काठमाडौंका भित्तामा कोरिएका मिथिला कलामार्फत महिलाहरूले आफ्ना जिन्दगी–कथा सुनाएका छन् । ती कलाले भन्छन्– महिला, पुरुष बराबरी हुन् ।
काठमाडौं विशालनगरको फिनल्यान्ड एम्बेसीका भित्ताहरूमा लस्करै चित्र कोरिरहेका छन् महिलाहरू । चित्रले भन्छन्– महिला, पुरुष बराबरी हुन् । केही चित्रले महिला सशक्तीकरणमाथि बोल्छ । जस्तो ती चित्रहरूमा महिलाले ट्याम्पो, जेसिबी, कम्प्युटर, मोबाइल–फोन चलाइरहेको र माइकिङ गर्दै समुदायमा सूचना प्रवाह गरेका कथा छन् ।
तिनले चित्र बनाइरहेको दृश्य हेर्न पैदल–यात्री झुम्मिन्छन्, कोही ती मिथिला–चित्रको फोटो र भिडियो खिच्नै मग्न छन् ।
फिनल्यान्ड एम्बेसीको सहयोगमा मिथिला चित्र कोर्न जनकपुरबाट आएका छन्– ६ जना महिला कलाकार । ‘पहिले घुगट मे बेठेथे । छोरी–बुहारी होकर बहारका काम नहि घर सम्हाना होता हे बोल्तेथे लोग । जब हम घुँघट से बहार निकल्के देखे, पैसा कमाने लगे तो इत्ना अच्छा महसुस हो रहा हे क्या बोलुँ मे,’ निर्मला राम (४०) केही शब्द नेपाली, केही उनैको मातृभाषा मैथली लबजमा भन्छिन् ।
उनी हुन्, जनकपुरकी मिथिला कला कोर्ने कलाकार । उनी महिला भएकैले कसैले हेपेको वा ‘महिलाले केही गर्न सक्दैनन्’ भन्ने समाजले निर्माण गरेको भाष्य मन पराउँदिनन् । निर्मलाले मिथिला कला लेख्न थालेको २० वर्ष पुग्यो । भन्छिन्, ‘मिथिलाले हामीलाई हाम्रो पहिचान दिएको छ, खुसी दिएको छ । घुँघटबाहिरको दुनियाँ नियाल्ने अवसर दिएको छ ।’
उनी अहिले आफ्नो समुदायमा ‘महिलाले घरकै काम गरेर बस्नुपर्छ’ भन्ने धारणामा बदलाव आएको बताउँछिन् । उनका एक छोरा डाक्टर पढ्दै छन्, अर्को कम्प्युटर इन्जिनियर र छोरी ११ मा । ‘श्रीमान् र मेरो कमाइबाटै हामीले घरखर्च टारेका छौं, छोराछोरी पढाउन पनि पुगेको छ,’ उनी भन्छिन् ।
मिथिला चित्रबाटै पहिचान बनाएकी छन्– पानो दासले । उनले मिथिला चित्र बनाउन थालेको ३१ वर्ष भयो । उनलाई लाग्छ, मिथिला चित्रलाई नेपालीले चिनेनन् । भन्छिन्, ‘मिथिला आर्टलाई नेपाली सबैले चिनून्, माया गरून् भन्ने लाग्छ । तर, हाम्रो देशमा मिथिला नेपालीले भन्दा पहिला विदेशीले चिन्छ । विदेशीहरू जनकपुरमा हामीले बनाएको आर्ट हेर्न, किन्न खोजीखोजी आउँछन्, तर नेपालीहरू नजर नै लगाउँदैनन्, मिथिलालाई बुझ्नै चाहँदैनन् ।’
त्यसैले पानो दुःखी छिन्– आफ्नै देशमा आफ्नै देशका मानिसले आफ्नै कलाको वास्ता नगर्दा । उनलाई काठमाडौंका मेयर बालेन्द्र शाहले मिथिला चित्र काठमाडौंका खाली भित्ताहरूमा कोर्न दिए मिथिलाको प्रचार हुन्थ्यो भन्ने लाग्छ । सरकारले आफूलाई वास्ता र लगानी नगरेकोमा दुःख लागेको बताउँछिन् । भन्छिन्, ‘सरकारले मिथिला–आर्टलाई सहयोग गरे हामीलाई मिहिनेतको फल मिल्थ्यो ।’
मिथिला चित्र बनाउन काठमान्डु आएकी जयकाली देवी आफ्नो उमेर अन्दाज लगाउँदै ‘६३/६४ वर्ष लागेँ की’ भन्छिन् । ३२ वर्षदेखि मिथिला चित्र कोर्दै आएकी उनी आफ्नो कला देश/विदेशसम्म पुगेकोमा खुसी छिन् । उनलाई लाग्छ, मिथिला चित्र नयाँ पुस्तालाई सिकाउनु आवश्यक छ । ‘आफ्नो पुस्तापछि मिथिला पनि मर्छ कि’ भन्ने भयले उनलाई पिरोलेको छ ।
जयकाली पुराना दिनतिर फर्किन्छिन्, ‘१५ वर्षकै छँदा विवाह भयो, १७ वर्ष हुँदा छोरा जन्मियो र सुत्केरी भएको १५ दिनमै कुनै रोग नलागेका श्रीमान् नोकरी गर्ने ठाउँमै बिते ।’ छोराको पालनपोषण गर्न र घर खर्च धान्न आफ्नो मिथिला आर्टले ठूलो भूमिका खेलेको उनी बताउँछिन् । आफ्नी बुहारीलाई पनि मिथिला चित्र कोर्न आउँछ भनेर उनी खुसी छिन् ।
‘अब छोरा, नाति–नातिनाले पनि मिथिला कला सिक्नपर्छ’ भन्ने लाग्छ उनलाई । आफूले कसैसँग घर खर्चका लागि पैसा आस गर्नु नपरेकोमा खुसी छिन् । भन्छिन्, ‘बुढेसकाल भए पनि आफैं कमाएको छु । कसैसँग हात फैलाउनु पर्दैन । बहुत खुसी छु । सक्दासम्म मिथिला चित्र बनाउँछु ।’
मधुमाला मण्डल ५० वर्ष पुगिन् । उनले मिथिला–चित्र लेख्न थालेको ३२ वर्ष पुग्यो । मिथिला चित्रले नै ‘कला देखाउन’ १ महिनाका लागि अमेरिका घुम्न पाएको खुसी र सुखको अनुभव छ उनीसँग । मधुमाला मिथिला–आर्टको मास्टर पनि हुन् । कोही कला सिक्न आए मिथिला आर्ट सिकाइदिन्छिन् । उनलाई लाग्छ, आफ्नो कला–संस्कृति जोगाउनुपर्छ ।
भन्छिन्, ‘हाम्रो पुर्खादेखिको सम्पत्ति हामीले त बचायौं । अब हाम्रा सन्तानले पनि यसलाई निरन्तरता दिऊन् । हामी मरेर गए पनि मिथिला बाँचिरहोस् ।’ मिथिला–कला बिक्री हुँदैन भन्ने विषयले पिरोलिन्छिन् । छोरीहरूलाई आफूले मिथिला आर्ट सिकाएको, तर एउटा पनि बिक्री नभएपछि तिनले बनाउन छाडेको गुनासो छ उनको । ‘गाउँघरमा नाच हुन्छ, सबैले टिकटकमा हाल्छन् । त्यो भाइरल हुन्छ, तर हामीले बनाएको मिथिला आर्ट कोन टीभी मे कोन एफएम मे देखेको र सुनेको छैन । मिथिलाको प्रचारप्रसार पनि राम्रोसँग भएको छैन ।’
अमृता दत्त (५१) ले मिथिला आर्ट बनाउन थालेको २८ वर्ष भयो । सानो छँदा आमा, हजुरआमाले बिहे, पूजा र विभिन्न धार्मिक कार्यमा बनाएको मिथिला आर्ट हेरेरै उनले पनि सिकिन् । अमृताले मिथिला आर्टको कमाइले नै छोराछोरी पढाएकी छन् । भन्छिन्, ‘हरेक महिलाले मिथिला आर्ट सिकेर आफूलाई आत्मनिर्भर बनाउन घरपरिवार धान्न सक्छन् । श्रीमान्ले कति बेला पैसा दिन्छन् भनेर कुरेर बस्नुपर्दैन ।’
मिथिला कला बनाउन काठमान्डु आएको समूहमा सुमित्रा यादव (५२) पनि छिन् । उनले कला कोर्न थालेको ३१ वर्ष भयो । मिथिला आर्टबाटै पैसा कमाएपछि घरपरिवार पनि खुसी भएको उनी बताउँछिन् । मिथिला आर्टले आफूलाई चिनाएको उनलाई महसुस हुन्छ । यही कलाले जिन्दगी जीउन सहज भएकोमा उनी मिथिला–आर्ट र आफ्ना पुर्खाहरूप्रति कृतज्ञ छिन् ।
