सफारीमा सेलिब्रेटी

जंगलमा गैंडा, हात्ती, बाघ, घडियाल, मृग, बाह्रसिंहा, चरा हेर्न बेलायती राजकुमार ह्यारीदेखि अभिनेता लियोनार्दो डि क्याप्रियोसम्मका सेलिब्रेटी आएका छन्

जेष्ठ ३१, २०८२

गोविन्द पोखरेल

Celebrity on safari

२०७२ चैत दोस्रो साता । बेलायती राजकुमार ह्यारी खौरिया नदीमा जलयात्रा गर्दै थिए । जलयात्रामा चराविज्ञ हेमसागर बराल, शान्तराज ज्ञवाली, नेचर गाइड राजन क्षेत्रीलगायत सहभागी थिए । चराविज्ञ बरालले महँगो मूल्य पर्ने सार्वेस्की कम्पनीका दुई वटा बाइनोकुलर लगेका थिए । राजपरिवारका सदस्यसँग बोल्दा भाषा, शिष्टाचार, पहिरनलगायत धेरै कुरामा ख्याल गर्नुपर्छ भन्नेप्रति सचेत थिए । तर, ह्यारी राजपरिवारका अन्य सदस्यभन्दा भिन्न थिए ।

उनको हाउभाउ, जिज्ञासु किसिमको प्रश्न गर्ने शैली र सजिलै घुलमिल गर्न सक्ने खुबीले जलयात्रामा सहभागी सबैलाई सहज भयो । 

बरालले ल्याएकै दूरबिनबाट ह्यारीले एउटा चरा देखे । त्यो सानो माटीकोरे (किङफिसर) चरा थियो । त्यसपछि ह्यारीले सोधे, ‘म यहाँ १५ दिन बसें भने कति वटा चरा देख्छु ?’ बरालले उत्तर फर्काए, ‘म गाइड भएँ भने हजुरलाई ४ सय जति देखाउन सक्छु ।’ नेपालको जैविक विविधता देखेर उनी प्रसन्न भए ।

निकुञ्जको बीचमै बग्ने खौरिया नदीमा ह्यारीले करिब ४० मिनेट जलयात्रा गरे । जलयात्रा गैंडामचान पोस्टदेखि बघौरा फाँटसम्म थियो । बर्दियामा उनले बाघका पाइलादेखि क्यामरा ट्र्याप सम्बन्धमा पनि जानकारी लिए । उनलाई डल्ला होमस्टेमा आयोजित कार्यक्रममा सम्मान गर्दै थारू समुदायको परम्परागत नृत्य देखाइयो ।

समुदाय र संरक्षणसँगका गतिविधि देखेर उनी यति मग्न भए कि १५ मिनेटका लागि छुट्याइएको उनको समय आधा घण्टाभन्दा बढी बित्यो । वन्यजन्तु अपराध नियन्त्रण तथा संरक्षणका लागि गरिएका कामबारे पनि जानकारी लिएर उनी पोखरा लागे ।

Celebrity on safari

राजकुमार ह्यारी नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पूरा भएको अवसर पारेर नेपाल आएका थिए । त्यस वर्षको पहिलो महिना भूकम्पमा परी करिब ९ हजार जनाले ज्यान गुमाएका थिए । भूकम्पले प्रभावित नेपालको पर्यटनमा पनि केही योगदान गर्ने उद्देश्यसहित ह्यारी आएका थिए । ६ दिनको नेपाल बसाइमा उनी बर्दियामा वन्यजन्तु संरक्षण र जलयात्रासँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा ट्रेकिङमा पनि सहभागी भए ।

राजकुमारको उक्त भ्रमणबारे धेरै मिडियामा खबर छापियो । हरेक गतिविधिले स्थान पायो । पर्यटन क्षेत्रलाई बौराउन त्यसले भूमिका निर्वाह गर्‍यो । 

...

हलिउडका चर्चित अभिनेता लियोनार्दो डि क्याप्रियो २०६७ मा बर्दिया आएका थिए । विश्व वन्यजन्तु कोषको पहलकदमीमा आएका उनको भ्रमण अति नै गोप्य राखिएको थियो । गणतन्त्र घोषणा भएपछि कुनै चर्चित अभिनेता वन्यजन्तु संरक्षण गर्ने उद्देश्यसहित नेपालको निकुञ्जमा आएको उच्च भ्रमण थियो त्यो । त्यसबेला बाघ आक्रमणमा परेर आँखा गुमाएका मधुवनका भदै थारूलाई आफूले लगाएको चस्मा उपहारमा दिएको घटना, क्यामरा ट्र्यापको तस्बिर, ठाकुरबाबाको विद्यालयमा वृक्षरोपण गरेका तस्बिर र वैकल्पिक ऊर्जा नमुना गाउँको उद्घाटन गरेको तस्बिर र समाचार बाहिरिए । उनको नेपाल भ्रमणबारे धेरै चर्चा भयो । 

बाघ संरक्षण दूतका रूपमा नेपाल आएका क्याप्रियोले त्यसबेला बर्दियामा बाघ हेर्न निकै कोसिस गरे तर सकेनन् । उनको भ्रमण टोलीमा सहभागी भएका अधिकांशले बाघ देखे, तर उनले देख्न पाएनन् । तीन दिनसम्म बाघ हेर्न भनेर उनी बिहान सबेरै उठेर सफारी गएका थिए ।

Celebrity on safari

टाइगर टप्सकी तत्कालीन प्रबन्धक गौरी मलाकारको भनाइ उद्धृत गर्दै २०७० सालमा सुबोध गौतमले लेखेको एक लेखअनुसार क्याप्रियोका बडिगार्डले पनि बाघ देखे । समुदायका संरक्षण कार्यक्रम हेरेर फर्कने क्रममा कर्णालीको भँगालोमा बाघ देखियो । टोलीमा सहभागी धेरैजसोले बाघ देखेछन्, क्याप्रियो खाना खाँदै थिए । हतारहतार जाँदा बाघ त्यहाँबाट हिँडिसकेको थियो । टोलीमा सहभागी एक सदस्यका अनुसार, ‘बाघ नदेख्दा पनि उहाँमा कुनै निराशा देखिएन, सामान्य रूपमा लिनुभयो ।’ 

क्याप्रियो बाघ नहेरी काठमाडौं हुँदै भुटान गएका थिए । पछि उनले एक अन्तार्वार्तामा पनि आफूले बाघ नदेखेको बताएका थिए । नेपालबाट फर्केपछि उनको यात्राबारे धेरै मिडियामा समाचार आयो । त्यसपछि ‘बाघ हेर्न बर्दिया जाने’ भन्ने संस्कृति झनै मौलायो । बाघ संरक्षणकै लागि भनेर क्याप्रियोले नेपालमा करोडौं अनुदान दिए । 

...

पहिलो र दोस्रो संविधानसभाको चुनावको पर्यवेक्षण गर्न अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टर नेपाल आएका थिए । प्रकृतिप्रेमी कार्टर नेपाल आउँदा सधैं जंगल जान्थे र पर्यटन प्रवर्द्धन पनि गरिदिन्थे । सन् १९८५ को भ्रमणमा टाइगर टप्स गए, सन् २००७ मा शिवपुरी, सन् २०१३ मा नागार्जुन र गोदावरी गए । उनको यस्तो भ्रमणले पर्यटन प्रवर्द्धनमा  मद्दत गर्‍यो ।  

...

नेपालको जंगल सफारी ‘बाघलाई राइफलले सुट गर्न चितवन जाऔं’ भन्ने विज्ञापनबाट सुरु भएको थियो । जिम एडवार्डले टाइगर टप्सको व्यवस्थापन थालेपछि संरक्षणमा आधारित भएर ‘क्यामराले सुट (कैद) गरौं’ भन्न थालियो । उनकै पहलमा जंगलमा क्यामरा ट्र्याप लगाइयो । जंगल सफारी प्रवर्द्धन हुन थाल्यो । 

Celebrity on safari

राणा शासकले सत्ता टिकाउन विदेशीलाई ट्रफी सिकारका लागि नेपाल ल्याउँथे । तत्कालीन राजा महेन्द्र शाहले पनि त्यसको सिको गर्न खोजे । पञ्चायती व्यवस्था लागू गरेपछि बेलायती राजपरिवारलाई लक्ष्य गरेर तराईको जंगलमा ‘ट्रफी हन्टिङ’ नै आयोजना गरे । 

टाइगर टप्सले नेपालमा विश्वविख्यात सेलिब्रेटीलाई जंगल ल्याएर उच्च कोटीको पर्यटकीय सेवा प्रदान गर्थ्यो । सफारीका लागि धेरै किसिमका सेलिब्रेटी आउँथे तर अहिले कम हुन थालेको छ । उच्च कोटीका पर्यटक नेपाल आउँदा लाखौं खर्च गर्छन् । उनीहरूसँगै आउने मानिसको संख्या पनि दर्जनभन्दा बढी हुन्छन् । धेरै ठाउँमा जान्छन्, घुम्छन् र मनोरन्जन गरेर फर्कन्छन् । तर त्यो स्तरको अनुभव दिने किसिमको वातावरण निर्माण गर्न सकिएको छैन । 

सन् २०१२ पछि जंगलभित्र टाइगर टप्सजस्ता उच्च कोटीको पर्यटकीय सेवा प्रदान गर्ने होटलहरूको नवीकरण रोकिएको छ । संरक्षण क्षेत्र आसपास विभिन्न किसिमका होटल तथा होमस्टे सञ्चालनमा छन् । लगानी पनि बढेको छ । तर जंगल र वन्यजन्तु हेरेर प्राकृतिक अनुभव लिने परिपाटी कम हुन थालेको यस क्षेत्रमा लागेकाहरू बताउँछन् । संरक्षणकर्मी हेमसागर बराल नै भन्छन्, ‘अहिले विभिन्न कम्पनीले करोडौं लगानी गरेर होटल बनाए तर त्यो जंगल गएर लिने अनुभव जस्तो नै भएन ।’

Celebrity on safari

संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रमा जिप सफारी बढ्न थालेको छ । अझ बढी सामुदायिक वनहरूमा दिनमा ४० वटाभन्दा बढी जिप प्रवेश गर्ने र निस्कने गर्छन् । जिपबाट वन्यजन्तु हेरेर फर्कने पर्यटन बढ्दो छ । उनीहरू तस्बिर खिचेर सामाजिक सञ्जालमा राख्नमै रमाउँछन् । केही त्यस्ता पर्यटक हुन्छन्, जो छुट्टै फ्लेवर चाहन्छन्, टाइगर टप्सले प्रदान गर्ने जस्तो ।  

संरक्षित क्षेत्रका जंगल सफारी

नेपालका जंगल सफारीका लागि अक्टोबरदेखि मार्चसम्म उपयुक्त मानिन्छ । अहिले सफारीका लागि बढीजसो पर्यटक चितवन, बर्दिया, शुक्लाफाँटा र कोशीमा जान्छन् । बाँके फस्टाउँदो क्रममा छ । हिमालका संरक्षण क्षेत्रहरू ट्रेकिङका लागि प्रख्यात नै छन् । विश्व सम्पदा सूचीमा रहेको चितवनमा घाँसे मैदान, घना जंगल र सिमसारको सम्मिश्रण छ । जीवहरूको विविधिता पनि धेरै छन् । गैंडा, हरिण, बाघ लगायतका जीव हेर्न यो क्षेत्र प्रख्यात छ । 

बर्दिया भन्नेबित्तिकै बाघको चर्चा हुन्छ । अहिले कर्णाली र यसका सहायक नदीमा डल्फिन र महाशिर माछा हेर्नका लागि पनि पर्यटन प्रवर्द्धन गर्न सकिने आधारहरू छन् । तर बर्दियालाई बाघले नै तान्ने हो । काठमाडौंबाट नेपालगन्ज र त्यहाँबाट करिब दुई घण्टा सवारी चढेपछि पुगिने यस क्षेत्रमा कम पर्यटक जानुको कारण यातायात सञ्जाल र महँगो भाडादर नै हो ।

अफ्रिकामा जस्तो घाँसे मैदानमा वन्यजन्तुको बथान यहाँ देख्न सकिन्छ । सानो क्षेत्रफलमा भएको घाँसे मैदानमा बाह्रसिंगेको ठूलो बथान देख्न पनि देखिन्छ । घना जंगल र सिमसार क्षेत्र यसको अर्को विशेषता हो । चितवन र शुक्ला दुवै घाँसे मैदानमा आश्रित चरा प्रजाति अवलोकनका लागि प्रख्यात छन् । अर्ना, डल्फिन, साइबेरियाबाट आउने घुमन्ते चराका लागि कोशी टप्पु चर्चित छ । सानो क्षेत्रफल भएकाले यहाँ जिप सफारीभन्दा पनि हिँडेरै जंगल सफारीलाई प्रवर्द्धन गर्न एक थरीको जोड छ । तर जंगली हात्तीको त्रासका कारण प्रवर्द्धन हुन सकिरहेको छैन । 

संख्याको हिसाबले नेपालमा पर्यटक आउने क्रम बढे पनि सरकारले त्यसबाट अपेक्षित लाभ लिन सकिरहेको छैन । नेपालमा आउने पर्यटकमध्ये ६० प्रतिशतले संरक्षित क्षेत्रको भ्रमण गर्छन् । प्रायः पर्यटक यातायात सुविधा भएको ठाउँमा गएको देखिन्छ । सबैभन्दा बढी भ्रमण शिवपुरी, नागार्जुन र चितवन निकुञ्जमा हुने गर्छ । निकुञ्ज विभागको प्रतिवेदन हेर्ने हो भने आर्थिक वर्ष २०७९/८० मा २ लाख ९२ हजार ३ सय ९२ जनाले चितवन भ्रमण गरे । २३ हजार ५ सय ११ ले बर्दिया, ३ हजार ५ सय २८ ले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र १२ हजार २९ ले कोशीटप्पु वन्यजन्तु आरक्ष भ्रमण गरे । 

Celebrity on safari

संरक्षित तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित जिप सफारीका लागि व्यक्तिले ६ सयदेखि २ हजार रुपैयाँसम्म तिर्छन् । त्यसमा जिपको प्रवेश शुल्क पनि छुट्टै हुन्छ । पैसा खर्च गर्दा पनि वन्यजन्तु देखेनन् भने उनीहरू पुनः सफारीमा जान मान्दैनन् । छोटो गन्तव्यमा पर्यटक बास नबसी फर्कन्छन् ।

कोशीमा पनि जंगल सफारी सुरु गरिएको थियो । तर सफल हुन सकेन । जंगल सफारीको व्यवसायीकरणले अझै प्राथमिकता पाउन सकेको छैन । समुदायमा आधारित होमस्टेहरू सञ्चालनमा रहे पनि तिनले विदेशीलाई आकर्षण गर्न सकिरहेका छैनन् । ह्यारी र डि क्याप्रियोजस्ता विश्वविख्यात सेलिब्रेटीलाई ल्याउने र उनीहरूको बसाइ लम्ब्याउने गरी सुविधा र सत्कार दिन सके मुलुककै अर्थतन्त्रमा ठूलो टेवा पुग्न सक्छ ।

तस्बिरहरू : डब्लुडब्लुएफ नेपाल

गोविन्द पोखरेल विज्ञान, वन, वातावरण, प्रविधि लगायतका क्षेत्रमा कलम चलाउँछन् ।

Link copied successfully