मधेशबाट जे हराए

विभिन्न समुदायमा बिहेको आफ्नै मौलिक चलन थियो । लोकगीतहरू थिए । ती सबैलाई आधुनिक ब्यान्ड बाजाहरूले विस्थापित गरिदिएका छन् ।

असार ७, २०८२

चन्द्रकिशोर

What was lost from Madhesh

काठमाडौँ — अतीत वा पुराना दिन भन्नासाथ बाल्यकालका स्मृतिहरू आँखासामु टक्क उभिन आइपुग्छन् । आमासँगै बाल्यकालमा सीमापारिको मावली जाँदा बयलगाडामा जाँदाको रमाइलो अहिले पनि स्मृतिमा ताजा छ । गाडालाई यसरी छोपिएको हुन्थ्यो, जसलाई ‘ओहार’ लगाउनु भनिन्थ्यो ।

गाडामा बस्नेलाई बाहिरकाले चियाउन सक्दैनथे । त्यसबखत पुरुषका लागि पनि यातायातको साधन यही नै थियो । केवल घाम छल्न सकियोस्, त्यही हिसाबले ओहार लगाइन्थ्यो । बिहे गर्न बेहुला ‘पालकी’ मा जान्थे, बेहुली ‘डोली’ मा, यो दुइटै काठको सवारीको बनावट अलि भिन्न भए पनि यसलाई काँधमा राखेर पेसेवर मान्छेहरूले बोक्थे । मेरी पत्नी पनि डोली चढेर नै आएकी थिइन् । डोली चढेर गइरहेकी बेहुलीलाई पछ्याउँदै बच्चाहरू गाउँथे, ‘कनिया गे दू गो धनिया दे ।’ 

पहिला देहातमा बाटोघाटोको अवस्था दुर्बल थियो । व्यापारिक प्रयोजनले सामान ढुवानीको एक माध्यम ‘घोडी’ थियो । अब त देहातमा लदनियाँको यो कथा सम्झिनेहरू पनि अपवाद भए । बाटोमा सुधार भएसँगै अतीत र वर्तमानको रोचक गुत्थीका साथ सवारीका साधनहरू फेरिँदै आयो ।

चुलाको रूप फेरियो । भान्सामा काठ, माटाका भाँडाकुँडा हुन्थ्यो । दही मथ्न ‘रहि कुडाँ’ राखिन्थ्यो । हुनेखानेहरू फुलहा बर्तनमा खाना पकाउँथे । हुँदा खानेहरू आल्मुनियमका भाँडा प्रयोग गर्थे । तामा र जस्ताको मिश्रणले 

बनेको भाँडालाई फुलहा भनिन्थ्यो र त्यसको चमक नै बेग्लै हुन्थ्यो । पानी राख्न फुलहाको बाल्टिन वा तामा, पित्तलको तमघैल (गाग्रो) राख्थे । 

पूजापाठमा पनि फुलहाकै प्रचलन थियो । बिस्तारै स्टिलका भाँडाले ठाउँ लिन थाले जसले गर्दा सबै वर्गका लागि सहज भयो । खुस वा खपडाको घरमा दूध, दही राख्न ‘सिकहर’ झुन्ड्याइन्थ्यो । पक्की घर बन्ने क्रमसँगै यो चलन पनि विलुप्त हुँदै गयो ।

काजल ‘कजरौटा’ राखिन्थ्यो । जुन पारम्परिक रूपमा काजल राख्ने भाँडो । शुद्ध सर्स्यू तेलको बत्ती बालेर त्यसको धूँवा कजरौटामा छोपेर काजल बनाइन्थ्यो, र यो नै बच्चाहरूको आँखामा सजाइन्थ्यो । महिलाहरू पनि यही लगाउँथे । त्यस्तै काठका सन्दुक, बाकस, पेटी, आलमारी पनि अब विरलै देखिन्छ । 

मैले ५ कक्षासम्मको परीक्षा बाँसको कलम नै दिएँ । दवातमा घोलिएको मसीको बन्दोबस्त गरिन्थ्यो । सुलेखनका लागि बाँसको कलम प्रयोग गरिन्थ्यो । स्नातक गर्दासम्म गाउँमा रहँदा ‘खडाउ’ लगाइयो । त्यतिखेर काठको पादुका लगाउनेहरू बढी थिए । खडाउ चाँदी वा पित्तलको कालिगढी गरिएको पनि पाइन्थ्यो ।

पूजा–अर्चनामा मात्र होइन, दिनचर्या नै कुवामा निर्भर थियो । पछि–पछिसम्म पनि छठको प्रसाद बनाउन आमाले प्रयोगविहीन भइसकेको कुवाबाट पानी बोक्न लगाउनुहुन्थ्यो । अब त हाम्रै टोलमा मात्र होइन अन्यत्र पनि कुवा छैनन् । भएका पनि या त पुरिए वा लावारिस बनेका छन् । कुवाको प्रयोग हराएसँगै यससँग जोडिएका सांस्कृतिक उपक्रमको तौरतरिका फेरिएको छ । अन्न राख्न माटो, बाँस वा काठका भकारी/कोठी घरघरमा ठडिएका हुन्थ्यो अब त्यो विरलै भेटिन्छ ।

पारम्परिक गहनालाई नयाँले विस्थापित गरेका छन् । पारम्परिक टोपी र अन्य परिधानहरूलाई डिजाइनर ‘टच’ दिएर ‘फ्युजन ड्रेसअप’ का रूपमा अहिलेको दिलेर पुस्ताले खास अवसरमा लगाउने गरेको छ । कृषिमाथिको निर्भरता घटेसँगै पर्व त्यौहारको तौरतरिका पनि फेरिएको छ । रैथाने वाद्ययन्त्र करिबकरिब लुप्त भएका छन् ।

तराईका विभिन्न समुदायमा बिहेको आफ्नै मौलिक चलन थियो । लोकगीतहरू थिए । ती सबैलाई आधुनिक ब्यान्ड बाजाहरूले विस्थापित गरिदिएका छन् । विवाहको अनिवार्य परिघटना ‘हल्दी’ भयो । नेपाली भाषामा हल्दीलाई बेसार भनिन्छ तर विवाहोत्सवमा हल्दी बेसारमा अनूदित भएर बे–सार भएन । बिहे र श्राद्धजस्ता कार्यक्रम समुदायको सहयोगमा सहज रूपमा सम्पन्न हुन्थे । तर, हिजो आज सबैथोक बजारमुखी भएको छ । 

हाम्रो टोलमा एउटा मात्र पक्की घर थियो– ग्रामदेवताको । सबैका घर फुस र खपडाका हुन्थे, पक्की संरचना बन्ने क्रमसँगै ती पुराना शिल्प सेल्युलाइडमा कोरिएका सुन्दर स्मृतिझैं लाग्छन् । र, ती स्मृतिहरू बेलाबेला अनायासै ताजा बनिदिन्छन् । प्रसिद्ध सन्त कवि कबिरको चर्चित पंक्ति छ, ‘हंसा करो पुरातन बात’ अर्थात् आफ्नो अतीतका कुरा गरौं ।

चन्द्रकिशोर विश्लेषक चन्द्रकिशाेर कान्तिपुरका नियमित स्तम्भकार हुन्। उनी मधेश, राजनीति र सीमान्तकृत समुदाय लगायत विषयमा लेख्छन्।

Link copied successfully