हिपहपले केटा र केटी छुट्याउँदैन । बलियो अभिव्यक्तिलाई बुझ्छ । केटा र केटी, गलत र सही त समाजको दृष्टिकोणले छुट्याउँछ । त्यही समाजको दृष्टिकोणका कारण महिला र्यापरलाई खुलेर आउन चुनौतीपूर्ण छ ।
काठमाडौँ — नेपाली हिपहपको दुनियााँमा ‘हामी यस्तै त हो नि ब्रो भन्दै’ कहिले भिटेन उदाउँछन् । कहिले जिबब ‘मिलेन लेभल तेरो बाउ बोला ए’ भन्दै धाराप्रवाह ब्याटल बजार पिट्छन् । काठमाडौं महानगरपालिकाको प्रमुख हुँदाहुँदै पनि बालेन ‘म नेपाल हाँसेको देख्न चाहन्छु’ भन्दै भ्रष्टाचारीहरूलाई र्यापमा गाली गर्छन् ।
चाहे स्मृतिमा बाँचिरहेका यमबुद्ध हुन् वा ‘नेपहपको श्रीपेच’ पहिरिएका भाइबर साइमन । वा गिरीश र मानसहरू । हिपहप संसारमा उनीहरू चम्किला नाम हुन् । ती चम्किला नाममा पुरुष मात्र छैनन्, महिला पनि पृथक् आवाजका साथ जबर्जस्त उभिइरहेका छन् ।
यो समयकी चर्चित र्यापर दिमृती (स्मृति विश्वकर्मा) निखारिएका वैचारिकीसहित विभेदविरुद्धको स्वर मुखरित पार्छिन् त कहिले प्रेमिल समयलाई सम्झँदै विछोडको वेदना मिश्रित शब्दहरू पोख्छिन्, ‘पहिलो प्रेमी नभए नि तिमी मेरो अन्तिम चाहना ।’ अहिले ‘दिमृती’ सुन्न हिपहपप्रेमीको प्रतीक्षा नै रहन्छ । दोहोरी ब्याटलसमेत गाएकी लोकगायिका प्रीति आले उनकी प्रशंसक हुन् । ‘मैले सुन्ने र्यापरहरूमध्ये दिमृती धेरै मनपर्छ । म उनलाई पर्खिरहेकी हुन्छु,’ प्रीति भन्छिन् ।
नेपालमा १९९० को दशकमै हिपहपले नेपाली आवाज पायो । ती आवाज र्यापर गिरीश खतिवडा र प्रनिल तिमल्सिनाहरू थिए । २००० को दशकमा अरु र्यापर पनि जन्मिए, जसमा महिला पनि थिए । तर र्यापमा पुरुष आवाज उदाउँदै गयो, महिला आवाज दबिँदै । अहिले सक्रिय महिला र्यापरहरूको भाषामा त ‘भूमिगत’ ।
र्यापलाई नै अगाल्न गाह्रो परिरहेको समाजमा झन् महिला र्यापरलाई स्वीकार गर्ने समय नै कहाँ थियो र ! तीन वर्षअघि रियालिटी सो ‘नेपहपको श्रीपेच’ मा प्रतिस्पर्धीमध्येकी एक प्रतीक्षा बोम्जन लामासँग निर्णायकले गरेको संवादले नै थाहा हुन्छ कि नेपालमा महिला र्यापर खुल्न त्यसअघि कति कठिन थियो भनेर ।
महिला प्रतिस्पर्धी देखेर दंग भएका निर्णायकले भनेका थिए, ‘केटी मान्छेहरूलाई र्याप हान्न अलिकति गाह्रो हुन्छ नि हैन, घरबाट प्रेसर दिन्छन् । केही भन्न मन छ तपाईंलाई ?’ महिला खुल्दै छन् भन्ने भानसहित प्रतीक्षाले जवाफ दिएकी थिइन्, ‘अरूको कुरा सुन्नु हुँदैन । आफू अगाडि बढ्नुपर्छ ।’ ती निर्णायकले उत्साहित हुँदै थपेका थिए, ‘यसरी फिमेल आएर र्याप हान्दिरहनुभएको छ, बबाल बबाल ।’
तर ‘बबाल’ गरी महिलाले र्याप ‘हान्दा’ समाजलाई कति ऐंठन हुन्छ भन्ने अनुभव र्यापर सिर्जना खत्री (हाउडे माया) सँग छ । पाँच वर्षअघि उनले ‘मेरो एक्सको छम्मा’ निकालिन् । उनलाई ताली पनि आयो, गाली पनि । गीतलाई अश्लील र अपाच्य भन्नेहरूले जसरी गाली गरे, त्यो गाली नै ‘अश्लील’ र ‘अपाच्य’ शब्दको एउटा उदाहरण थियो ।
झट्ट सुन्दा र्यापहरू ‘अपाच्य’ सुनिएलान् । तर त्यहीँभित्र गहिरिएर हेर्ने हो भने समाजको कुरूप पक्षमाथि ठाडो प्रहार गरिएको हुन्छ । समाजले जसरी सोच्छ, त्यसलाई समाजकै शैली र भाषामा उसकै कुरुपपनमाथि र्यापमार्फत व्यंग्य गरिएको हुन्छ । ‘त्यही कुरा गीतमा आउँदा त्यही समाजले झट्ट स्वीकार गर्दैन,’ सिर्जना अचम्म मान्छिन् ।
सिर्जनालाई लाग्छ, ‘त्यो गीत आउनुअघि महिलाले खुलेर अभिव्यक्त गर्न सकेका थिएनन् । सबै अन्डरग्राउन्ड थिए । धेरैलाई स्वीकार गर्न गाह्रो पनि भयो ।’ त्यसयता हेर्ने हो भने धेरै महिला र्यापर खुलेर आउँदै छन् । समाजका स्वभावमाथि ‘बबाल’ व्यंग्य हान्दिरहेका छन् ।
उतिबेला त महिलाले र्याप गाउनु भनेको परिवारको प्रतिष्ठामाथिको प्रश्न पनि हुन्थ्यो । ‘र्याप गाउँदै हिँडेपछि भोलि बिहे गर्न पनि गाह्रो हुन्छ भन्ने डर हुन्थ्यो । मान्छेले यो त र्याप गाउने केटी हो भन्दै विभिन्न तरिकाले हेर्थे । त्यस्तो बेला कसरी खुल्न सक्थे,’ सिर्जना भन्छिन् । चार वर्षयता त विभिन्न रियालिटी सो आए, कार्यक्रम भए । अहिले नयाँ पुस्ताका महिला नयाँ औरासहित देखिएका छन् ।
‘नेपहपको श्रीपच’ कै स्टेजमा र्यापर इना पाख्रिनले समाजमा संग्लिन बाँकी रहेको बुझाइमाथि एउटा धावा बोलेकी थिइन्, ‘छोरी मान्छेले गाएको र्याप छाडा गीत भन्ने सोचिहाल्छन् तर त्यही सोचलाई चाहिँ म बदल्न चाहन्छु ।’ र्यापमार्फतै उनले जीवनप्रतिको चिन्तनलाई व्यक्त पनि गरेकी थिइन्–
सबैको खास एक दिन हुन्छ समाप्त
सबैको याद एक दिन हुन्छ समाप्त
त्यतिबेला स्टेज चढेका इना हुन् वा फुर्दुकी । उनीहरू जति बुलन्द सुनिन्थे, उति नै कलात्मक पनि । अहिलेका जेनी योञ्जन ‘रातो रानी’ हुन् वा आमाजुमी । उनीहरू फरक सुनिँदै छन् पनि ।
अहिले महोत्सवहरूमा दर्शकका लागि बहुप्रतीक्षित र्यापर सुनिता ल्यामगड आफ्नो पीडा, आक्रोश र अनुभूतिलाई पाँच वर्षअघिसम्म पनि कापीमा उतार्थिन् र बन्द कोठाभित्र गुन्गुनाउँथिन् । बन्द कोठाभित्र उकुसमुकुस स्वरलाई मासमा ल्याउन उनले ठूलै संघर्ष गर्नुपर्यो । धादिङकी सुनिताका बा सानैमा बिते ।
बा बितेपछि एक्लो हुनु, समाज र आफन्तले मायाको बदला हिंसा र तिरस्कार शिवाय केही नदिनु । झन् जब र्याप गाउने सुइँको समाजले पायो, उनी बिग्रने भविष्यवाणी नै गरिदियो । ‘म समाजले गरेका व्यवहारलाई शब्दमा उतार्थें । थप बलियो बन्थें,’ उनी सम्झिन्छिन् । १४ वर्षदेखि र्यापमा गरेको सुनिताको संघर्षले ‘र्याप स्टार’ मा पुगेर नयाँ उचाइ पायो । स्टेजमा उनी गाउँथिन्–
बाबाले छाडेर जानुभयो माया पाएँ मात्र आमाबाट
बोल्दिनँ हावा कुरा मेरो गीतमा मनको भावना छ
‘र्याप स्टार’ को टप भएर घर जाँदा सुनिताले सोचेकी थिइन्, ‘समाजले स्यावासी दिन्छ ।’ तर आफन्तका हातले स्यावासी हैन, थप्पड दिए । र भने, ‘तँ राम्रो मान्छे होइनस्, तँ जस्तोले के गर्न सक्छेस्, हेर एक दिन हामीमै झुक्न आउनुपर्छ ।’ तर त्यसयताका यात्रामा सुनिताको शिर झन्–झन् उठ्न थाल्यो ।
‘यस क्षेत्रले मलाई आत्मसम्मानका साथ उठ्न सिकायो । आफूभित्रको विद्रोह पोख्न सिकायो,’ सुनिता भन्छिन् । अहिले महोत्सवमा हजारौं हात उनका सम्मानमा उठिरहेका हुन्छन् । उनका शब्दहरूलाई थुप्रै आवाजले पछ्याइरहेका हुन्छन् । संयोगको कुरा त, हिजो ‘बिग्रेकी केटी’ को ट्याग भिराउनेहरू अहिले टेलिभिजमा सुनितालाई देख्छन् र दंग पर्दै भन्छन्, ‘उसले त प्रगति गरी ।’
ब्याटलमा बोल्ड प्रस्तुतिसहित पुरुष प्रतिस्पर्धीलाई कडा चुनौती दिने र्यापर स्यामी डी रियल जी पछिल्लो समय युट्युब, विज्ञापन र फिल्मका गीतमा समेत फैलिएकी छन् । दुई महिनाअघि निस्किएको ‘र्याप सुन नेपालीको’ भिडियोमा उनी जबर्जस्त गाउँछिन्–
यस्तै नै छु, यस्तै नै हो
लाइफ मेरो चल्दै छ ब्रो
बादल बनी आउँछ समस्या घनघोर
आफ्नो साथी निक्लिन्छ घाती र चोर
१२ वर्ष भयो सांगीतिक क्षेत्रमा स्यामीको उपस्थिति भएको । पहिला उनी रक भोकलिस्ट थिइन् । ७ वर्षदेखि उनी हिपहपमा जमेकी छन् । जब र्याप ब्याटलहरू सुरु भए, उनले फेरि फर्किएको ‘रअ बाज’ मा इन्ट्री हानिन् । ‘त्यतिबेला ट्राई गर्दा महिला म मात्र थिएँ । सोचें, रक म्युजिकमा भन्दा हिपहपमा आफूलाई छिट्टै स्थापित गर्न सक्छु । अनि एक्टिभ भएर लागें,’ उनी भन्छिन् ।
हिपहपले केटा र केटी छुट्याउँदैन । बलियो अभिव्यक्तिलाई बुझ्छ । केटा र केटी, गलत र सही त समाजको दृष्टिकोणले छुट्याउँछ । ‘हिपहपमा हामीले मुख छाडेको मात्र देख्छन् । तर अरूले खुलेर बोल्न नसक्ने कुरा बोलेका हुन्छौं । रेप, घरेलु हिंसादेखि लिएर पोलिटिसयनको प्रवृत्तिविरुद्ध खुला भएर बोलिरहेका हुन्छौं । हाम्रो प्लस पोइन्ट नहेरी नेगेटिभिटी मात्र गनिरहेको जस्तो लाग्छ,’ स्यामी भन्छिन्, ‘तर अहिले न्यु वेभ आउँदै छ । दृष्टिकोण बदलिएला कि !’ स्यामी महिला र्यापरको उपस्थिति अझै बलियो चाहन्छिन् । र, चाहन्छिन्, ‘हामी एकठ्ठा हौं । थप खुलेर आऔं ।’
हुन त महिला र्यापरमा निरन्तरताको अभाव छ । ३ वर्षअघि देखिएका अनुहार अहिले हराइसके । अहिले देखिइरहेका अनुहार पनि भोलि हराउन सक्छन् । स्यामीलाई यो चिन्ता छ । ‘अझै पनि कति त अन्डरग्राउन्डेड छन् । नेपालमा फिमेल र्यापर यति छौं भनेर एपिसोड, एपिसोड निकालेर गरौं भन्ने सोच छ । तर सम्भव भइरहेको छैन,’ उनी भन्छिन् ।
गायिका प्रीति आले अहिले आइरहेका महिला र्यापरहरू सुनेर नै गौरवान्वित हुन्छिन् । ‘हाम्रो बेलामा त खुलेर आउनै डर थियो । तर अहिले बहिनीहरू आइरहनुभएको छ,’ उनी भन्छिन् । तर महिला र्यापरहरूले जति खुलेर गाउनुपर्ने हो, त्यति खुल्न नसकेको भान छ आलेलाई । भन्छिन्, ‘अझै भाइहरू जतिको खुल्न नसक्नुभएको हो कि भन्ने लाग्छ । उहाँहरूले र्यापमा भित्रभित्रसम्म गएर मजाले निचोड निकालेर गर्न सकिरहनुभएको छैन ।’
किन त ? अझै फेरिन बाँकी रहेको समाजको दृष्टिकोणलाई दोष दिन्छिन् प्रीति । ‘कहिलेकाहीं कडा तरिकाले प्रस्तुत गर्दा केही विषयवस्तु तलमाथि भएको हुन सक्छ । त्यतिबेला केटी र्यापरलाई आक्षेप आउने हुन्छ । त्यही शब्द केटा र्यापरले गर्दा स्यावासी दिने गरिन्छ । पछिल्लो पिँढीमा पनि त्यो देख्छु,’ उनी भन्छिन् ।
हिपहपप्रेमी प्रीतिको कामना पनि छ, महिला र्यापरहरू पनि पुरुषजतिकै खुलेर आउन सकून् । निश्चित छ, हिजो निषेधको पर्खाल चिरेर यहाँसम्म उभिएका महिला र्यापरहरू अब थप खुल्नेछन् । हिजो स्टेजसम्म नचढेका आवाजहरूले अब बजार पिट्नेछन् । र, हिपहपको दुनियाँमा र्याप त उनीहरूले ‘बबालै’ हान्नेछन् ।
