८ महिनामै ‘रुकुम मैकोट’ गीतले युट्युबमा १३ करोड १० लाख भ्युज पाइसक्यो । गीतको चर्चा कति चुलियो भने देहरादून, कालिम्पोङ, दार्जिलिङदेखि मैकोट घुम्न आउने पर्यटकको संख्या ह्वात्तै बढ्यो । मैकोटमा ‘रुकुम मैकोट’ नामका नयाा होटल र होमस्टेहरू पनि खुले ।
कम्मरैमा पटुकी कसेर, मुसुमुसु हाँसेकी बसेर/रुकुम मैकोटआँखा नि राम्रै हो, मनपर्यो नि ओठ
‘संगीतको कुनै सीमा हुँदैन, जो सबैभन्दा महत्त्वपूर्ण छ’, भारतीय पार्श्वगायक मोहित चौहानको यो भनाइ यदि पछिल्लो समय सबैभन्दा बढी कुनै ठाउँमा लागू भएको छ भने त्यो रुकुमको मैकोट गाउँ नै हो । छोटो समयमै गीतसंगीतका माध्यमबाट यदि कुनै भेषभूषाको छरितो प्रचार भएको छ भने त्यो ‘रुकुम मैकोट’ कै कारण भएको छ । एसडी योगीको संगीत तथा स्वयं एसडी र शान्तिश्री परियारको स्वरबद्ध गीतको अर्को एउटा लाइन छ—
तिम्रो पनि कछाड सेतै छ, मन छ कता आँखा त यतै छ/रुकुम मैकोट,
राम्ररी हेर न, छैन क्यैमा खोट
‘टिपिकल’ मात्रै होइन, ‘क्याँची’ शब्द संयोजनले ‘रुकुम मैकोट’ गीत प्रिय बनेको छ । ‘यस्ता कालजयी गीतहरू सितिमिति बन्दैनन्’, गएको फागुन महिनाको एक भेटमा अशोक थापामगर निर्देशित ‘खुस्मा’ चलचित्रका एक कलाकार माओत्से गुरुङले पोखरामा भनेका थिए, ‘एक जुगमा एकपल्ट यस्ता सदाबहार गीत जुर्छन्, जसको जस ‘रुकुम मैकोट’ ले लियो ।’ गीतमा अठार मगरात क्षेत्रमा नाचिने भुम्या र गरुवा लोकनृत्यको फ्युजन छ । आधुनिक संगीतसँग परम्परागत लोकभाकाको मिश्रण नै ‘रुकुम मैकोट’ हो ।
महिलाले लुङ्गीमाथि पटुकी कस्ने तथा पुरुषले दापसहितको खुकरी भिरेर त्यसमाथि पटुका बाँध्ने उपल्लो राप्ती क्षेत्रका मगर समुदायलाई कुनै बखत ‘दाङ्ग्रा खाने भाङ्ग्रा ओढ्ने’ भनी हेयको दृष्टिले हेरिन्थ्यो । ‘दाङ्ग्रा’ गाई–गोरु हो भने ‘भाङ्ग्रा’ अल्लो र भाँगोको रेसाबाट बाटिएको धागोले बुनिएको कच्चा कपडा । स्वदेशका सहर–बजार त भए नै, विदेशमै गीतको दृश्यमा देखिने भेषभूषाको माग ह्वात्तै बढेको छ ।
कुनैबखत संयुक्त राष्ट्रसंघका लागि स्वयंसेवक कर्मचारीका रूपमा खटिएका अनिल रञ्जितकारले गीतमा देखिएको भेषभूषाको असाध्यै रहर गरेपछि मैकोट पुगेको अवसर पारी त्यहाँका स्थानीय चेलीहरूले कछाड (खादी), पटुका, चौबन्दी र इस्टकोट नै सिलाएर ओढाइदिए । त्यसो हुनुमा ‘रुकुम मैकोट’ गीतको प्रभाव थियो । ६७ वर्षीय अनिल पोखरा पुर्ख्यौली घर भई क्यानाडाका लागि गैरआवासीय नेपाली नागरिक हुन् ।
यो लेख तयार पार्दासम्म यस गीतका गायक तथा संगीतकार एसडी योगी संगीतसम्बन्धी प्रसिद्ध पुरस्कार ‘छिन्नलता युवा गीत पुरस्कार २०८१’ बाट सम्मानित भइसकेका छन् । यता ‘रुकुम मैकोट’ का गीतकार सुरेन्द्र रानाको ख्याति पनि एकाएक बढेको छ । सरल शब्द चयन र प्रेमिल भाव पोखिएको गीतको ह्वात्तै विश्वव्यापीकरण अर्थात् ग्लोबलाइजेसन भयो ।
अमेरिकी गायक एन्डर्सनले भनेका छन्— ‘जहाँ शब्दहरू असफल हुन्छन्, त्यहाँ संगीतले बोल्छ ।’ यसको मतलब गैरनेपालीभाषीले गीतको भावार्थ तत्काल नबुझ्लान्, तर संगीत मन पराए । ‘रुकुम मैकोट’ शब्द उनीहरूको जिब्रोमा सजिलै बस्यो, अनि त त्यस ठाउँको पहिचान गरे । ‘रुकुम मैकोट’ को चर्चा कतिसम्म चुलियो भने नेपालका कुनाकाप्चाबाट समेत मैकोट पुग्नेको संख्या बाक्लो रह्यो । भारतको देहरादून, कालिम्पोङ, दार्जिलिङ लगायतका ठाउँबाट पनि मैकोट घुम्न आउनेको संख्या उल्लेख्य छ ।
‘खुस्मा’ सिनेमा हल नपुग्दै युट्युब तथा सामाजिक सञ्जालमा ‘रुकुम मैकोट’ गीतले हाइप लिन थालेपछि मैकोटमै जन्मी–हुर्की व्यापार गर्दै आएका बमबहादुर शाहीले श्रीमती प्रोप्राइटर हुने गरी ‘रुकुम मैकोट होटेल’ नामै दर्ता गरी होटल सुचारु गरे । मैकोटमै शिक्षण पेसा गरी बसेका ढुण्डीराज पुनले व्यावसायिक तवरमै निजीस्तरमा होमस्टे स्थापना गरे । र, होमस्टेको नामै ‘मैकोट होमस्टे’ जुराइयो ।
देशदेशावरबाट घुम्न आउनेहरूलाई स्थानीयस्तरको भातभान्सा बनाउनै उनीहरूको भ्याईनभ्याई छ । पाहुना धेरै आउन थालेपछि स्थानीय होटले राजिन घर्तीमा उत्साह थपिएको छ । मीरा गुरुङ, अमृता लामा र राम्ली पुन अब आफूले जेनतेन चलाइराखेको होटललाई नयाँ ढंगले सुचारु गर्ने ध्याउन्नमा छन् । पूर्वेली लिम्बू होटलका वीरबहादुर लिम्बू आफूले बनाउने खाजाका परिकारलाई थप स्वादिष्ट बनाउने ध्याउन्नमा छन् । ‘रुकुम मैकोट होटल’ का प्रोप्राइटर सरिता गुरुङका अनुसार, होटलमा बसेका बखत ती पर्यटकले जति चिया पिए पनि त्यसको पैसा तिर्नुपर्दैन ।
‘रुकुम मैकोट’ ले युट्युबमा ८ महिनाको छोटो समयमै १ सय ३१ मिलियन (१३ करोड १० लाख) भ्युज क्रस गरी नेपाली सांगीतिक फाँटमा उच्च रेकर्ड राख्न सफल भयो । ग्लोबल टप ट्रेन्डिङको ४७ औं स्थानसमेत लियो । गीतको चर्चा–परिचर्चा यत्रतत्र सर्वत्र फैलिँदो छ । ‘रुकुम मैकोट’ गीतकै टेकोमा ‘खुस्मा’ सुपरहिट भएपछि अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको जोडीलाई दर्शकले निकै रुचाएका छन् । निर्देशक अशोक हौसिएर अर्को नयाँ चलचित्र ‘जलाकी’ को लेखन तथा निर्देशनमा जुटेका छन् ।
संयोग कस्तो भइदियो भने गत वर्षको वैशाख पहिलो साता ‘खुस्मा’ को छायाङ्कन गर्न मैकोट जाने क्रममा धीरजले आफ्नो जन्मघरको दर्शन गर्ने अवसर पाए । जन्मेको दुई वर्ष नपुग्दै घर छोड्नुपरेको भावुकता उनले फेसबुकमा पोखे ।
‘आफू जन्मेको गाउँ, हुर्केको ठाउँ छोड्नु त कसलाई मन होला र ? समय र परिस्थितिले गर्दा केही समय आफ्नो गाउँबाट टाढा भए पनि आफू जन्मेको माटोले तानेर आज आफ्नै गाउँ आइपुगेको छु,’ धीरजले भावुक भई लेखेका थिए— ‘मैले जानेको कलाको माध्यमबाट गाउँ, समाज र देशका लागि केही गर्ने कोसिस गर्ने छु । यो माया र सम्मानका लागि आजीवन ऋणी छु ।’
‘खुस्मा’ फिल्मको प्रिमियर शोमा धीरज/उपासना
सायद उनको यो प्रतिबद्धताले हुन सक्छ, ‘हिरो त हुन्, तर आर्टिस्ट होइनन्’ भन्ने धेरैको आकलनलाई ‘खुस्मा’ मार्फत गलत सावित गरिदिए । फलस्वरूप उनको माग बढेको छ । धीरजको घर पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. ११ को तकसेरा हो भने उनी अभिनीत चलचित्र ‘खुस्मा’ को सुटिङ स्थल सोही गाउँपालिकाकै वडा नं. १ को मैकोट गाउँ । धीरजका बुबा बेलायती सेनाबाट सेवानिवृत्त हुन् । उनको सिंगो परिवार लन्डन बस्दै आएको छ ।
‘खुस्मा’ फिल्मको दुईतिहाइ दृश्य–सुटिङ मैकोट गाउँमै गरिएको हो । सुटिङका बेला सुरुमा हौसिए पनि पछिल्ला दिन भने माहोल जुटाउन हम्मेहम्मे हुनुपरेको निर्देशक अशोकको अनुभव छ । ‘यार्चा सिजन भएकाले स्थानीय समुदाय धमाधम यार्चा टिप्न पाटन लाग्दै थिए । गाउँ रित्तिँदो थियो’, अशोक थकथकी मान्छन्, ‘त्यहाँ माघे संक्रान्तिको धनुषवाण पर्वको स्केच फ्रेम गर्दै एउटा उत्सवमय माहोल सिर्जना गर्नुपर्ने थियो । धन्न त्यो सम्भव भयो ।’ केही भाग पोखरा, मनाङ र काठमाडौंमा छायाङ्कन गरिएको हो ।
‘रुकुम मैकोट’ गीतको सुटिङस्थलमा मगर खाम पोसाकधारी समुदायको उल्लेख्य सहभागिता थियो । पूरै तीन दिन समय लागेको त्यस सुटिङमा तकसेराका स्थानीय समुदायको योगदान छ । उनीहरूसँग मैकोटवासी पनि थिए । धीरज पनि तकसेरावासी भएकाले त्यो उत्सवमय वातावरणमा तकसेराका अधिकांश व्यक्ति उनकै नातागोता थिए । संयोग पनि कस्तो भइदियो भने निर्देशक अशोककी दिदी कुसुमदेवी थापा तकसेरावासी हुन् । माइत–घर पर्वत जिल्ला भई कर्म–घर तकसेरा बनाएकी थापा कर्मथलोकै निर्वाचन क्षेत्रबाट बहालवाला संघीय सांसद हुन् ।
‘खुस्मा’ मा थुप्रै कलाकार रहे पनि ‘रुकुम मैकोट’ गीतमा भने अरुण पुन, अस्तित्व भट्टचन, खड्गबहादुर पुन र राजु रेग्मी मगरले धीरजलाई केटापक्षबाट साथ दिएका छन् । यसैगरी केटीपक्षबाट उपासनालाई शारदा राई र दुइसाङ थिङको साथ छ । गीतमा संगीता थापा, सुजाता राई, माओत्से गुरुङ, विजय सुब्बा, राज थापा काउचा र विवेश मगर देखिएका छन् । दृश्यमा कलाकार राज र विजयले भाङ्ग्राको गादा ओढेका छन् । महिलाले गादा, चोली, लुङ्गी लगाएर पटुकी बाँधेका छन् भने पुरुषले चौबन्दी र इस्टकोट लगाई कछाडमा पटुका कसेका छन् ।
अघिल्ला तीन वर्षदेखि पुरुषका लागि पटुकाको व्यापार गर्दै आएका मैकोट निवासी कबराज रसाइलीले गीतका कारण पटुकाको किनबेचमा अकल्पनीय बढोत्तरी आएको बताए । घोराही, पोखरा, काठमाडौं, बुटवल, नेपालगन्ज लगायतका सहरमा यसको माग निकै बढेको बताइन्छ । सांस्कृतिक वस्त्र पाइने फेन्सी पसलहरूमा महिलाका लागि पटुकी पनि उत्तिकै खपत भइरहेको बताइन्छ । धीरज पक्षले लगाउने गरेको कछाड अर्थात् खादीको पनि उस्तै माग छ । खादी भनेको घरेलु हस्तकलाबाट बुनिएको सुतीको कछाड हो । सोही खादीको मूल्य न्यूनस्तरमै ५ हजार रुपैयाँ पर्ने गरेको छ ।
‘रुकुम मैकोट’ को सामर्थ्य कतिसम्म रह्यो भने गत वैशाख १८ का दिन म्याग्दीको ताकम गाउँमा शुभमुहूर्त गरिएको ‘माइतीघर’ चलचित्रको सुटिङ युनिटका लागि आयोजित स्वागत कार्यक्रममा मन्तव्य दिँदै गर्दा धवलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले त्यस गीतको प्रसंग नै जोडे ।
‘रुकुम मैकोट’ गीतका कारण मैकोट गाउँ मात्रै नभई समग्र रुकुम जिल्लाकै पर्यटन विकासमा उल्लेख्य योगदान पुगेको चर्चा गरे । यस्तै गएको चैत तेस्रो साता रोल्पाको थबाङ गाउँपालिकाको गुराँसे लेकतर्फ ‘जलाकी’ फिल्म छायाङ्कन गर्न जाँदाको प्रसंग पनि स्मरणीय रह्यो । त्यहाँका ४ नम्बर वडाध्यक्ष हिक्मत घर्तीमगरले निर्देशक अशोकलगायत सिंगो सुटिङ युनिटलाई नै अनुरोध गरे, ‘हामीलाई पनि रुकुमको मैकोटमा जस्तै पर्यटक भित्र्याउने फर्मुला अपनाइदिनुपर्यो ।’
‘खुस्मा’ को माध्यमबाट ‘रुकुम मैकोट’ को ग्लोबलाइजेसन त भयो नै, सँगै सोही गीतले मैकोट मात्रै नभई समग्र रुकुमलाई एउटा नौलो ‘ग्लोबल डेस्टिनेसन’ का रूपमा चिनाइदियो । अझ भन्नुपर्दा राज्य पुनःसंरचनाका बेला टुक्रिएर दुई जिल्लाको अस्तित्वमा आएका पूर्वी रुकुम र पश्चिम रुकुमलाई भावनात्मक रूपले एकैठाउँमा जोडिदिएको कतिपयको ठम्याइ छ । पश्चिम रुकुमका सञ्चारकर्मी प्रवीर ददेलले भने, ‘रुकुम मैकोट गीतको फाइदा तपाईंहरूको लुम्बिनीले मात्र नभई हाम्रो कर्णाली प्रदेशले पनि लिइरहेको छ ।’
