‘ह्याम’ र ‘हट डग’ चिन्दै गरेको काठमाडौं

न्युरोड पीपलबोट नजिकैको ‘सेन्टरप्वाइन्ट’ निकै नाम चलेको बर्गर हाउस थियो, बर्गरलाई काठमाडौंवासीमाझ परिचित गराउने श्रेय भने नाङ्लो रेस्टुरेन्टका सञ्चालक श्याम कक्षपतिलाई जान्छ

असार २१, २०८२

शिशिर वैद्य

Kathmandu that knows 'Ham' and 'Hot Dog'

काठमाडौँ — काठमाडौं, महानगर बन्न हतारिएको हास्यास्पद, निरर्थक र बेतुक एउटा राजधानी सहर,’ वरिष्ठ संस्कृतिविद् कमलप्रकाश मल्लको निबन्ध ‘काठमान्डु योर काठमान्डु’ले यो सहरलाई यसरी नै प्रस्तुत गरेको छ ।

झन्डै आधा शताब्दीअघि मल्लले कोरेका अक्षरलाई पछ्याउँदा काठमाडौं अहिले साँच्चै एउटा निरर्थक महानगर बनेको छ । 

मल्लले काठमाडौंबारे निबन्ध लेख्दा गाँजा, चरेसको नशामा मस्त हिप्पीहरू सहरका गल्लीहरूमा यत्रतत्र भेटिन्थे । झोछें, बसन्तपुर क्षेत्र अखडा थिए हिप्पीहरूको । चरेस, गाँजा सर्वसुलभ पाइने हुँदा काठमाडौं स्वर्ग थियो उनीहरूका लागि । झोछें लामो समय पर्यटकहरूको आकर्षणको केन्द्र थियो । यहाँ स्थानीय नेवारी खाजाघरदेखि विदेशी स्वाद पस्किने रेस्टुरेन्टहरू पनि भेटिन्थे । त्यसो त गाँजा खाने चलन काठमाडौंको पुरानै हो । बूढापाकाहरू चिलिममा गाँजा भरेर धूवाँ उडाउँदै भजन गाउँथे । देवीदेवताको कीर्तनमा गाँजाको सर्कोले स्वर्गीय आनन्द दिन्थ्यो सायद । 

वरिष्ठ भारतीय कलाकार एवं चलचित्रकर्मी देवानन्दले यिनै हिप्पीहरूको आगमन देखेर काठमाडौं आएर सिनेमा नै बनाए ‘हरेराम हरेकृष्ण’ । गाँजा, चरेसमा मस्त हिप्पीहरूको संख्या बढेसँगै काठमाडौंमा पश्चिमा संगीतको पनि आगमन भयो । यससँगै अपराध पनि बढ्न थाल्यो । अपराध बढेपछि सरकारले गाँजा, चरेसमा प्रतिबन्ध लगायो । झोछेंले थामेको पर्यटनको बिँडो बिस्तारै थाबहितिर सर्‍यो । चाक्सीबारी छेउछाउबाट सुरु भएको थाबहिको पर्यटन विकास अहिले निकै विस्तारित भएको छ । ठमेलमा रूपान्तरित भएको थाबहि अझै पनि पर्यटकहरूको आकर्षणको केन्द्र कायमै छ । कस्मोपोलिटन बनेको काठमाडौंको सानलाई ठमेलले धानेको छ । विश्वभरिको स्वाद पस्किने रेस्टुरेन्ट, पब, क्लब र होटलहरू ठमेलका आकर्षण हुन् ।

थाबहि, झोछें पर्यटकका आकर्षणका केन्द्र थिए भने मासंगल्ली, असं, डल्लु, नक्साल, पकनाजोल आदि टोलहरू स्थानीयहरूका आकर्षणको केन्द्र । वः, बारा, चटामरी, छ्वय्ला, कचिला, आलुछ्वा, मुस्या, पालु... अनि अय्ला, थ्वा । यी खानपिनहरू सामान्यतया सबै खाजाघरहरूको कमन मेनु हुन्थे । उपत्यकाभित्रका धेरैजसो नेवारहरूको घरघरमै बन्थ्यो अय्ला (रक्सी), थ्वा (जाँड) । व्यावसायिक रूपमा अय्ला, थ्वा बनाउने र बेच्नेहरू निकै सीमित थिए । साय्मीको रक्सी भनेपछि हुरुक्कै हुन्थे पारखीहरू । निकै राम्रो मानिन्थ्यो उनीहरूको रक्सी ।

व्यवस्थित सडकहरू बनिनसकेको काठमाडौंमा बस्तीहरू छरिएका थिए । रानीपोखरी पश्चिम, विष्णुमती पूर्व सबैभन्दा ठूला बस्ती बसेका थिए । यो परिधिभन्दा बाहिर बागबजार, धोबीधारा, डिल्लीबजार, बत्तीसपुतली, कुरिया गाउँ, हाँडीगाउँ, मालीगाउँ, नक्साल आदि ठाउँहरूमा छरिएका बस्तीहरूलाई सहर बाहिर मानिन्थ्यो । ‘ध्वखाँ दुने, ध्वखाँ पिने’, सहरको परिधिभित्र र बाहिरका बस्तीलाई यसरी परिभाषित गरिन्थ्यो । 

पाटन सहरभन्दा बाहिर पर्दथ्यो सातदोबाटो क्षेत्र । त्यस समय सातदोबाटो पुगेर आएको भन्दा सहरभित्रका मानिसहरूले भट्टी पुगेर आएको भनेर बुझ्ने गरेको सम्झन्छन् वरिष्ठ संस्कृतिविद् हरिराम जोशी । थापाथलीको हाराँचाको खाजा अनि नक्सालको तुयुचाको आलु निकै प्रख्यात थियो भन्छन् जोशी । बाहिर खाने खासै चलन नभएकाले खाजा घरहरू निकै सीमित थिए । कृष्ण मन्दिर पछाडिको हृवनाचा निकै प्रख्यात थियो । लगभग एक शताब्दी पुरानो त्यो प्रख्याति अझै कायम राखेका छन् हृवनाचाका सन्तानले । हृवनाचाको आलु पिरो हुन्थ्यो, तुयुचाको अलिक कम पिरो । ‘पुतलीसडक, सिंहदरबार नजिकै नेवारी खाजाघर थियो, नत्र सिंहदरबारभित्रको सेनाको चमेना गृह सरकारी कर्मचारीहरूको एकमात्र विकल्प हुन्थ्यो,’ जोशी सम्झन्छन् । ‘परालमा पोलेको छ्वय्ला, त्यहि बुलु मी (परालको खरानी) मा पोलेको अन्डा, कहाँ पाउनु त्यस्तो स्वाद अहिले ?’ उमेरले नब्बे टेक्न आँटेका जोशी विगत तीस/पैंतीस वर्षमा काठमाडौंको समाज सांस्कृतिक रूपमा निकै परिवर्तित भएको महसुस गर्छन् । 

पारस होटल, कोरोनेसन होटल, रोयल होटलहरूले धानेको थियो काठमाडौं आउने पर्यटकहरूलाई त्यस समय । सोल्टी, क्रिस्टल, शंकर लगायतका होटलहरू बनेपछि ती होटलहरू बिस्तारै सुके । कालान्तरमा बन्द नै भए । नत्र भूगोलपार्क छेवैको पारस होटलमा रहेको रेस्टुरेन्ट राजनीतिक, बौद्धिक व्यक्तित्वहरूको भेटघाटको अखडा थियो । बिहान चिया भेट, राति चियर्स भेट हुन्थ्यो त्यहाँ । बागबजारस्थित कोरोनेसन होटल राजकीय पाहुनाहरूलाई सुविधा दिने एकमात्र होटल थियो । यसको भुइँतलामा रहेको कफीसप निकै नामचिन थियो ।

सामान्य मानिसहरूको घुइँचो लाग्ने खाजाघरहरू सहरका गल्लीहरूमा थुप्र्रै थिए । भट्टीको उपमा पाएका यस्ता खाजाघरहरू भेटिने गल्लीहरूमध्ये मासंगल्ली एक प्रख्यात गल्ली थियो । थुप्रै खाजाघरहरू थिए त्यहाँ । नारायण दाइको ममचा पसल तीमध्येको एक थियो । जो अहिले चेन रेस्टुरेन्ट बन्ने होडमा छ । मासंगल्लीका भट्टीहरूमा पत्रकार, लेखक, संगीतकार, गायक, कवि, कलाकार एवं अन्य विभिन्न विधाका मानिसहरू दैनिक भेटिन्थे । त्यहाँ कति कविका कविता फुरे, कति संगीतकारका संगीत, कति लेखकका निबन्ध त्यसको लेखाजोखा इतिहासले मूल्यांकन गरिनै रहेको छ । 

मासंगल्लीका खाजा पसलहरू जति प्रख्यात थिए त्यति नै प्रख्यात थियो असंको गोपालदाइको पसल र ज्याठाको खाजाघर । ‘ज्याठामा नानीमैया बस्ने चोक अघिल्तिरको छ्वय्ला पसल भनेपछि नचिन्ने को होला ?’ भन्छन् कपिल महर्जन, ‘को आउँदैनथ्यो म कहाँ ? पत्रकार, गायक, मास्टर, लेखक, नेता... सबै ।’ रञ्जनाको आरसी मोमो, नःघको बुद्धि साहुको खाजाघर, इन्द्रचोकको गुच्चा मोमो, बसन्तपुर ग्वाछिम्ब गल्लीका भट्टीहरू चार/पाँच दशकअघि काठमाडौंमा संघर्ष गरिरहेका विभिन्न विधाका व्यक्तित्वहरू सबैसँग लगभग यी खाजाघरहरूका अनेक सम्झनाहरू होलान् । ‘नेपाल जाने’, ऊ बेला यसै भन्थे गाउँघरतिर । ‘नेपाल’ उपमा पाएको काठमाडौं खाल्डो सपना देख्नेहरूको सहर हो । देशभरिका युवायुवती विभिन्न सम्भावनाको सपना बोकेर काठमाडौं खाल्डो पस्थे अनि यहाँको भीडमा हराउँथे । यो क्रम अझै जारी नै छ । 

जसोजसो काठमाडौंको जनसंख्या बढ्दै गयो खाजाघरहरू पनि बढ्दै गए । खाजाघर बढेसँगै त्यहाँ पाइने रैथाने खानामा पनि परिवर्तन आउन थाल्यो । ०३० को दशकमा मद्रासबाट आएका एक व्यवसायीले जुद्धसडक, पीपलबोट नजिकै कफीसप खोले । उनी कफीका दाना पिसेर कफी बनाउँथे । कफीका दानाबाट बनेको कफीको स्वाद उनैले चखाएका थिए काठमाडौंवासीलाई । बैंग्लोर कफी हाउस । निकै चर्चित थियो कफी हाउस त्यस समय । पछि यो नयाँसडकबाट तीनधारा नजिकै सर्‍यो । यो कफी हाउस अहिले अस्तित्वमा छैन । विन्स कफीलाई नेपाली समाजमा व्यापकता दिने श्रेय हिमालयन जाभा कफी हाउसलाई जान्छ । सन् १९९९ मा स्थापना भएको यो कफी हाउस अहिले एउटा ब्रान्ड बनिसकेको छ । कफीका विभिन्न ब्रान्ड बनाएर बेच्नेहरूको घुइँचो छ अहिले कफी बजारमा । 

केही नवीन सोच बोकेका युवाले सन् ७० को दशकमा रत्नपार्कमा पार्क रेस्टुरेन्ट र नाङ्लो रेस्टुरेन्ट खोले । नाङ्लो रेस्टुरेन्टका सञ्चालक थिए श्याम कक्षपति । भट्टी र ससाना खाजाघरभन्दा पृथक् यी रेस्टुरेन्टले काठमाडौंको रेस्टुरेन्ट कल्चरमा व्यापक परिवर्तन ल्याइदियो । विभिन्न पप ब्यान्डहरूले प्रस्तुति दिने यी रेस्टुरेन्टले काठमाडौंका युवाहरूमा पप गीत संगीतप्रति आकर्षण बढायो । अहिले गणेशमानको सालिक रहेको शान्तिवाटिका क्षेत्रमा त्यस समय पेट्रोल पम्प र साझाको कार्यालय रहेको भवन थियो । त्यससँगै प्रहरी कार्यालय रहेको ठाउँमा थियो बागमती अञ्चलाधीश कार्यालय । पार्क रेस्टुरेन्टकै लहरमा थियो पार्क आर्ट ग्यालरी । रामानन्द जोशीले सञ्चालन गरेको यो आर्ट ग्यालरीमा आर्ट अध्ययन र अध्यापन पनि हुने गरेको सम्झन्छन् वरिष्ठ कलाकार कान्छाकुमार कर्माचार्य । त्यसै लहरमा थियो श्याम चित्रकारले सञ्चालन गरेको फोटो स्टुडियो । पार्क रेस्टुरेन्ट कता पुग्यो थाहा भएन तर श्यामसुन्दर कक्षपतिले नाङ्लो रेस्टुरेन्टलाई विस्तार गरेर ब्रान्ड बनाए । रत्नपार्कबाट दरबारमार्ग सरेको नाङ्लो अहिले ‘साम्स वन ट्रि’को नामले सञ्चालनमा रहेको छ । 

०४० को दशकमा काठमाडौंमा खाजाघरहरूको संख्या ह्वात्तै बढ्यो । त्यस समय खाजाघरका रूपमा मोमो पसलको संख्यामा व्यापक वृद्धि भयो । महाबौद्ध, रञ्जना, कमलाक्षी र बौद्ध क्षेत्रमा मोमो खान पालो कुरेर बस्नु पर्दथ्यो । यही समय बर्गरले पनि काठमाडौंको बजारमा स्थापित हुन पाइला चालेको थियो । न्युरोड पीपलबोट नजिकैको सेन्टरप्वाइन्ट निकै नाम चलेको बर्गर हाउस थियो । बर्गरलाई काठमाडौंवासीमाझ परिचित गराउने श्रेय भने नाङ्लो रेस्टुरेन्टका सञ्चालक श्याम कक्षपतिलाई जान्छ । 

इटालियन नागरिक अन्नामारिया फर्जिओनीलाई काठमाडौंवासीलाई पिज्जाको स्वाद पस्किने श्रेय जान्छ । फर्जिओनीले स्थापना गरेको फायर एन्ड आइस रेस्टुरेन्टले भन्डै चार दशकदेखि विभिन्न स्वादका उत्कृष्ट पिज्जा नेपालीहरूमाझ पस्किरहेको छ । पिज्जाको व्यापकता यति बढेको छ कि काठमाडौं लगायतका थुप्रै सहरमा पिज्जा सजिलै पाइन्छ । स्विस सरकारको सहयोगमा सन् १९५३ मा कियान्जिन गोम्पा, लाङटाङमा चिज प्रशोधन केन्द्र स्थापना भए पनि चिजको स्वादले नेपाली समाजमा व्यापकता पाएको थिएन । उच्च हिमाली भेगका किसानको आय वृद्धि गर्न मद्दत गरेको चिज उत्पादनले सामान्य नेपालीको जिब्रोसम्म पुग्न भने निकै समय लगायो । अहिले नेपाली बजारमा याक चिजबाहेक बाख्राको चिज पनि उत्पादन हुन थालेको छ ।

०४६ को जनआन्दोलनपछि देशमा आएको राजनीतिक परिवर्तनसँगै मानिसहरूले खुलापनको महसुस गरे । यो खुलापनसँगै डान्स रेस्टुरेन्ट, गजल रेस्टुरेन्ट, पब, क्लब र डिस्कोथेक कल्चरले काठमाडौंको अँध्यारो रात्री जीवनलाई रंगीन बनाइदियो । युवायुवतीहरूको आकर्षण यतातिर बढ्दै जान थाल्यो । रात्री जीवनको मनोरञ्जनसँगै भित्रियो विसंगति र विकृति, झैझगडा र देहव्यापार । प्रशासनसँग लुकामारी गर्दै मनोरञ्जनको यो क्षेत्र निरन्तर चलिरहेकै छ । सम्पदा र संस्कृतिको धनी, आफ्नै पहिचान, वेशभूषा, भाषा, परिकार बोकेको काठमाडौंलाई बेतुक र निरर्थक बन्दै गएको आरोप लागे पनि यो सहर अझै जीवन्त छ । हरेक महिना आउने कुनै न कुनै जात्रा पर्वले सहरलाई जीवन्त राख्दछ । यी जात्रापर्व मनाउन काठमाडौंका नेवार समुदाय धिमे र भुस्या बजाउँछ, नाचगान गर्छ, देवीदेवतालाई नचाउँछ र अन्तमा भोज खान्छ । झन्डै अठार प्रकारका भोज छन् नेवार समुदायमा । कुनै कुनै विशेष भोजमा मासुका चालीस परिकारसम्म बन्ने गर्दछ । 

काठमाडौंमा उहिले उहिले भोज पकाउन, खुवाउन समुदाय नै एकजुट हुन्थे । सुथानिसें । आफन्तलाई काममा सघाउन बिहानैदेखि आउने निम्तो दिइन्थ्यो । आजभोलि काठमाडौंको भोजको स्वाद फेरिएको छ । रैथाने स्वादमा पार्टी प्यालेसका सेफको मसला छिरेको छ । साँघुरिँदै गएको सहरमा पहिले जस्तो भोज गर्ने खुला चौरहरू छैनन् अहिले । पार्टी प्यालेसहरू च्याउसरी उम्रिएका छन् । सहरमा पार्टी प्यालेसहरूमात्रै होइन, भोजन गृहहरू पनि उत्तिकै बढेका छन् । रैथाने स्वादमा रमाउने काठमाडौंवासी थकाली खानामा रमाउन थालेको छ । पिज्जा, बर्गर र सिज्लरमा रमाउन थालेको छ । सक्कली थकाली स्वाद विरलै भेटिन्छ यहाँ । तीव्र व्यावसायिकताको होडमा थकाली खानाको स्वाद मात्र होइन, काठमाडौंमा रैथाने नेवारी स्वाद पनि भेटाउन गाह्रो पर्न थालेको छ ।

शिशिर वैद्य

Link copied successfully