प्रतिरोधको सिलिदुङ

कविले सांस्कृतिक प्रतिरोधको माध्यमबाट कवितामा बेग्लै वैचारिकी निर्माण गर्न खोजेका छन् 

जेष्ठ २४, २०८२

सन्जित फलाना

Seal of resistance

What you should know

सिली’ भनेको साकेलामा नाचिने सांस्कृतिक नृत्य भइहाल्यो । किराँत राई भाषामा दुङको अर्थ हुन्छ– समय/युग । ‘सिलिदुङ’ अर्थात् साकेलाको युग । मुन्दुममा वर्णित उँधौली र उँभौलीको याम । एउटा सांस्कृतिक चैतन्यको समय ।

कवि गिलु रातोसको कवितासंग्रह ‘सिलिदुङ’ मा त्यही समयको सौन्दर्य र अविव्यञ्जना लेखिएको छ ।

४५ कविता भएको संग्रहमा चार खण्ड छन्– प्रतिरोध, मिथक र अस्तित्व, चुलो र गौनसे दाइ । चौथो खण्डमा ‘देब्रे हातको पेचुरी’ शीर्षकको एउटै मात्र कविता छ, जुन कवि–चित्रकार अर्जुन खालिङमाथि लेखिएको छ । अन्य कविता भने सांस्कृतिक चिन्तनले ओतप्रोत छन् । ती कविता पढ्दा सहजै अनुमान लगाउन सकिन्छ– कवि रातोसले सांस्कृतिक प्रतिरोधका माध्यमबाट एउटा बेग्लै वैचारिकीको निर्माण गर्न खोजेका छन् ।

दोस्रो र तेस्रो खण्डका अधिकांश कवितामा कविले किराँत–राई जातिको मिथक र सांस्कृतिक सौन्दर्यको पाटो उजागर गरेका छन् । फरक सभ्यताको इतिहास बोकेको मुन्दुमी पात्र, स्थान र परिवेशका माध्यमबाट समानता र सहिष्णुताको युनिभर्सल कथा भन्न खोज्नु कविको उद्देश्य हो । कथा भन्दै गर्दा कतै चर्को सुनिन्छ त कतै नरम ! कवि कतै पुर्खा सम्झेर नोस्टाल्जिक हुन्छन् त कतै मेलाङ्कोलिक । स्थानीयता, मुन्दुमी बिम्ब र उपमाले सिँगारिएका कविता पढ्दा बेग्लै स्वाद पाइन्छ । 

उनका कवितामा मिलन–बिछोड, दु:ख–सुख, हाँसो–आँसु र उहापोहजस्ता सस्ता भावना मात्रै छैनन् बरु सांस्कृतिक, आर्थिक, सामाजिक र राजनीतिक पक्षले प्रेममा ल्याउने संकट र समस्याको चिरफार पनि गरिएको छ । ती कवितामा वर्गीय असमानताको कुरूप यथार्थ पनि छ, परिवर्तनको सपना पनि ।

Seal of resistance

पुरातन सोचबाट निर्देशित शासन व्यवस्था र सामाजिक संरचना रहिन्जेल विभेद, शोषण र असमानता विद्यमान रहिरहन्छ । विभेद र असमानता टड्कारो रहिन्जेल प्रतिरोध जारी रहन्छ । पहिलो खण्डको प्रायः कवितामा शासक र सत्ताविरुद्ध छेडिएको त्यही प्रतिरोधी आवाज मुखरित भएको छ ।

उनको कवितामा सशक्त रूपमा आएको अर्को विषय हो– ‘जनयुद्ध’ । ती कवितामा योद्धाको जिजीविषा र नेतृत्वको राजनीतिक स्खलनको मार्मिक चित्रण छ । कवि रातोसका कविता वैचारिक रूपमा सशक्त र स्पष्ट भए पनि शिल्प र शैलीका हिसाबले बहुतै नाजुक छन् ।

विचारलाई सरल र कलात्मक रूपले सम्प्रेषण गर्न सुन्दर क्राफ्ट हुनु सुनमा सुगन्ध हुनु हो । तर, कवि रातोस यस विषयमा चुकेका छन् । अर्को कमजोरी भाषामा छ । उनले त्यस्तो भाषा प्रयोग गरेका छन्, जुन कविताले माग गर्दैन । कुनै कविता त पढिसक्नै गाह्रो पर्छ । केही कविता अनावश्यक लामो छ । ती कविताले पुनर्लेखन र सम्पादनको माग गर्छन् । कति कविताको शीर्षक उपयुक्त लाग्दैन ।

सन्जित

Link copied successfully