यो साँझको मात्रै नभएर कविकै स्वचित्र अर्थात् सेल्फ पोर्टेट हो । कविले आफ्नो छायाचित्र आफैंले उतारेका छन् । आफ्नै प्रतिच्छाया आधा उज्यालो र आधा अँध्यारो देखेका छन्, साँझजस्तै ।
काठमाडौँ — टिन र रातको झिनो मिलन–काल हो, साँझ । साँझको चित्र न दिनजस्तो उज्यालो हुन्छ, न त रातजस्तो अँध्यारो । यसको रङ अर्धउज्यालो, अर्धअँध्यारो अर्थात् धमिलो–धमिलो हुन्छ । घाम डुब्नु दुई घडी, एक मुहूर्त (४८ मिनेट) अघिदेखि अस्ताउन्जेलको यो अल्पावधिलाई कतिपयले नाडीका भुत्ला हल्का देखिन्जेलको समयका रूपमा पनि अर्थ्याएका छन् ।
साँझको सेरोफेरो औधी मनोरम हुन्छ । यतिबेला गाउँको गल्लीमा गाईबस्तु धूलो उडाउँदै गोठमा फर्किन्छन् । घरमा आमाहरू बत्ती बाल्ने तरखरमा हुन्छन् । यही साँझको स्वागतमा कवि हेमप्रभासले सिंगै कवितासंग्रह ल्याए, ‘साँझमा सेल्फी’ । समयको यही अनौठो कालखण्डको छाया–छविलाई उनले कविताको चुली बनाएका छन् ।
यो साँझको मात्रै नभएर कविकै स्वचित्र अर्थात् सेल्फ पोर्टेट पनि हो । कविले आफ्नो छायाचित्र आफैंले उतारेका छन् । आफ्नै प्रतिच्छाया आधा उज्यालो र आधा अँध्यारो देखेका छन्, साँझजस्तै । अझ भनौं, कविले साँझको भव्य विम्बमार्फत साँझ, जीवन र कवितालाई एकाकार गरेका छन् । हाम्रो जीवन पनि न पूरै उज्यालोमा बाँचेको छ, न त पूरै अँध्यारोमा । जीवन उज्यालो र अँध्यारोको कोलाज जस्तो छ ।
प्रस्तुत कवितासंग्रहको केन्द्रीय कथ्य साँझ छ । तर, यसमा कुनै विशिष्ट घटना वा सिलसिला छैनन् । आम मानिसको आँखामा झिनामसिना देखिने कुरालाई नै कविले काव्यिक कडीका रूपमा बलियोसँग उभ्याएका छन् । फुटकर रूपमा नछापीकन एकैचोटि पुस्तकाकार मालामा आएका यी साँझ–कवितामार्फत कवि हेभप्रभासले कविताको फराकिलो क्षितिज मात्रै देखाएका छैनन्, आफूलाई नेपाली कविताको नवीन मुकाममा पुर्याएका छन् ।
‘साँझमा सेल्फी’ पाँच खण्डमा छ– साँझको रङ, साँझको स्वरूप, साँझको रेखा, साँझको आकार र साँझको स्पेस । भनौं, अलिकति रंग, स्वरूप, रेखा, आकार र स्पेसको साँझको सुन्दर संयोजन गरेका छन् । प्रत्येक खण्डमा १५–१५ थान कविता समेटिएका छन् । साँझका यी खण्ड जीवनकै प्रतिध्वनि हुन् । कवि साँझको एउटा बिन्दुमा उभिएर रंग आविष्कार गर्छन्, त्यसलाई विशिष्ट स्वरूप दिन्छन् । विभिन्न बांगाटिंगा रेखाहरू कोर्छन् र त्यसलाई आकार दिन्छन् अनि एउटा स्पेसको परिकल्पना गर्छन् । सेल्फी त्यसकै समष्टि हो ।
प्रस्तुत संग्रहबाट के पुष्टि हुन्छ भने कवितामा मीतभाषा हुने रहेछ– हृदयको, सपनाको वा आत्माको । कविको अभ्यन्तर नै कविता भएर बोल्दो रहेछ । संसारकै सबैभन्दा नरम र तरल विधा रहेछ, कविता । सुस्तरी–सुस्तरी भन्न सकिने कुरा रहेछ कविता । बहिर्मुखीभन्दा अन्तर्मुखी कुरा रहेछ कविता । हामीले अहिलेसम्म कविता कथ्नै जानेका रहेनछौं । कुनै सूचना वा खबर दिने माध्यम मात्रै ठानेका रहेछौं । कविता गर्जन होइन, कविता स्पन्दन पो रहेछ । कोमलता नै कविताको पदचिह्न रहेछ ।
परिवेश चाहे उज्यालो होस्, चाहे अँध्यारो, त्यसमा चिच्याउनु जरुरी रहेनछ । कोलाहलमा केही कर्कश थप्नु मात्रै कविता होइन रहेछ । प्रत्येक पंक्तिमा कवि हेमप्रभास कवितामा नदीले जस्तै सुस्तरी बोल्छन् । बतासको मन्द लहरमा फूलका पत्रहरू जसरी ठोक्किन्छन् र सौम्य धुन सिर्जना गर्छन् । हिमालजस्तै बिस्तारै–बिस्तारै पग्लिन्छन् र चराहरूझैं बिस्तारै–बिस्तारै चिरबिर गर्छन् । कविको कामना छ– म बिस्तारै बोलिरहन सकूँ ।
यी कवि एकान्तमा सौन्दर्य देख्छन् । छायासित बातचित गर्छन् । पसिनामा अत्तर भेट्छन् । मान्छेको मन पत्थर हुन सक्दैन भनेर जिकिर गर्छन् । कविको उज्ज्वल निवेदन छ– मान्छे बन्न सकूँ । कलिला बालकको हातमा बन्दुक देखेर कवि विस्मित छन् । उनलाई चिन्ता छ– बन्दुक बोकेको बालकले पातहरूको सुसेली र डोकाहरूको पसिना, नदीहरूको गीत र मान्छेहरूको मन कसरी चिन्ला ?
कवि अधिकतम मानवीयताको पक्षमा छन् । प्रेम र प्रकृतिको मधुर गायन गरेका छन्, युद्धको कुरूपता र बीभत्सता देखाएका छन् । यिनी हुंकार कदापि गर्दैनन्, हृदयमा झंकार मात्र दिन्छन् । कवि कविताजस्तै छन् । कविता पनि कविजस्तै । तसर्थ उनका कवितामा कविता मात्रै मगमाएको छ । कवि रमेश क्षितिजले प्रशस्ति लेखेका छन् ः (हेमका कविता) चर्को स्वरमा बाझेको जस्तो होइन बरु युगल जोडीले प्रेमालाप गरेजस्तो छ । मनपर्ने मानिसले कानेखुसी गरेजस्तो छ ।
कवितामा प्रयुक्त साँझ, रात, बिहान आदि समयका अनेक रङ हुन् । गाउँ, पहाड र सहर पनि यही भूगोलका हुन् । उनका विम्बहरू प्राकृतिक छन् । नेपालभित्र पनि हुने त्यही हो, नेपालबाहिर पनि हुने त्यही हो । उनका कविताको मेनुमा राष्ट्रिय जीवनका उथलपुथल नभएका होइनन्, तर कति शालीन र सौम्य प्रस्तुति छ भने तिनले भतभती पोल्दैनन्, बरु समयको घाउमा शीतल मलम लगाउँछन् मात्रै ।
हेमप्रभास कविताको नाममा समयको फगत रिपोर्टिङ गर्दैनन्, परिपक्व काव्यविन्यास गर्छन् । उनको उक्ति वैचित्र्यबाट पाठकको हृदयमा एक प्रकारको कम्पन पैदा हुन्छ । ‘साँझमा सेल्फी’ स्वचित्र मात्रै होइन, यो स्वप्रेम, स्ववार्ता वा स्वसंवाद पनि हो । उनको काव्यशैली सहज छ । विम्बावलीमा बेग्लै चमक छ । कथ्य एउटै भए पनि भाव र विम्ब दोहोरिएका छैनन् । तिनमा चित्रमय प्रभाव छ । लगभग पेन्टिङ नै हेरेजस्तो ।
हेमप्रभासको कविता भाव र अर्थ विशेष छ । उनी कविता अर्थभन्दा पर छन् । अन्तरालभन्दा पर छन् । पञ्चेन्द्रियको सामर्थ्यभन्दा पनि पर छन् । विरलै कविता संगीत र चित्रको उचाइमा पुग्छन् । तर, उनका कविताको सज्जा त्यो स्तरमा छ । उनका असाधारण विम्बहरू स्थानीय नभएर वैश्विक छन् । यिनले विश्वभाषाको पाहुर बोकेका छन् । त्यसैले यी कविता अनुवाद भएर अन्य भाषामा जाँदा पनि उत्तिकै मगमगाउन सक्छन् । यो उच्चकोटिको काव्यकलाले हेमप्रभासलाई विश्व मञ्चमा चिनाउने प्रशस्त आधार तय गरेको छ ।
‘पहाड बोकेर पहाडतिर’ (२०६६), ‘सहर पसेको मान्छे’ (२०७०) र ‘गीतैगीतको गाउँ’ (२०७१) का सर्जक हेमप्रभास सातै वर्षपछि सानदार रूपमा कवितामै फर्किए । उपन्यासको उफानमा उनीजस्ता कवि अल्झिरहने सम्भावना हुँदैनथ्यो पनि । उनी अझ सूक्ष्म, सूत्रात्मक र तीव्रतम काव्यानुभूति अनि समय सञ्चेतना लिएर फर्किनु खुसीको कुरा हो । ‘साँझमा सेल्फी’ पढेपछि निर्धक्क के भन्न सकिन्छ भने, हेमप्रभास कविता मात्रै लेखिरहेका छैनन्, कवितालाई समेत जीवन दिइरहेका छन् ।
