चोकैमा कंक्रिट स्तम्भ ठड्याउन प्रतिस्पर्धा गरिरहेका हरेक सहरले बन्दीपुरबाट सिक्नुपर्छ । बरु इतिहासको लेउ लागोस्, बन्दीपुरलाई आधुनिकताको वनमाराले नछोपोस् ।
थानीमाई डाँडामाथिको आकाशमा पहेँलो रङ छरियो । घाम अनन्त आकाशमा बिलाउँदै गर्दा तलपट्टि पिलिकपिलिक 'जूनकिरी' जस्ता सडकबत्ती बल्न थाले ।
होटलका साहुहरूको व्यस्तता एकाएक थपियो– चिल्ला सडकमा टेबुलकुर्सी ल्याउनु, पुछपाछ गरेर पाहुनालाई स्वागत गर्नु । कलात्मक सडकबत्तीको उज्यालो फैलँदै पद्म पुस्तकालयसम्म आइपुग्यो । म यहीँ अगाडिको आडमा बसेर नियालिरहेछु– देशीविदेशी पर्यटकको चहलपहल । कोही चियाकफी लिँदै छन्, कोही मदिराको मातमा मदमस्त । कोहीचाहिँ घरका बार्दली र छानातिर विस्मित नजर लगाउँदै सुस्तरी हिँडिरहेछन् ।
कुनै होटलको नेपथ्यमा बजिरहेको सांगीतिक धुनले बन्दीपुरको सन्ध्याकालीन वातावरण मनोरम बनाएको छ ।
वैशाखको अन्तिम साता बन्दीपुर पुगेको छु । सवारीको कोलाहल न वायु प्रदूषण । शान्त, सुरम्य र स्वच्छ । बन्दीपुरले वशीभूत बनाएको छ मलाई !
यो दृश्य अद्भुत छ । सयौं वर्षदेखि संरक्षण गरेर जीवन्त बनाइएको कुनै युरोपियन सहरजस्तो ।
साँझदेखि गुल्जार बन्दै गएको बन्दीपुर ९ बजेसम्म झुमिरहेको थियो । म फर्किएँ । जसै सुत्नलाई बत्ती निभाएँ, त्यो अन्धकारमा मैले पाँच दशकअघिको बन्दीपुरको अनुहार सम्झिएँ । बसाइँ सरिरहेकाहरूको ताँती । खण्डहर बन्दै गएका घरहरू । मक्किँदै गएका छाना र भित्ता अनि 'भूताहा सहर' भनेर हेपिएको बन्दीपुर !
त्यो बन्दीपुर
मध्यनेपालको व्यापारिक र प्रमुख प्रशासनिक केन्द्र, बन्दीपुर । तनहुँको सदरमुकाम रहेको यो पुरानो ठाउँ मृतसहर हुँदै गुज्रिएको तीन दशक जति नमिठो छ, वर्तमान त्यस्तो छैन ।
जब पृथ्वी राजमार्ग बन्दीपुरलाई 'बाइपास' गरेर अघि बढ्यो, मोटर र ढुवानीका साधन पोखरातिर सोझिन थालेपछि यहाँको व्यापार सुक्यो । बरु राजमार्गले छोएको डुम्रे चम्किँदै गयो । सुविधाले सुख पनि लिएर आउने रहेछ । राजमार्गले सुविधा बोकेर दगुर्यो, बन्दीपुर यही सानो डाँडामा टाक्सियो ।
२०२५ सालमा यहाँबाट सदरमुकाम दमौली सारिएपछि साहुहरू पलायन भए । धेरैजसो चितवनको नारायढघाट गए, कोही काठमाडौं त कोही पोखरा । यसरी बन्दीपुर 'मृत सहर' र 'घोस्ट टाउन' बन्यो । सुन्दै कति नमिठो । इतिहासको पानामा बन्दीपुरले पाएको उपमा यही त थियो !
बन्दीपुर क्याम्पसका सहायक क्याम्पस प्रमुख गोवर्द्धन भट्टराई यहीँका रैथाने हुन् । बन्दीपुर कसरी व्यापारिक केन्द्र बन्यो र खण्डहर हुँदै पुनर्जन्म पायो, यसका साक्षी पनि । 'घरहरू रित्तिए, जीर्ण बने, छाना खस्न थाले । कतिसम्म भने मेरो घरमा बसेर रेखदेख गरिदेऊ न भनेर पैसा दिनुपर्ने अवस्था पनि आयो, घर नथोत्रियोस् भनेर,' उनी अतीत सुनाउँछन्, 'व्यापार नभएपछि साहुहरूले त बन्दीपुर छाडे नै । मजदुरी गर्नेहरू पनि कामको खोजीमा सहरतिर गए, बाँकी रहे हामीजस्ता मध्यम वर्गीय ।'
लमजुङ, गोरखा, मनाङ, स्याङ्जा, कास्की, पाल्पादेखिका व्यापारी यही बाटो हुँदै भारत जान्थे । ठोरीसम्म ट्रकमा सामान हालेर त्यहाँबाट भरियामार्फत बोकाएर ल्याउने गरेको भट्टराई सुनाउँछन् ।
चीजकुमार श्रेष्ठले आफ्नो पुस्तक 'घुमिफिरी बन्दीपुर'मा झन्डै २५०/२७५ वर्ष पहिलेदेखि नै बन्दीपुर एउटा व्यापारिक केन्द्र बन्न थालेको उल्लेख गरेका छन् । लिन्डा एल्टिसले सन् १९८० मा गरेको शोधपत्र उद्धत गर्दै श्रेष्ठ लेख्छन्, 'सम्भवतः सुरुमा हिमाली क्षेत्रबाट आएकाहरूले भोटे नुन ल्याउँथे र चामलसँग साट्थे । बिस्तारै अन्य सरसामान जस्तोः जिम्बु, निरमसीजस्ता जडीबुटी र कस्तुरीको नाभी, ऊनीका राडीपाखी, गलैंचा, भेडा, च्याङ्ग्रा, घोडा पनि ल्याउन थाले । उनीहरू यी सामान नुन, तेल, मट्टीतेल, सुर्ती, मसला (जिरा, मरिच, धनियाँ) आदिसँग साट्थे । पैसा दिएर सामान किन्ने र लिने चलन पछि मात्र आएको हो ।'
भोट–तिब्बतदेखि भारत व्यापारका लागि बन्दीपुर 'ट्रेड रुट' बनेको थियो । बन्दीपुरमा आफ्नो परिवारको कपडा पसल रहेको इतिहास कोट्याउँदै श्रेष्ठले मनाङका मानिस निकै आउने गरेको चर्चा गरेका छन् । यहीँबाट उनीहरू सामान लिन भारत जान्थे ।
पृथ्वीनायण शाहले काठमाडौं उपत्यका आक्रमण गरेपछि नेवारहरू विस्थापित भई बन्दीपुर पुगेको इतिहासमा पढ्न पाइन्छ । 'कान्तिपुरबाट श्रेष्ठ, ललितपुरबाट प्रधान र भक्तपुरबाट पिया आएका भन्ने हामीले सुनेका हौं,' भट्टराई भन्छन् । यसरी आउनुमा सुरक्षित आश्रयको खोजी र व्यापारिक उद्देश्य पनि थियो । उनीहरूको आगमनपछि नै बन्दीपुरमा भक्तपुरे शैलीका घर निर्माण हुन थालेका हुन् । उनीहरूसँगै भित्रिएको नेवारी संस्कृति अहिले बन्दीपुरको महत्वपूर्ण सम्पदा भएको छ । काठका झ्यालढोकामा कुँदिएका कला र जात्रापर्वमा देखिने झाँकी बन्दीपुरे पहिचान हुन् । यहाँका गल्ली छिर्दा उपत्यकाको कुनै सहरभित्र हिँडिरहेको महसुस हुन्छ ।
बन्दीपुरको पुनर्जागरण
बन्दीपुरको अहिलेको चमक र जीवन्तताका पछाडि पीडादायी अतीत र पुनर्जागरणको प्रेरणादायी कथा पनि लुकेको छ । चीजकुमार श्रेष्ठको नेतृत्वमा २०४९ सालमा बनेको 'बन्दीपुर सामाजिक विकास समिति'ले बन्दीपुर पुनर्जन्मको सपना देखेको हो । उनीसहित मदन पिया, घनश्याम श्रेठ, नमस्तेलाल श्रेष्ठहरू फर्किन थाले बन्दीपुर बनाउन ।
भिजिट नेपाल १९९८ पनि बन्दीपुर चम्काउने माध्यम बन्यो । यही मेसोमा पहिलो बन्दीपुर महोत्सव भयो । 'भिजिट नेपालका क्रममा भिजिट बन्दीपुर भनेर जोड्ने प्रयास भयो । पिसकोरका स्वयंसेवक त त सन् १९९८ अघिदेखि नै आइरहेका थिए । उनीहरूको सहयोगले बन्दीपुरले आफ्नो लय लिन थाल्यो,' होटल व्यवसायी बैंस गुरुङ भन्छन् ।
यहाँका अग्रज र सचेत युवा अनि बाहिर रहेका बन्दीपुरेले स्वास्थ्य, शिक्षा र पर्यटनलाई सँगै लाने निश्चय गरेर कार्यक्रम अघि बढाए । त्यो बेला टीएचई (टुरिजम, हेल्थ र एजुकेसन) अभियान अघि बढाएको सम्झन्छन्, भट्टराई । स्थानीयलाई उत्साहित बनाउने काम गर्यो, २०४२ साल स्थापित नोट्रेडेम स्कुलले । जापानी सिस्टरहरूले पढाउन थालेको यो शैक्षिक संस्थामा वरिपरिका विद्यार्थी पनि तानिन थाले ।
भिजिट नेपाल र बन्दीपुर महोत्सवपछि अन्तर्राष्ट्रिय मिडियाको नजरमा पनि पर्यो बन्दीपुर । यात्रासम्बन्धी गाइड बुकको काम गर्ने 'लोन्ली प्लानेट'ले लेखेपछि यो सहरमाथि विदेशी पर्यटकको नजर पर्न थाल्यो । 'बन्दीपुरको कायापलटमा यो एउटा कोशेढुंगो साबित भयो । किनभने, लोन्ली प्लानेटले सिफारिस गर्नेबित्तिकै एक त पर्यटकहरूमा नै बन्दीपुरबारे जिज्ञासा उत्पन्न भयो, दोस्रो ठूला होटेल र ट्राभल एजेन्सीहरूले आफ्नो प्याकेजमा बन्दीपुरलाई समावेश गरे,' श्रेष्ठ पुस्तकमा लेख्छन् ।
त्यसपछि विदेशी पर्यटकको आगमन बढ्न थाल्यो । पोखरा वा चितवन जानेका लागि 'वन स्टप बन्दीपुर' प्याकेज बन्न थाले । त्यसबेला ठूला होडिङ बोर्ड राख्ने चलनले बन्दीपुर चिनाउन सहयोग मिलेको व्यवसायी गुरुङ बताउँछन् । 'एयरपोर्टअगाडि राखिएको बोर्डमा सबैको नजर पर्थ्यो, नारायणगढलगायत ठूला सहरमा पनि बोर्ड राख्न थालिए,' उनी भन्छन्, 'ब्रोसर र डकुमेन्ट्री बनाउन विदेशी नै लागिपरेका थिए, त्यसले प्रचारमा ठूलो सहयोग मिल्यो ।'
उनका अनुसार संयुक्त राष्ट्रसंघका विभिन्न निकायमार्फत भित्रिएको सहायताले पर्यटन प्रवर्धनमा अझ सघाउ पुर्यायो । स्थानीय सामाजिक विकास समितिसँग समन्वय गरेर सन् २००५ मा 'इको कल्चरल टुरिजम' सुरु भयो । यही अभियानले बन्दीपुर पुनर्जागरणमा जग हाल्यो ।
'त्यसले एउटा खाका बनाइदियो । गाउँमा टुरिजम कसरी लाने, कसरी मैलिकतामा ध्यान दिने भन्ने आधारभूत प्लान बन्न थाले । मुख्य सहरभित्र गाडी नछिराउने, ढुंगा बिछ्याउने, घरको मौलिकता संरक्षण गर्ने अवधारणा बन्यो । चौतारी कहाँ कसरी बनाउने भन्ने ससाना कुरामा उनीहरूले दिए,' गुरुङ भन्छन् ।
घरको अघिल्तिर छाना राख्नैपर्ने, सटर राख्न नपाउने, झ्याल–ढोका काठको राख्नुपर्ने नियम बन्यो । पछि गाउँपालिकाले पनि यहीअनुसार मापदण्ड बनाएपछि स्थानीयले साथ दिएका छन् ।
अब बन्दीपुर
व्यवसायी गुरुङ बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक पनि हुन् । त्यो बेलाको इको प्रोजेक्टले नै अहिलेसम्म बन्दीपुर चलिरहेको ठान्छन्, उनी । 'मुख्य उद्देश्य त पर्यटन प्रवर्धन नै हो,' भन्छन्, '२० वर्ष अगाडिको टुरिजम र अहिलेमा धेरै भिन्नता छ । टुरिस्टहरूको रुचि र रोजाइ फरक हुँदै गएको छ । उनीहरूको रोजाइ अब बन्दीपुरले पूरा गर्न सक्ने गरी काम थालेका छौं ।' यो भनेको पर्यटकका लागि खर्च गर्ने ठाउँको खोजी र पर्यटकीय क्षेत्रको विस्तार हो । ठूला होटलले लगानी गरून् भन्ने अपेक्षा पनि छ उनीसँग ।
पर्यटक फर्किने बेला उनले गुनासो सुन्ने गरेका छन्– ४/५ घण्टामै बन्दीपुर त घुमिसकिने रहेछ । 'त्यो गुनासो चिर्न हामी अब मुख्य सहरभन्दा परपर पनि जानुपर्छ । भिलेज टुर गर्ने कि जंगल वाक, गुफा छिर्ने कि ऐतिहासिक गढीको अवलोकन,' उनी उत्साहित सुनिए, 'कम्तीमा दुई रात हामीले स्वागत गर्नुपर्छ । बन्दीपुर टेकिसकेपछि बल्ल अब घुम्न पाइने भयो भन्ने आभास दिलाउने कोसिसमा लागेका छौं ।'
यहाँबाट करिब डेढ घण्टामा पुगिने रामकोट ग्रामीण संस्कृति चिनाउने सुन्दर गन्तव्य हो । मगरहरूको परम्परागत घर र रहनसहन पर्यटकका लागि नौलो अनुभूति हुन सक्छ । '५०/६० घर मगरको मात्रै छ,' गुरुङ भन्छन्, 'गाउँपालिकाभित्रका सबैजसो पर्यटकीय स्थलको पहिचान र प्रवर्धन गर्दै अलिकति खर्चिलो पर्यटक भित्राउने लक्ष्य हामीले राखेका छौं ।' बन्दीपुर-६ को गुरुङ बस्ती अर्को सुन्दर गन्तव्य हो । यहाँका स्थानीयले आफ्नो संस्कृतिलाई अझै जीवित राखेका छन् ।
विमलनगर–बन्दीपुर केबुलकार सञ्चालनमा रहे पनि पदयात्रा गर्नेका लागि लागे सिद्धगुफा नियाल्दै जंगलैजंगल सिढी पार गर्दै बन्दीपुर पुग्नु कम रोमाञ्चक हुन्न । चराचुरुंगीको संगीत सुन्दै उकालिँदा डाँडाको गुम्बाले स्वागत गर्छ । त्यहाँबाट मन लागेजति वरिपरिका दृश्य हेर्न सकिन्छ ।
यहाँका स्थानीय बासिन्दा टुँडिखेललाई 'नेचुरल भ्यु टावर' भन्दा रहेछन् । जहाँबाट धौलागिरी, माछापुच्छ्रे , अन्नपूर्ण, लमजुङ, मनास्लु, हिमचुली, बौद्ध, दोर्जे लाक्पा, गणेश र लाङटाङ हिमशृंखला देखिन्छ ।
थानीमाई यस्तो अर्को थुम्को हो, जहाँबाट सूर्यास्तको आनन्द लिँदै साँझ सानदार बनाउन सकिन्छ । यही डाँडाबाट तन्किएको पदमार्ग मुकुन्देश्वरी डाँडासम्म पुग्छ । यो पदमार्गलाई 'मिनी ग्रेटवाल' नाम दिइएको छ । सेन राजाहरूले शासन गरेको बन्दीपुरका थुम्कामा दरबारको भग्नावशेष छन् । मणि मुकुन्देश्वरी गढी, चन्द्रकोट गढी र हुस्लाङकोट गढी यहाँका ऐतिहासिक विरासत हुन् ।
सुनाखरी, खड्गदेवी, विन्ध्यवासिनी, महालक्ष्मीथान, तीनधाराजस्ता धार्मिक–ऐतिहासिक गन्तव्य नजिकै पर्छन् । वरिपरि यस्ता अनेक ठाउँ छन्, जहाँ हाइकिङ, साइक्लिङ र प्याराग्लाइडिङको मजा लिन पाइन्छ ।
२००७ सालको क्रान्तिमा ज्यान गुमाएका सहिदको स्मृतिमा बनाइएको सहिद पार्कबाट तल लमतन्न सुतेको मर्स्याङ्दी फाँट नियाल्दै शीतल ताप्न पाइन्छ । पश्चिम क्षेत्रकै प्रमुख क्रान्ति मानिने त्यो बेला धर्मध्वज गुरुङ (पुलिमराङ), चन्द्रबहादुर सार्की (सिम्पानी), उत्तमकुमार श्रेष्ठ (तनहुँसुर), धर्मराज श्रेष्ठ (तनहुँसुर), सन्तबहादुर (तनहुँसुर) र खड्गबहादुर गोदार (वसन्तपुर) ले सहादत प्राप्त गरेका थिए ।
नेपालका केही पुराना पुस्तकालयमध्येको पद्म पुस्तकालय बजारभित्रै छ । २००१ सालमै पुस्तकालय बनेको भनेपछि बन्दीपुरेहरू पहिलेदेखि शिक्षित रहेको पुष्टि हुन्छ ।
बन्दीपुरले अरुको सिको गरेन, त्यसैले बन्दीपुर नै बन्यो । 'ठमेल वा लेकसाइडजस्तो फिल आउने केही योजना बनाउनुपर्यो भन्ने पनि मैले सुनेँ,' गुरुङले सुनाए, 'अहिले सबैले रोज्ने कल्चर र नेचर नै हो । इको टुरिजमलाई आधार बनाएर हामी अघि बढेका छौं । बन्दीपुरले मौलिकता गुमाउँदैन ।'
कोरोना महामारीअघिसम्म यहाँ वार्षिक करिब तीन लाख हाराहारी पर्यटक भित्रने गरेका थिए । गुरुङका अनुसार त्यो समय झन्डै एक लाख पर्यटक त विदेशी हुन्थे । गत वर्ष करिब ५५ हजार विदेशी भित्रिएका थिए । 'तीन वर्षमा करिब पाँच लाख पर्यटक भित्र्याउने हाम्रो लक्ष्य छ,' उनले भने, 'पर्यटक बढ्दै जाँदा कसरी थेग्ने भन्ने प्लानिङबारे पनि सोचिरहेका छौं । पहिले १५ वर्षमा आउने अनुमान गरिएका पर्यटक ५ वर्षमै भित्रिए । त्यसैले दीर्घकालीन योजना जरुरी हुने रहेछ ।'
बन्दीपुरमा करिब एक सय होटल–रेस्टुरेन्ट छन् । बन्दीपुर बजारमा मात्रै तीन वटा सामुदायिक होमस्टे सक्रिय छन् । अहिले यहाँ हरेक शुक्रबार गुरुङ, मगर, नेवार तथा ब्राह्मणको कलासंस्कृतिलाई डबलीमा देखाउन थालिएको गुरुङले बताए ।
आन्तरिकबाहेक अमेरिकी, युरोपियन पर्यटक बढी आइपुग्छन् । चिनियाँ पर्यटकको आगमन बढेको छ । तर, भारतीय पर्यटकलाई तान्न नसकेकामा गुरुङलाई थकथकी छ । 'अब हाम्रो तार्गेट भारतीय पर्यटक हुनेछन्,' उनले भने, 'नजिकको छिमेकमै हामीले प्रचार गर्न सकेनछौं ।'
यो अब एक सहर मात्रै रहेन । जीवन्त संग्रहालय बनिसक्यो । संघर्ष, पुनर्जागरण र समृद्धिको । इतिहासलाई संरक्षण गर्दै मौलिकतालाई कसरी बचाउन सकिन्छ, यो अरू सहरलाई प्रेरणा बन्न सक्छ । आफ्नो विशेषता वा नाम झल्किने गरी चोकैमा कंक्रिट स्तम्भ ठड्याउन प्रतिस्पर्धा गरिरहेका हरेक सहरले बन्दीपुरबाट सिक्नुपर्छ ।
पहाडी भूगोलको यो सानो सहरमा वृद्धवृद्धा सडकमै सुकुल ओछ्याएर यसरी नै घाम तापिरहून् । बालबालिका स्कुलबाट निष्फिक्री घर फर्कन सकून् । बरु इतिहासको लेउ लागोस्, बन्दीपुरलाई आधुनिकताको वनमाराले नछोपोस् ।
