६ वर्षे अबोध बालिकालाई कसरी जबर्जस्ती गाडीमा हालेर काठमाडौं पठाइयो ? परिवारलाई 'बालिका हराएको सूचना' प्रसारण गर्नुपर्ने बाध्यता किन आइलाग्यो ? एक दशकभन्दा बढी कमलरी बसेकी उर्मिला चौधरीको संघर्ष र सफलताको कथा :
काठमाडौँ — नयाँ फ्रक र चप्पल लगाउन पाउँदा मन पुतलीझैं फुरुङ्ग थियो । फुलबुट्टे फ्रकजस्तै रंगीन सपना, नयाँ चप्पलजस्तै नवीन गन्तव्यको आशासहित दाइको हात समाउँदै पछिपछि हिँडिरहेकी थिइन् उनी । पहिलोपल्ट आफ्नो गाउँ दाङको मानपुरबाट घोराही जान गाडी चढ्दा ६ वर्षकी यी अबोध बालिका कति रमाइन् होला !
उनकी जेठी दिदी कमलरी बसेको जमिनदारको घरमा बिहे भोज थियो । बिहेमा मिठो खानेकुरा पाउँदा त्यसैमा भुलिन् । जब जन्ती बिदाइ गर्ने बेला भयो, दाजुले त उनलाई दुलहीसँगै पो पठाउन लागे ! आफू कहाँ किन जाँदै छु भन्ने पनि उनलाई थाहा थिएन । दाजुको हात छाड्नै मानिनन् । गाडी स्टार्ट भएपछि जबर्जस्ती उनलाई दुलहीको साथ लगाएर गाडी चढाइयो । ‘एकली नै जैम’ भन्दै उनी अझ बेस्सरी रोइरहेकी थिइन्, तर कसले फकाउने !
दाजु मानपुर फर्किए । निश्छल आँखामा आँसु डबडबाउँदै उनी दुलहीको टोलीमा लागिन्, काठमाडौंतिर ।
खासमा उनलाई ‘पढाइदिने सर्त’मा काठमाडौं ल्याइएको रहेछ । तर न स्कुल जान पाइन्, न त कतै घुम्न, रमाउन ।
'कुनै चाडपर्वमा घर जान पाइनँ । माघमा जान पाउँछेस् भनेर झुटो आश्वासन मात्रै दिइरहे,’ असारको झरिलो दिनमा त्यही अबोध बालिका उर्मिला चौधरी आफ्नो तितो विगत सुनाइरहेकी थिइन्, ‘जिन्दगी एकदमै उराठलाग्दो थियो । मेरो अधीनमा केही पनि थिएन । भोक लाग्दा पनि माग्न सक्दिनथेँ । त्यो कमलरी जीवन मलाई पिँजडाको चरीझैं लाग्थ्यो ।’
जब उनले आफूलाई दाइजोका रूपमा कमलरी बनाएर पठाइएको थाहा पाइन्, उनको वरिपरि अन्धकार छायो । ६–७ वर्षकी यी अबोध बालिका के नै पो गर्न सक्थिन् र ! सुरुसुरुमा काम नजान्दा गाली सहनुपरेको, तातो पानी खन्याइएको उनी सम्झन पनि चाहन्नन् ।
‘बिहान ३ बजे उठेदेखि बगैंचामा पानी हाल्ने, पोछा लगाउने, कपडा धुने, खानेकुरा पकाउने, भाँडा माझ्ने, गाडी धुने, तेल मालिस गरिदिने, ओछ्यान मिलाइदिने जस्ता काम गर्नुपर्थ्यो,’ उनी भन्छिन्, ‘कृष्णराज सर्वहारीको बालकथा ‘सुख्ली’ छ नि, त्यसको पात्र नै मै हुँ जस्तो लाग्छ ।’
आफ्नो संस्कृति, रहनसहन र समाज बुझ्ने उमेरमा उनी धागो चुटिएको चंगाझैं कता पुगिन् कता । त्यसैले पनि उनको बुझाइ थियो– थारू भनेकै अरूका लागि दासको रुपमा जन्मिएका हुन् । ‘मैले आफ्नो समुदायलाई नियाल्ने मौका नै पाइनँ । हाम्रो समाजमा मान्छेले यस्तो भाष्य बनाइदिए कि तिमीहरूले पढेर, लेखेर, समाज बुझ्यौ भने के पाउँछौ ? खुरुखुरु काम गर ।’
१२ वर्षपछिको आजादी
दुलहीसँगै उनलाई ल्याइएको रहेछ, काठमाडौंको सामाखुसी । त्यहाँ करिब ७ वर्ष बिताएर ललितपुरको जावलाखेल पठाइयो, जहाँ ती दुलहीकी फुपूको घर थियो । त्यहाँ उनले थप ५ वर्ष बिताइन् ।
यसरी उनी १२ वर्षसम्म घरपरिवारका सदस्यसँग पूर्ण रूपमा सम्पर्कविहीन भइन् । अभिभावकले त स्थानीय एफएमबाट प्रसारण गराए- उर्मिला हराएको सूचना !
एकदिन साँझपख उर्मिला तिनै फुपूको शरीरमा तेल लगाइदिएर मालिस गरिरहेकी थिइन् । २०६२/६३ को जनआन्दोलनपछिको समय । उनले टीभीमा देखिन् ‘मुक्त कमलरी’सम्बन्धी समाचार । कमैया प्रथाविरुद्ध कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङलगायत जिल्लाका थारूहरू काठमाडौंको तीनकुनेमा आएर प्रदर्शन गरिरहेका थिए । लुकीछिपी टीभीमा नजर लगाएकै बेला उनले बर्को ओढेका आफ्नै दाजुलाई देखिन् । रसाएका आँखा टीभीको स्क्रिनबाट हट्दै हटेन ।
दाजुलाई देखेपछि उनलाई नभेटी उर्मिलाको मनले कहाँ मान्थ्यो र ! उनले बन्धनबाट मुक्त हुने अनेकौं उपाय सोच्न थालिन् । दाजुलाई जसरी पनि भेट्ने ढिपी कसिन् तर ‘मालिक्नी’ले उनको कुराको प्रतिकार गरिन् ।
दाजुलाई भेट्न नदिए घरभित्रै आत्महत्या गर्ने धम्की दिइन् । त्यसपछि एक दिन निजी गाडीमा राखेर ड्राइभरले उनलाई तीनकुने पुर्याइदिए ।
एक ‘जुग’पछि दाजुलाई भेट्न पाउँदा उर्मिला बेस्सरी भक्कानिइन्, दाजु नि:शब्द बने । उनले दाजुको फोन नम्बर मागिन्, तर उनीसँग थिएन । गाउँका सचिवको फोन नम्बर लेखेर दिए । उर्मिलालाई फेरि जावलाखेल फर्काइयो । पछि उनले लुकीछिपी सम्पर्क गरिन् । त्यसको केही दिनमै दाजु लिन आइपुगे ।
अब दाजुसँगै दाङ फर्किने उनले योजना बनाइसकेकी थिइन् । वर्षौंदेखि बन्धक भएर बाँचेको जीवनको नमिठो अध्याय जावलाखेलको यही घरमा छाड्न चाहन्थिन् । अन्याय, अत्याचार, दमनबाट उनी मुक्ति चाहिरहेकी थिइन् । उनमा चेतना बढिसकेकाले यो बन्धन तोड्ने आँट पलाइसकेको थियो ।
घरबेटीलाई फेरि फर्केर आउँछु भनेर हिँडेकी उर्मिलाका लागि त्यही दिन 'स्वतन्त्रता दिवस'जस्तै बन्यो । आजादीको त्यो दिन थियो– २०६३ माघ १ गते ।
उर्मिलाले मुक्तिपछि बल्ल ढिकरी र खरिया खान पाइन् । परिवारसँगै माघ मनाउन पाइन् । थारूहरूको नयाँ वर्ष माघको अवसरमा कमलरी पठाउने र अर्को वर्षका लागि नवीकरण गर्ने चलनजस्तै थियो । सामान्यतया जग्गा जोतभोग एक वर्षका लागि हुने भएकाले कमलरी पनि एक वर्षकै लागि भनेर पठाइएका हुन्थे । त्यही जमिनदारको जग्गा नपाइने भएमा अर्को जमिनदारलाई छोरी दिएर जग्गा लिनुपर्थ्यो । यो कुराको छिनोफानो माघ पर्वमा गर्ने गरिन्थ्यो ।
शोषणको चक्र
जब कमलरी प्रथा थारू समुदायभित्र सीमित थियो, त्यसबेला थारूहरूको घरमा सबैसँग समान व्यवहार गरिन्थ्यो। परिवारका छोरी जमिनदारको घरमा जान्थे । केही न केही काम सिक्नकै लागि । दिनभरि मेहनत गर्थे, साँझ त्यहीँ खाना खाँथे, मालिकहरूले जस्तै । एउटै थालमा भात खान्थे, एउटै बेर्रीमा बस्थे । माड छ भने माड नै, नुन-खुर्सानी छ भने नुन-खुर्सानीसँगै खान्थे । जाँड छ भने जाँड नै पिइन्थ्यो । साँझ आफ्नो घर फर्केर सुत्ने चलन थियो ।
जब सहरीकरण सुरु भयो, कमलरी प्रथा पनि विस्तार भएर सहरसम्म पुग्यो । गाउँबाट सहर लाने क्रमले त्यो परम्परा अब शोषणमा बदलिन थाल्यो । थारू छोरीहरूलाई वर्षमा दुई जोर पुराना कपडाको भरमा लान थालियो । ‘माघको चिसोमा उनका बाआमालाई काम दिने मालिकहरूले आफूले लगाइसकेका पुराना लुगा पठाउँथे,' उर्मिला सुनाउँछिन्, 'यस्ता घटना आफ्नै गाउँमा देखेर हुर्किएँ । एकैचोटि ८–९ जना कमलरी फर्किन्थे । म हेर्न जान्थेँ के लिएर आए भनेर ।’
शोषण यहीँसम्म मात्रै सीमित रहेन । ‘अँधिया’ र ‘बटैया’ प्रणाली आयो । अँधियामा तीन भाग जमिनदार एक भाग अढेरवा (अँधियामा जमिनदारको बाली लगाउने) लाई हुन्थ्यो । त्यसले खानै पुग्दैनथ्यो । यसरी छोरीलाई कमलरी पठाउन थारूहरूलाई बाध्य बनाइन्थ्यो ।
जमिनदार भन्थे, ‘म तिमीलाई जग्गा दिन्छु, तर तिमीले आफ्नो छोरी मेरो घरमा कमलरी पठाउनुपर्छ ।’ ऋण चुक्ता गरेको छैन भनेर पनि छोरी पठाउन बाध्य बनाउँथे । ‘पाँच हजार माग्यो भने त्यो ५० हजारमा परिणत हुन्थ्यो । अनि पुस्तौंपुस्तासम्म कमलरी बस्दा पनि पाँच हजारको ऋण सकिँदैनथ्यो । शोषणको यो चक्र अन्त्य नै हुँदैनथ्यो,’ उर्मिलाले गम्भीर कुरा सुनाइन् ।
उनलाई याद छ, पहिले कोही कमैया, कमलरी बस्दा गाउँमा ‘छेउँटि’ (जग्गा) दिने चलन थियो । उनको बुवा कमैया बस्दा उनले पनि ‘छेउँटि’ पाएका थिए । तिम्रा बालबच्चा छन्, तिमीलाई डिहुवा (बारी) दिन्छौं भन्थे । त्यही डिहुवालाई थारू भाषामा छेउँटि भन्छन् । त्यो छेउँटिमा आफूखुसी जे रोपे पनि हुन्छ भन्थे । ‘सरकारी कर्मचारीलाई भने काम गरेबापत त्यतिबेला पूरै जग्गा दिइन्थ्यो,’ उनले विगत खोतलिन् ।
कमलरीका लागि जमिनदारहरू सानो उमेरका बालबालिका मात्र रोज्थे । हुर्किंदै जाँदा सायद चेत आउँछ भन्ठानेर होला अभिभावकलाई भन्थे, 'तेरो छोरी ठूलो भई, घर लैजा र बिहे गर्दे । अर्को छोरी पठाइदे ।' त्यही चक्र आफूमा पनि लागू भएको भन्छिन्, उर्मिला, 'मेरी दिदी पहिले कमलरी बसिन् । पछि म बस्नुपर्यो । तर पनि घरको ऋण सकिएन ।’
मालिकको घरमा कतिपय कमलरी यौन शोषणमा परे, कति गर्भवती भए, कति बेपत्ता बनाइए त कतिको यौन शोषणको अपराध लुकाउन हत्या नै भयो । मालिकले कमलरीलाई बलात्कार गरेर पंखामा झुन्ड्याएको घटना सम्झिदा उनको आङ नै सिरिङ्ग हुन्छ । उनी आफै घटनास्थलसम्म पुगेकी थिइन् । लमहीमा यसरी नै दुई कमलरी बालिकाले मृत्युवरण गरे । ‘कति कुमारी आमा भए । अझै यसमा उचित छानबिन भएकै छैन । कतिपय कमलरीलाई काम गर्ने ठाउँबाटै बेपत्ता पारिएको छ,’ उर्मिला भन्छिन् ।
मुक्त कमलरी विकास मञ्चका अनुसार पश्चिम तराईका कैलालीमा १२, बाँकेमा ६, दाङमा ५ र बर्दियामा ४ गरी २७ कमलरी बेपत्ता छन् ।
मुक्ति आन्दोलन
राप्ती नदीमा पुल बनिसकेको थियो । उर्मिला मुक्ति आन्दोलनको नारा घन्काउँदै लमही र घोराहीसम्म पुग्थिन् । उनी लेखपढ गर्न जान्दैन थिइन् तर पम्प्लेटमा लेखेको नारा अरूले पढेर सुनाउँथे । उनी त्यही याद गर्थिन् । उनको यो सक्रियताले धेरैको ध्यान खिच्थ्यो ।
उर्मिलालाई पछि पढ्ने रहर पलायो । १७ वर्षको उमेरमा विद्यालय भर्ना भइन् । कक्षामा उनी सबभन्दा ठूली भएकाले सुरुसुरुमा उनलाई देखेर शिक्षिका भनेर झुक्किन्थे । स्कुल गएको देखेर गाउँमा उनलाई धेरैले जिस्क्याए पन । तर वास्ता राखिनन् । बरु विद्यालयका हरेक गतिविधिमा भाग लिन थालिन् ।
नेतृत्वको खुबी भएकाले विस्तारै ‘ग्रुप लिडर’ बनिन् । २०६५ मा चुनाव नै लडेर मुक्त कमलरी विकास मञ्चकी जिल्ला अध्यक्ष चुनिइन् । मुक्ति आन्दोलन क्रममा सडक नाटक देखाइन् । कमलरी बस्दा आफ्नै मातृभाषा बिर्सिसकेको भएर बिस्तारै थारू भाषा पनि सिकिन् । सडक नाटक देखाएर, बसमा छापा मारेर कमलरीको उद्धार गरेको उनी अझै सम्झिन्छिन् ।
'आन्दोलनमा हुँदाखेरि लाग्थ्यो- म एउटा जन्जिरमा छु । कमलरी बसेको घरबाट मुक्त त भइसकेँ तर दिमागबाट अझै मुक्त भएको छैन,' उर्मिला भन्छिन्, 'मभन्दा साना बहिनीहरु दाङदेखि कैलालीसम्म कमलरी छन् । मेरो एउटा आवाज परिवर्तनका लागि थोरै झिल्को बन्छ भने किन आन्दोलन नगर्ने भनेरै म अघि बढिरहेँ ।’
आन्दोलनका क्रममा उनका साथीहरु कोही आज वन जानुछ, मकै टिप्नुछ, बियाड लगाउनुछ, घर पोत्नुछ भनेर टारिदिन्थे । तर उनले घरको व्यवस्थापान मिलाएर आन्दोलनलाई निरन्तरता दिइरहिन् । उनलाई लाग्थ्यो- यही बेला आन्दोलन गरेनौं भने यो शोषण परम्परागत रुपले चलिरहनेछ ।
त्यतिबेला डाक्टर, मास्टर, वकिल सबैको घरमा कमलरी हुन्थे । कसैको घरमा तीनवटा समेत रहेको उनको सम्झना छ । 'आन्दोलनका क्रममा हामी सीडीओ कार्यलय जाँदा खुब झगडा पर्थ्यो । उनीहरु भन्थे- खानलाउने दिएकै छ त तिमीहरुलाई केको टाउको दुखाइ ?’ उनले सुनाइन् ।
‘कमलरी मुक्तिको आन्दोलन ठूलो थियो तर जातीय आन्दोलन भनेर त्यति हाइलाइट भएन । जति इतिहास रचिनुपर्ने थियो रचिएन । तर आन्दोलनपछि राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय मुद्दा बन्यो,' उनी लामो सुस्केरा तान्दै भन्छिन्, 'मानव अधिकार हनन हुँदा नेपाल सरकार के हेर्दै छ भनेर अन्तर्राष्ट्रिय रुपले नै रिकग्नाइज भयो । तर यहाँका अधिकारकर्मीहरुले भने केही बोलेनन् ।’
२०७० मा सिंहदरबारअगाडि कमलरी आन्दोलन भयो । उनीहरुको माग थियो- जो कमलरी मारिए, अपराधीहरुलाई पर्दाफास गर । कमलरीलाई शिक्षा देऊ । बेपत्ताहरुको खोजी गर । कमलरी नराख भन्दाभन्दै पनि पाटनको चाकुपाटमा एउटा कमलरीलाई जलाएर मारेको घटना उनी कहिल्यै बिर्सन सक्दिनन् । 'त्यो घटना लुकाउन कमलरी बालिका आफै जलेको भनियो । छानबिनका लागि एक हप्ता जावालाखेलमा प्रहरी-प्रशासनको चक्कर लगाएँ तर उजुरी लेखिएन,' उनी भन्छिन् ।
उनी मुक्ति आन्दोलनको लडाइँमा कहाँ पुगिनन् ? रत्नपार्कको शान्तिवाटिकामा पाल ओछ्याएर बसिन् । पशुपतिको धर्मशाला थियो आश्रय । पाँच दिनसम्म उनी आन्दोलनको यो भेलमा मिसिएकी थिइन् । सरकारले आवाज सुनिरहेको छैन भनेर सिटी आन्दोलन पनि भयो । 'त्यति बेला खुब पानी बर्सियो तर पनि हामीले आन्दोलन गर्न छाडेनौं,' उनी जोसिलो सुनिइन्, 'जति पनि सयौं कमलरी थियौं, सबैले सिंहदरबारको अगाडि गएर सिटी फुक्यौं । यति गर्दा पनि केही सुनुवाइ भएन ।’
उर्मिला र उनका साथीहरुले हिम्मत हारेनन् । सिंहदरबारभित्र जान प्रयास मात्र गरेका थिए, उनीहरुमाथि प्रहरीका लाठी र बुट बर्सिन थाले । ‘गोडामा लाठी प्रहार गरे । बुटले हिर्काए । धेरै साथीको हातको हड्डी पनि भाँचियो । युट्युबमा भिडियो पनि छ । अहिले हेर्दा कुनै साउथ इन्डियन फिल्मको दृश्यजस्तै लाग्छ,' उनी त्यो संघर्षको बयान गर्छिन्, 'मेरो त सुम्ला नै उठेको थियो । महिला प्रहरी भएको भए यति धेरै कुट्दैनथे होला । पुरुष प्रहरी थिए । आन्दोलन गर्ने सबै महिला ।’
तितरबितर भएपछि घाइतेहरुलाई अस्पताल लगियो । 'मलाई सुरुमै आक्रमण गरे । लिडर उर्मिला भनेर मेरो फोन नै ट्याप भएको थियो । मलाई सीताराम चौधरी दाइले बोकेर अस्पताल पुर्याउनु भयो । उहाँ यो आन्दोलनको प्रत्यक्षदर्शी हुनुहुन्छ । बोकेको मान्छेलाई धरि छोडेनन् । म बेहोस हुँदासम्म पनि पिटिरहे,’ उनी सुनाउँछिन् ।
उर्मिला : अ फ्रिडम फाइटर
२०७० असार १३ गते सरकारले कमलरी मुक्तिको घोषणा गर्यो । कमलरी मुक्त भएपछि गाउँकै एक इँटाभट्टामा काम गरिरहेको फोटोसहित नर्वेको एक पत्रिकामा उर्मिलाको प्रोफाइल छापिएको थियो । त्यसपछि धेरै विदेशीको उनीप्रति चासो बढ्यो । उनलाई विदेशीहरू घरमै आएर भेट्न थाले । अनि जर्मनीकी सुसन ग्लुथले उर्मिलालाई मुख्य पात्र बनाएर ‘माई मेमोरी इज माई पावर’ नामको डकुमेन्ट्री नै बनाइन् । ग्लुथले उर्मिलाको यात्रा, संघर्षलाई जस्ताको तस्तै चित्रण गरेकी छिन् । उर्मिला भन्छिन्, ‘पास्ट इज माई स्ट्रेन्थ । यो डकुमेन्ट्री हेर्न गाउँबाट मेरो बुवाआमा पनि आउनुभएको थियो ।’
डकुमेन्ट्रीले सन् २०१७ मा काठमाडौंमा आयोजित किम्फ फिल्म फेस्टिभलमा पहिलो पुरस्कार जित्यो । नेपाल–अमेरिका इन्टरनेसनल फिल्म फेस्टिभलमा पनि उत्कृष्ट डकुमेन्ट्रीको पुरस्कार पायो । लन्डन, जर्मनी र पोल्यान्डमा पनि यसले विभिन्न पुरस्कार प्राप्त गरेको छ ।
उर्मिलामाथि बनेका डकुमेन्ट्रीले मात्रै होइन, उर्मिला स्वयंले विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेकी छिन् । उनका बारेमा जर्मन भाषामा पुस्तक प्रकाशित छ । उनी पुस्तक विमोचन गर्न सन् २०११ मा जर्मनी पुगिन् । त्यही पुस्तकबाट प्राप्त ५० हजार रुपैयाँ मुक्त कमलरी विकास मञ्चलाई दिइन् ।
सन् २०११ मै नर्वेमा भएको भएको ४५ देश सहभागी कार्यक्रममा उनले नेपालको प्रतिनिधित्व गरी कमलरी प्रथासम्बन्धी भाषण गर्ने अवसर पाइन् । सन् २०१२ मा अमेरिकाको टाइट फाउन्डेसनले ‘वुमेन ह्याभ टु विङ्स अवार्ड’ ले उनलाई सम्मान गर्यो । पुरस्कारमा पाएको १० लाख रुपैयाँलाई उनले मञ्चमा छुट्टै कोष बनाएर कमलरी सशक्तीकरणका लागि लगानी गरेकी छन् । सन् २०१२ मा नै अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा उनी ‘ग्लोबल गर्ल एम्बासडर’ भएर अमेरिकाको न्युयोर्क जाने अवसर पाइन्, जसमा उनले नेपाली बालिकाको अवस्थाबारे भाषण गरिन् ।
सन् २०१३ मा बेलायत सरकारले प्रदान गर्ने ‘ग्लोबल युथ करेज फर एजुकेसन अवार्ड’ बाट सम्मानित भइन् । सन् २०१६ मा जर्मनीबाट ‘ह्युमन राइट अवार्ड’ र ‘फ्रिडम फाइटर अवार्ड’ प्राप्त गरिन् । सन् २०१८ मा नेदरल्यान्ड्सको रुसबेल फाउन्डेसनबाट ‘फ्रिडम फ्रम फेयर अवार्ड’ प्राप्त गरिन् । उनलाई यो पुरस्कार नेदरल्यान्ड्का पूर्वराजा विलियम एलेक्जेन्डर र रानी बिट्रिक्सले प्रदान गरेका थिए ।
उनी दाङको घोराहीस्थित त्रिभुवननगर जेसिजबाट ‘युथ करेज अवार्ड २०७१’ बाट सम्मानित भइन् ।
अमेरिकी सरकारले उनलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पियन अवार्ड २०२४’ बाट सम्मान गर्यो । अमेरिकामा आयोजित विशेष समारोहमा अमेरिकाका तत्कालीन विदेशमन्त्री एन्टोनी ब्लिंकनले अवार्ड हस्तान्तरण गरेका थिए । विश्वका ६ जनाले पाएको उक्त पुरस्कार पाउने एसियाकै एक मात्र व्यक्तिमा उर्मिला परिन् ।
नेपालमा मुक्त कमलरीको अधिकार प्राप्तिमा नेतृत्व गरेबापत उनलाई यो पुरस्कार दिइएको हो । उनका बुवाले अस्पतालमै अन्तर्राष्ट्रिय पुरस्कार पाउन लागेको खबरसम्म पाए तर पुरस्कार पाएपछि उर्मिलाले बुवासँग खुसी साट्न भने पाइनन् । उनले गत भदौ १७ गते बुवा फूलपतलाई गुमाइन् ।
उनी हालै अनलाइनखबरको ५० प्रभावशाली महिलाको सूचीमा पनि पर्न सफल भएकी छन् । यस्ता अवार्ड र पुरस्कारबाट पाउने आर्थिक सहयोगको निश्चित रकम मुक्त कमलरीको क्षेत्रमा नै सहयोग गर्दै आएको उर्मिला बताउँछिन् । 'यी पुरस्कारले विपन्न, सीमान्तकृत व्यक्ति तथा आफ्नो समुदायका बालबालिकाको सशक्तीकरणका लागि काम गर्न थप हौसला मिलेको छ,' उनी भन्छिन् ।
