पछिल्ला ४/५ दशकमा जे–जस्तो भए पनि अझै पुराना सहर केही हदसम्म जोगाउन सक्ने अवस्थामा छौं, निर्माण भइसकेका ढलान घरलाई नभत्काईकन पुरानै शैलीमा ढाल्न सकिन्छ
उपत्यकाभित्र सम्पदाहरू थिए भन्नुभन्दा पनि सिंगो काठमाडौं उपत्यका नै सम्पदास्थल थियो भन्नु उपयुक्त हुन्छ । उपत्यकाका तीन सहर नै सम्पदाले भरिएका थिए । टोनी हागन र इंगर लिसानोभिच (वोरिस लिसानोभिचकी श्रीमती) काठमाडौं आउँदा ‘यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो सम्पदा क्षेत्र हो’ भनेका थिए ।
उनीहरू पहिलो भ्रमणबाटै यो सहरको प्रेममा परेका थिए । किनकि त्यतिबेला काठमाडौं उपत्यकामा बस्ने सबैका घर विशिष्ट कलायुक्त थिए । यहाँका धारा, पाटीपौवा, मठ, मन्दिर र देवालय सबै सम्पदाका अंश थिए ।
सम्पदाले भरिएको उपत्यकामा जब सिमेन्ट भित्रियो तब यहाँ विनाश यात्रा सुरु भयो । यस्तो लाग्छ, विकासका नाममा पछिल्लो ५० वर्षमा हामीले यहाँका सम्पदाको ९० प्रतिशत विनाश गरिसक्यौं । हाम्रो सम्पदा क्षेत्रलाई जस्ताको तस्तै राखेको भए यो सहर भेनिस, रोम, फ्लोरेन्स र पेरिसजस्तै आकर्षणको केन्द्र हुने थियो । यहाँ पनि ती सहरमा जस्तै बर्सेनि ३ देखि ४ करोड पर्यटक भित्रिन्थे । तर हामीले मौका गुमायौं ।
भक्तपुरको सम्पदा क्षेत्रमै जन्मिएकाले पनि मैले यो सहरको सम्पदायुक्त वैभव र त्यसको विनाशको क्रमिक यात्राको साक्षी बन्न पुगें । मेरो बाल्यकाल र सुरुवाती किशोरकालमा भक्तपुर यस्तो थियो, दत्तात्रयदेखि नागपोखरीसम्मका कैंयन् चोक यस्ता थिए, जहाँ उभिएर ३६० डिग्री हेर्दा पनि मल्लकालीन शैलीका वास्तु, वैभव देखिन्थ्यो । यस्तै अवस्था थियो, पाटनका चोकहरूको पनि । पाटनको एउटा चोकबाट अर्को चोकमा जाँदा जता हेरे पनि मल्लकालीन कलायुक्त घरहरू मात्रै देखिन्थे ।
विगतमा काठमाडौं उपत्यका मल्लकालीन र राणाकालीन वास्तुशैलीका घरहरूले भरिएको थियो । यहाँ कम्तीमा एक सयदेखि पाँच सय वर्ष पुराना घरहरू थिए । इतिहास बोकेका घरहरू समयक्रममा मासिँदै गए । पढ्नका लागि भक्तपुरबाट काठमाडौं आउँदा म पुतलीसडकबाट डिल्लीबजार हुँदै मैतीदेवी पुग्दा पुराना घरहरू लहरै देख्थें । सोह्रखुट्टेबाट सामाखुसी जाने बाटोमा पनि कैंयन् परम्परागत घरहरू देखिन्थे । जबकि यी बाटोमा अहिले खोज्ने क्रममा ८–१० वटा मात्रै परम्परागत घरहरू भेटिन्छन् ।
अहिले त सम्पदा क्षेत्रमा जे भइरहेको छ, त्यो बताउनुअघि पनि लामो सास फेर्नुपर्छ । ढलान गरिएका घरहरूले ऐतिहासिक महत्त्वका चोक र गल्लीहरू छोपिन थालेका छन् ।
हाम्रो घरको मौलिकता के हो ? हाम्रो विशिष्ट सम्पदा के हो भन्ने प्रश्नकै उत्तर सहरहरूले दिन छाडिसकेका छन् । सम्पदामाथि धावा बोल्ने काम २०४६ पछि बढ्दै गयो । सहरीकरणका नाममा अन्धाधुन्द संरचनाहरू निर्माणको यस्तो होडबाजी चल्यो कि यसले सिंगो सहरको स्वरूपलाई कसरी बिगार्छ भनेर कसैले सोचेनन् । कतिसम्म भने काठमाडौं र पाटनका कैंयन् पाटी वडा कार्यालयमा बदलिए । कैंयन् सत्तल भागबन्डामा क्लबका अफिस बन्न थाले । सम्पदा क्षेत्र मासेर सटर बनाउने र कमाइ खाने होडबाजी चल्यो ।
यति हुँदाहुँदै पनि उपत्यकाका मन्दिर र दरबारहरू भने केही हदसम्म जोगिएका छन् । भूकम्पपछि मठमन्दिर र दरबारहरूको पुनर्निर्माण सबैको चासोमा पर्यो । हामीलाई सहर पुरानै स्वरूपमा चाहिएको छ । किनकि अहिले सिंगो विश्व नै उस्तै शैलीको देखिने डर भइसक्यो । हामी संसारका अरू सहरभन्दा फरक हौं र कुनै बेला सम्पन्न थियौं भनेर देखाउन हामीलाई अहिलेको संरचनाले साथ दिँदैन । २५ वर्षअघि मैले मल्लकालीन शैलीको पुरानो र जीर्ण घर ७ लाखमा किनें । थप १५ लाख खर्चेर त्यो घरको पुनर्निर्माण गरें । यही नमुना घर हेर्न अहिले वार्षिक सयौं देशी/विदेशी पर्यटक आउँछन् । एउटा घर हेर्न त यसरी पर्यटक आउँछन् भने सिंगो उपत्यकाको सम्पदा जोगाएको भए के हुन्थ्यो होला !
भत्केका वा मर्मतको खाँचो रहेका सम्पदाका पुराना सामान प्रयोग गरेर जीर्णोद्धार गर्ने हो भने मात्रै सम्पदाको पुराना इतिहास कायम रहन्छ । नत्र त ढलान गरेर वा आधुनिक निर्माण सामग्री प्रयोग गरेर पुरानो जस्तो देखिने संरचना बनाएर सम्पदाको संरक्षण हुँदैन । जति पुरानो घर वा सम्पदालाई पनि जीर्णोद्धार गर्न सकिन्छ भनेर बुझ्नैपर्छ । त्यसमा नगरपालिका वा पुरातत्त्व विभाग वा सम्पदाकर्मीले सहयोग गर्न सक्छन् ।
हामी अनौठो खाले विकासको यस्तो संघारमा छौं, अब पनि सच्चिएनौं भने २ वा ३ सय वर्ष पुराना घरहरू देख्न नयाँ पुस्ताले पाउने छैनन् । पछिल्ला चार/पाँच दशकमा जे–जे भए पनि हामी अझै पनि पुराना सहर केही हदसम्म जोगाउन सक्ने अवस्थामा भने छौं । निर्माण भइसकेका ढलान घरलाई नभत्काईकन पुरानै शैलीमा ढाल्न सकिन्छ । जस्तो कि, भक्तपुरको टोनी हागन हाउस । ढलान गरेको यो घरलाई हामीले पुरानो शैलीमा ढाल्यौं । मन्दिर र पाटीपौवा मात्रै हैन, घर पनि सम्पदामैत्री बनाउन सकिन्छ । यसो गर्न सकियो भने त हामीले बचेखुचेको साख फर्काउन सक्छौं । ९० प्रतिशत सम्पदा क्षेत्र स्वाहा हुँदा पनि उपत्यकामा ७ वटा सम्पदा क्षेत्र अझै छन् । यही हेर्न त अहिले संसारभरका पर्यटक यहाँ आउँछन् ।
