न्युरोड पीपलबोट नजिकैको ‘सेन्टरप्वाइन्ट’ निकै नाम चलेको बर्गर हाउस थियो, बर्गरलाई काठमाडौंवासीमाझ परिचित गराउने श्रेय भने नाङ्लो रेस्टुरेन्टका सञ्चालक श्याम कक्षपतिलाई जान्छ
काठमाडौँ — काठमाडौं, महानगर बन्न हतारिएको हास्यास्पद, निरर्थक र बेतुक एउटा राजधानी सहर,’ वरिष्ठ संस्कृतिविद् कमलप्रकाश मल्लको निबन्ध ‘काठमान्डु योर काठमान्डु’ले यो सहरलाई यसरी नै प्रस्तुत गरेको छ ।
झन्डै आधा शताब्दीअघि मल्लले कोरेका अक्षरलाई पछ्याउँदा काठमाडौं अहिले साँच्चै एउटा निरर्थक महानगर बनेको छ ।
मल्लले काठमाडौंबारे निबन्ध लेख्दा गाँजा, चरेसको नशामा मस्त हिप्पीहरू सहरका गल्लीहरूमा यत्रतत्र भेटिन्थे । झोछें, बसन्तपुर क्षेत्र अखडा थिए हिप्पीहरूको । चरेस, गाँजा सर्वसुलभ पाइने हुँदा काठमाडौं स्वर्ग थियो उनीहरूका लागि । झोछें लामो समय पर्यटकहरूको आकर्षणको केन्द्र थियो । यहाँ स्थानीय नेवारी खाजाघरदेखि विदेशी स्वाद पस्किने रेस्टुरेन्टहरू पनि भेटिन्थे । त्यसो त गाँजा खाने चलन काठमाडौंको पुरानै हो । बूढापाकाहरू चिलिममा गाँजा भरेर धूवाँ उडाउँदै भजन गाउँथे । देवीदेवताको कीर्तनमा गाँजाको सर्कोले स्वर्गीय आनन्द दिन्थ्यो सायद ।
वरिष्ठ भारतीय कलाकार एवं चलचित्रकर्मी देवानन्दले यिनै हिप्पीहरूको आगमन देखेर काठमाडौं आएर सिनेमा नै बनाए ‘हरेराम हरेकृष्ण’ । गाँजा, चरेसमा मस्त हिप्पीहरूको संख्या बढेसँगै काठमाडौंमा पश्चिमा संगीतको पनि आगमन भयो । यससँगै अपराध पनि बढ्न थाल्यो । अपराध बढेपछि सरकारले गाँजा, चरेसमा प्रतिबन्ध लगायो । झोछेंले थामेको पर्यटनको बिँडो बिस्तारै थाबहितिर सर्यो । चाक्सीबारी छेउछाउबाट सुरु भएको थाबहिको पर्यटन विकास अहिले निकै विस्तारित भएको छ । ठमेलमा रूपान्तरित भएको थाबहि अझै पनि पर्यटकहरूको आकर्षणको केन्द्र कायमै छ । कस्मोपोलिटन बनेको काठमाडौंको सानलाई ठमेलले धानेको छ । विश्वभरिको स्वाद पस्किने रेस्टुरेन्ट, पब, क्लब र होटलहरू ठमेलका आकर्षण हुन् ।
थाबहि, झोछें पर्यटकका आकर्षणका केन्द्र थिए भने मासंगल्ली, असं, डल्लु, नक्साल, पकनाजोल आदि टोलहरू स्थानीयहरूका आकर्षणको केन्द्र । वः, बारा, चटामरी, छ्वय्ला, कचिला, आलुछ्वा, मुस्या, पालु... अनि अय्ला, थ्वा । यी खानपिनहरू सामान्यतया सबै खाजाघरहरूको कमन मेनु हुन्थे । उपत्यकाभित्रका धेरैजसो नेवारहरूको घरघरमै बन्थ्यो अय्ला (रक्सी), थ्वा (जाँड) । व्यावसायिक रूपमा अय्ला, थ्वा बनाउने र बेच्नेहरू निकै सीमित थिए । साय्मीको रक्सी भनेपछि हुरुक्कै हुन्थे पारखीहरू । निकै राम्रो मानिन्थ्यो उनीहरूको रक्सी ।
व्यवस्थित सडकहरू बनिनसकेको काठमाडौंमा बस्तीहरू छरिएका थिए । रानीपोखरी पश्चिम, विष्णुमती पूर्व सबैभन्दा ठूला बस्ती बसेका थिए । यो परिधिभन्दा बाहिर बागबजार, धोबीधारा, डिल्लीबजार, बत्तीसपुतली, कुरिया गाउँ, हाँडीगाउँ, मालीगाउँ, नक्साल आदि ठाउँहरूमा छरिएका बस्तीहरूलाई सहर बाहिर मानिन्थ्यो । ‘ध्वखाँ दुने, ध्वखाँ पिने’, सहरको परिधिभित्र र बाहिरका बस्तीलाई यसरी परिभाषित गरिन्थ्यो ।
पाटन सहरभन्दा बाहिर पर्दथ्यो सातदोबाटो क्षेत्र । त्यस समय सातदोबाटो पुगेर आएको भन्दा सहरभित्रका मानिसहरूले भट्टी पुगेर आएको भनेर बुझ्ने गरेको सम्झन्छन् वरिष्ठ संस्कृतिविद् हरिराम जोशी । थापाथलीको हाराँचाको खाजा अनि नक्सालको तुयुचाको आलु निकै प्रख्यात थियो भन्छन् जोशी । बाहिर खाने खासै चलन नभएकाले खाजा घरहरू निकै सीमित थिए । कृष्ण मन्दिर पछाडिको हृवनाचा निकै प्रख्यात थियो । लगभग एक शताब्दी पुरानो त्यो प्रख्याति अझै कायम राखेका छन् हृवनाचाका सन्तानले । हृवनाचाको आलु पिरो हुन्थ्यो, तुयुचाको अलिक कम पिरो । ‘पुतलीसडक, सिंहदरबार नजिकै नेवारी खाजाघर थियो, नत्र सिंहदरबारभित्रको सेनाको चमेना गृह सरकारी कर्मचारीहरूको एकमात्र विकल्प हुन्थ्यो,’ जोशी सम्झन्छन् । ‘परालमा पोलेको छ्वय्ला, त्यहि बुलु मी (परालको खरानी) मा पोलेको अन्डा, कहाँ पाउनु त्यस्तो स्वाद अहिले ?’ उमेरले नब्बे टेक्न आँटेका जोशी विगत तीस/पैंतीस वर्षमा काठमाडौंको समाज सांस्कृतिक रूपमा निकै परिवर्तित भएको महसुस गर्छन् ।
पारस होटल, कोरोनेसन होटल, रोयल होटलहरूले धानेको थियो काठमाडौं आउने पर्यटकहरूलाई त्यस समय । सोल्टी, क्रिस्टल, शंकर लगायतका होटलहरू बनेपछि ती होटलहरू बिस्तारै सुके । कालान्तरमा बन्द नै भए । नत्र भूगोलपार्क छेवैको पारस होटलमा रहेको रेस्टुरेन्ट राजनीतिक, बौद्धिक व्यक्तित्वहरूको भेटघाटको अखडा थियो । बिहान चिया भेट, राति चियर्स भेट हुन्थ्यो त्यहाँ । बागबजारस्थित कोरोनेसन होटल राजकीय पाहुनाहरूलाई सुविधा दिने एकमात्र होटल थियो । यसको भुइँतलामा रहेको कफीसप निकै नामचिन थियो ।
सामान्य मानिसहरूको घुइँचो लाग्ने खाजाघरहरू सहरका गल्लीहरूमा थुप्र्रै थिए । भट्टीको उपमा पाएका यस्ता खाजाघरहरू भेटिने गल्लीहरूमध्ये मासंगल्ली एक प्रख्यात गल्ली थियो । थुप्रै खाजाघरहरू थिए त्यहाँ । नारायण दाइको ममचा पसल तीमध्येको एक थियो । जो अहिले चेन रेस्टुरेन्ट बन्ने होडमा छ । मासंगल्लीका भट्टीहरूमा पत्रकार, लेखक, संगीतकार, गायक, कवि, कलाकार एवं अन्य विभिन्न विधाका मानिसहरू दैनिक भेटिन्थे । त्यहाँ कति कविका कविता फुरे, कति संगीतकारका संगीत, कति लेखकका निबन्ध त्यसको लेखाजोखा इतिहासले मूल्यांकन गरिनै रहेको छ ।
मासंगल्लीका खाजा पसलहरू जति प्रख्यात थिए त्यति नै प्रख्यात थियो असंको गोपालदाइको पसल र ज्याठाको खाजाघर । ‘ज्याठामा नानीमैया बस्ने चोक अघिल्तिरको छ्वय्ला पसल भनेपछि नचिन्ने को होला ?’ भन्छन् कपिल महर्जन, ‘को आउँदैनथ्यो म कहाँ ? पत्रकार, गायक, मास्टर, लेखक, नेता... सबै ।’ रञ्जनाको आरसी मोमो, नःघको बुद्धि साहुको खाजाघर, इन्द्रचोकको गुच्चा मोमो, बसन्तपुर ग्वाछिम्ब गल्लीका भट्टीहरू चार/पाँच दशकअघि काठमाडौंमा संघर्ष गरिरहेका विभिन्न विधाका व्यक्तित्वहरू सबैसँग लगभग यी खाजाघरहरूका अनेक सम्झनाहरू होलान् । ‘नेपाल जाने’, ऊ बेला यसै भन्थे गाउँघरतिर । ‘नेपाल’ उपमा पाएको काठमाडौं खाल्डो सपना देख्नेहरूको सहर हो । देशभरिका युवायुवती विभिन्न सम्भावनाको सपना बोकेर काठमाडौं खाल्डो पस्थे अनि यहाँको भीडमा हराउँथे । यो क्रम अझै जारी नै छ ।
जसोजसो काठमाडौंको जनसंख्या बढ्दै गयो खाजाघरहरू पनि बढ्दै गए । खाजाघर बढेसँगै त्यहाँ पाइने रैथाने खानामा पनि परिवर्तन आउन थाल्यो । ०३० को दशकमा मद्रासबाट आएका एक व्यवसायीले जुद्धसडक, पीपलबोट नजिकै कफीसप खोले । उनी कफीका दाना पिसेर कफी बनाउँथे । कफीका दानाबाट बनेको कफीको स्वाद उनैले चखाएका थिए काठमाडौंवासीलाई । बैंग्लोर कफी हाउस । निकै चर्चित थियो कफी हाउस त्यस समय । पछि यो नयाँसडकबाट तीनधारा नजिकै सर्यो । यो कफी हाउस अहिले अस्तित्वमा छैन । विन्स कफीलाई नेपाली समाजमा व्यापकता दिने श्रेय हिमालयन जाभा कफी हाउसलाई जान्छ । सन् १९९९ मा स्थापना भएको यो कफी हाउस अहिले एउटा ब्रान्ड बनिसकेको छ । कफीका विभिन्न ब्रान्ड बनाएर बेच्नेहरूको घुइँचो छ अहिले कफी बजारमा ।
केही नवीन सोच बोकेका युवाले सन् ७० को दशकमा रत्नपार्कमा पार्क रेस्टुरेन्ट र नाङ्लो रेस्टुरेन्ट खोले । नाङ्लो रेस्टुरेन्टका सञ्चालक थिए श्याम कक्षपति । भट्टी र ससाना खाजाघरभन्दा पृथक् यी रेस्टुरेन्टले काठमाडौंको रेस्टुरेन्ट कल्चरमा व्यापक परिवर्तन ल्याइदियो । विभिन्न पप ब्यान्डहरूले प्रस्तुति दिने यी रेस्टुरेन्टले काठमाडौंका युवाहरूमा पप गीत संगीतप्रति आकर्षण बढायो । अहिले गणेशमानको सालिक रहेको शान्तिवाटिका क्षेत्रमा त्यस समय पेट्रोल पम्प र साझाको कार्यालय रहेको भवन थियो । त्यससँगै प्रहरी कार्यालय रहेको ठाउँमा थियो बागमती अञ्चलाधीश कार्यालय । पार्क रेस्टुरेन्टकै लहरमा थियो पार्क आर्ट ग्यालरी । रामानन्द जोशीले सञ्चालन गरेको यो आर्ट ग्यालरीमा आर्ट अध्ययन र अध्यापन पनि हुने गरेको सम्झन्छन् वरिष्ठ कलाकार कान्छाकुमार कर्माचार्य । त्यसै लहरमा थियो श्याम चित्रकारले सञ्चालन गरेको फोटो स्टुडियो । पार्क रेस्टुरेन्ट कता पुग्यो थाहा भएन तर श्यामसुन्दर कक्षपतिले नाङ्लो रेस्टुरेन्टलाई विस्तार गरेर ब्रान्ड बनाए । रत्नपार्कबाट दरबारमार्ग सरेको नाङ्लो अहिले ‘साम्स वन ट्रि’को नामले सञ्चालनमा रहेको छ ।
०४० को दशकमा काठमाडौंमा खाजाघरहरूको संख्या ह्वात्तै बढ्यो । त्यस समय खाजाघरका रूपमा मोमो पसलको संख्यामा व्यापक वृद्धि भयो । महाबौद्ध, रञ्जना, कमलाक्षी र बौद्ध क्षेत्रमा मोमो खान पालो कुरेर बस्नु पर्दथ्यो । यही समय बर्गरले पनि काठमाडौंको बजारमा स्थापित हुन पाइला चालेको थियो । न्युरोड पीपलबोट नजिकैको सेन्टरप्वाइन्ट निकै नाम चलेको बर्गर हाउस थियो । बर्गरलाई काठमाडौंवासीमाझ परिचित गराउने श्रेय भने नाङ्लो रेस्टुरेन्टका सञ्चालक श्याम कक्षपतिलाई जान्छ ।
इटालियन नागरिक अन्नामारिया फर्जिओनीलाई काठमाडौंवासीलाई पिज्जाको स्वाद पस्किने श्रेय जान्छ । फर्जिओनीले स्थापना गरेको फायर एन्ड आइस रेस्टुरेन्टले भन्डै चार दशकदेखि विभिन्न स्वादका उत्कृष्ट पिज्जा नेपालीहरूमाझ पस्किरहेको छ । पिज्जाको व्यापकता यति बढेको छ कि काठमाडौं लगायतका थुप्रै सहरमा पिज्जा सजिलै पाइन्छ । स्विस सरकारको सहयोगमा सन् १९५३ मा कियान्जिन गोम्पा, लाङटाङमा चिज प्रशोधन केन्द्र स्थापना भए पनि चिजको स्वादले नेपाली समाजमा व्यापकता पाएको थिएन । उच्च हिमाली भेगका किसानको आय वृद्धि गर्न मद्दत गरेको चिज उत्पादनले सामान्य नेपालीको जिब्रोसम्म पुग्न भने निकै समय लगायो । अहिले नेपाली बजारमा याक चिजबाहेक बाख्राको चिज पनि उत्पादन हुन थालेको छ ।
०४६ को जनआन्दोलनपछि देशमा आएको राजनीतिक परिवर्तनसँगै मानिसहरूले खुलापनको महसुस गरे । यो खुलापनसँगै डान्स रेस्टुरेन्ट, गजल रेस्टुरेन्ट, पब, क्लब र डिस्कोथेक कल्चरले काठमाडौंको अँध्यारो रात्री जीवनलाई रंगीन बनाइदियो । युवायुवतीहरूको आकर्षण यतातिर बढ्दै जान थाल्यो । रात्री जीवनको मनोरञ्जनसँगै भित्रियो विसंगति र विकृति, झैझगडा र देहव्यापार । प्रशासनसँग लुकामारी गर्दै मनोरञ्जनको यो क्षेत्र निरन्तर चलिरहेकै छ । सम्पदा र संस्कृतिको धनी, आफ्नै पहिचान, वेशभूषा, भाषा, परिकार बोकेको काठमाडौंलाई बेतुक र निरर्थक बन्दै गएको आरोप लागे पनि यो सहर अझै जीवन्त छ । हरेक महिना आउने कुनै न कुनै जात्रा पर्वले सहरलाई जीवन्त राख्दछ । यी जात्रापर्व मनाउन काठमाडौंका नेवार समुदाय धिमे र भुस्या बजाउँछ, नाचगान गर्छ, देवीदेवतालाई नचाउँछ र अन्तमा भोज खान्छ । झन्डै अठार प्रकारका भोज छन् नेवार समुदायमा । कुनै कुनै विशेष भोजमा मासुका चालीस परिकारसम्म बन्ने गर्दछ ।
काठमाडौंमा उहिले उहिले भोज पकाउन, खुवाउन समुदाय नै एकजुट हुन्थे । सुथानिसें । आफन्तलाई काममा सघाउन बिहानैदेखि आउने निम्तो दिइन्थ्यो । आजभोलि काठमाडौंको भोजको स्वाद फेरिएको छ । रैथाने स्वादमा पार्टी प्यालेसका सेफको मसला छिरेको छ । साँघुरिँदै गएको सहरमा पहिले जस्तो भोज गर्ने खुला चौरहरू छैनन् अहिले । पार्टी प्यालेसहरू च्याउसरी उम्रिएका छन् । सहरमा पार्टी प्यालेसहरूमात्रै होइन, भोजन गृहहरू पनि उत्तिकै बढेका छन् । रैथाने स्वादमा रमाउने काठमाडौंवासी थकाली खानामा रमाउन थालेको छ । पिज्जा, बर्गर र सिज्लरमा रमाउन थालेको छ । सक्कली थकाली स्वाद विरलै भेटिन्छ यहाँ । तीव्र व्यावसायिकताको होडमा थकाली खानाको स्वाद मात्र होइन, काठमाडौंमा रैथाने नेवारी स्वाद पनि भेटाउन गाह्रो पर्न थालेको छ ।
