हामीले हरेक पटक फिल्म खेल्न अन्तर्वार्ता दिनुपर्थ्यो लाइन लागेर, फिल्मको सुटिङ बेला–बेला मात्रै हुन्थ्यो, सुटिङ उत्सव वा पर्वजस्तो लाग्थ्यो
वि.सं. २०२४ देखि २०८२ सम्मको ५८ वर्षे अवधिमा नीर शाहले ३०० फिल्म खेले, ८ वटा निर्देशन गरे । हीरासिंह खत्री निर्देशित ‘परिवर्तन’ बाट उनले फिल्म यात्रा थालेका थिए । पहिलो फिल्ममा उनको पारिश्रमिक ७ सय रुपैयाँ थियो । नेपाली फिल्मका सुप्रसिद्ध कलाकार/निर्देशक शाहसँग ६ दशकको नेपाली फिल्म यात्रामाथि दीपक सापकोटाको संवाद :
नेपाली फिल्मको ६० वर्षे यात्रामा अभिनयमा के परिवर्तन आयो ?
– विश्व सिनेमामा अभूतपूर्व परिवर्तन देखिएको छ । सिनेकर्मीहरू नाटक खेलेर आएका कलाकारमा सिनेमा खेलेका कलाकारको जस्तो गुण हुँदैन भन्थे । तर अंग्रेजी थिएटर अभिनयकर्मीको हलिउड प्रवेश भएपछि हलिउड सिनेमाको स्तरै कहाँ पुग्यो कहाँ ? भारतको कुरा गरौं, भारतीय सिनेमाका जन्मदाता दादासाहेब फाल्के आफैं स्टेज कलाकार हुन् । थिएटरका कलाकारले अभिनयको बेसिक व्याकरण बुझेका हुन्छन् । अभिनयको व्याकरण बुझेका मानिसको प्रवेश बिस्तारै बिस्तारै नेपाली चलचित्र क्षेत्रमा पनि बढ्दै गयो, त्यसले अभिनयको व्याकरणलाई पनि परिवर्तन गर्यो र अभिनय नै पुनर्भाषित भयो । र, अभिनयको परिभाषा नै बिस्तारै बदलियो । त्यसले अभिनयको ‘प्याटर्न’ बदलियो ।
पहिले ‘थिएटरका कलाकारले फिल्ममा कामै गर्नु हुन्न’ भन्ने मान्यता वा बुझाइ थियो । अहिले फिल्ममा थिएटरकै कलाकारको लस्कर छ । यो व्यापक परिवर्तनलाई कसरी हेर्नुभएको छ ?
– सुरुदेखि नै त्यही हुनुपर्थ्यो । म थिएटरबाटै आएको कलाकार हुँ । मसँगै थिएटरमा खेलेका अरू कलाकार साथीहरू अझै अभिनय गरिरहनुभएकै छ । ऊबेला महिला कलाकार खासै पाइँदैनथे । नृत्य गर्ने महिला, त्यसमाथि नाटक पनि गर्नेलाई फिल्ममा अलि बढी सुगम भयो, नभेटिने भएर । हामी हिरो भएर प्रवेश गर्न पाएनौं, त्यसका पछाडि थुप्रै कारण थिए होला । एउटा कारण चाहिँ हाम्रो पृष्ठभूमि नाटक भएकाले हुन सक्छ । हाम्रो ‘बिगिनिङ’ नै गलत छ फिल्मको । बिगिनिङ गलत भएकैले हाम्रो फिल्ममा भारतको बम्बैया शैली आयो । अहिले बनेका फिल्म हुन्, पहिला बनेका फिल्म होइनन्, ती फिल्म जस्ता मात्रै हुन् ।
तपाईंले खेलेका, बनाएका फिल्मलाई फिल्म नै होइनन् भन्न सक्नुहुन्छ ?
– मेरो फिल्मचाहिँ त्यतिन्जेलसम्म मात्रै राम्रा फिल्म हुन्, जब त्यहाँबाट बम्बैया सूत्र हटाइन्छ । बम्बैया शैलीबिना हलमा फिल्मै देखाइँदैनथ्यो । ‘वासुदेव’ फिल्म बनाउँदा मैले चाहेरै पनि धेरै कुरा त्यसमा प्रयोग गरेको थिइनँ । अहिलेको जस्तो अवस्था भए म धेरै कुरा राख्ने थिइनँ, जुन त्यस बेला राखेको थिएँ । नेपाली भाषामा बनेको पहिलो फिल्म ‘सत्य हरिश्चन्द’ नै हो, त्यसमा कुनै शंका छैन । त्यसले हामीलाई डोर्याएको सत्य हो । नेपालमा बनेको पहिलो फिल्म ‘आमा’ नै हो । ती फिल्म निश्चित उद्देश्यका लागि बनाइएका हुन् । नेपालमा ३ वटा फिल्म तत्कालीन सरकारले बनायो होला । तर, सरकारले नेपाली संस्कार र मौलिकता बोकेकै फिल्म बनाउने प्रयत्न गर्नुपर्थ्यो । नेपालीमा समृद्ध साहित्य थियो । साहित्यिक कृतिमाथि नै फिल्म बनेको भए पनि कति राम्रो हुन्थ्यो । तर, त्यो मार्ग अपनाउन सकिएन ।
फिल्मको पर्दामा देखिन वा अभिनयमा छानिन तपाईंहरूको संघर्ष कस्तो हुन्थ्यो ?
– त्यो हाम्रो संघर्षकै अवस्था थियो । त्यतिखेर हामी स्थापित थिएनौं । हरेक पटक फिल्म खेल्न अन्तर्वार्ता दिनुपर्थ्यो लाइन लागेर । र, पनि हामी फिल्ममा होमियौं । त्यतिञ्जेलसम्म मैले दार्जिलिङमा बनेको फिल्म खेलिसकेको थिएँ, प्रताप सुब्बासँग । कन्टेन्ट, अभिनय–शैली, स्टोरी टेलिङमा जति परिवर्तन आए, त्यससँगै थुप्रै सहायक परिवर्तन देखा परे– मुख्य रूपमा प्रविधिमा । तिनलाई मैले एउटा फिल्मकर्मी वा फिल्मको विद्यार्थीका रूपमा अभूतपूर्व ठानेको छु । र, त्यो परिवर्तन असाध्यै सार्थक छ ।
ती दिनका चाखलाग्दा भोगाइ केही छन् ?
– त्यसबेला बेला–बेला मात्रै फिल्मको सुटिङ हुन्थ्यो । सुटिङ गर्ने दिनको प्रतीक्षा हुन्थ्यो । सुटिङ उत्सव वा पर्वजस्तो लाग्थ्यो कलाकारलाई । र, पर्वजस्तै प्रतीक्षा रहन्थ्यो सुटिङ दिनको । सुटिङमा जानेलाई उत्सवको साक्षी हुन जाँदै छु भन्ने लाग्थ्यो । ती सेलिब्रेट गर्थे । जताततै सकारात्मक कुरा मात्रै देखिन्थ्यो । त्यो सकारात्मक सोच अचेल अलि कम देखिन्छ ।
निर्देशकहरू कत्ति सक्षम थिए उतिबेला ?
– केही निर्देशक निश्चित रूपमा आफ्नो काम जान्दथे । हीरासिंह खत्री आफैं निर्देशक मात्र नभएर सशक्त कलाकार पनि हुनुहुन्थ्यो, जो थिएटर ब्याक ग्राउन्डबाट आउनुभएको थियो । निर्देशक प्रकाश थापाबाट सिक्नुपर्ने पनि धेरै कुरा थिए । उहाँ कलाकारले अनुशासित भएर काम गरुन् भन्ने मान्यता राख्नुहुन्थ्यो, कामप्रतिको निष्ठा उहाँमा थियो । पछिसम्मै त्यही स्कुलिङबाट आएका निर्देशककै निरन्तरता रह्यो फिल्म क्षेत्रमा ।
फिल्मलाई लिएर राजा महेन्द्र र वीरेन्द्र शाहसँग केही किस्सा, अनुभूति छन् तपाईंका ?
– मैले फिल्म खेल्न दरखास्त दिएपछि निर्देशकले महेन्द्र राजालाई ‘फलानो नाम गरेको मान्छे सिनेमा खेल्न आएको छ, उसलाई खेलाउनुहुन्छ कि हुन्न ?’ भनेर सोध्नुभएको थियो रे ! जुन मलाई निकै पछि थाहा भयो, कसैले सुनाएपछि । वीरेन्द्र शाहले ‘चलचित्र उद्योगलाई दीर्घकालीन रूपमा विकास गर्ने दस्ताबेज तयार पार्नू’ भनेपछि म, चक्रबहादुर कार्कीहरूको समूहले फिल्म विकास गर्ने सूत्रमाथि केन्द्रित थेसिस लेखेर बुझाएका थियौं । त्यही थेसिसको एउटा च्याप्टर ‘नेपाल टेलिभिजन’ हो । थेसिसमा हामीले ‘नेपालमा टेलिभिजन पनि खुल्यो भने त्यसले सिनेमा उद्योगलाई धेरै सहयोग पुग्छ’ भनी लेखेका थियौं ।
‘नायक’ भन्ने चिजको प्रचलित मान्यता भत्कियो भन्ने छ, यसमा तपाईंको विचार के छ ?
– नायकत्वका पृथक–पृथक धार थिए । तपाईंले एउटा फिल्म हेर्नुभयो, त्यो हेरेर उठ्दा जो कलाकार तपाईंको हृदयको सबैभन्दा महत्त्वपूर्ण ठाउँमा बस्न सक्यो, त्यही नायक हो । जो कलाकारले मानिसको हृदयमा बस्ने सौभाग्य पाउँछन्, ती नायक हुन् ।
प्रोटागोनिस्ट र एन्टागोनिस्टको थ्यौरीलाई कसरी बुझ्ने ?
– यो पात्रात्मक परिचय हो । खलपात्रहरू पनि सिनेमामा नायक भएका छन् । जस्तो रविन हुडलाई के भन्ने ? इमेज सेल गर्ने कमर्सियल प्रडक्टलाई एक हिसाबले नायकत्व परिभाषित गर्नुपर्छ । बुझ्नुपर्ने कुरा के छ भने हृदयदेखि नै हेर्ने कुरा फिल्म हो । हलभित्र पसेपछि सबै मानिसले हृदयदेखि नै फिल्म हेर्छन्– राम्रो होस् या नराम्रो । तर, दर्शकले अट्याच्ट भएरै हेर्छन् । त्यसरी हेरेपछि मानिसको चेतन–अवचेतन मनले ती पात्रलाई आफ्नो छापका रूपमा राखिराख्छ । तपाईंको र तपाईंको मनको नायक फरक हुन सक्छ । प्रत्येक मान्छेको नायक फरक हुन्छ ।
हाम्रो हिरोइजम फेसमा आएको परिवर्तनचाहिँ के त ? जस्तो ऊबेला राजेश हमाल थिए नायक, अहिले दयाहाङ राई छन् !
– अहिले फेस होइन, अभिनयलाई प्राथमिकता दिइयो । तपाईं स्टार हुनुहोस् या महास्टार, अभिनय गर्ने भनेर गएपछि त्यो गर्नुपर्छ।
‘नेपाली फिल्म मौलिक हुन सकेन, रचनात्मक हुन सकेन’ भन्ने बहस छ । तपाईंलाई के लाग्छ ?
– पहिलेको तुलनामा हाम्रो फिल्म निकै मौलिक र रचनात्मक छ । पहिले त्यस्तो थिएन ।
पहिले फिल्म बजारबाट निर्देशित हुन्थ्यो, अहिले निर्देशकले केही नयाँपन ल्याउन खोजेका हुन् ?
– अहिले अभूतपूर्व परिवर्तन देखा परेको छ फिल्ममा– कथावाचन, कन्टेन्टमा । कथा भन्न छानिएको कथा र शैली अहिले महत्त्वपूर्ण छ । यसले मौलिकता पनि झल्काउँछ । टेक्स्टलाई पिक्चराइज गर्ने तरिका पनि बदलिएको छ । तर, पिक्चराइज गर्न निर्देशकहरूले अझ बढी मिहिनेत गर्नुपर्छ ।
सूत्रबाट हामी प्रभावित भयौं, मौलिकता स्थापित गर्छु भनेर आएका फिल्म निर्माणकर्मी पनि किन त्यही ट्रेन्डमा छन् ?
– जस्तो तपाईंले बम्बईको सूत्रलाई छाडिदिनुभयो र साउथ कोरियाको समात्नुभयो भने पनि एउटा सूत्र छाडेर अर्को समातेको त हो नि । मौलिक विषयवस्तुको छनोटले त्यसलाई अपनाउन बाध्य बनाइहाल्छ । मौलिक भन्नेबित्तिकै गाउँ, पहाड, भेडा, बाख्रा, चौर मात्रै होइन, त्यहाँको कथा चाहियो । मौलिकता भनेको माटोको सुगन्ध आउने र त्यो मुटु छुने हुनुपर्छ । माटोको सुगन्ध बोकेको कथा मुटु छुने गरी प्रस्तुत गरे त्यो नै मौलिक भइहाल्यो नि !
स्टोरी टेलिङमा हामीले के परिवर्तन ल्यायौं ?
– पहिले हरेक ५ कथापछि एउटा फाइट आउनैपर्थ्यो वा हरेक १० दृश्यपछि एउटा हास्य सिन आउनुपर्थ्यो । हरेक आधा घण्टामा एउटा भ्वाइलेन्ट सिन आउनुपर्थ्यो । त्यो स्थापित मान्यतालाई अहिले छाडिसकिएको छ । भनेपछि अहिले परिवर्तन आइसक्यो नि ! एउटा हिरो, एउटी हिरोइन, जो लभ गर्थे, एकअर्कासँग अनि तिनीहरूको सहयोगीका रूपमा त्यहाँ हँसाउने अरू २ पात्र पनि हुन्थे । यी फिल्ममा अनिवार्य थिए । त्यसलाई छाडेपछि स्थापित मान्यता मेटिएन र ?
पछिल्लो पटक कुन फिल्म हेर्नुभयो, जसबाट तपाईं सन्तुष्ट हुनुभयो ?
– मैले हेरेकामध्ये ‘ऊनको स्वीटर’ फिल्म ज्यादै मन पर्यो । म प्रायः आफ्नो सिक्वेन्स पत्ता लगाउन, त्यसको निर्माण पक्ष र विकास पक्ष हेर्न फिल्म हल जान्छु ।
पछिल्लो समयको नेपाली फिल्म मेकिङबाट तपाईं खुसी हुनुहुन्छ ?
– पहिलेको फिल्म बनाउने तरिका नै फरक थियो । यो फिल्म यहाँनेर सकिन्छ र यहाँबाट त्यहाँ गएर जोडिन्छ भन्ने उहिलेका निर्देशकले पहिल्यै निश्चित गरिसकेका हुन्थे । त्यसैले पहिलेका फिल्मकर्मीको होमवर्क राम्रो हुन्थ्यो । अहिलेका निर्माता–निर्देशकको शट डिभिजन होमवर्क राम्रो देखिँदैन ।
एडिटरमाथि निर्भरता बढेको छ । एडिटरले गाँसिदिने हो र क्यामरापर्सनले खिचिदिने हो भने डाइरेक्टरको के काम ? अहिलेका डाइरेक्टर त्यसमा सचेत हुनुपर्छ । किनभने अहिले फिल्म धेरै बनिरहेका छन्, अझ राम्रो पनि बन्नुपर्छ । फिल्म कलेजहरूको पढाइ कसरी भइरहेको छ भन्ने पनि महत्त्वपूर्ण हुन्छ, जहाँबाट परिवर्तनको सुरुवात गरिनुपर्छ । जस्तो, क्लोजअप किन लिने, कुनै लङ शट किन भन्ने विषय लजिकल हुनुपर्छ । र, त्यहीअनुसार सट्स ब्रेकडाउनमा निर्देशकले अझ बढी गृहकार्य गर्नुपर्छ ।
विश्व सिनेमाको आँखाबाट हेर्दा हामी कहाँ छौं ?
– नेपाल सिनेमा बनाउने देश हो र त्यहाँ पनि केही राम्रा सिनेमा बनिरहेका छन् भन्ने कुरा विश्व सिनेमाले देख्यो । हाम्रो उपस्थिति विश्व सिनेमाले महसुस गरिसकेको छ ।
