डिब्बामा होइन, डेटामा बग्दै फिल्म

उबेला प्रदर्शन समय आपसमा मिलाएर रिलका स–साना प्रिन्टका डब्बालाई ओसारपसार गर्ने साइकल/मोटरसाइकल ब्वायहरू एउटा अहम् जिम्मेवारीमा हुन्थे । एउटा डिब्बामा चलचित्रका १२ देखि १५ मिनेटका कैयौं रिल हुन्थे । रिल प्रयोग हुनासाथ युद्धस्तरमा त्यसलाई बोकेर अर्को हलमा पुर्‍याउनुपर्ने हुन्थ्यो ।

असार १४, २०८२

संजीव गिरी

Film flowing in data, not bins

काठमाडौंका दुई महँगा सिनेमा घर (जय नेपाल र कुमारी) हाम्रा लागि हलिउड फिल्म हेर्ने निर्विकल्प जक्सन थिए । यो हो– करिब दुई दशकअघिको कुरा । पछिपछि त्यहाँ बलिउड फिल्म पनि लाग्न थाले ।

सन् २००८ तिर हठात् केही कुरा फेरिए । सहरमा त्यस वर्ष एकाएक दुई नेपाली फिल्म आएका थिए– भूषण दाहालको ‘कागबेनी’ र आलोक नेम्वाङको ‘सानो संसार’ । कथावस्तु र प्रस्तुतिका हिसाबले ती फिल्मले उतिबेला केही न केही क्रमभंग गरेकै थिए । त्यसबेला प्रस्टसँग मैले पहिलो पटक नेपाली फिल्म रुचाएको थिएँ ।

बलिउड फिल्म नछुटाउनु, सक्दो दोहोर्‍याएरै हेर्नु, मौका आइहाले तेहेर्‍याएरै पनि हेरिरहनु एसएलसी नसक्दैदेखिको मेरो रुटिनजस्तो थियो । एकसाथ कैयौं पर्दामा नेपाली र हिन्दी फिल्म चल्ने (चाहे गोपीकृष्ण होस् वा गुण सिनेमा वा अष्टनारायण) हल पुग्दा नेपाली फिल्म कहिल्यै हेरिएन ।

बरु एकैदिन दुई पटक हिन्दी फिल्म दोहोर्‍याइयो । नेपाली फिल्मका कथा, अभिनय वा प्रस्तुतिले उकुसमुकुस त बनाउँथ्यो नै, त्योभन्दा बढ्ता कष्ट पर्दाले दिने सकस र ध्वनिको कर्कशले हुन्थ्यो । आमाको हात समातेर विश्वज्योति हलमा ‘दर्पणछाया’ हेर्दा होस् वा कलेजकै पहलमा ‘दासढुंगा’ हेर्न गएका सुन्दर अनुभव नभएका होइनन्, तर नेपाली फिल्मका अक्सर अनुभव सुखद थिएनन् ।

उसो त साङ्ग्रिला च्यानलमा त्यसबेला दिनहुँ आउने नेपाली फिल्म घरमै बसेर चाहिँ हेरिन्थ्यो । डिस–एन्टिनाले घरमै बलिउड र हलिउड फिल्म हेर्ने अवसर जुराइदिएपछि भने फेरि आफूखुसी नेपाली फिल्म हेर्न मरिहत्ते गरिएन ।

करिब १७ वर्षअघि त्यसैसाल भुवन केसी–झरना थापा अभिनीत ‘म तिमी बिना मरिहाल्छु’ र विराज भट्ट–रेखा थापाका ‘किस्मत्’ ले हल तताएका थिए । त्यस्तोमा एकाएक ‘कागबेनी’ को चर्चा चुलिएको थियो । उतिबेला धेरै कुरा नबुझिए पनि त्यसको प्रविधिदेखि निर्माणका विषय टीभी र पत्रपत्रिकामा दिन नबिराईकन आइरहेपछि म आफैं टिकट काटेर हल छिरेको थिएँ ।

सायद नयाँ पुस्ता लक्षित उक्त फिल्मप्रति आकर्षण बढाउन होला, त्यसबेलाका चर्चित पपगायक निमा रुम्बाले ‘कागबेनी’ मा अभिनय गरेका थिए । प्रख्यात साङ्गीतिक समूह–१९७४ एडीले पहिलो पटक फिल्मका लागि गीत तयार पारेको थियो । म त सिनेमा हलमा जोडिएको गज्जबको साउन्ड सिस्टममा खास त्यस गीत सुन्नै सबैभन्दा व्यग्र थिएँ ।

‘कागबेनी’ को समीक्षा गर्ने क्रममा पत्रकार कुन्द दीक्षितले अन्तर्राष्ट्रिय मापदण्डमै पनि कागबेनी उत्कृष्ट फिल्म बनेको भन्दै लेखेका थिए– ‘अब हामी नेपाली चलचित्रका कारण लज्जित हुनुपर्ने छैन ।’

Film flowing in data, not bins

बलिउडको धङधङीमा रहेको मलाई त्यो फिल्म भनिएजस्तो उम्दै लागेको भने होइन । बलिउडको फर्मुलाबाट निकै पर, कतै सुस्त कतै अमूर्त लागे पनि हलबाट निस्कँदा म अघिपछिझैं निराश नै चाहिँ भइनँ । ठूलो पर्दामा समेत दृश्य सफा थिए, पर्दामा एउटा कुरा देख्दा त्यससँग मिल्ने गरी ध्वनि कतै नेपथ्यबाट आएको नेपाली फिल्मको हकमा मैले पहिलो पटक महसुस गरें ।

विशाल पर्वतीय दृश्य त्यसरी, त्यस स्तरमा पस्किएको पहिलो पटक देखें । ‘फर्मुला’ फिल्मलाई एकैछिन बिर्संदा अभिनय नै पनि धेरै स्वाभाविक पाएँ त्यसमा । सेल्युलोइडमा अभ्यस्त नेपाली फिल्ममा त्यसबेला ‘कागबेनी’ मार्फत पहिलो पटक टूके क्यामरा प्रयोग गरिएको थियो ।

जसै ‘सानो संसार’ ले त्यही लय पछ्यायो र नम्रता श्रेष्ठ, कर्मा, विनय श्रेष्ठ एकाएक मेरो मनमा बसे । कथावस्तुका हिसाबले त्यो फिल्म ‘कागबेनी’ भन्दा फरक थियो । त्यो फिल्म रङ्गीन थियो, हलुका थियो । फिल्मका गीत चल्तीका भन्दा फरक पप शैलीका थिए । हेर्दा सामान्य लाग्ने यी कुरा मेरा लागि भने महत्त्वपूर्ण थिए । कथा र प्रस्तुतिलगायतमा ‘सानो संसार’ मा गरिएका प्रयोग त्यसअघिकै सेल्युलोइडमै गर्नै नसकिने केही थिएन । तर, नेपाल फिल्म हेर्दा जुन फिकापन सधैं महसुस हुन्थ्यो, त्यो भने यसमा भएन ।

०००

यस शताब्दीको सुरुवातसँगै हलिउड र बलिउड दुवैतिर डिजिटल फिल्म निर्माण सुरु हुन थालेका छन् । बर्सेनि सयौं फिल्म बन्ने भारतमा प्रविधि फेरिंदा सुरुमा प्राविधिक पक्ष मात्रै बदलिए । अर्थात् फिल्म प्रोजेक्सन डिजिटल माध्यमबाट गरिए पनि धेरैजसो निर्माण भने सेल्युलोइडमै भइरहे ।

तर, नेपालमा भने प्रविधिमा आएको परिवर्तन फिल्मकै स्वरूप बदलिने मोड बन्यो । यहाँ त्यसअघि म्युजिक भिडियो निर्माणका लागि चिनिएका भूषण दाहाल (फिल्म– कागबेनी) वा आलोक नेम्वाङ (फिल्म– सानो संसार) जस्ता व्यक्ति फिल्ममा छिर्नु नै उनीहरूसँग नयाँ प्रविधि, कथा भन्ने शैली छिर्नु बनेको थियो । डिजिटल सिनेमालाई त्यसैकारण पनि प्रविधिसँग मात्रै जोडेर हेर्न मिल्दैन । त्यो त्यसको सहाराले चलचित्रको स्वादमै आएको रूपान्तरणका रूपमा बुझ्नुपर्छ ।

फिल्म प्रविधिको संक्रमणकालीन त्यस समयमा सेल्युलोइडमा बन्ने र डिजिटल चलचित्रबीच कलाकारिता जगत्मा वैचारिक कित्ताकाट नै भएको थियो । डिजिटलमा बन्ने चलचित्रलाई परम्परागत शैलीका चलचित्रकर्मीले फिचर फिल्म मान्दैनथे । कसैले त्यसलाई म्युजिक भिडियोको विस्तारित स्वरूप त कसैले वृत्तचित्र वा धारावाहिकजस्तो मान्थे, जसलाई तत्कालीन परिवेशमा नकार्नै पनि मिल्दैनथ्यो, जुन अहिले स्वाभाविक बन्दै गएजस्तो छ ।

लेखक तथा पाका चलचित्रकर्मी प्रकाश सायमी डिजिटल रूपान्तरणलाई प्रविधिभन्दा बढ्ता कलाकारिताको गुणस्तरसँग जोडेर हेर्छन् । उनी डिजिटल सिनेमा बनाउन सजिलो भएपछि प्राविधिक पक्षमाथिको निर्भरता बढेको र निर्माणका कैयौं सौन्दर्य मृतप्रायः भएको बताउँछन् । त्यो यथार्थ भइकन पनि प्रविधिले दिएको लाभसामु ‘नोस्टाल्जिया’ बढी हुन सक्छ ।

०००

सेल्युलोइडको समय कस्तो थियो भने हलबाट आफ्नो फिल्म नउत्रँदासम्म निर्माताहरू चैनको श्वास फेर्न सक्दैनथे । त्यो बेला सेल्युलोइड प्रिन्ट सहरअनुसार छुट्याएर पठाइन्थे । निकै खर्चिलो हुने हुँदा ती एउटै प्रिन्टबाट कैयौं सिनेमा हलमा प्रदर्शन गरिन्थ्यो । प्रदर्शन समय आपसमा मिलाएर रिलका स–साना प्रिन्टका डब्बालाई ओसारपसार गर्ने साइकल/मोटरसाइकल ब्वायहरू एउटा अहम् जिम्मेवारीमा हुन्थे ।

एउटा डिब्बामा चलचित्रका १२ देखि १५ मिनेटका कैयौं रिल हुन्थे । ती रिल प्रयोग हुनासाथ युद्धस्तरमा त्यसलाई बोकेर अर्को हलमा पुर्‍याउनुपर्ने हुन्थ्यो । जस्तो, चाबहिलको गोपीकृष्णमा ८, ११, २ र ५ बजेका सो हुन्थे भने त्यसको तुलनात्मक रूपमा नजिकको माछापोखरीस्थित अष्टनारायणमा ९, १२, ३ र ६ बजेका सो हुन्थे । ग्वार्कोको गुण र भक्तपुरको बाराही हलले त्यसैगरी सो टाइम मिलाउँथे भने एउटै पर्दा हुने हलले त्यसबीचमा आफूलाई अनुकूल बनाउँथे ।

कहिलेकाहीं नसोचिएको जाममा वा फन्दामा परेर अड्किए अर्कोतिर फिल्म नै रोकिन्थ्यो । त्यसले हलमा नाराबाजीदेखि तोडफोडसम्मै निम्त्याउने अवस्थामा त्यसको क्षतिपूर्ति निर्माताले नै दिनुपर्थ्यो । त्यस्ता घटनाको केही पटक म आफैं पनि साक्षी बनेको छु । एउटा हिन्दी फिल्म हेर्दा त्यस्तै अवस्था आएपछि अन्तिम करिब २० मिनेटको फिल्म पूरा हुन सकेन । र, बाराही हलले हामीलाई टिकेटको पैसा फिर्ता दिँदै घर पठाएको थियो । पर्दामा चित्र हराउँदा हुने हुटिङ र नाराबाजीको त कुरै नगरौं ।

०००

नेपालमा डेढ दशकअघिसम्मै पनि १६ एमएमको क्यामरामा फिल्म खिचेर ३५ एमएमको पर्दामा उतारिन्थ्यो । दृश्यको गुणस्तर त्यहींबाट घट्न थाल्थ्यो । त्यसपछि जति बढ्ता ती रिलका डब्बा एक्सपोस हुन्थे, ती झनै कम गुणस्तरका हुन थाल्थे । त्यो प्रविधि नै त्यस्तै थियो । नेपाली सिनेमा जगत्लाई डिजिटलतर्फ डोर्‍याउन निकै अहम् भूमिका निर्वाह गरेको डिजिटल सिनेमा नेपाल

(डीसीएम) का संस्थापक चलचित्रकर्मी अशोक शर्माले रिल खुइलिएपछि देखिने दृश्यबारे भने, ‘त्यो रङ्गीन लुगा धेरै लाउने–धुने गरेपछि खुइलिएजस्तै फिक्का हुन्थ्यो ।’ केही थान प्रिन्ट बनाएर एउटा सहरमा उत्रेपछि बल्ल अर्कोतिर जान्थे । त्यसबेला कुन सहर दुर्गम हो भन्ने भेउ पाउने एउटा मानक त्यहाँका हलमा लाग्ने पुराना फिल्म हेरेर पाउन सकिन्थ्यो ।

१६ एमएमको नेगेटिभमा खिचेर १६ एमएममै देखाइए त्यो पर्दाको सानो भागमा मात्रै देखिने अवस्था हुन्थ्यो, जसले गर्दा फिल्म हलमा पुर्‍याएपछि सिनेमास्कोप लेन्सको प्रयोगले त्यसलाई ब्लोअप गरेर ३५ एमएम ठूलो पर्दामा प्रदर्शन गरिन्थ्यो । त्यसताका विदेशी फिल्म भने प्रायः सबै सिनेमास्कोपमा आउने हुँदा तिनका गुणस्तर तुलनात्मक रूपमा राम्रै हुन्थे ।

नेपाली चलचित्र भने त्यही पर्दाका लागि जबर्जस्ती देखाइँदाको सकस शर्मा अझै सम्झिरहन्छन् । ‘हाम्रो फिल्ममा मोनो साउन्ड हुन्थ्यो भने विदेशी चलचित्रमा डल्बी । चलचित्र भनेकै श्रव्यदृश्य हो । र, हामी दुवैमा कमजोर हुँदा नेपाली फिल्मको गुणस्तर नहुने भन्ने भाष्य बनाइरहे,’ शर्माले सुनाए, ‘त्यही हलमा नेपाली फिल्म हेर्दा र विदेशी फिल्म हेर्दा दर्शकले फरक अनुभव पाइरहँदा किन त्यसो नभनुन् ।’

१६ एमएममा बनेको फिल्ममा डल्बी प्रविधिको साउन्ड राख्दा त्यो महँगो र असहज दुवै हुने हुँदा त्यसको बोझ नेपाली चलचित्रकर्मीले उठाउन चाहँदैनथे । जबकि डिजिटलमा आवश्यकताअनुसार चारैतिरबाट गुन्जाउन सकिने ‘फाइभ पोइन्ट वान सराउन्ड साउन्ड’ सजिलै राख्न सकिन्थ्यो । त्यसैले पनि डिजिटल प्रविधिले नेपाली चलचित्रको पहिचान नै फेरेको र पुनरुत्थानको अवसर दिएको तिनै परम्परागत प्रविधिमा काम गरेका चलचित्रकर्मीहरू ठान्छन् ।

बलिउडमै अलटाइम ब्लकबस्टर ‘शोले’ का सुरुमा चार वटा प्रिन्ट तयार पारेर तीन सहरमा रिलिज गरिएको थियो । डिजिटल प्रविधि बलिउडमा पनि सन् २००४–०५ तिर प्रयोगमा आउन थालेको थियो । हलिउडमा पनि सन् २००२ मा ‘स्टार वार्स’मार्फत पुरानो क्रम तोडिएको ठानिन्छ । त्यस हिसाबले नेपालले सन् २००८ तिर मारेको फड्कोलाई धेरै ढिलो भन्न मिल्दैन ।

डिजिटलमा गएसँगै रिलका डब्बाका ठाउँमा एउटा हलमा एउटा हार्डडिस्क पुग्न थाले । विगत केही वर्षयता अहिले सर्भरमार्फत एकसाथ विश्वभर हजारौं पर्दामा फिल्म प्रदर्शन सम्भव छ । हामीले फेसबुक वा एक्सको अकाउन्ट लगइन गरेजस्तै निश्चित भर्चुअल स्पेसमा लग्डइन भएर फिल्म प्रदर्शन गर्न सकिन्छ ।

०००

सेल्युलोइडमा खिच्दा नेपालमा सुटिङ र सम्पादन सकेपछि डबिङ गर्नदेखि नै बम्बे दौड सुरु हुन्थ्यो । सो प्रविधिअनुरूपको नेपालमा ‘फूल लेन्थ’ डबिङ सुविधा नहुँदा नायक–नायिकासहितका कलाकार बोकेर त्यसबेला भारत जानुपर्ने बाध्यता हुन्थ्यो । सम्पादित फिल्मका दृश्य हेर्दै गर्ने ‘रक एन्ड रोल’ डबिङ नेपालमा सम्भव थिएन । नेपालमा सुटिङकै बेलाको अडियो सुन्दै डबिङ गर्ने विकल्प धेरै रोज्दा श्रव्यदृश्यको तालमेल नमिलेको देखिन्थ्यो । क्लोज सटहरूमा बलिउड र हलिउडको स्वाद चाखिसकेकाहरूका लागि असह्य हुनु अस्वाभाविक थिएन । त्यसकारण दृश्य र भाव अनुकूलभन्दा सिधै अनुच्छेद पढेजस्ता संवाद पुराना नेपाली फिल्ममा देखिन्थे ।

मोन्टाज प्रिन्टिङदेखि ब्याकग्राउन्ड स्कोरसम्मका लागि भारतमै जानुपर्ने भएपछि नेपालमा सुविधा हुँदाहुँदै पनि पोस्टरदेखि थप प्रिन्टसम्मै उतै छापेर ल्याइने गरिएको अनुभव चलचित्रकर्मी सायमी सुनाउँछन् । जानैपर्ने भएपछि कैयौं फिल्मको सम्पादनसमेत भारतमै गरिएका इतिहास छन् ।

०००

नेपालीहरू विश्वभर फैलिरहँदा त्यसलाई जोड्ने अस्त्र नेपाली सिनेमा भने ‘लोकल’ थियो । केही वर्षकै अन्तरालमा अहिले नेपाली फिल्मलाई चर्चा र ढाडस दिलाउने एउटा मुख्य क्षेत्र नै डायस्पोरा बनेको छ । यूएफओ नामक डिजिटल सिनेमा वितरक कम्पनीबाट प्रविधि नकिनीकन रोयल्टी तिर्नेगरी सुविधा मात्रै ल्याएपछि नेपालमा विरोध भएको अशोक शर्मा बताउँछन् ।

नेपाली फिल्म क्षेत्रले अहिलेसम्मै पनि आफ्नो कमजोरीभन्दा विदेशी चलचित्रको दबदबाको मार खेपिरहेको ठान्ने गरेको पाइन्छ । त्यसबेला यूएफओ आउने खबरसँगै सिनेमा जगत्मा ठूलै कम्पन ल्याइदिएको शर्मा सम्झन्छन् । उनी भन्छन्, ‘त्यसले त झन् विदेशी फिल्मकै प्रवर्द्धन हुने भयो, देशैभर झन् बढ्ता हिन्दी फिल्म लाग्ने भए । नेपाली फिल्मको झन् दुर्गति हुने भयो भन्ने चिन्ता भए ।’

तर, त्यसबेलै अर्को एउटा कित्ताले विदेशी फिल्म रोक्दैमा नेपाली फिल्म नचल्ने, बरु जति धेरै विदेशी फिल्महरू आउँछन् त्यति नै नेपाली चलचित्र प्रतिस्पर्धात्मक हुने तर्क गरिरहेका थिए । त्यही विवादले चलचित्र जगत्मा ‘उग्र राजनीति’ छिरेको कैयौं चलचित्रकर्मीको अनुभव छ । त्यस राजनीतिमा दुवै कित्ता गलेनन् ।

जबर्जस्ती नै भए पनि डिजिटल सिनेमा वितरणको प्रविधि ल्याएर चलचित्रकर्मीमाझ त्यो प्रस्ट्याउने प्रयास शर्मालगायतले गरिछाडे । तर, अर्को पक्ष पनि डिजिटल फिल्म नै नबनाउने अड्डी कसेर बसिरहेपछि भित्रिसकेको उक्त प्रविधिको लाभ बलिउड फिल्मले नै उठाए । नेपाली फिल्म बलिउडको छायामा मात्र परेन, त्यसको लाभ उनीहरूले नै पाए ।

त्यसबीचमा अर्को रोचक विकल्प पनि सोचिएको थियो– फिल्म सेल्युलोइडमै बनाउने तर डिजिटलमा रूपान्तरण गरेर प्रदर्शनमा ल्याउने ! विडम्बना, त्यसका लागि पनि बम्बई नै पुग्नुको विकल्प थिएन । अनि, वितरणको प्रविधि ल्याउनेहरूले नै ‘फिल्म निर्माणको माहोल बनोस्’ भनेर डिजिटल टूके क्यामरादेखि सम्पादनका लागि चाहिने उपकरणहरू भित्र्याए । देशभित्र जेसुकै राजनीति चले पनि इन्टरनेटको छाप अकल्पनीय गतिमा बढिरहेको थियो, संसारमा प्रविधि उस्तै गरी नयाँ–नयाँ आइरहे र नेपालमा हेर्दाहेर्दै अस्तित्वकै लागि डिजिटलमा जानैपर्ने माहोल बनिछाड्यो ।

सन् २००७ मा स्थापना भएको डीसीएनको अप्रत्यक्ष लगानी ‘कागबेनी’ मा छ । किनकि त्यो क्यूएफएक्स सिनेमाज्का सञ्चालकहरू– नकिम उदिन, राजेश सिद्धि र भाष्कर ढुंगानाले निर्माण गरेका हुन् । उनीहरू डीसीएनका समेत संस्थापक हुन् । उनीहरूले नै ‘सानो संसार’ समेत बनाएका थिए ।

चलचित्र निर्माताहरू जत्तिकै हल मालिकहरू पनि नयाँ प्रविधिमा जान हिचकिचाइरहँदा प्रोजेक्सन र सिनेमा सर्भर डीसीएनले नै किस्ताबन्दीमा उपलब्ध गराइदिएको थियो । डीसीएनजस्तै अहिले क्युब नेटवर्कसमेत डिजिटल सिनेमा नेटवर्कका रूपमा प्रयोगमा छ ।

त्यस्तो रस्साकसीमाझ अघि बढेको डिजिटलकरण एक दशकअघि नै लगभग पूरै रूपान्तरण भएको नेपालको कथा संसारकै दुर्लभ रहेको त्यसका अभियन्ताहरू मान्छन् । ‘हलिउड र बलिउडमै पनि पोस्ट प्रोडक्सन डिजिटलमा भइरहँदासमेत सिनेमा बन्ने काम सेल्युलोइडमै पछिसम्मै जारी थिए,’ अशोक शर्मा भन्छन् । नयाँ प्रविधिलाई आत्मसात् गर्ने र पुरानो कुराबाट बाहिर निस्किहाल्न नखोज्ने मानवीय स्वभाव यस रूपान्तरणका क्रममा संसारभर देखिएको पाइन्छ ।

डिजिटल र सेल्युलोइडबीचको द्वन्द्व चलिरहँदै सन् २०१२ मा आएको ‘लुट’ ले धेरै कुरा फेरिदियो । डिजिटल प्रविधिमा बनेको उक्त फिल्मले तत्कालीन रूपमा धेरै मानक तोडिदियो । उदाउँदा कलाकार र नितान्त नयाँ निर्देशकको भरमा ‘ब्लकबस्टर’ बनेको सो फिल्मले डिजिटल वितरण नेटवर्कको सबैभन्दा राम्रो लाभ उठाउन सक्यो ।

नेपाली फिल्म र मल्टिप्लेक्स राम्रोसँग आपसमा जोडिन नसकिराखेका बेला ‘लुट’ ले सम्भवतः दसौं हजारौं नयाँ पुस्तालाई पहिलो पटक नेपाली फिल्म हेर्न मल्टिप्लेक्सहरूमा पुर्‍यायो । ‘लुट’ को क्रेज सन् २००६ मा सार्वजनिक भएको बलिउड फिल्म ‘धुम टू’, ‘क्रिश’ र ‘डन’ जस्तो देखिन्थ्यो । त्यो फिल्म हलबाहिर देखिने दर्शकको लाइनमा मात्रै होइन, हलभित्रको सिट्ठी अनि तालिमै समेत झल्केको म सम्झन्छु ।

र, त्यो यात्रालाई कहिले ‘कबड्डी’ त कहिले ‘जात्रा’, कहिले ‘छक्का पञ्जा’ त कहिले ‘पशुपति प्रसाद’ लगायतले निरन्तर अघि बढाइरहे । डिजिटल युगमा बनेका ‘साम्बाला’, ‘घामपानी’, ‘टलकजङ भर्सेस टुल्के’ देखि ‘ऊनको स्वीटर’ सम्म कैयौं यस्ता फिल्म छन्, जसको यहाँ चर्चा गरिसाध्य छैन ।

गत वर्ष झन्डै ५० करोड रुपैयाँ ग्रस कलेक्सन गरेको भनिएको ‘पूर्णबहादुरको सारङ्गी’ सम्झँदा लाग्छ, १७–१८ वर्षअघि नेपाली फिल्मको धार डिजिटल प्रविधितर्फ नजोडिएको भए के यस्तो हुन्थ्यो होला ?

संजीव

Link copied successfully