आगो माग्ने कारणहरू हुन्थे– घरमा सलाई र मट्टीतेल नहुनु, सरजाम जुटाएर घाँटी र कन्चटको नसा फुल्ने गरी आगो फुक्दै रिंगटा चलाउनुभन्दा छिमेकबाट भर्भराउँदो आगोका कोइला ल्याएर चुलो बाल्दा समय र श्रम दुवै बच्नु
काठमाडौँ — डेढ दशकदेखि म भक्तपुर, दमकल कार्यालयनजिकै बसोबास गर्दै आएकाले आगलागीको बिगबिगी हुने याममा वारुणयन्त्रको भयप्रद ध्वनिले मलाई बिथोलिरहन्छ । जनधनको क्षतिदेखि वायु प्रदूषण र बढ्दो वैश्विक तापमानको चिन्ताजनक आकलनसँग जोडेर आगलागीलाई हेरेपछि म मानिसहरूको लापरबाहीसँग झनै मुर्मुरिन थाल्छु ।
विद्युत् र ग्यासको प्रयोगसँगै यस्ता घटना बढ्दै गएको विश्लेषणबीच अपवादबाहेक आगलागीलाई मानवसिर्जित विपद् मानिन्छ । हेलचक्य्राइँ र असावधानीवश हुने दुर्घटना त दुर्घटना नै भइगयो । तर आगोलाई जानी–जानी दुरुपयोग गरिएका घटनाहरू विश्वभरि नै आलोच्य छन् । राजावादी आन्दोलनको आगजनीमा एक पत्रकार जलेर खरानी भएको घटनाले छाडेका धूवाँले नेपालीजनको मन र मस्तिष्क अझै मडारिएकै हुनुपर्छ । व्यावसायिक हैरानी र राज्यप्रतिको आक्रोशले ‘विकल्पहीन’ भएर संसद् भवनअगाडि नै आत्मदाह गरिएको दृश्य पनि पुरानो होइन । पुस्तकप्रेमीको नाताले ठमेलको पुस्तक पसल ‘पिल्ग्रिम्स’ जल्दा आहत भएको थिएँ । अझ पुरानो प्रकरण सम्झन्छु, दुई दशकअघि नेपालका विश्वविद्यालयहरूमा विद्यार्थीले आगो झोसेर ‘आन्दोलन’ गर्ने उदेकलाग्दो परिपाटी थियो । त्यतिबेला म पनि विश्वविद्यालयमै पढ्ने भएकाले समकक्षीहरूको त्यस्तो हर्कतप्रति दुःखी थिएँ । विश्वविद्यालयहरूमा भएका आगजनीबारे त्यसबेला लेखकहरूले निकै जोडतोडले बहस गरेको सम्झन्छु ।
आदिमकालदेखि नै मानिसलाई सेवा गर्दै आएको आगोकै सहाराले पृथ्वीमा अन्य प्राणीमाथि मान्छेले आफ्नो वर्चस्व कायम गरेको बिर्सेर इतिहासमा पटक–पटक हामीले आगोमाथि खेलबाड गर्दै आएका छौं । आगोलाई चलाउन नजान्दा यस्ता ठूल्ठूला दुर्घटनाहरू भएका छन् । जब–जब आगो प्रयोग गरेर विध्वंस गर्ने मानिसहरू सम्झिन्थें, त्यति बेला मेरो मानसको चिसो तर धुम्रिँदो ओडारमा एक बालकलाई देखिरहेको हुन्थें ।
आगो जोहो गरेर घरको साँझलाई रापिलो र उज्यालो पार्न चाहने त्यो बालक अरू कोही नभएर म आफैं थिएँ । त्यो पुरानो श्यामश्वेत समयसँगै आगो माग्ने चलन हराएको सम्झँदा आफैंलाई एकादेशीय किंवदन्तीजस्तै लाग्छ । सहरमा आगो दुरुपयोग गरिएका भयावह दृश्यहरू देख्दा आगोको जगेर्नाहेतु हामीले गाउँले जीवनमा गरेका अभ्यासहरू सम्झिन्छु ।
म हुर्केको गाउँको नाउँ ठूलोगाउँ थियो । हुन त गाउँको नाउँ आज पनि उही नै छ । तर गाउँको स्वभाव परिवर्तन भएको छ । त्यो बेला गाउँका मानिसहरू एकै परिवारका सदस्यजस्तै थिए । जसरी परिवारका सदस्यबीच माया र आत्मीयतादेखि नोकझोंक, घुर्कीफुर्की, फुर्तीफार्ती र वैमनस्य हुन्छन्, त्यसरी नै मेरो गाउँमा छरछिमेकबीच साथ, सहयोग र अलिअलि मपाईंत्व पनि थियो । बालक कालका यादका पातोहरू पल्टाउँदै जाने हो भने साँझ–साँझ छिमेकमा आगो माग्न जाने म आफैंप्रति अहिले अग्घोर माया लागेर आउँछ ।
प्रायः कामको सिलसिलामा बा घरबाहिरै रहने हुनाले घाँसदाउरा, बारी, गोठ, गाईबस्तु आदि–इत्यादि गर्दागर्दै आमा र दिदीलाई झमक्कै साँझले अँचेटिसकेको हुन्थ्यो । मलाई घरको राखनधरनबारे उति चासोमेसो हुँदैनथ्यो । बहिनी त सानै थिई । झमक्क साँझ, आँगनको डिलमा भारी बिसाउनेबित्तिकै आमा कराउनुहुन्थ्यो– ‘अहिलेसम्म अगेनामा आगो फुकेको छैन ?’ त्यसपछि म मरेतुल्य हुन्थें । अब कसको घरमा चाहिँ आगो लिन जाऊँ ?
उबेला आगो बाल्नु हाम्रा लागि सानो सास्तीको कुरा थिएन । आगोका लागि दरिलो दाउरा नै चाहिन्थ्यो । गरिबीको लहरमा लहरै उभिएका घरहरूको सम्पन्नता जाँच्ने कसीमध्ये एक थियो, दाउरा । गुराँस, बाँज, खस्रु, फलाँट आदिका दाउरामा आगो लामो समय टिक्ने पुष्टि स्थानीय अभ्यासले गरेकै थियो । तर, यी रूखहरू माथि लेकमै लिन जानुपर्थ्यो । त्यसका लागि घरमा काम गर्ने ‘जना’ चाहिन्थ्यो । पाखुरीमा बल पुगेका ‘जना’ भएको घरको आँगनमा मिलेका दाउराका खलियो देख्न पाइन्थ्यो भने अरूको घरमा चाहिँ पाखाबारीतिरकै झिक्राझिक्रीले चुलो बाल्नुपर्ने हुन्थ्यो । टिकाउ दाउराको मुढा भएको घरमा अर्को साँझका लागि पनि खरानीमुनि आगाको बीउ जोगिएको हुन सक्थ्यो । नत्र उडिजाने खरानीको थुप्रो मात्रै हुन्थ्यो, अगेनामा । त्यो बेला आगो जोगाउनु साँच्चै मुस्किल कुरा थियो, किनकि सबैसँग सलाई राख्ने आर्थिक क्षमता हुँदैनथ्यो । र, एक काँटी सलाईको एकै झ्वार्रमा दाउरा सल्किन मुस्किल पर्थ्यो । त्यसका लागि कि मट्टीतेल चाहिन्थ्यो कि त मकैका खोस्टा । मट्टीतेल पाइने बजार जान–आउन नै चार घण्टा लाग्थ्यो । खेतबारीमा तमाखु खानेका लागि पनि कसैको पोल्टामा सलाई हुन्थेन, लाइटरको कल्पना त परैको कुरा थियो । बारीको ढुंगामा थाङ्ने पुल्ठो या सुकेको गोबर–गुइँठा धुवाँइरहेको देखेपछि बुझ्न सकिन्थ्यो कि धूमपानका अम्मली त्यहाँ काम गर्दै छन् । हावाहुरी चल्ने याममा गोठ, बारी या घरमै पनि आगो जोगाउनु झनै हम्मे पर्थ्यो । एकातिर आगो अन्त सल्केला भन्ने डर, अर्कोतिर भएकै आगो पनि निभाइदेला भन्ने पीर ।
जब आमाले वल्लो–पल्लो घरमा आगो माग्न जान अह्राउनुहुन्थ्यो, तब म सकेसम्म बहिनीलाई जिम्मेवारी हस्तान्तरण गर्न चाहन्थें । तर, हरेक दिन बहिनी साथमै नहुन सक्थी । कहिलेकाहीँ त लाग्थ्यो, आगो माग्न जाने बेला माथि आँगनतिर टहलिन जाऊँ । फेरि कहिलेकाहीँ लाग्थ्यो, बेलैमा चुलोमा आगो बालेर आमालाई खुसी तुल्याऊँ । आगो ल्याउनका लागि दिउरे हुन्थ्यो । लाग्थ्यो, दिउरेको अर्थ ‘देऊ रे’ हो अर्थात् आगो देऊ रे हो । यो भाँडो बोकेर छिमेकीको दैलो टेक्दा मेरो पाइला र अनुहार यति भारी हुन्थ्यो कि मानौं, म ‘श्रापित’ याचक हुँ । दिउरे नभेटिँदा पुरानो कुच्चिएको थाल प्रयोग गरिन्थ्यो । तर, थाल चाँडै तात्तिएर घरसम्म आगो ल्याउँदा हात फेर्दै कान समात्दै गर्नुको हैरानी हुन्थ्यो । आगो माग्न जाँदा अनुहार नबिगार्नेको घर रोज्नु पहिलो काम हुन्थ्यो । सबै छिमेकीले सधैं मुख बिगार्ने या झर्को मान्ने भन्ने हुँदैनथ्यो । उनीहरूको ‘मुड’ अनुसार व्यवहार हुन्थ्यो । सायद बच्चा भनेर पनि अलि बेवास्तापूर्वक व्यवहार गरिन्थ्यो कि ? उनीहरू कहिले हाँसीहाँसी झर्झराउँदो कोइला भरिभराउ गरी दिन्थे, कहिले निभ्न लागेको आगो गाह्रो मानेर दिन्थे । निभ्न लागेको आगो कहिले त आफ्नो अगेना नपुग्दै निभिजान्थ्यो । तैपनि, सल्किन्छ कि भनेर मिहिनेत गरिन्थ्यो । सल्केन भने दोहोर्याएर त्यही घरमा जान अप्ठेरो हुन्थ्यो अनि अर्को घरमा आगो माग्न गइन्थ्यो । अझ अप्ठेरो कहाँ थपिन्थ्यो भने दोस्रो पटक आगो बोकेर फर्कंदै गर्दा पहिलो पटकवाला घरले देखिहाल्यो भने के भन्ने ? आगो सल्काउने ढंगसमेत नभएको मनुवामा आफ्नो नाम दर्ज भयो भन्ने भयले संकोच लाग्थ्यो । हुन त, खासमा उनीहरूले पनि अरूकै घरबाट चाँडै आगो मागेर ल्याएका हुन्थे ।
एक घरबाट अर्को घर अनि अर्को घरबाट अर्को घर हुँदै टोलभरि–गाउँभरि आदानप्रदान भएको हुन्थ्यो, आगो । यसका तीन कारण मुख्य थिए : एक– घरमा सलाई र मट्टीतेल नहुनु, दुई– बचेखुचेका सलाईका काँटी बचाएरै राख्नु, तीन– सरजाम जुटाएर घाँटी र कन्चटको नसा फुल्ने गरी आगो फुक्दै रिंगटा चलाउनुभन्दा छिमेकबाट भर्भराउँदो आगोका कोइला ल्याएर चुलो बाल्दा समय र श्रम दुवै बच्नु ।
हुन त, आगो माग्ने चलनले छरछिमेकलाई आपस्तमा जोडेकै थियो । सरसहयोग पनि चलेकै थियो । छिमेकमा के पाक्दै छ भन्ने थाहा हुने मात्रै होइन, मीठो–मसिनो तिउन–तरकारी पनि आउजाउ हुन्थ्यो कहिलेकाहीँ । अचेल सम्झिँदा लाग्छ, त्यस बेला जसको घरमा आगोको बीउ जोगिइरहेको हुन्थ्यो, त्यस घरले अघोषित र मनोवैज्ञानिक रूपमा छिमेकीलाई कज्याएकै हुन्थ्यो । आगोको नियमित स्रोतप्रति लयालु बोलीवचन हुनु व्यावहारिकै थियो सायद । लाग्थ्यो— हाम्रो छिमेकलाई आपस्तमा जोड्ने मुख्य वस्तु नै आगो हो । आगो जोगाउन सक्नु भनेको घरमा एक नम्बरी दाउरा हुनु, बलवान सदस्यको बाहुल्य हुनु, दैनिक तीन–चार छाक पाक्नु, दैनिकी व्यवस्थित हुनु, खेतीपाती र बस्तुभाउ मनग्गे हुनु थियो अर्थात् घर सम्पन्न हुनु थियो ।
जब छिमेकबाट अगेनामा आगो आइपुग्थ्यो, तब घरमा बिस्तारै रातो उज्यालोले आफ्नो आयतन बढाउँदै लान्थ्यो । अनि, चुलो छेउको मूल खाँबोनेर दियालो बल्थ्यो ।
त्यसपछि बल्ल घरभित्र सदस्यहरूबीच लयमा कुराकानी सुरु हुन्थ्यो । नत्र, अँध्यारोसँग डराएको हो कि परस्परमा रिसाएको हो, पत्तै हुन्थेन ।
आगो फुक्दा गतिलो नबलेर धूवाँको मुस्लोले आफूलाई छोप्यो भने ‘दोबाटो मुताहा’ को बिल्ला भेटिन्थ्यो । बाटोघाटो र खोलानदी सफा राख्ने आदिवासी ज्ञान प्रणालीले बाटोमा टट्टी गर्नेलाई धूवाँले लखेट्छ भन्ने विश्वास पद्धति विकास गरेको हुनुपर्छ । आगो बाल्नका लागि सीप र ढंगबाहेक दाउरा छान्ने ज्ञान पनि चाहिन्थ्यो । स्थानीय लवजमा ‘भयाङ्लो’ भनिने रूखको हाँगा बल्दो अगेनामा पर्यो भने भरुवा बन्दुकबाट बारुद पड्केजस्तो लगातार आगोका झिल्का तीनतिर उछिट्टिन्थ्यो । अघिसम्म आगो जोगाउन मुस्किल परेको हामीलाई अब आगोबाटै जोगिन हम्मे पर्थ्यो । कुनै दाउरा यति कडा कि त्यसको आगो निभाउनै गाह्रो हुन्थ्यो । एक पटक यस्तै कडा कोइला बाको तमाखु–चिलिमबाट मेरो खुट्टामा झरेछ । त्यो झरिलो कोइलाको खत अहिले पनि मेरो दाहिने खुट्टामा अभिलिखित छ । साह्रै सानो भएकाले मेरो स्मृतिमा त्यो पोलाइको कुनै हेक्का छैन– त्यस घटना घरमा घटित भएको थियो कि गोठमा । गाउँको सिरानमा हाम्रो गोठ थियो । दूध, मोहीको आकर्षणले म पनि बेला–बेलामा गोठमा बाआमाहरूसँगै बस्थें । ढोका नभएको त्यस गोठलाई रातमा न्यानो, उज्यालो र सुरक्षा दिने एउटै चीज थियो, अगेनामा बलिरहेको रापिलो मुढा । हामीलाई आगो भएपछि लाग्थ्यो कि हाम्रो गोठमा भरपर्दो पाले छ । गोठमा आउने मानिसहरू आगो यसरी माग्थे कि मानौं– आगो धन हो । अनि, आगोको आदानप्रदान र तमाखुको गहिरो सर्कोसँगै आत्मीय गफगाफ लम्बिन्थ्यो ।
प्रमिथसले स्वर्गबाट आगो चोरेको ग्रिसेली मिथक मेरो गाउँसम्म पुगेकै थिएन । आगो माग्ने समुदायले चोर्नेबारे कल्पना गर्ने कुरै भएन । अर्को खास कुरा– गुरुङ समुदायमा मात्रै होइन, आदिवासी समुदायमा चुला अर्थात् अगेनाको ठूलो सांस्कृतिक महत्त्व हुन्छ । कुलवंश, भाइबन्धु र समाजलाई एकीकृत गर्ने सांस्कृतिक केन्द्र हो, चुलो । अंशबन्डा गर्नुलाई चुलो छुट्टिएको भनिन्थ्यो । यही ‘पवित्र’ केन्द्रबाट राँको सल्काएर रोधी बस्न जान्थ्यौं । त्यहाँ सुख–दुःखको कुरा परस्परमा साझा हुन्थ्यो । ज्ञानदेखि योजनासम्म त्यतै बुनिन्थ्यो ।
नाचगान हुन्थ्यो । मायाप्रेम पनि हुन्थ्यो । कहिलेकाहीँ बिहान गाउँमा हल्ला चल्थ्यो कि हिजो राति फलानो–फलानो त दियालो बालेर भागेछन् । केही दिनपछि त्यो जोडी दियालो बालेरै फर्कन्थ्यो र रीतपूर्वक बिहे हुन्थ्यो । त्यही अगेनामा सल्काएको राँको बालेर म बाको पछि लागेर अँधेरी खोलामा पाहा सिकार गर्न जान्थें । सम्भवतः रातको समयमा बालाई पनि साथी चाहिएको थियो । सीपको हस्तान्तरण होस् भन्ने मनसुवा पनि थियो होला, बाको ।
पछिपछि अगेनाबाट सल्किने उज्यालोका विकल्पमा केही प्रविधि गाउँमा भित्रिन थाले । पाहा खोज्न बिस्तारै टर्चलाइट प्रयोग हुन थाल्यो । तर, राति खोलाखोल्सीतिर हिँड्दा ‘भूतप्रेत’ नआओस् भनेर सानो अगुल्टो या दियालो बालेरै हिँडिन्थ्यो । छेवर, बिहे, मराउपराउजस्ता ‘कार्जे’ मा बिस्तारै लालटिन बल्न थाल्यो । ‘पेट्रोलमेस’ को उज्यालोमा बारीको पाटामा बसेर भतेर खाँदाको रमाइलो वर्णनातीत छ । तर, मानिसहरू हिउँदको रातमा बारीको कुनामा भर्भराउँदा आगोका कोइला फुलाएर ढसमस्स बसेको अगेना वरपर गफ गर्न पाउँदा नै आफ्नो पुरानो लयदार न्यानो फर्केको महसुस गर्थे । अगुल्टो हल्लाएरै रातमा आउजाउ गर्थे ।
गाउँमा टुकी बिस्तारै–बिस्तारै बढ्यो । सलाई र मट्टीतेलको जोहो गर्ने क्रम बढेसँगै छिमेकमा आगो माग्ने क्रम पनि घट्दै गयो । जब घरहरू आगोमा आत्मनिर्भर हुँदै गए, मजस्तो अग्नियाचकलाई राहत महसुस हुँदै गयो । र, बिस्तारै त्यो सानो याचक टुकी बालेर मध्यरातसम्म बार्दलीमा पढिरहने समय पनि आयो । झन्डै तीन दशकअघि समयको लट्ठामा झुन्डिएर बिजुलीबत्ती गाउँमा आएपछि त्यो आगो–याचक झलमल्ल उज्यालोमा साहित्य पढ्ने र संगीत सुन्ने लतमा फस्यो । तारमा अदृश्य रूपमा बगिरहेको करेन्टले आफ्नै पुस्ताका दुई साथीलाई निलेको कहालीलाग्दो घटनापछि त्यस याचकलाई आगो माग्ने युग नै बेस हो कि पनि नलागेको होइन । तर, भावुकतालाई मुठीमै बन्द गरेर भन्नुपर्दा– भर्खरै देखापरेको बिजुलीको स्वभाव नजान्दाका दर्दनाक दुर्घटना थिए, ती ।
मोबाइलको स्क्रिनमा एक्लै–एक्लै मग्न हुने यस समयमा आगो माग्न जाने र बलिरहेको अगेना वरपर मानिसहरू अन्तरक्रिया गर्ने, सरसल्लाह गर्ने र एक किसिमको सभा बस्ने त्यस जमानाको कुरा गर्नु आफैंलाई ‘आदिम’ देखाउनु पनि हो । हराएर गएका कुरा र कथा कति छन् कति, त्यस जमानाका । तर, अहिले योभन्दा धेरै आदिम नदेखिऊँ कि !
