जंगल सफारीका ‘लेडी गाइड’

पर्यटन व्यवसायमा महिला नै देख्न मुस्किल पर्ने समयलाई चिर्दै ‘नेचर गाइड’ को चुनौतीपूर्ण पेसामा पनि महिला सहभागी हुने क्रम बढ्न थालेको छ

जेष्ठ ३१, २०८२

रमेशकुमार पौडेल

Jungle Safari Lady Guide

चितवन — दुर्लभ वन्यजन्तु बाघ, गैंडा, हात्ती, भालुको मुख्य बासस्थल हो, चितवन राष्ट्रिय निकुञ्ज । यी जनावर सम्झँदा मनमा डर त पैदा हुन्छ, तर तिनै जनावर हेर्नका लागि देश/विदेशबाट लाखौं पर्यटक यहाँ आउँछन् । जिप वा हात्ती सफारीबाट वन्यजन्तु हेर्छन् । मध्यवर्ती सामुदायिक वनमा मात्रै हुन्छ हात्ती सफारी । तर जिप सफारी निकुञ्ज र सामुदायिक वन दुवैमा हुन्छ । र, हुन्छ जंगल र जनावर हेर्न लामो पैदल यात्रा पनि । 

हात्ती सफारी माहुतेका भरमा गरिन्छ । जिप सफारी जंगलभित्र हुने पैदल यात्रा अर्थात् जंगल वाक र खोलाहरूमा हुने डुंगा सफारीमा जाने पर्यटकले पथप्रदर्शक (गाइड) अनिवार्य लैजानुपर्छ । जंगल चिनाउने, वन्यजन्तु देखाएर पर्यटकलाई सन्तुष्ट पार्दै सुरक्षित रूपमा जंगल बाहिर निकाल्ने अभिभारा ‘नेचर गाइड’को काँधमा हुन्छ । जंगल र जनावर देखाउने र चिनाउने मात्रै हैन, परि आउँदा जनावरबाट जोगाउने कला र आत्मबल पनि नेचर गाइडसँग हुनुपर्छ । नेचर गाइडको पेसा रोमाञ्चक र चुनौतीपूर्ण छ ।

नेचर गाइडको चुनौतीपूर्ण पेसा अँगालेको ६ वर्ष बित्यो, काजल तामाङ र अस्मिता महतोले । रत्ननगर नगरपालिका–६ मा पर्ने चितवनको पुरानो थारू बस्ती बछौलीकी २४ वर्षीया अस्मिताका बुबा जोगेश्वर चितवन निकुञ्जको हात्तीसारका कर्मचारी थिए ।

अस्मिता डेढ वर्षकी मात्र थिइन्, जुन बेला जोगेश्वर गाउँदेखि पर निकुञ्जको नवलपरासीे कुजौलीमा रहेको पोस्टमा हात्तीको स्याहारमा खटिएका थिए । ‘त्यो बेला हात्तीका लागि घाँस लिन जंगल जाँदा बाघले आक्रमण गरेर बाबाको निधन भयो,’ अस्मिताले त्यस दिनको घटनाबारे आफूले पनि सुनेको दुःखद् कथा सम्झिइन् । वन्यजन्तु आक्रमणमा परेर बुबा गुमाएकी अस्मिताको दिनचर्या नै अचेल जंगलमा बितिरहेको छ ।

२०१८ तिर युवतीको एक ठूलै समूह नेचर गाइडको तालिम लिन सौराहामा थिए । त्यही तालिममा संलग्न अस्मिताले जंगल र जनावरको महत्त्व, जीव जनावरको स्वभाव, आक्रमण गर्ने कारण, बच्ने कला जस्ता विषयमा आधारभूत ज्ञान पाइन् । 

‘जंगल र जीव, जनावर, वनस्पति र समग्र जंगलको पर्यावरण हेर्न बुझ्न देश/विदेशबाट चितवन आउने पर्यटकलाई निकुञ्ज र यस आसपासका मध्यवर्ती वनभित्र घुमाउने काम गर्ने सोचले तालिम लिएको हो । यो तालिमले हामी जागिर मात्रै हैन, पर्यावरणकै संरक्षणमा लाग्न सक्दा रहेछौं भन्ने लाग्यो,’ अस्मिताले भनिन् । अनि सुरु भयो, पर्यटकलाई जंगल घुमाउने, बाघ, गैंडा लगायतका वन्यजन्तु देखाउने र आर्जन पनि गर्ने काम । 

साथी काजल र उनी एक वर्षअघि दुई नेपाली र दुई विदेशीलाई लिएर पैदलै जंगल पसेका थिए । चैतको महिना मजूर कराएको मनोरम वातावरण थियो, तर त्यही बेला ‘टट्टट्’ गरेको अलि फरक आवाज आयो । उनीहरूले आवाज ठम्याउन नभ्याउँदै भाले र पोथी गैंडा सामुन्ने देखिए । जोडी गैंडा आक्रामक हुन्छन् । जंगल छिर्नुअघि पर्यटकलाई भनिएको हुन्छ, यस्तो अवस्थामा के गर्ने भनेर । काजलले पर्यटकलाई मोडिन निर्देशन दिइन् । आफूलाई 

पछ्याउँदै छिटो आउन भनिन्, विदेशी अत्तालिएर झाडीमा हाम फाले । अवस्था जोखिमपूर्ण बनेपछि सम्हाल्ने दायित्व अस्मिता र काजलकै थियो । उनीहरूले गैंडालाई भगाउन जोडले कराउने, लौरो भुँइमा बजार्ने गर्न थाले । अन्ततः उनीहरूले गैंडाबाट पर्यटकलाई जोगाए । कुरो यत्तिमा सीमित रहेन । खाजा खान बसेका बेला फेरि बच्चासहित माउ गैंडा नजिकै देखिए ।

बच्चासँगको गैंडा पनि निकै नै आक्रामक हुन्छ । काजल र अस्मिताले पर्यटकलाई सुरक्षित ठाउँमा सारे । फर्कंदै गर्दा आहाल बसेको गैंडा भेटियो । रमाइलो मान्ने कि डर ? काजल र अस्मिताले त्यस दिन अलि फरक अनुभूति गरे, ‘जंगल हिँड्दा जनावर भेटिनु रमाइलो नै हो, तर पहिलो घटनाले अलि त्रासमा रहेका पर्यटकलाई झन् तनाव थपियो कि !’ 

जंगल र जंगली जनावरका बारेमा आधारभूत जानकारी भए पनि परिवेश सधैं एकनासको नहुने भएकाले आफ्नो पेसा चुनौतीपूर्ण ठान्छिन्, काजल । ‘ज्ञान र फिल्डको अवस्था हेरेर यथाशीघ्र निर्णय लिन सक्ने क्षमता हामीमा हुनुपर्ने रहेछ,’ काजलले भनिन्, ‘हामीले पर्यटकलाई जंगल र जनावरबारे बुझाउने मात्रै हैन, सुरक्षित पनि राख्नुपर्छ ।’ उनीहरूकै साथी सम्झना तिवारी आचार्यले पनि एक महिनाअघि यस्तै परिवेश भोगेकी थिइन् ।

Jungle Safari Lady Guideपर्यटकलाई स्वागत गर्दै सुस्मिता न्यौपाने र सम्झना तिवारी ।

सौराहाबाट पश्चिम–उत्तर खोरसोर हुँदै बबतालसम्म उनीहरू जंगलमा पैदल यात्रा (वाक) गर्दै थिए । श्रीलंकाबाट आएका पुरुष र महिलाका दुई जोडी पर्यटकलाई बिहान ७ बजेतिर बूढी राप्तीमा डुंगा सफारी गराएपछि उनीहरू जंगल वाकमा थिए । अप्रत्याशित रूपमा बच्चासहितको गैंडासँग जम्काभेट भयो । गैंडाका माउ र बच्चा दुवै मान्छेतिरै दौडिन थाले । सम्झनाका साथमा अर्का गाइड पनि थिए, नवीन अधिकारी । सम्झनाले पर्यटकलाई ढलेको रूखको छेल पारेर राखिन् ।

पर्यटक सुरक्षित ठाउँमा पुगेपछि नवीनसँगै मिलेर सम्झनाले लट्ठी ठटाउने र कराउने गरेर गैंडालाई पछाडि हटाए । जंगल जाँदा दुई जना निपुण गाइड किन चाहिँदो रहेछ भन्ने ज्ञान उनलाई त्यस दिन भयो । ‘अचानक यस्तो अवस्थाको सामना गर्दा डर लागेजस्तो त हुन्छ नै । तर हामीले जनावरलाई पछाडि पठाएर पर्यटकलाई पनि सुरक्षित राख्न सकेको देख्दा हामीमा राम्रो ज्ञान रहेछ भन्ने आत्मविश्वास पनि पलायो,’ सम्झनाले भनिन् । उनी त घरमा सानो छोरी छाडेरै सुत्केरी भएको तीन महिना पनि नकुरी यो काममा निस्केकी हुन् ।

गाइड सुस्मिता न्यौपाने जिप सफारीमा पर्यटकसँग जाने गर्छिन् । तीन वर्षअघि उनीहरू चढेको जिप ‘हाफ डे सफारी’ मा गएर कसराबाट सौराहा फर्कंदै थियो, साँझ पर्न लागेको हुँदा जनावर देखे पनि जिप रोकिएको थिएन । ठीक त्यही बेला बाटो काट्न लागेको तर नजिकै जिप देखेपछि अडिएको बाघ भेटियो । बाघले बाटो छाडेन । बाघदेखि सुरक्षित दूरी बनाएर कुर्नुको विकल्प थिएन ।

सम्हाल्ने जिम्मेवारी सुस्मिताले उठाइन् । पर्यटकलाई शान्त रहन इसारा गरिन् । बाघले धेरै जोर गरेन । केही बेरपछि ऊ आफ्नो बाटो लाग्यो, जिप बल्ल अगाडि बढ्यो । जंगलमा यसरी धेरै कुरा सम्हाल्दै अगाडि बढ्नुपर्ने नेचर गाइडको धर्म नै हो भन्छिन् उनी । तर काजल, अस्मिता, सम्झना र सुस्मिताजस्ता नेचर गाइड महिला चितवनमा निकै नै कम छन् । चितवन नेचर गाइड एसोसिएसनका अध्यक्ष अनिल गुरुङका अनुसार सौराहा आसपासमा सेवा दिन ४ सय ६४ जना तालिम प्राप्त नेचर गाइड छन् । तर महिलाहरू १०–१२ जना पनि छैनन् भन्छन्, अध्यक्ष गुरुङ । चितवनमा नेपालकै अग्रणी जंगल लज टाइगर टप्स खुलेसँगै सफारी पर्यटन अगाडि बढ्यो ।

२०३० मा नेपालको पहिलो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज स्थापना हुनुभन्दा ८ वर्षअघि नै मेघौलीको जंगल क्षेत्रमा टाइगर टप्स खुलिसकेको थियो । निकुञ्ज खुलेसँगै देश–विदेशबाट सफारीका लागि आउने पर्यटकको संख्या बढ्न थाल्यो । चितवन निकुञ्ज देशको पहिलो निकुञ्जका साथै वन्यजन्तु पर्यटनका लागि देशको पहिलो गन्तव्य हो । निकुञ्ज स्थापनासँगै पर्यटन खुला भएको थियो ।

अहिले चितवन निकुञ्ज घुम्न वर्षमा तीन लाख हाराहारीमा पर्यटक आउँछन् । पर्यटनसँगै नेचर गाइडको आवश्यकता पनि बढ्यो । तर नेचर गाइडमा महिला सहभागी हुन लागेको निकै पछि हो । सौराहाकी डोमा पौडेल चितवन निकुञ्जकी पहिलो सक्रिय नेचर गाइड महिला हुन् । २००७ मा तालिम लिएपछि डोमा अहिलेसम्म यही पेसामा छन् । २०११ मा कुमरोजकी विमिता भण्डारीलगायत यस पेसामा जोडिए । २०१८ मा सौराहामा महिलाका लागि मात्रै नेचर गाइडको तालिम खुल्दा २० जनाले निवेदन दिए । तर १५ जना तालिममा सहभागी भए । त्यो समूहबाट अहिले कार्यरत काजल, सुस्मिता, सम्झना, अस्मिता महतोसँगै अस्मिता गोदर मात्रै छन् ।

Jungle Safari Lady Guide

चितवन निकुञ्जको पश्चिम क्षेत्र घट्गाई जगतपुर मेघौलीमा अहिले थुप्रै स्तरीय पर्यटक होटलहरू खुलेका छन् । त्यसमध्येको बाराही जंगल लजमा कार्यरत छिन् नेचर गाइड एलिना चौधरी । बुबा नेचर गाइड तथा संरक्षणकर्मी नवलपरासी लौखानीका डीबी चौधरीको पदचिह्न पछ्याउँदै एलिनाले २०२२ देखि बाराही जंगल लजमा नेचर गाइडको काम सुरु गरेकी हुन् । १० जना नेचर गाइड रहेको बाराहीमा एलिनापछि सुदीक्षा कुमाल, प्रभा कुमाल र सकिना चौधरी गरी चार जना नेचर गाइड महिला छन् ।

बाहारीसँगैको मेघौली सेराई ताज सफारीले पनि एक जना महिला स्वस्तिका महतोलाई नेचर गाइड राखेको छ । घट्गाई मेघौली नेचर गाइड एसोसिएसनमा ९२ जना नेचर गाइडहरू रहेको अध्यक्ष मनेश लिम्बूले बताए । जसमध्ये पाँच महिला छन् । ‘नेचर गाइडमा महिलाहरू आएका छन् । उनीहरूको सेवा, सत्कार र सुरक्षाको विषयलाई लिएर पर्यटकले गुनासो गरेको थाहा छैन, उनीहरू अब्बल छन्,’ अध्यक्ष लिम्बूले भने ।

बाघ, गैंडा, जंगली हात्तीले गर्ने ‘उग्र व्यवहार’ का खबर सुनेकालाई यो काम खतरनाक लाग्छ । तर यी वन्यजन्तुको शिल, स्वभाव, आनीबानी बुझेर त्यहीअनुसारको व्यवहार गर्न सके आफ्नो धुनमै रहेका जनावर हेरेर आनन्द लिन सकिन्छ । गाइडले जंगल घुम्नेबारेमा तालिम लिन्छन् । डुल्दै जाँदा थप खारिन्छन् । अनि जोगिँदै र जोगाउँदै पर्यटकलाई जंगल घुमाउँछन् । आधारभूत तालिम लिएर काममा खटेपछि व्यवहारले नै धेरै कुरा सिकाउने डोमा पौडेलको अनुभव छ । हरेक वर्ष पुनर्ताजगी तालिम पनि लिन्छन् ।

Jungle Safari Lady Guideएलिना चौधरी

‘राम्रो र उच्चस्तरको तालिम अझै पाए हामीमा पनि थप निखार आउँछ, सुरक्षाका कुरा त छन् नै, ज्ञान पनि बढ्छ र पर्यटकलाई बुझाउने कलामा पनि हामी निपुण बन्दै जाने थियौं भन्ने लाग्छ,’ एलिना चौधरी भन्छिन् । एलिनाले २०२४ को ‘नेचरिस्ट अफ दि इयर’ अवार्ड पनि पाएकी छन् । भारतको टफटाइगरले उच्चस्तरका रिसोर्टमा कार्यरत नेचर गाइडलाई यसरी अवार्ड दिँदै आएको छ । एलिनाको सफलता नेपालका नेचर गाइड महिलाको सफलतासँग जोडिएको ठान्छन्, घट्गाई मेघौली नेचर गाइड एसोसिएसनका अध्यक्ष मनेश लिम्बू ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्त संरक्षणसँगै सुरु भएको पर्यटनले स्थानीयलाई लाभ दिएको र त्यसमा सबै तप्का र वर्गको सहभागी हुने क्रम बढेको बताउँछन् । ‘महिला पनि पर्यटनसँग जोडिएर आर्जनमा लागेका छन् । नेचर गाइड पेसा चुनौतीपूर्ण भए पनि महिलाहरू सहभागी छन्, यो सुखद पाटो हो,’ प्रमुख संरक्षण अधिकृत पन्तले भने ।

काम भएका बखतमा महिनामा सरदर ४० हजार रुपैयाँ आम्दानी हुने डोमाले बताइन् । ‘महिला हुन्, विश्वास गर्नु हुन्न भन्ने भावना फैलाउनेहरू पनि छन् । तर हामीले सेवा दिएकाहरू सन्तुष्ट छन् । उनीहरू दोहोर्‍याएर हामीलाई नै खोज्छन् । अरू घुम्न आउनेलाई पनि सिफारिस गरेको उदाहरण प्रशस्त छन्,’ डोमाले भनिन् । पर्यटन व्यवसायमा महिला नै देख्न नसकिने समयलाई चिर्दै चुनौतीपूर्ण पेसामा पनि महिला सहभागी हुने क्रम बढ्न थालेको छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully