मदन भण्डारीले मोरङ इटहरामा बनाएको घरले उनको विचार, आत्मा र संस्कृतिप्रतिको मोहलाई आज पनि जिउँदो बनाइरहेको छ, त्यो घर, एउटा सामान्य संरचना मात्र नभएर एउटा विचारको स्मारक हो
एमालेका तत्कालीन महासचिव मदन भण्डारी नेपाली राजनीतिका एउटा दूरदर्शी विचारक, सशक्त वक्ता र जनताको मनमा बसेका एक असाधारण नेता थिए । वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय मृत्युवरण गरेका उनको छोटो जीवन केवल राजनीतिमा मात्र सीमित थिएन । रहनसहन, सोच र संस्कारले त्यो यात्रालाई अझ विशेष बनाएको थियो ।
पूर्वपश्चिम राजमार्गमा पर्ने उर्लाबारीबाट १६ किलोमिटर दक्षिण झरेपछि इटहरा गाउँ पुगिन्छ । यहाँ एउटा सानो र सुनसान बस्ती छ– सातमेडी । यही छ, जननेता मदन भण्डारीको कर्मघर । यहीँबाट मदन भण्डारीले आजको कम्युनिस्ट बाटोको परिकल्पना गरे र नेकपा (माले) जन्माउन महत्त्वपूर्ण योगदान दिए ।
नेकपा (एमाले) ले सिरानीमा राखेको राजनीतिक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) मदनले यही घर र आसपासमा बीजारोपण गरेका थिए । नेता मदन भण्डारीको मोरङ इटहराको घर प्रगतिशील विचार र संस्कृतिको सम्मिश्रण हो । तीसको दशकमा मदनले कम्युनिस्ट दर्शनको बीउ रोपेको यो घर आज संरक्षणको पर्खाइमा छ ।
स्वर्गीय मदनकी धर्मपत्नी तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथमा यही जेठ २६ मा मैले ‘मदनको घर’ हेर्ने अवसर पाएँ । काठबाट बनेको यही घर हो जसले मदनको विचार, उनको आत्मा र उनको संस्कृतिप्रतिको मोहलाई आज पनि जिउँदो बनाइरहेको छ । यो घर एउटा विचारको स्मारक पनि हो । घर संस्कृत श्लोक र मन्त्रहरूद्वारा सजिएको छ । मदनले घरको सामान्य संरचनामात्र बनाएका थिएनन्, त्यो विचारको वृक्षरोपण पनि थियो । घरमा राखिएका काठका दलिनहरूमा कुँदिएका संस्कृतका मन्त्र र नेपाली भनाइले त्यसलाई एक विचारको मन्दिरजस्तै बनाएका छन् ।
मन्त्र लेखिएको छ– ‘सत्यम्, शिवम्, सुन्दरम् ।’ अर्थात् सत्य नै शिव हो, सत्य नै सुन्दर हो । साथीहरू, आफन्त र पाहुनाहरू आउने भर्याङनजिकै नेपालीमा लेखिएको छ, ‘नमस्ते, बसौं हैं ।’ काठमा अक्षर कुँदेर मदन आफूले संस्कृत र नेपालीमा यस्ता भनाइ लेखका हुन् । यस्ता शाश्वत मन्त्र र लेखाइले उनको विचारको गहिराइ झल्किन्छ । उनले यो घरलाई केवल बास बस्ने ठाउँमात्र नभएर चेतनाको तीर्थस्थल बनाएका थिए ।
पाहुना कक्षको भित्तामा लेखिएको छ– ‘जनएकता अजेय शक्ति हो ।’ मदनले भन्न खोजेको यो वाक्यले एकदमै गहिरो अर्थ बोकेको छ । यसको मतलब हो– जब जनता एकजुट हुन्छन्, उनीहरूको सामूहिक शक्ति यस्तो बलियो हुन्छ कि त्यसलाई कसैले पनि जित्न सक्दैन, रोक्नै सक्दैन वा दबाउन सक्दैन ।
यहाँ ‘जन’ भन्नाले आमजनता, जनसमुदाय, वा सर्वसाधारण नेपाली जनता हुन् । जनतालाई सर्वोपरि मानेका छन् मदनले । ‘एकता’ भन्नाले साझा उद्देश्य, विचार, भावना र संघर्षमा आधारित मेलमिलाप र सहकार्य भन्न खोजिएको हो । ‘अजेय शक्ति’ भन्नाले यस्तो अपराजेय (कहिल्यै नहार्ने) बल जुन कुनै पनि सत्ता, तानाशाही, अन्याय वा शोषणविरुद्ध जित्न सक्ने सामर्थ्य राख्छ । जनताको अपरिमित बल मदनले बुझेका थिए, अहिलेको नेतृत्वको ठीकविपरीत ।मदनको घरमा पुगेर यो वाक्य पढ्ने हरेकको मनमा यस्तै जिज्ञासा आउला सायद । २०३० सालमै लेखिएका यी वाक्यले गहिरो र दीर्घकालीन अर्थ दिन्छन् । उनले यो वाक्यमार्फत राष्ट्रिय एकताको सन्देश पनि दिन खोजेको देखिन्छ । लोकतन्त्र, सामाजिक न्याय र समतामूलक समाजको आधार जनएकता नै हो भन्ने मदनको सन्देश थियो ।
मदन भण्डारीको सन्दर्भमा यो घर उनको राजनीतिक यात्राको प्रस्थानबिन्दु पनि थियो । नेपालको कम्युनिस्ट आन्दोलन सशस्त्र विद्रोह कि शान्तिपूर्व जनआन्दोलन भन्ने विवाद भइरहँदा मदन बनारसबाट पढाइ सकेर इटहरा फर्किए । बनारसबाट फर्किएर उनले आफ्ना मातापिताका लागि सहज होस् र आफू आउँदाजाँदा पनि सुरक्षितसँग बस्न सकियोस् भन्ने उद्देश्यबाट संस्कृतका ग्रन्थहरूबाट सिकेर यो घरको डिजाइन गरेको देखिन्छ । यसका लागि उनलाई उनका गाउँले मिस्त्री साथी भक्तबहादुरले सघाएको परिवारजन बताउँछन् ।
जनशक्ति उनको राजनीतिक दर्शनसँग गहिरो रूपमा जोडिएको छ । उनले बहुसंख्यक नेपाली जनतालाई एकजुट बनाएर परिवर्तन ल्याउने मार्ग रोजेको सहजै बुझ्न सकिन्छ । यही कारणले मदनले जनमतमा आधारित ‘जनताको बहुदलीय जनवाद’ जस्तो सिद्धान्त यही पृष्ठभूमिमा परिकल्पना गरेका थिए । वास्तवमा उल्लेखित वाक्यले जनमतको सर्वशक्ति स्थापित गरेको छ । २०२८ सालको झापा विद्रोहबाट नेपालको कम्युनिस्ट आन्दोलन झिन्नभिन्न हुँदै गुज्रिरहेका बेला मदनको नेतृत्वमा त्यसले दीर्घकालीन आकार लिएको थियो । यही आधारमा भन्न सकिन्छ– ‘जनएकता अजेय शक्ति हो’ केवल एउटा वाक्य होइन, एक क्रान्तिकारी दर्शन हो, जसले जनतालाई सचेत, संगठित र सक्षम बन्न आह्वान गरेको छ ।
मदनको शयन कक्ष माथिल्लो तलाको पूर्वपट्टि छ । कोठाको माथि मदनकै हस्तलिखित अक्षरमा लेखिएको छ, ‘नसोधीकन भित्र नपस्नुहोला ।’ पहिलो सुरक्षा कवच यही अनुरोधलाई लिन सकिन्छ । अर्को कुरा, मदनको शयन कक्षमा कोही मानिस भित्र छिर्न लाग्यो भने मदनको शयन कक्षबाट भित्रभित्रै गोप्य तवरले लुक्न मिल्ने गरी सुरुङ निर्माण गरिएको छ ।
त्यहाँबाट लुक्दैलुक्दै माथि बुइँगलमा जान मिल्छ, बुइँगलमात्र होइन, घुमेर अर्कोपट्टिबाट अर्को भर्याङमा निस्कन मिल्छ । ‘वास्तवमा त्यो कला या कालिगढीलाई मान्नै पर्छ’, मदनसँग निकट रहेर काम गरेका नेकपा (एमाले) का उपाध्यक्ष गुरु बराल भन्छन्, ‘त्यो शिल्प मदनले संस्कृतकै अध्ययनबाट सिक्नुभएको थियो ।’
पूर्वी नेपाल मोरङको इटहराको एक शान्त भू–भागमा रहेको यो घर कुनै सामान्य घर होइन । यो घर बनाउँदा मदन भण्डारीले त्यसलाई केवल बासका लागि मात्र बनाएनन्, उनको जीवनदर्शन, संस्कार र विचारको प्रतिबिम्ब थियो । उनको जीवनमा भएका आदर्श, संस्कार र शिक्षालाई भौतिक स्वरूपमा उतारिएको थियो यस घरमार्फत ।
यो घरको भित्तामा संस्कृतका श्लोकहरू पनि कुँदिएका छन्– ‘सर्वे भवन्तु सुखिनः ।’ यस्ता मन्त्रले घरलाई पवित्र मात्र बनाएको छैन, यी श्लोकहरूले घरमा पाइला टेक्ने हरेकलाई संयमित, सामाजिक धर्म, सत्य तथा मानवताको मार्गमा चल्ने प्रेरणा दिन्छन् ।
मदन भण्डारी र संस्कृत प्रेम
मदन भण्डारीको संस्कृतप्रेम ताप्लेजुङ ढुंगेसाँघुको ठोट्ने गाउँबाट सुरु भयो जहाँ उनको जन्म २००९ साल असार १४ गते भएको थियो । संस्कृत शिक्षाप्रतिको मोह आफ्ना पिता पण्डित देवीप्रसाद भण्डारी र दाजु स्वामी महिधरानन्द (डा. मनोजकुमार भण्डारी) बाट मदनमा सर्यो । स्वामी महिधरानन्दका अनुसार स्थानीय जिल्लामै संस्कृत शिक्षाको शुभारम्भ गरेका मदन २०२३ सालमा संस्कृत शिक्षाको अध्ययनका लागि भारतको वृन्दावन गए । थोरै समय देहरादुनमा पनि पढेर मदनले बनारसबाट संस्कृतमै उच्च शिक्षा लिएका थिए ।
बनारस छँदै मदन पुष्पलाल समूहमार्फत कम्युनिस्ट आन्दोलनप्रति आबद्ध हुन्छन् । तर छोटै समयमा उनमा प्रवासमा बसेर मुलुकमा क्रान्ति हुँदैन, त्यसका लागि स्वदेश फर्कनुपर्छ र आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ भन्ने भावना विकास हुन्छ । यही भावना बोकेर त्यतिबेलाको उनको आबद्धता रहेको मुक्तिमोर्चामा भएका साथीहरू समेत लिएर विद्रोह गर्दै उनी नेपाल प्रवेश गर्छन् । र, इटहरा फर्कन्छन् ।
त्यही क्रममा उनी झापाली समूहसहित विभिन्न समूहमा विभाजित नेपाली कम्युनिस्ट आन्दोलनमा सम्बद्ध नेता/कार्यकर्ता भेट्न थाल्छन् । र, एकताको नयाँ विचारको बीजारोपण इटहराबाट गर्न थाल्छन् । यसैक्रममा आफैं लागेर इटहराको घर पनि बन्छ । यो घरमात्र बन्दैन, यहीँबाट विचारको प्रवाह विस्तार हुँदै जान्छ । नजिकै रहेको टेकबहादुर राईको घरमा नेकपा (माले) को स्थापना हुन्छ ।
अनेकौं कम्युनिस्ट नेताहरू धार्मिक वा परम्परागत संस्कारप्रति विरोधी देखिए पनि मदन भण्डारी त्यसको अपवाद थिए । उनको विचार थियो– धर्म र संस्कार केवल आस्थाको फरक विषय नभई हाम्रो समाजको सभ्यता र सामाजिक जीवनको मेरुदण्ड हो । घरको दलिनमा एकातिर लेखिएको छ, ‘थरी देवीप्रसाद भण्डारी ।’ थरी अर्थात् गाउँमा मुखिया देवीप्रसाद अर्थात् मदनका बुवा नै त्यो घरका मूली थिए ।
संस्कृत श्लोकहरू टाँसिएका, शुद्ध र पारदर्शी जीवनशैलीको प्रमाणित घर उनको गम्भीर चिन्तनको साक्षी थियो । अर्को श्लोक ‘सत्यम् शिवम् सुन्दरम्’ ले मदन भण्डारीको व्यक्तित्व– सादा, सत्यनिष्ठ र सुसंस्कारी स्वभावलाई पनि दर्शाउँछ ।
पूर्वीय सभ्यतामा सत्य नै शिव (कल्याणकारी) हो र शिव नै सुन्दर (सौन्दर्यपूर्ण) मानिन्छ । यो गहन अर्थलाई नै मदनले आफ्नो जीवनसँग जोड्न चाहेका थिए । साथै संस्कृतका कतिपय उन्नत दर्शनलाई मदनले आफ्नो व्यवहारमा उतार्न खोजेको र राजनीतिक विचारमा समेत पूर्वीय दर्शन सापेक्ष बनाउन खोजेको देखिन्छ जुन दर्शनको उनले इटहराबाट श्रीगणेश गरेका थिए ।
‘सत्य पवित्र हुन्छ र पवित्रता नै वास्तवमा सौन्दर्य हो’ भन्ने कुरा उनले संस्कृतको अध्ययनबाट राम्रोसँग बुझेका थिए । मदन भण्डारीले यो वाक्य आफ्नो घरमा लेखेर के सन्देश दिन खोजेका हुन् ? जीवनमा सत्य मार्गमा हिँड्नु नै कल्याणको बाटो हो भन्ने उनले राम्रोसँग बुझेको देखिन्छ । राजनीति, समाजसेवा वा व्यक्तिगत जीवनमा सत्य र पवित्रताको मूल्य सर्वोपरि हुनुपर्छ भन्ने उनले आफ्नो मान्यता बनाएका थिए ।
त्यसैले इटहराको घर केवल काठको घरमात्र होइन, त्यो भावनाको केन्द्र पनि हो । जहाँ एउटा नेताको मात्र होइन, एउटा विचारशील मानिसको आत्मा र सादगी जीवनशैलीको झल्को पाइन्छ । सादा पलङ, पुस्तकहरूले भरिएको पुस्तकालय थियो त्यहाँ जुन अहिले त्यहाँबाट लोप भइसकेको छ । अतिथिहरूको सत्कारका लागि खुला ठाउँ र सन्तुलित वातावरण–यी सबैले देखाउँछ कि उनका लागि घर केवल आरामको थलो होइन, विचार विकासको प्रयोगशाला पनि हो ।
आजको सन्दर्भमा त्यो घरको महत्त्व
इटहरामा रहेको मदनले बनाएको घर होस् या उनी जन्मेको ताप्लेजुङ ढुंगेसाँघुस्थित घर संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । दीर्घकालीन संरक्षण नभएर यो घर कमजोर हुनु भनेको घरमात्र कमजोर हुनु होइन, एमालेमा विचार र आस्था कमजोर हुनु र धमिरा लाग्नु हो ।
हालै आफू मदन भण्डारीसँग बिहे गरेर भित्रिएको घर हेर्न इटहरा पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेताका यी घरहरूको शीघ्र संरक्षणमा लाग्न सरकारको ध्यानाकृष्ट गरेकी थिइन् । भण्डारीले भनिन्, ‘यी घरको संरक्षणमा आफूले धेरै पहिलेदेखि आवाज उठाइरहे पनि सुनुवाइ भएको छैन । र, यी घरहरूको संरक्षण गर्नु वर्तमान सरकारकै कर्तव्य हो ।’
इटहरा गाउँ नै अहिलेको रतुवामाई नगरपालिकामा परिणत भएपछि यो इटहराको इतिहास पनि मेटिने क्रममा छ । मदन भण्डारीको ऐतिहासिक महत्त्व बुझेका स्थानीयवासी शिवप्रसाद पौडेल भने मदनको यो घरलाई समेत समेटेर यस ठाउँलाई मदनग्राम बनाउन चाहन्छन् ।
यस सम्बन्धमा स्थानीयवासीले पूर्वराष्ट्रपति भण्डारीको हालैको भ्रमणमा ज्ञापनपत्रसमेत दिएका थिए । अहिले जब हामी मदनको जन्मजयन्ती मनाउने क्रममा छौं, असार १४ गते, हामी केवल उनको योगदानको सम्झना मात्र गरिरहेका छैनौं, उनको घरलाई पनि एउटा स्मारकका रूपमा हेर्ने कल्पना पनि गरिरहेका छौं । त्यही घरमा पुग्दा हामीले उनको शालीनता, स्पष्ट विचार र जनताका लागि समर्पित भावनालाई महसुस गरेका थियौं ।
त्यो घरलाई ‘मदन स्मृति संग्रहालय’ मा रूपान्तरण गर्नु सान्दर्भिक छ । मदनका विचार नयाँ पुस्तामा हस्तान्तरण गर्नु र उनको संस्कारलाई जोगाइराख्नु अब एमालेको कर्तव्य हुनुपर्छ । किनभने त्यो केवल मदन भण्डारीको घर होइन, त्यो घर नेपाली राजनीति, विचार र संस्कृति समेटिएको एउटा धरोहर हो ।
‘जनताको बहुदलीय जनवाद’ का कट्टर समर्थक तथा व्याख्यातामध्येका एक नेकपा एमालेका सचिव योगेश भट्टराईको विचारमा ‘मदन भण्डारीले बनाएको इटहराको घर होस् या मदन जन्मेको ताप्लेजुङ ढुंगेसाँघुको घर कुनै सामान्य भौतिक संरचना मात्र होइनन् । ‘ती घर एउटा युगका साक्षी हुन्– जहाँ विचार बाँचिरहेका छन्, संस्कारहरू बोलिरहेका छन्’, भट्टराई भन्छन्, ‘असार १४ को दिन जब हामी मदनको जन्मजयन्ती मनाउँछौं, ती घरलाई हेरेर पनि हामी हाम्रो जीवनलाई सत्य र निष्ठापूर्वक जनताको सेवाको मार्गमा लगाउने संकल्प गरौं ।’
४१ वर्षकै उमेरमा यस धराबाट सधैंका लागि अस्ताएका सरल र निष्ठावान् कम्युनिस्ट नेता मदनप्रति हार्दिक श्रद्धाञ्जली ।
