काठमाडौँ — चीनमा जे काम पनि अनलाइनमार्फत वा मोबाइलबाटै हुने ! कतिपय ठाउँमा नगद कारोबार नै नचल्ने रहेछ । क्यूआर कारोबार भर्खर फस्टाउँदै गएको ठाउँका हामीजस्ता पर्यटकलाई चीनको ‘क्यासलेस’, ‘फेसलेस’, ‘पेपरलेस’ सेवा खुब नौलो लाग्ने !
प्रविधि र एआई उत्पादनका लागि विख्यात चिनियाँ समाजले तिनै उत्पादनलाई सर्वसाधारणको जीवनस्तर उकास्ने र दैनिक जीवनलाई प्रविधिमैत्री बनाउने काममा भरपूर प्रयोग गरेको प्रस्ट देख्न सकिने रहेछ ।
करिब १.४११ अर्ब जनसंख्या रहेको चीनमा मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या १.१ अर्ब अर्थात् ९९.७ प्रतिशत छ । सन् २०१९ मै चीनमा मोबाइल डेटाको पछिल्लो जेनेरेसन ‘फाइभ जी’ सेवा सुरु गरिएकोमा सन् २०२५ को अन्त्यसम्म १ अर्बभन्दा बढीले यो सेवा लिने प्रक्षेपण गरिएको छ । चीन अहिले फाइभ जी–एड्भान्स्ड (फाइभ जी–ए) नेटवर्क विस्तारमा लागिपरेको छ ।
चीन विश्वकै ठूलो एप मार्केट हो । त्यहाँ सन् २०२४ मा एप डाउनलोड्स संख्या ११३ अर्ब पुगेको थियो । सबैभन्दा धेरै विच्याट सुपरएप डाउनलोड हुनेमा डिजिटल पेमेन्टका लागि अलिपे लोकप्रिय छ । तेस्रो सबैभन्दा धेरै डाउनलोड हुने एपमा टिकटकको चिनियाँ भर्सन ‘दउइन’ रहेको छ भने टिकटक स्वयं चाहिँ चीनमा प्रतिबन्धित छ । नेपालमा टिकटक बनाउनेहरूजस्तै चीनमा दउइन भिडियो बनाउनेहरू जहीँ–तहीँ नाचिरहेका, स्क्रिनसामु बोलिरहेका देखिन्छन् । नानी–बाबुदेखि वृद्ध बा–आमा दउइनमा मग्न हुने गरेका छन् ।
अंग्रेजी वा अन्य भाषा बोल्न खासै नरुचाउने चिनियाँ समाजले आफ्ना कथा भन्न, अनुवाद गर्न, अत्यधिक चाप रहने सार्वजनिक यातायात र आन्तरिक पर्यटकको व्यवस्थापन गर्न, सांस्कृतिक सम्पदालाई दुरुस्त राख्ने लगायतका काममा मोबाइल र डिजिटल प्रविधिको प्रशस्तै प्रयोग गरेको छ । आफ्नो स्थानीय प्रविधि र उत्पादनमा गर्व गर्ने उनीहरू विदेशबाट आयात गरिएका एप्पल लगायतका उत्पादन प्रयोग गरे पनि घरेलु कम्पनीका डिभाइस र प्रविधिलाई सगौरव पर्यटक र साथीभाइसँग ‘इन्डोर्स’ गर्ने रहेछन् ।
चिनियाँ मोडल नबुझी चीन जाने पर्यटकलाई भने त्यहाँको इन्टरनेटमा जोडिन महाभारतै हुने ! एप्पलमा त केही सहज रहेछ, अलि पुरानो मोडलका एन्ड्रोइड फोन बोक्नेलाई इन्टरनेट चलाउन लगभग असम्भव देखियो । गुगल, गुगल प्लेस्टोर र गुगलका प्रोडक्ट प्रतिबन्धित भएकाले वाइफाई जोडिए पनि चलाउन मिल्ने एप र ब्राउजर हुँदैनन् । जुन पायो त्यही भीपीएन पनि चल्दैन । 'डिजिटल डिटक्स' चाहनेलाई गज्जबै होला ।
चिनियाँ कम्पनी हुवावेले आफ्नै एप मार्केटप्लेस ‘एप ग्यालरी’ बनाएको छ । यो चीनमा लोकप्रिय हुने नै भयो । एआई र सेमिकन्डक्टर चिपजस्ता उत्पादनमा पश्चिमा समाजलाई नै चुनौती दिन कम्मर कसेको चीनले स्मार्टफोनको हार्डवेयर र सफ्टवेयर दुवै क्षेत्रमा गरेको लोभलाग्दो प्रगति चीन घुम्दा झनै प्रस्ट देख्न पाइने रहेछ । सन् २०२४ मा झन्डै ५ करोड फोन बेचेको भिभो, साढे चार करोड आसपास फोन बेचेका हुवावे, अप्पो, अनरजस्ता कम्पनीले विश्वव्यापी रूपमै एप्पलको बजार खुम्च्याउँदै लगेका छन् ।
जे होस्, डिजिटल गभर्नेन्सका नाममा अनलाइनबाट फर्म प्रिन्ट गरेर झ्याल–झ्यालमा लाइन बस्नुपर्ने, एउटै कार्यालयले इस्यु गरेका कागजात सोही कार्यालयको अर्को विभागले रूजु गर्नुपर्ने, ल्याप्चे लगाउँदै हिँड्नुपर्ने, चाहिएका बेला सर्भर कहिल्यै नचल्ने र अलिकति प्रयासमा घरैबाट गर्न सकिने कामका लागि ४ वटा ढोकामा नमस्ते गर्नुपर्ने समाजबाट गएको मलाई डिजिटल प्रविधि त यस्तो पो रहेछ भन्ने अनुभूति चिनियाँ समाजले एक हप्ताको बसाइमा गरायो ।
