालेको छ । सामाजिक स्वीकार्यता दिन प्रतिदिन फराकिलो बन्दै गएको छ, लोकप्रिय पनि छ । किनभने यसले युवाको मन बोल्छ ।

असार २८, २०८२

हिमेश

Rap's Journey: From Disdain to Hypnotism

काठमाडौँ — नेपाली संगीतमा ‘नेक्ट्स बिग थिङ्स’ केही छ भने त्यो र्‍याप हुन सक्छ । संगीतको यो विधा मन नपराउने पनि हुन सक्छन्, तर यसले नेपाली युवालाई यति आकर्षिक गरेको छ कि त्यो पत्याइनसक्नुछ । नेपाली र्‍याप संगीतमा एक जिज्ञासुका रूपमा प्रवेश गर्ने हो, जोकोहीले सुखद आश्चर्य आत्मसात् गर्नेछन् । नेपाली र्‍याप संगीत यति धेरै फैलिएको छ, यति धेरै फरक–फरक विषयमा लेखिएको छ कि त्यसले एक खाले खुसी दिन्छ । 

अनि त्यो खुसीले जोकोहीलाई नेपाली र्‍याप संगीतमा आकर्षित हुन प्रेरित गर्नेछ । र, यात्रा हो, अपहेलनादेखि सम्मान र स्वीकार्यतासम्म । कुनै समय थियो, जति बेला र्‍याप संगीतलाई नेपाली समाजले स्वीकार्न सकेको थिएन । यो विधामा लागेकालाई गायक मान्नसमेत गाह्रो मानिन्थ्यो । तर जे जतिले यो विधालाई उकास्न लामो संघर्ष गरे र निरन्तरता दिए तिनले नेपाली र्‍याप संगीतलाई यस्तो तहमा पुर्‍याएका छन्, जहाँ यसको स्थिति सहर्ष स्वीकार्यतासम्म पुगेको छ । 

यस्तो कसरी सम्भव भयो त ? यसका लागि नेपाली र्‍याप संगीतको इतिहास त बुझ्नैपर्छ, त्यति मात्र होइन, विश्व र्‍याप संगीत के थियो, त्यसबारे पनि ज्ञानकारी राख्नैपर्छ । पश्चिम अफ्रिकामा एउटा परम्परा रहेको छ, जसमा सामाजिक समारोहमा मौखिक इतिहासलाई सुनाउने काम हुन्छ । यसलाई भन्ने गरिन्छ, ‘ग्रिओट्स’ । यसक्रममा वाद्यवादनको पनि प्रयोग हुन्छ । सुनाइने कथालाई अझ आकर्षक बनाउन यसलाई मनोरञ्जनात्मक पनि बनाइन्छ । 

यो यत्तिमै सीमित हुन्न । ‘ग्रिओट्स’ ले सांस्कृतिक मूल्यमान्यतालाई अगाडि बढाउन पनि मद्दत गर्छ । यसैलाई मानिन्छ, र्‍याप संगीतको आधार । अब लागौं, सन् ६० तिरको अमेरिकातिर । अश्वेत अमेरिकीमाझ र्‍याप संगीत बिस्तारै लोकप्रिय हुँदै थियो । सन् ७० सम्म पुग्दा ती अश्वेत युवाले अमेरिकाको सडक–सडकमा र्‍याप प्रस्तुत गर्न थाले । त्यो त्यही समय थियो, जति बेला अमेरिकामा रंगभेद चरममा थियो । 

छालाको रंगकै आधारमा विभेद र अमानवीय व्यवहार गरिन्थ्यो । त्यो कुनै पनि अवस्थामा स्वीकार्य थिएन । त्यसको विरोध त हुने भयो नै । त्यही विरोधको एउटा गतिलो माध्यम बन्यो, र्‍याप संगीत । रंगभेदविरुद्धको आन्दोलनमा झनै सशक्तसावित भयो । अश्वेत युवाले आफूविरुद्धको दमन र विरोधमा र्‍यापलाई प्रयोग गरे । त्यसैले यो आन्दोलनकै एउटा महत्त्वपूर्ण भाग बन्यो । समयसँगै यो विश्व संगीतको एउटा जोडदार माध्यम त बन्यो नै, युवापुस्ताबीच त्यत्तिकै लोकप्रिय बन्दै गयो । 

समय फेरिएको भए तापनि र्‍याप संगीत पनि एक अर्थमा कथा भन्ने नै हो, जस्तो धेरै अगाडि ‘ग्रिओट्स’ मा हुने गर्थ्यो । र्‍याप पनि गीत नै त हो, त्यसैले यसमा पनि लय हुने नै भयो । सजिलो भाषामा भन्दा कथावाचकले एउटा लयमा आफ्नो प्रस्तुति दिन्छ र यसमा प्रयोग हुने भाषा हुन्छ, बोलीचालीको । सबैले बुझ्ने, सबैले प्रयोग गर्ने भाषा । आम मानिसको भाषा । अझ गल्लीको भाषा भन्दा पनि हुन्छ ।

र्‍याप संगीतको ठ्याक्कै इतिहास बुझ्न सन् ६० को न्युयोर्कमा फर्किनुपर्ने हुन्छ । त्यो पनि ब्रोङ्स भन्ने ठाउँमा । त्यहींबाट हिपहप संस्कृतिको विकास भएको मानिन्छ । त्यसकै एउटा भाग थियो, र्‍याप संगीत । त्यहाँका डिजेले फङ्क, सोल र डिस्को संगीतलाई अलग–अलग गर्ने प्रयास गरे । कार्यक्रम चलाउनेले दर्शकसामु संगीतमै कुरा गर्थे, भीडसँग अन्तर्क्रिया गर्थे । त्यति बेला पार्कमा भेला भएका युवाले एकआपसमा गीत सुनाउने क्रममा र्‍याप अझ बढी लोकप्रिय भयो । 

तिनीहरूले बिस्तारै राजनीतिक समस्या र मुद्दालाई उठाउने थाले । ती युवा सबैभन्दा बढी जमैकातिरका हुन्थे अनि प्रायः बेरोजगार हुन्थे । पहिलो र्‍यापर त जमैका आप्रवासी कुल हर्कलाई मानिन्छ । उनी पहिलो डिजेसमेत थिए । उनलाई हिपहप संगीतका संस्थापक नै मानिन्छ । हिपहप संस्कृति आफैंमा ठूलो भयो, त्यसको एउटा भाग र्‍याप संगीत हो भन्दा हुन्छ । र्‍याप अर्थात् ‘आरएपी’ । त्यसको विस्तारित रूप ‘रिदम एन्ड पोएट्री’ पनि भनिन्छ । 

त्यसको सोझो अर्थ ‘लयमा बगेको कविता’ । त्यसैले बोलिने अनुप्रासयुक्त शब्दलाई नै र्‍याप भन्दा हुन्छ । यसमा कुनै पनि विषयवस्तु अनुप्रासमय प्रवाहमा प्रस्तुत गर्ने गरिन्छ । त्यसको अर्थ के भन्दा जसले र्‍याप गाउने गर्छ, त्यो कवि हुनुपर्छ । र्‍याप रागमा गाइरहन पर्दैन, कवितालाई रिदमको फ्लोमा गाइन्छ भने त्यो नै भयो, र्‍याप । यही एक मूलभूत कारणले गर्दा यो युवापुस्तामा बढीभन्दा बढी लोकप्रिय हुने गर्छ । 

युवाका लागि आफूलाई सुनाउन मन लागेको केही कुरा छ भने र्‍याप उपयुक्त माध्यम हुन सक्छ, यो सजिलो पनि हुन्छ, छरितो पनि हुन्छ । अनि यही त हो, र्‍याप संगीत । यो भयो र्‍याप संगीतको आफ्नै इतिहास । सन् ६० र ७० को दशकमा सुरु भएको र्‍याप संगीत नेपालसम्म पुग्न भने लामै समय लाग्यो भन्दा हुन्छ । सन् नब्बेको दशक नेपालका लागि धेरै अर्थमा परिवर्तनको युग भन्दा हुन्छ । यही समयमा देशमा धेरै परिवर्तन भए, ०४६ सालको आन्दोलन र त्यसले ल्याएको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तन ।

साँचो अर्थमा भन्ने हो भने नेपालीले समाजले खुलापनको अभ्यास गर्न थालेको पनि त्यही बेलादेखि हो । यही खुलापनबीच युवाले नयाँ र फरक संगीत खोज्न र रोज्न थाले । ठीक यही बेला विदेशी र्‍याप संगीत नेपालमा बिस्तारै लोकप्रिय हुन थाल्यो । पश्चिमेली संगीत रुचाउनेले र्‍याप मन पराउन थाले । केही मीठो नयाँ स्वादको संगीतले सबैलाई मोहित बनायो । यही माहोलले नजानिँदो तरिकाले नेपालमा र्‍याप संगीतको आधार तयार पार्‍यो भन्दा हुन्छ, भलै यो सुन्नमै सीमित थियो । 

त्यतिबेला नेपालमा बढी लोकप्रिय हुने अमेरिकतिरकै र्‍यापर थिए । उनीहरूको प्रभाव जबर्जस्त रह्यो । यसबीच एक जोडी युवा अगाडि आए । तिनीहरू आफैं र्‍याप संगीतबाट प्रभावित थिए । खासमा उनीहरू र्‍याप संगीतलाई मन पराउने नेपालीको पहिलो पुस्ताका प्रतिनिधि थिए । उनीहरू थिए, प्रणिल तिमल्सिना र गिरीश खतिवडा । नेपालमा र्‍याप संगीतको इतिहास केलाउने हो भने प्रणिल यो विषयका एउटा ठोस स्रोत हुन् । उनी नेपाली र्‍याप संगीतको सुरुआती चरणका बारेमा मज्जाले बेलविस्तार लगाउन सक्छन् । 

गिरीश र प्रणिलको जोडीको नाम थियो, ‘जीपी’ । त्यतिबेला यस्तै छोटोमा नाम राख्ने चलन थियो । सन् १९९२ आइपुग्दा नपुग्दै उनीहरूले एउटा र्‍याप अल्बम नै तयार पारे र त्यसको नाम थियो, ‘मिनिङलेस र्‍याप’ । यो नै सम्भवतः नेपाली र्‍याप संगीतको पहिलो एल्बम हो । कतिपयले त उनीहरूको कामलाई ऐतिहासिक र बहादुरी नै ठोकुवा गर्छन् । हुन पनि त्यो बेलाको समाज र परिवेशअनुसार र्‍याप संगीतको एल्बम नै निकाल्नु दुस्साहसभन्दा कम थिए ।

त्यसमाथि बिल्कुलै नयाँ विधाको जग बसाउने काम पक्कै सजिलो हुन्न । प्रणिल सुरुआती दिन सम्झिन्छन्, ‘केही समयसम्म हाम्रोमा आधुनिक गीत र पप संगीतबीच द्वन्द्व नै चलिरहेको थियो । हामीले त्यही बेला र्‍याप संगीतलाई अगाडि ल्यायौं ।’ तर उनीहरूलाई त्यो बेलाको समाजले ठ्याक्कै रुचाएन । आफूलाई संगीत बुझेको दाबी गर्नेहरूले समेत र्‍यापलाई स्वीकार गरेनन् । उनीहरूका लागि लय र भाका नभएको र्‍याप संगीत नै हुन सक्दैन । एक किसिमले भन्दा गिरीशहरूले नयाँ प्रयासका लागि प्रशंसा होइन, अपहेलना र उपेक्षा पाए । 

र्‍यापले समाजको कथा बोल्छ भनेर पनि बुझ्ने काम भएन । गिरीश र प्रणिललाई यो विधाका बारेमा बुझाउन हम्मे नै पर्‍यो । तर, उनीहरूले हार खाएनन् । उनीहरूलाई थाहा थियो, धेरैले नजानेर नबुझेर पनि यो जोडी नेपालको र्‍याप संगीतको संस्थापक बनिसकेको थियो । उनीहरूले दोस्रो एल्बमका लागि दस वर्ष कुर्नुपर्‍यो । तर त्यसपछि जे भयो ती सफलता र खुसीका पलहरू मात्र थिए । उनीहरूको दोस्रो एल्बम ‘ब्याक अगेन ः मिनिङलेस र्‍याप–२’ खुबै लोकप्रिय भयो, धेरैभन्दा धेरैले यसलाई मन पराए । 

एल्बममा एउटा गीत छ, ‘म यस्तो छु, म उस्तो छु’ त ‘ब्लकबस्टर’ नै भयो भन्दा हुन्छ । यसलाई आम संगीतप्रेमीले मन पराए । त्यसको सोझो अर्थ थियो, नेपाली समाज र्‍याप संगीतका लागि बिस्तारै तयार हुँदै थियो । यसबीचमा अरू र्‍याप गायक र ब्यान्ड पनि थपिए । सन् २००० मा एउटा यस्तो र्‍याप एल्बम ‘रिलिज’ भयो, जसले नेपाली र्‍याप संगीतमा अर्को एउटा कोसेढुंगा बन्यो । त्यसको नाम थियो, ‘राजाज्ज युनियन’ । 

यसको विशेषता थियो, त्यो नेपालबाट रिलिज भएको पहिलो अंग्रेजी र्‍याप एल्बम । यसको श्रेय जान्छ, सामी सम्राट र निर्णयलाई । यो नेपाली र्‍याप संगीतको अन्तर्राष्ट्रियकरण पनि थियो । तर, त्यसपछि एउटा लामो समय यो क्षेत्र सुनसान जस्तै रह्यो । नयाँ सिर्जनाहरू खासै आएनन् । नेपाली संगीत एकप्रकारले रिमिक्सतिर गएको समय थियो, त्यो । नेपाली र्‍याप संगीतले आफूलाई त्यतिबेला विस्तार नै गर्न सकेन । 

तर, त्यो प्रतिकूलतालाई चिर्न फेरि एउटा गायक अगाडि आए र उनले र्‍याप संगीतमा ठूलै परिवर्तन नै ल्याए भन्दा हुन्छ र उनी थिए, यम बुद्ध अर्थात् अनिल अधिकारी । यम बुद्धले त्यो काम गरे, जुन यसअघिकाले गरेका थिएनन् । त्यतिबेलासम्म पनि र्‍याप गीत अधिकांश माया प्रेममै सीमित थिए, त्योभन्दा अगाडि बढ्न सकेको थिएन । तर यम बुद्धले त्यसमा ठूलै परिवर्तन ल्याए, अब उनका गीतले सामाजिक विषय बोल्न थाले । जसले गर्दा नेपाली र्‍याप संगीतको सामाजिक स्वीकार्यता थप फराकिलो भयो । 

यो सन् २०१० पछिको समय हो । उनले रोजेका विषय अनेक थिए, जस्तो आमाको मायादेखि छोराछोरीमा हुने विभेदसम्म । यम बुद्धले सुरु गरेको यही क्रम अहिले परम्परा बनेको छ र यो संगीत विधालाई लोकप्रिय बनाउन मद्दत मिलेको छ । अझ भन्दा नेपाली र्‍याप संगीतले सम्मान पाउन थालेको यही समय हो । खालि दुःख के भने उनी भौतिक रूपमा हामीमाझ छैनन् । तर जति–जति बेला नेपाली र्‍याप संगीतको इतिहास लेखिनेछ, उनको नाम छुट्ने छैन । 

त्यसपछिका दिन पनि नेपाली र्‍याप संगीतका लागि सुखद रहेन । यसमा अश्लीलता हावी हुन थाल्यो । र्‍याप गीत गाउने क्रममा छाडा शब्द प्रयोग हुन थाले । एक खाले विवाद देखियो । प्रश्न थियो, के संगीतका नाममा यस्तो गर्न पाइन्छ त ? पाइन्छ भन्नेको तर्क थियो, ‘र्‍याप संगीतको कुनै सीमै हुन्न । मनमा जे आयो, मनमा जे छ, त्यही भन्ने त हो ।’

सम्भवतः यसले नेपाली र्‍याप संगीतलाई धेरै हदसम्म प्रभावित पारेको थियो, चाहे यसलाई सकारात्मक मानौं अथवा नमानौं । तर, त्यो प्रभाव बिस्तारै कम हुँदै गयो । र, फेरि आफ्नो लयमा अगाडि बढ्यो । नेपाली र्‍याप संगीत अहिले सानदार स्थितिमा छ । नेपाली र्‍याप संगीतलाई नजिकबाट हेरिरहेका निर्मल दाहाल भन्छन्, ‘अहिले यो संगीत त्यो मोडमा छ, जहाँ गर्व गर्न सकिन्छ ।’

भी–टेनको लोकप्रियतालाई हेरौं न । यही सूचीमा थपिन्छन् बालेन, युनिक प्वोयट, एमसी फ्लो र मानस घले पनि । यसले पनि र्‍याप संगीतको लोकप्रियता र स्वीकार्यतालाई प्रस्ट पार्छ । अब त र्‍याप ब्याटलदेखि ‘अन्डर ग्राउन्ड र्‍याप’ सम्मका कुरा छन् । पक्कै पनि नेपाली र्‍याप संगीतका आरोह–अवरोह धेरै छन् । तर निष्कर्ष भने एउटै छ– यसले सम्मान पाउन थालेको छ । सामाजिक स्वीकार्यता दिन प्रतिदिन फराकिलो बन्दै गएको छ । र, लोकप्रिय पनि छ । किनभने यसले युवाको मन बोल्छ ।

हिमेश

Link copied successfully