जंगलमा गैंडा, हात्ती, बाघ, घडियाल, मृग, बाह्रसिंहा, चरा हेर्न बेलायती राजकुमार ह्यारीदेखि अभिनेता लियोनार्दो डि क्याप्रियोसम्मका सेलिब्रेटी आएका छन्
२०७२ चैत दोस्रो साता । बेलायती राजकुमार ह्यारी खौरिया नदीमा जलयात्रा गर्दै थिए । जलयात्रामा चराविज्ञ हेमसागर बराल, शान्तराज ज्ञवाली, नेचर गाइड राजन क्षेत्रीलगायत सहभागी थिए । चराविज्ञ बरालले महँगो मूल्य पर्ने सार्वेस्की कम्पनीका दुई वटा बाइनोकुलर लगेका थिए । राजपरिवारका सदस्यसँग बोल्दा भाषा, शिष्टाचार, पहिरनलगायत धेरै कुरामा ख्याल गर्नुपर्छ भन्नेप्रति सचेत थिए । तर, ह्यारी राजपरिवारका अन्य सदस्यभन्दा भिन्न थिए ।
उनको हाउभाउ, जिज्ञासु किसिमको प्रश्न गर्ने शैली र सजिलै घुलमिल गर्न सक्ने खुबीले जलयात्रामा सहभागी सबैलाई सहज भयो ।
बरालले ल्याएकै दूरबिनबाट ह्यारीले एउटा चरा देखे । त्यो सानो माटीकोरे (किङफिसर) चरा थियो । त्यसपछि ह्यारीले सोधे, ‘म यहाँ १५ दिन बसें भने कति वटा चरा देख्छु ?’ बरालले उत्तर फर्काए, ‘म गाइड भएँ भने हजुरलाई ४ सय जति देखाउन सक्छु ।’ नेपालको जैविक विविधता देखेर उनी प्रसन्न भए ।
निकुञ्जको बीचमै बग्ने खौरिया नदीमा ह्यारीले करिब ४० मिनेट जलयात्रा गरे । जलयात्रा गैंडामचान पोस्टदेखि बघौरा फाँटसम्म थियो । बर्दियामा उनले बाघका पाइलादेखि क्यामरा ट्र्याप सम्बन्धमा पनि जानकारी लिए । उनलाई डल्ला होमस्टेमा आयोजित कार्यक्रममा सम्मान गर्दै थारू समुदायको परम्परागत नृत्य देखाइयो ।
समुदाय र संरक्षणसँगका गतिविधि देखेर उनी यति मग्न भए कि १५ मिनेटका लागि छुट्याइएको उनको समय आधा घण्टाभन्दा बढी बित्यो । वन्यजन्तु अपराध नियन्त्रण तथा संरक्षणका लागि गरिएका कामबारे पनि जानकारी लिएर उनी पोखरा लागे ।
राजकुमार ह्यारी नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पूरा भएको अवसर पारेर नेपाल आएका थिए । त्यस वर्षको पहिलो महिना भूकम्पमा परी करिब ९ हजार जनाले ज्यान गुमाएका थिए । भूकम्पले प्रभावित नेपालको पर्यटनमा पनि केही योगदान गर्ने उद्देश्यसहित ह्यारी आएका थिए । ६ दिनको नेपाल बसाइमा उनी बर्दियामा वन्यजन्तु संरक्षण र जलयात्रासँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा ट्रेकिङमा पनि सहभागी भए ।
राजकुमारको उक्त भ्रमणबारे धेरै मिडियामा खबर छापियो । हरेक गतिविधिले स्थान पायो । पर्यटन क्षेत्रलाई बौराउन त्यसले भूमिका निर्वाह गर्यो ।
...
हलिउडका चर्चित अभिनेता लियोनार्दो डि क्याप्रियो २०६७ मा बर्दिया आएका थिए । विश्व वन्यजन्तु कोषको पहलकदमीमा आएका उनको भ्रमण अति नै गोप्य राखिएको थियो । गणतन्त्र घोषणा भएपछि कुनै चर्चित अभिनेता वन्यजन्तु संरक्षण गर्ने उद्देश्यसहित नेपालको निकुञ्जमा आएको उच्च भ्रमण थियो त्यो । त्यसबेला बाघ आक्रमणमा परेर आँखा गुमाएका मधुवनका भदै थारूलाई आफूले लगाएको चस्मा उपहारमा दिएको घटना, क्यामरा ट्र्यापको तस्बिर, ठाकुरबाबाको विद्यालयमा वृक्षरोपण गरेका तस्बिर र वैकल्पिक ऊर्जा नमुना गाउँको उद्घाटन गरेको तस्बिर र समाचार बाहिरिए । उनको नेपाल भ्रमणबारे धेरै चर्चा भयो ।
बाघ संरक्षण दूतका रूपमा नेपाल आएका क्याप्रियोले त्यसबेला बर्दियामा बाघ हेर्न निकै कोसिस गरे तर सकेनन् । उनको भ्रमण टोलीमा सहभागी भएका अधिकांशले बाघ देखे, तर उनले देख्न पाएनन् । तीन दिनसम्म बाघ हेर्न भनेर उनी बिहान सबेरै उठेर सफारी गएका थिए ।
टाइगर टप्सकी तत्कालीन प्रबन्धक गौरी मलाकारको भनाइ उद्धृत गर्दै २०७० सालमा सुबोध गौतमले लेखेको एक लेखअनुसार क्याप्रियोका बडिगार्डले पनि बाघ देखे । समुदायका संरक्षण कार्यक्रम हेरेर फर्कने क्रममा कर्णालीको भँगालोमा बाघ देखियो । टोलीमा सहभागी धेरैजसोले बाघ देखेछन्, क्याप्रियो खाना खाँदै थिए । हतारहतार जाँदा बाघ त्यहाँबाट हिँडिसकेको थियो । टोलीमा सहभागी एक सदस्यका अनुसार, ‘बाघ नदेख्दा पनि उहाँमा कुनै निराशा देखिएन, सामान्य रूपमा लिनुभयो ।’
क्याप्रियो बाघ नहेरी काठमाडौं हुँदै भुटान गएका थिए । पछि उनले एक अन्तार्वार्तामा पनि आफूले बाघ नदेखेको बताएका थिए । नेपालबाट फर्केपछि उनको यात्राबारे धेरै मिडियामा समाचार आयो । त्यसपछि ‘बाघ हेर्न बर्दिया जाने’ भन्ने संस्कृति झनै मौलायो । बाघ संरक्षणकै लागि भनेर क्याप्रियोले नेपालमा करोडौं अनुदान दिए ।
...
पहिलो र दोस्रो संविधानसभाको चुनावको पर्यवेक्षण गर्न अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टर नेपाल आएका थिए । प्रकृतिप्रेमी कार्टर नेपाल आउँदा सधैं जंगल जान्थे र पर्यटन प्रवर्द्धन पनि गरिदिन्थे । सन् १९८५ को भ्रमणमा टाइगर टप्स गए, सन् २००७ मा शिवपुरी, सन् २०१३ मा नागार्जुन र गोदावरी गए । उनको यस्तो भ्रमणले पर्यटन प्रवर्द्धनमा मद्दत गर्यो ।
...
नेपालको जंगल सफारी ‘बाघलाई राइफलले सुट गर्न चितवन जाऔं’ भन्ने विज्ञापनबाट सुरु भएको थियो । जिम एडवार्डले टाइगर टप्सको व्यवस्थापन थालेपछि संरक्षणमा आधारित भएर ‘क्यामराले सुट (कैद) गरौं’ भन्न थालियो । उनकै पहलमा जंगलमा क्यामरा ट्र्याप लगाइयो । जंगल सफारी प्रवर्द्धन हुन थाल्यो ।
राणा शासकले सत्ता टिकाउन विदेशीलाई ट्रफी सिकारका लागि नेपाल ल्याउँथे । तत्कालीन राजा महेन्द्र शाहले पनि त्यसको सिको गर्न खोजे । पञ्चायती व्यवस्था लागू गरेपछि बेलायती राजपरिवारलाई लक्ष्य गरेर तराईको जंगलमा ‘ट्रफी हन्टिङ’ नै आयोजना गरे ।
टाइगर टप्सले नेपालमा विश्वविख्यात सेलिब्रेटीलाई जंगल ल्याएर उच्च कोटीको पर्यटकीय सेवा प्रदान गर्थ्यो । सफारीका लागि धेरै किसिमका सेलिब्रेटी आउँथे तर अहिले कम हुन थालेको छ । उच्च कोटीका पर्यटक नेपाल आउँदा लाखौं खर्च गर्छन् । उनीहरूसँगै आउने मानिसको संख्या पनि दर्जनभन्दा बढी हुन्छन् । धेरै ठाउँमा जान्छन्, घुम्छन् र मनोरन्जन गरेर फर्कन्छन् । तर त्यो स्तरको अनुभव दिने किसिमको वातावरण निर्माण गर्न सकिएको छैन ।
सन् २०१२ पछि जंगलभित्र टाइगर टप्सजस्ता उच्च कोटीको पर्यटकीय सेवा प्रदान गर्ने होटलहरूको नवीकरण रोकिएको छ । संरक्षण क्षेत्र आसपास विभिन्न किसिमका होटल तथा होमस्टे सञ्चालनमा छन् । लगानी पनि बढेको छ । तर जंगल र वन्यजन्तु हेरेर प्राकृतिक अनुभव लिने परिपाटी कम हुन थालेको यस क्षेत्रमा लागेकाहरू बताउँछन् । संरक्षणकर्मी हेमसागर बराल नै भन्छन्, ‘अहिले विभिन्न कम्पनीले करोडौं लगानी गरेर होटल बनाए तर त्यो जंगल गएर लिने अनुभव जस्तो नै भएन ।’
संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रमा जिप सफारी बढ्न थालेको छ । अझ बढी सामुदायिक वनहरूमा दिनमा ४० वटाभन्दा बढी जिप प्रवेश गर्ने र निस्कने गर्छन् । जिपबाट वन्यजन्तु हेरेर फर्कने पर्यटन बढ्दो छ । उनीहरू तस्बिर खिचेर सामाजिक सञ्जालमा राख्नमै रमाउँछन् । केही त्यस्ता पर्यटक हुन्छन्, जो छुट्टै फ्लेवर चाहन्छन्, टाइगर टप्सले प्रदान गर्ने जस्तो ।
संरक्षित क्षेत्रका जंगल सफारी
नेपालका जंगल सफारीका लागि अक्टोबरदेखि मार्चसम्म उपयुक्त मानिन्छ । अहिले सफारीका लागि बढीजसो पर्यटक चितवन, बर्दिया, शुक्लाफाँटा र कोशीमा जान्छन् । बाँके फस्टाउँदो क्रममा छ । हिमालका संरक्षण क्षेत्रहरू ट्रेकिङका लागि प्रख्यात नै छन् । विश्व सम्पदा सूचीमा रहेको चितवनमा घाँसे मैदान, घना जंगल र सिमसारको सम्मिश्रण छ । जीवहरूको विविधिता पनि धेरै छन् । गैंडा, हरिण, बाघ लगायतका जीव हेर्न यो क्षेत्र प्रख्यात छ ।
बर्दिया भन्नेबित्तिकै बाघको चर्चा हुन्छ । अहिले कर्णाली र यसका सहायक नदीमा डल्फिन र महाशिर माछा हेर्नका लागि पनि पर्यटन प्रवर्द्धन गर्न सकिने आधारहरू छन् । तर बर्दियालाई बाघले नै तान्ने हो । काठमाडौंबाट नेपालगन्ज र त्यहाँबाट करिब दुई घण्टा सवारी चढेपछि पुगिने यस क्षेत्रमा कम पर्यटक जानुको कारण यातायात सञ्जाल र महँगो भाडादर नै हो ।
अफ्रिकामा जस्तो घाँसे मैदानमा वन्यजन्तुको बथान यहाँ देख्न सकिन्छ । सानो क्षेत्रफलमा भएको घाँसे मैदानमा बाह्रसिंगेको ठूलो बथान देख्न पनि देखिन्छ । घना जंगल र सिमसार क्षेत्र यसको अर्को विशेषता हो । चितवन र शुक्ला दुवै घाँसे मैदानमा आश्रित चरा प्रजाति अवलोकनका लागि प्रख्यात छन् । अर्ना, डल्फिन, साइबेरियाबाट आउने घुमन्ते चराका लागि कोशी टप्पु चर्चित छ । सानो क्षेत्रफल भएकाले यहाँ जिप सफारीभन्दा पनि हिँडेरै जंगल सफारीलाई प्रवर्द्धन गर्न एक थरीको जोड छ । तर जंगली हात्तीको त्रासका कारण प्रवर्द्धन हुन सकिरहेको छैन ।
संख्याको हिसाबले नेपालमा पर्यटक आउने क्रम बढे पनि सरकारले त्यसबाट अपेक्षित लाभ लिन सकिरहेको छैन । नेपालमा आउने पर्यटकमध्ये ६० प्रतिशतले संरक्षित क्षेत्रको भ्रमण गर्छन् । प्रायः पर्यटक यातायात सुविधा भएको ठाउँमा गएको देखिन्छ । सबैभन्दा बढी भ्रमण शिवपुरी, नागार्जुन र चितवन निकुञ्जमा हुने गर्छ । निकुञ्ज विभागको प्रतिवेदन हेर्ने हो भने आर्थिक वर्ष २०७९/८० मा २ लाख ९२ हजार ३ सय ९२ जनाले चितवन भ्रमण गरे । २३ हजार ५ सय ११ ले बर्दिया, ३ हजार ५ सय २८ ले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र १२ हजार २९ ले कोशीटप्पु वन्यजन्तु आरक्ष भ्रमण गरे ।
संरक्षित तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित जिप सफारीका लागि व्यक्तिले ६ सयदेखि २ हजार रुपैयाँसम्म तिर्छन् । त्यसमा जिपको प्रवेश शुल्क पनि छुट्टै हुन्छ । पैसा खर्च गर्दा पनि वन्यजन्तु देखेनन् भने उनीहरू पुनः सफारीमा जान मान्दैनन् । छोटो गन्तव्यमा पर्यटक बास नबसी फर्कन्छन् ।
कोशीमा पनि जंगल सफारी सुरु गरिएको थियो । तर सफल हुन सकेन । जंगल सफारीको व्यवसायीकरणले अझै प्राथमिकता पाउन सकेको छैन । समुदायमा आधारित होमस्टेहरू सञ्चालनमा रहे पनि तिनले विदेशीलाई आकर्षण गर्न सकिरहेका छैनन् । ह्यारी र डि क्याप्रियोजस्ता विश्वविख्यात सेलिब्रेटीलाई ल्याउने र उनीहरूको बसाइ लम्ब्याउने गरी सुविधा र सत्कार दिन सके मुलुककै अर्थतन्त्रमा ठूलो टेवा पुग्न सक्छ ।
तस्बिरहरू : डब्लुडब्लुएफ नेपाल
