मध्याह्न १२ बजेको सूचना दिन काठमाडौंको सानो टुँडिखेलमा नेपाली सेनाले तोप पड्काउँथ्यो, तोपको आवाज आउनेबित्तिकै मानिस आ–आफ्नो घडीमा दम दिन थाल्थे, अहिले न तोप पड्काइन्छ, न घडीमा दम दिइन्छ महिलाले गलामा लगाउने तिकमाः हार, तायो–बायो अहिले हराएझैं छ, पछिल्लो समय हाकुपटासी बौरिएर आएको छ तर सिनापर्सि, छिनापर्सि साडी भने हराइसकेका छन्
काठमाडौँ — समय हराउने वस्तु होइन । तर समय देखाउने पुराना घडीहरू हराइसकेका छन् । खासगरी नाडी घडी । अहिले हामीले लगाउने नाडी घडीमा बेला–बेला ब्याट्री फेरिरहनुपर्छ । पुराना घडीमा त्यस्तो ब्याट्री फेरिरहनु पर्दैनथ्यो । किनभने त्यसमा ब्याट्री नै हुँदैनथ्यो । बरु दिनको एक पटक दम दिनुपर्थ्यो । दम दिने स्वीच घडीमै जोडिएको हुन्थ्यो । एक पटक दम दिएपछि २४ घण्टा मजाले चल्थ्यो । अहिले त्यस्तो दम दिनुपर्ने घडी हराइसकेको छ ।
हरेक दिन मध्याह्न १२ बजेको सूचना दिन काठमाडौंको सानो टुँडिखेलमा नेपाली सेनाले तोप पड्काउने चलन थियो । तोपको आवाज काठमाडौंको अधिकांश क्षेत्र र पाटनमा समेत सुनिन्थ्यो । तोपको आवाज आउनेबित्तिकै मान्छे आआफ्नो घडीमा दम दिन थाल्थे । अहिले त्यो तोप पड्काउने चलन पनि हराइसकेको छ । ०७ सालअघि राणाकालमा बेलुकी पनि तोप पड्काइन्थ्यो । तोप पड्केपछि कोही पनि घरबाट बाहिर निस्कन नपाइने नियम त्यति बेला थियो ।
काठमाडौं लिच्छविकालदेखि नै व्यवस्थित नगरका रूपमा विकसित भइसकेको ठाउँ हो । त्यसैले यहाँका मानिस स्वाभाविक रूपले अन्य ठाउँकाले भन्दा बढी नै दैनिक प्रयोगका साधन चलाउँथे । बदलिँदो समयसँगै त्यति बेला चलाइने साधनमध्ये कतिपय बदलिएर नयाँ स्वरूपमा आएका छन् भने कतिपय हराएर लोप नै भएका छन् ।
कुनै बेला काठमाडौंका बासिन्दा बैगः (किचेन) मा खाना पकाउन चुलो प्रयोग गर्थे । त्यसका लागि दाउरा बालिन्थ्यो । बजारमा सलाई समेत धेरै पछि आएको हो । चुलो बाल्न आगो चाहिन्छ । टोलमा कुनै एक घरमा चुलो बल्यो भने त्यही घरको आगो लगेर अरू घरले पनि चुलो बाल्नुपर्थ्यो । अहिले त्यो चुलो हराइसकेको छ । चुलो हराएपछि पिठ्यूँमा दाउरा बोकेर बेच्न आउने दाउरे दाजुहरू पनि हराए । चुलोपछि मट्टीतेल हालेर खाना पकाउने स्टोभ आयो । ग्यास स्टोभ आएपछि मट्टीतेलको स्टोभ हरायो । अहिले इन्डक्सन र ओभन आएपछि ग्यास स्टोभको प्रयोग पनि कम हुँदै जान थालेको छ ।
चुलो र मट्टीतेलवाला स्टोभ हुन्जेल दाल, भात र तरकारी कसौडीमा पकाइन्थ्यो । अहिले किचेनबाट कसौडी हराइसक्यो । धाराबाट पानी थापी बोकेर लान माटा र पित्तलको घः (घडा) प्रयोग हुन्थ्यो । बैगलमा त्यो पानी तामाको फोसी वा माटाको त्यपमा ‘स्टोर’ गरेर राखिन्थ्यो । कौसीमा ट्यांकी राख्न थालेपछि अहिले घः, त्यप र फोसी हराएका छन् । नेवाः महिला घरेलु प्रयोजनका लागि आफ्नै घरमा रक्सी पार्ने गर्थे । अहिले घर–घरमा रक्सी पार्न बन्द भएकाले त्यसका लागि चाहिले माटाको गुलु, सानो फोसी र हासी पनि गायब भइसकेका छन् । तरकारी पकाउन माटाको ‘भाजं’ प्रयोग हुन्थ्यो । ननस्टिक प्यान आएपछि भाजं हराएको छ ।
नेवार महिलाहरू उबेलादेखि नै शृंगारमा निपुण थिए । उनीहरू विभिन्न प्रकारका शृंगार सामग्री प्रयोग गर्थे । कपाल कोर्ने काठको काइयो त छँदै थियो, गुजुल्टो परेको कपाल फुकाउन ‘थकुचा’ प्रयोग गरिन्थ्यो जुन हेर्दा सानो ब्रुस जस्तो देखिन्थ्यो । सामान्य कपाल कोर्ने साधनलाई ‘ककिचा’ भनिन्छ, टाउकामा लागेको जुम्रा झार्न प्रयोग गरिने साधनलाई ‘च्वकिचा’ भनिन्छ ।
त्यस्तै कपाल घुँघुरिलो पार्न प्रयोग गरिने साधनलाई ‘नतुचा’ भनिन्छ । अनुहार चम्किलो पार्न ‘क्वंचिकं’ दलिन्थ्यो भने आँखा सुन्दर पार्न ‘अजः’ लगाइन्थ्यो, जुन आफ्नै घरमा बनाउने गरिन्छ । अब महिलाको ‘ड्रेसिङ टेबुल’ बाट यी सबै हराइसकेका छन् ।
महिलाले गलामा लगाउने तिकमाः हार, तायो–बायो र टाउकामा लगाउने शिरबिन्दु लोकप्रिय थियो । यो अहिले यदाकदा मात्रै प्रयोग भएको देखिन्छ । साडीमा हाकुपटासी भनेपछि नेवार महिलाको पहिचानजस्तै भइसकेको छ । पछिल्लो समय हाकुपटासी बौरिएर आएको देखिए पनि सिनापर्सि, छिनापर्सि आदि नामका अन्य साडी भने हराइसकेका छन् । बिहे नभएका किशोरीहरू तलसम्मै ह्वाङलाङ्ग हुने सुरुवाल लगाउँथे । कुर्तासुरुवाल आएपछि त्यो हरायो । काठमाडौं त चिसो ठाउँ हो । यहाँ तीन–चार तह कपडा राखेर सिलाइएको डम्बरकुमारीको खास्टो न्यानोका लागि खुब प्रयोग हुन्थ्यो । अहिले डम्बरकुमारीको खास्टो मान्छे मर्दा शोकमा परेका आफन्त घाटमा ओढेर जाने ‘घाटे पहिरन’ बन्न गएको छ ।
झोछेँ बस्नु हुने मेरो मावलीतिरका हजुरबा खुब तमाखु खानुहुन्थ्यो । हजुरबाका लागि तमाखु तयार गर्नु झ्याउलाग्दो काम हुन्थ्यो । खाना पकाउन चुलो बालिसकेपछि चुलोमै बलेको अँगारलाई चिलं (चिलम) मा भर्नुपर्थ्यो । अँगार भर्नुअघि फलामको चेप्टो पाटामा तमाखु भरेर चिलममा घोप्ट्याएर राखिन्छ । र, त्यसमाथि आगो भरिन्छ । त्यसपछि चिलमलाई लामो हुक्कामाथि राखिन्छ । हुक्काको प्वालमा ‘नोकथि’ घुसाएर क्वार्रक्वार्र आवाज आउने गरी हजुरबा तमाखु खानुहुन्थ्यो । अहिले सजिलो चुरोट आएफछि तमाखु, चिलम, हुक्का, नोकथि जम्मै हराएको छ । चुोको तातो
अँगार राखेर चलाउने आइरन पनि त्यतिबेला खुबै चलेको थियो । अहिले त्यो पनि हराएको छ ।
घर–घरमा लुगाकपडालगायतका सामान राख्न काठको सन्दुक प्रयोग हुन्थ्यो । छोरीबेटीको विवाह गर्दा दाइजोका रूपमा सन्दुक दिनु अनिवार्य नै हुन्थ्यो । यसमा लुगाकपडा मात्र होइन, महँगा गहना जस्ता सामान पनि सुरक्षितपूर्वक राख्ने गरिन्थ्यो । पछि विभिन्न प्रकारका दराज प्रचलनमा आएपछि सन्दुक हरायो । बिहे भोजको सन्दर्भमा पहिले पहिले केटीतर्फ भोज जाँदा हातमा कुनै न कुनै सामान बोक्ने चलन थियो । कसैले स्टिलको बाटा, कसैले काँसको थाल, कसैले करुवा, कसैले कपडा जस्ता सामग्री लान्थे र भोज खाइसकेपछि दुलहीलाई उपहार दिएर फर्कन्थे । अहिले भोजको कार्डमै ‘जिन्सी सामानको कष्ट नगर्नुहोला’ भनेर लेख्ने चलन आएपछि हातमा थाल बोकेर भोज जाने चलन हराउनु स्वाभाविकै भयो ।
भोजमा खुवाइने परम्परागत परिकार पनि हराइसकेका छन् । ५० वर्ष अघिसम्म पनि नेवाः भोजमा सुकुटी मिसाएर बनाइने एकखाले झोल खाद्यान्न गोर्मा, एक प्रकारको घाँस राखेर पकाइने खिचाभ्यातः, तिल राखेर बनाइने झोल खाद्यान्न भुयूम्वःक्वाः, रक्ती राखेर बनाइने झोल खाद्यान्न हिम्वःक्वाः जस्ता परिकार अहिले हराइसकेका छन् । नेवाः भोजमा खाइने मासुकै परिकार कतिपय प्रकार जस्तो कि किमला, तुपाला, तालातुला, मार्स्याला, हुल्ला, कालाखुना ला, खुनाला, दुलापिला, ख्वपूला, सासला, सपू पंला, चःगुलिला, कचुला, चिल्ला, घालापाला (ज्यापु पञ्च, भाबो, ने.सं. ११२१) हराइसकेका छन् ।
नेवाः समुदायमा जातअनुसार पेसा विभाजन गरिएको हुन्थ्यो । अहिले त्यो पेसा कतिपय हराइसकेका छन् भने कतिपय जेनतेन धानिइरहेका छन् । नेवाः समाजमा पुं (चित्रकार) जातिको पेसा चित्र लेख्ने हो । नेवाः संस्कार संस्कृतिमा चाहिने विभिन्नखाले चित्र जस्तो– गाईजात्रामा गाईको चित्र, लक्ष्मीपूजामा लक्ष्मीको चित्र, नागपञ्चमीमा नागको चित्र, बिहे, इहि, व्रतबन्ध, जंको
जस्ता संस्कारमा प्रयोग गरिने चित्र पुं (चित्रकार) कै हातले लेखिएको हुनुपर्छ भन्ने मान्यता छ । किनभने पुं (चित्रकार) को हातलाई पवित्र मानिन्छ । प्रिन्टिङ मेसिन आएपछि यो संस्कार यदाकदामा बाहेक हराइसकेको छ । कपडामा विभिन्न प्रकारका बुट्टा छाप्ने काम नेवाः समाजको छिपा (रञ्जितकार) जातिले गर्ने चलन थियो । अहिले यो पूरै हराइसकेको छ । कंसाकारले काँसको काम गर्ने, नापितले कपाललगायत नङ काट्ने काम गर्थे, अहिले यो पेसा पनि हराइसकेको छ ।
अहिले नेवाः समाजमा एक वा दुई मात्रै सन्तान जन्माउने चलन बढ्दो छ । धेरैले एक सन्तानमै चित्त बुझाउन थालेका छन् । जसको एक मात्र सन्तान छ, ती एक्लो सन्तानको अर्को सन्तानले काका–काकी, फुपू–फुपाजु जस्ता नाता नचिन्ने भए । त्यसैले भोलि यो नातागोताका शब्द पनि हराउने हुन् कि जस्तो भइसकेको छ । जस्तो कि अहिले पनि ‘डेडी–मम्मी’ का बुबा–आमालाई ‘बा’ र ‘मा’ भन्न थालेका कारण बाज्या/अजा–अजि (हजुरबा, हजुरआमा) जस्ता नाताका शब्द लोप हुने संघारमा पुगिसकेका छन् ।
काठमाडौं उपत्यकालाई संस्कृति र सम्पदाको नगर भनिन्छ । अहिले यहाँ प्रचलित कतिपय संस्कृति हराइसकेका छन् । ती संस्कृति एवं जात्राबारे अभिलेखमा उल्लेख भएको त पाइन्छ तर अहिले पनि व्यवहारमा भेट्न सकिँदैन । जस्तो उत्तर मल्लकालका केही अभिलेखमा केही जात्राको नाम उल्लेख गरिएको छ । प्रताप मल्लको अभिलेखमा ‘सप्तपुरी जात्रा’ उल्लेख छ । यो जात्रा अहिले हराइसकेको छ । प्रताप मल्लकै हनुमानढोका विश्वरूपको अभिलेखमा ‘नेगुलियात्रा’ उल्लेख छ । त्यस्तै केही अभिलेखमा ‘सर्द्म यात्रा’ लेखिएको पाइन्छ । एक ठ्यासफूमा ‘ओ यात्रा’ उल्लेख गरिएको छ । यी बाहेक पशुपति यात्रा, बराह यात्रा र हरिशंकरी यात्रा पनि अहिले हराइसकेका छन् (नेपालको धार्मिक इतिहास, जगदीशचन्द्र रेग्मी, २०३०, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान) ।
काठमाडौंमा इन्द्रजात्रा मनाउने बेला यहाँका विभिन्न टोलमा डबली बनाएर दबू प्याखं (डबलीमा मञ्चन गरिने पूर्णाङ्की नाटक) देखाउने गरिन्थ्यो । ४० वर्ष अघिसम्म पनि त्यस्तो नाटक हेर्न मानिस रातरातभर जाग्राम हुन्थे । अहिले त्यो पूरै हराइसकेको छ । नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठको साहित्यिक यात्रासमेत यही दबू प्याखंबाट सुरु भएको थियो । दबू प्याखं हराउनु काठमाडौंको एक ठूलो सांस्कृतिक उद्योग बन्द हुनुजत्तिकै दुःखदायी विषय हो ।
