रंगमञ्चमा सीप, रजतपटमा सफलता

असार १४, २०८२

समर्पण श्री

Skill on the stage, success on the silver screen

काठमाडौँ — करिब दुई दशकअघि अभिनेता दयाहाङ राई रंगमञ्चको आँगनमा उभिएर नेपाली फिल्महरू नियाल्थे । न समय सान्दर्भिक कथा, न अभिनय कौशल । त्यतिबेला समूहमा बसेर उनीहरू चलिरहेका फिल्ममाथि घण्टौं गफिन्थे र असहमति व्यक्त गर्थे । त्यही असहमतिको उपज थियो, फिल्ममा उनीहरूको उपस्थिति । 

नेपाली फिल्मबाट दर्शकहरू गयल हुँदै गए, फिल्मकर्मीहरू निराश बन्दै गए । फिल्मले विश्वसनीयतासँगै व्यापार पनि गुमाउँदै गइरहेको क्षण फिल्मकर्मीका लागि त संकटकाल नै बनिदियो । त्यही बेला आशाको ज्योति बनेर पर्दामा झुल्कियो निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट’ । १३ वर्षअघि रिलिज भएको यो फिल्मले सुखद् व्यापारसँगै धेरै मान्यतासमेत भत्कायो ।

कथासँग नजिकिएका दर्शकहरूलाई फिल्मका पात्रहरू यति स्वाभाविक लागे कि ती परिचितझैं थिए । त्यही फिल्मबाट नयाँ पालुवाझैं गरी रंगमञ्चका बेग्लाबेग्लै अनुहारहरू ठूला पर्दामा जबर्जस्त छाउन थाले ।

‘लुटमा हामीलाई कथा बुझ्न सक्ने, एक्सपेरिमेन्ट गर्न तयार हुने कलाकारहरू चाहिएको थियो । जो साँच्चै पात्र बाँच्न सक्थे । त्यो सम्भावना केवल रंगकर्मीहरूसँग थियो,’ निर्देशक बस्नेत सम्झन्छन्, ‘उहाँहरूसँग मिलेर काम गर्‍यो भने फरक खालको परिणाम आउँछ भन्ने अपेक्षा थियो । सबै कलाकारले आ–आफ्नो तर्फबाट गरेको मिहिनेतले राम्रो परिणाम दियो ।’ 

त्यसअघि पनि रंगकर्मीहरूको उपस्थिति फिल्ममा नभएको हैन । कलाकार हरिहर शर्मालगायत एकाध रंगकर्मीहरू फिल्म र थिएटर दुवैमा सक्रिय थिए । ‘लुट’ आउनुअघि पनि र ‘कागबेनी’, ‘सानो संसार’, ‘दासढुंगा’, ‘बधशाला’ हरूमा दयाहाङ राई, कार्म, दिया मास्के, सौगात मल्ल, खगेन्द्र लामिछानेहरूको उपस्थिति देखिन थालेको थियो । तर उनीहरूको प्रभाव ‘लुट’ बाट झन् बलियो बन्यो । त्यसपछि निर्माण भएका ‘कबड्डी’, ‘टलकजंग भर्सेस टुल्के’ र ‘पशुपतिप्रसाद’ जस्ता फिल्महरूले मौलिक कथा र स्वाभाविक अभिनयलाई केही अलग स्वादसहित निरन्तरता दिए, र ती अलग स्वादहरूलाई दर्शकहरूले अनुमोदन गरे । 

करिब डेढ दशकयता नेपाली फिल्म क्षेत्रमा तिनै थिएटर पृष्ठभूमिका कलाकारको वर्चस्व छ । सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, खगेन्द्र लामिछाने, विजय बराल, प्रवीण खतिवडा, कार्म, रवीन्द्रसिंह बानियाँ, नाजिर हुसेन, दिया मास्के, सिर्जना सुब्बा, लक्ष्मी बर्देवा, बुद्धि तामाङ, माओत्से गुरुङ, भोलाराज सापकोटा, दिव्यदेव कमलमणि नेपाल, कामेश्वर चौरासिया, सरिता गिरी, पशुपति राईलगायत थुप्रै कलाकारहरू नेपाली फिल्ममा दोहोरिरहने अनुहार हुन् ।

Skill on the stage, success on the silver screen

यी अनुहारहरू दोहोरिएनन् मात्र, यिनीहरूले फिल्ममा पृथक् प्रभाव छाडे । रंगमञ्चका कलाकारसँगै फिल्ममा नवीन सोच र कथा लिएर नयाँ निर्देशकहरू पनि जन्मिए । अभिनेता दयाहाङ सामूहिक रूपमा न्यारेटिभ बदल्न आफूहरूले गरेको प्रयत्नको निरन्तरता नै नेपाली फिल्ममा अहिलेसम्म देखिएको बदलाब ठान्छन् । ‘हामीलाई आफैं उदाहरण बन्न ७ वर्ष लाग्यो । र स्थापित हुन १० वर्ष,’ उनी आकलन गर्छन् । उसो त पछिल्लो पुस्तामा पनि फिल्ममेकरहरूको रोजाइमा रंगकर्म गरिरहेकाहरू नै प्राथमिकतामा हुन्छन् । 

फिल्ममा रंगमञ्चका कलाकारको सामूहिक उपस्थितिसँगै के के बदलाब आए ? ‘पहिला अनुहार आउन थाले, त्यसपछि पृष्ठभूमि अनि कथा,’ दयाहाङ भन्छन्, ‘अब भने शैली आउन जरुरी छ ।’ हिजो गुरुङ, लिम्बू, राई, मगरका कथा सिनेमामा अटाउन्न थिए । अहिले फरक अनुहार, समुदायसँगै कथाहरूको उपस्थिति पनि बलियो छ ।

अभिनेता विजय बरालको ठम्याइमा नेपालमा मात्र हैन, विश्वभरि नै फिल्ममा थिएटर पृष्ठभूमिका कलाकारको प्रभाव छ । ‘विश्वभरि पनि जुनजुन सिनेमा बढी चले जसका चरित्रहरू बढी चले । कि त थिएटिकल पृष्ठभूमिबाट आएका कलाकारहरू देखिन्छन् । कि त सिनेमाबाट थिएटर गएर फेरि सिनेमामा आएकोहरू नै । विश्व बजारलाई हेर्दा थिएटरले नै एक किसिमको माहोल परिवर्तन गरिरहेका छन्,’ उनी भन्छन् ।

रंगमञ्च पृष्ठभूमि नभए पनि अभिनेत्री ऋचा शर्माले रंगमञ्चकै अनुहारहरूसँग थुप्रै फिल्ममा काम गरिन् । ‘उनीहरूसँग काम गर्दै जाँदा धेरै सिक्ने मौका पाएँ । रंगमञ्चबाट आएका दया, खगेन्द्रहरूसँग काम गर्दा मैले रियलाइज गरेँ कि पढ्नुचाहिँ पर्ने रहेछ, तालिमचाहिँ लिनुपर्ने रहेछ । आजको दिनमा पनि उनीहरूसँग काम गर्दा म प्रभावित हुन्छु,’ ऋचा भन्छिन् । 

रंगमञ्चबाट उभिएका कलाकारहरूले फिल्मलाई लिड गरिरहेको देख्दा गर्विलो महसुस गर्छन् रंगकर्मी सुनील पोखरेल । सौगात, दयाहाङ, विपिनलगायत थुप्रै कलाकारहरूलाई अभिनय सिकाएका पोखरेलको दाबी छ, ‘नेपाली रंगमञ्चमा भएका अभ्यासले सिनेमालाई पनि बदल्न सहयोग गरे ।’

अहिले तिनै स्थापित अनुहारहरूलाई देखेर नयाँ पुस्ताहरू फिल्मसम्म पुग्ने पुलका रूपमा रंगमञ्चलाई लिएका छन् । सुनील यो प्रक्रियालाई गलत देख्दैनन् । ‘केही समय रंगमञ्चमा अभ्यास गरेर सिनेमामा जाँदा म नराम्रो केही देख्दिनँ । कम्तीमा एउटा राम्रो स्कुलिङ त हुन्छ,’ उनी भन्छन् । अभिनेता लामिछाने त्यो स्कुलिङ जरुरत भएको बताउँछन् । ‘राम्रो अभ्यासबाट आएको मान्छेले बेटर गर्न सक्दो रहेछ भन्ने कुराको प्रमाण भयो । स्कुलिङबाट आउनु जरुरी पनि छ,’ उनी भन्छन् ।

डेढ दशक वरिपरिलाई नियाल्दा खगेन्द्रले पनि नेपाली फिल्ममा पाएको परिवर्तन थियो अभिनय शैलीमा आएको बदलाब । त्यसमाथि मिश्रित समाज, आफ्ना भाषिकाहरू फिल्मका सौन्दर्यका रूपमा देखिए । यसमा मेकरको शैली र कलाकारहरूको अभिनय प्रक्रियाले ठूलो भूमिका निर्वाह गरेको उनको ठहर छ । तर, रंगमञ्चबाट आएका कलाकारले मात्र अभिनयमा कायालट गरेको कुराचाहिँ उनी स्विकार्दैनन् । ‘जो रंगमञ्चबाहिरबाट आउनुभयो, तर कडा मिहिनेतले आफूलाई बनाउनुभएको कलाकार पनि थुप्रै छन्,’ लामिछाने भन्छन् ।

Skill on the stage, success on the silver screen

रंगमञ्चबाट आएका कलाकारहरूले अभिनयमा फिल्म क्षेत्रमा लिड त गरे । तर पछिल्लो समय आलोचनाबाट मुक्त छैनन् । दयाहाङकै अभिनय विविधतामाथि अहिले प्रश्न उठ्न थालेको छ । फिल्मका संख्या बढेसँगै गुणवत्तामा कमी आइरहेको दर्शकको गुनासो छ । दया मात्रै हैन, पछिल्लो समय दोहोरिहने प्रायः अनुहारहरूको काममा विविधता नदेखिएको गुनासा आइरहेका छन् । किन त ? कलाकार सरिता गिरीको चिन्ता छ, ‘साथीहरू फिल्ममा यति व्यस्त हुन थाले कि अभिनयमा विविधता आउन छाड्यो । मिहिनेत कम देखिन थाल्यो । यो दुःखलाग्दो कुरा हो ।’ 

त्यसमाथि उनीहरूलाई अर्को आरोप पनि छ । फिल्म निर्देशक नवीन सुब्बा बारम्बार दोहोर्‍याइरहन्छन्, ‘रंगमञ्चबाट फिल्ममा आएका कलाकारहरूले फिल्मको अभिनय बिगारे ।’ 

सुब्बा स्वयंले दयाहाङ र पशुपति राईलाई आफ्नो पछिल्लो फिल्म ‘गाउँ आएको बाटो’ मा मुख्य पात्रका रूपमा लिए । ‘त्यसमा मैले उनीहरूको अभिनयलाई फरक देखाउने प्रयास प्रयास गरेको थिएँ,’ सुब्बा भन्छन् । तर प्रायः फिल्महरू थिएटर एक्टरहरू फिल्ममा पनि थिएटरकै एक्टिङ गरिरहेको ठम्याइ छ उनको ।

Skill on the stage, success on the silver screen

‘थिएटरमा इमोसनको प्राजेक्सन गर्नुपर्छ । फिल्ममा एक्टिङको इमोसन्सलाई कन्ट्रोल गर्नुपर्छ । थिएटरकाहरूले इमोसन प्रोजेक्सन गर्छन् । तर त्यही एक्टिङ क्यामेरामा गर्यो भने हुन्छ ? नेपाली थिएटर कलाकारहरूले क्यामेरामा पनि त्यही एक्टिङ गरिरहेका छन्,’ सुब्बा भन्छन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully