तन्किएको ऊनको धागो

बाहुन र गुरुङसेनीबीचको प्रेम ‘ऊनको स्वीटर’ले दिन खोजेको नयाँ स्वाद हो । फरक सांस्कृतिक विविधता र सौन्दर्यले सह–अस्तित्वमा अडिएको समाजको प्रतिबिम्ब देखाउँछ ।

जेष्ठ ३, २०८२

रीना मोक्तान

Stretched wool yarn

काठमाडौँ — सबै प्रेममा कहाँ युद्ध लडिन्छ र ? सबै प्रेमले समाजका पर्खाल नाघ्ने सामर्थ्य पनि राख्न सक्दैन । संघर्ष र चुनौतीमै अल्झिएर कतिका प्रेम अधुरै रहे होलान् तर पारिवारिक बन्धन, समाजको पर्खाल नतोडीकन कतिपयको प्रेम अँकुराएको हुन सक्छ ।

फिल्म ‘ऊनको स्वीटर’ मा प्रेमका लागि ठूलो लडाइँ लडिन्न, प्रेमीहरूले समाजका जंघार पनि नाघ्दैनन् । त्यस अर्थमा यो फिल्मको कथा प्रेममा जित्ने र हार्नेको होइन, मझधारमा उभिएर प्रेम गर्नेहरूको हो । फिल्मको कथा फूलजस्तै कमलो छ, काँडाबीच पनि फूलिरहने प्रेम यहाँ देखाइएको छ । प्रेमको यो फरक आयामलाई इमानदार ढंगले भन्ने प्रयास फिल्मले गरेको छ ।

धरणीधर काफ्ले (विपिन कार्की) बेँसीतिर बस्छन्, फूल गुरुङ (मिरुना मगर) लेकतिर । भूगोलले धान फल्ने खेत धरणीतिर पारिदियो, फूलको लेकतिर आलु । एकदिन आलुको बिउ लिन लेक उक्लँदा फूलसँग धरणीको आँखा जुध्छ । लेकको कुहिरोमा फुलिरहेको यो फूललाई हेर्न अब धरणी–भमराले अनेकन बहाना खोज्न थाल्छ । त्यसैले मितबाकहाँ आलु लिन जाने बहानामा यो भमरा बेँसी छोडेर लेकतिर भुनभुनाइरहन्छ । आ–आफ्ना संसारबाट एक हुने सपना साँचिरहँदा धरणी र फूलको बीचमा काँडा भइदिन्छ, समाज–परिवार अनि जिम्मेवारी  ! 

फिल्मको कथा धरणी र फूलबीचको प्रेमकथामार्फत देखाइएको लेक–बेँसीको सम्बन्ध हो । फरक सांस्कृतिक सौन्दर्य अनि सिमानामा पर्खिरहेको प्रेम हो । प्रेमको कथा बगिरहँदा फिल्मले कहालीलाग्दो जातीय विभेद, एकल आमाका संघर्ष र बसाइँसराइलाई छुन्छ । जिम्मेवारीबीच छुट्दै गएको प्रेमको दुखान्त पनि देखिन्छ । 

निर्देशक नवीन चौहानले युवा पुस्ता डम्बर (एलेक्स विश्वकर्मा) र इच्छा आङदेम्बे (परिक्षा लिम्बू) बीचको प्रेममार्फत पुरानो पुस्ता (धरणी र फूल) को कथावाचन गरेका छन् । अटो भर्ने चलन, मेलापातको रमझम, रिलमा फोटो खिच्ने जमानादेखि नेपाली गीतमा गरिने युगल नृत्यको आकर्षणलगायतका थुप्रै ‘नोस्टालजिया’ मा पुर्‍याउँछ फिल्मले । तर, मूलकथाभित्र प्रवेश गर्न निर्देशक चौहानले डम्बर र इक्छाबीचको प्रेमकथामा लामो समय खर्चेका छन् । डम्बर र मिसेक (सुरज तमु) को मित्रतामा भागी बिहेले ल्याउने तरङ्ग, माङ्गेनादेखि शिर उठाउनुपर्ने विषयतिर फिल्म धेरै अलमलिएको छ । यो कथालाई छोट्याइएको भए फूल र धरणीको प्रेममा दर्शक चाँडै जोडिन पाउने थिए । 

बाहुन र गुरुङसेनीबीचको प्रेम ‘ऊनको स्वीटर’ले दिन खोजेको नयाँ स्वाद हो । दुई संस्कृति र संस्कार, दुई आस्था र दुई परिवारमा आउने उतारचढावलाई सुन्दर ढंगले देखाइएको छ । जस्तैः धरणीले चोरको स्वर लिएर इच्छाको परिवारसामु जाँदाको दृश्य निकै सुन्दर लाग्छ । फरक सांस्कृतिक विविधता र सौन्दर्यले सह–अस्तित्वमा अडिएको समाजको प्रतिविम्ब देखाउँछ ।

धरणी र फूलबीच प्रेम स्थापित गर्नमा लामो समय खर्चिएको भान हुन्छ । कति प्लट नौला लाग्दैनन् । बुढेसकालको प्रेम, स्वीटरमा उनिएको प्रेम यसअघि थुप्रै फिल्ममा प्रयोग हुँदै आएका छन् । खासमा सीमाको विषय नसमेटिएकै भए पनि दुई पात्रको कथा अगाडि बढ्ने थियो । तर, यहाँनिर निर्देशकले सिमानाको कथालाई सलल बगाउँदै ल्याउनुको साटो झ्वाट्ट राखिदिएका छन् । 

फिल्ममा केही दृश्यले यथार्थ शैलीको बाटो बिराएको छ । सामान्य रूपमा बोलिरहेका धरणीले गीत गाउँदा भने ‘लिपसिंक’ गरिएझैं लाग्छ । ‘घुम्तीमा नआऊ है’ गीत गाउँदा उनको स्वर अस्वाभाविक सुनिन्छ । बोलीचालीकै संवाद अघि बढिरहँदा सोही पात्रले गीत गाउँदा राखिने पार्श्व संगीतले दृश्यसँगको तादात्म्य गुमाएको छ ।

‘ओपन इन्डिङ’मा फिल्मको कथा सकिन्छ । तर, फिल्मको त्यही ओपन इन्डिङमा पनि दृश्यलाई तन्काइएको छ । धरणीले पाउने उपहारमै कथा सकिएको भए, दर्शकलाई कथाले पछिसम्म झस्काइरहन सक्थ्यो । तर, कथा कहाँ सुरु गरेर कहाँ सक्ने निर्देशककै निर्णय हो । तर, कथाले समाएको बाटो हेर्दा समापन त्यही दृश्यमा भइदिएको भए ‘ऊनको स्वीटर’ सशक्त प्रेमकथामा दर्ज हुन सक्थ्यो । 

प्राविधिक पाटोमा पनि केही कमजोरी भेटिन्छन् । मध्यान्तरअघिको अधिकांश दृश्यमा क्यामेरा हल्लिएको छ । त्यसको खास अर्थ दर्शकसम्म सञ्चार हुँदैन । कति फोकस आउट दृश्यले त आँखा नै बिझाउँछ । तर कलाकारको सशक्त अभिनयले यी कमजोरी केही हदसम्म ढाकिएको छ । 

विपिनले धरणीको जवानीदेखि बुढ्यौलीलाई सशक्त बाँचिदिएका छन् । जवान छँदा फूल देखेर मसक्क मस्किने मात्रै होइन, बुढ्यौलीमा आएको परिपक्वता उनको अनुहारमै देखिन्छ । फूल खोज्दै लेकतिर चढ्दै गर्दाका अँध्यारा बाटोमा डराएको धरणीभित्रको कातर स्वभाव होस् या जिम्मेवारीले थिचिएको पात्र, यो फिल्ममा विपिनले दुई फरक चरित्रलाई जीवन्त बनाइदिएका छन् । 

फूलको चरित्रमा मिरुनाले पनि बलियो उपस्थिति देखाएकी छन् । आफ्नो अनुभूतिलाई हाक्काहाक्की प्रस्तुत गर्न सक्ने गुरुङसेनीको हिम्मतलाई मिरुनाले न्याय गरेकी छन् । एलेक्सले छोटो भूमिकाबाटै आफूलाई चिनाउने प्रयास गरेका छन् । परीक्षा पनि इक्छा चरित्रमा फिट देखिन्छिन् । मिसेकको चरित्रमा सुरज तमुले पनि आफूलाई सशक्त उभ्याएका छन् । 

महिला चरित्र चित्रणमा ‘ऊनको स्वीटर’ अगाडि छ । फूलदेखि इक्छा जनजाति समुदायका हुन् । सम्बन्ध होस् या समाज, परिवार होस् या आफ्ना अभिव्यक्तिमा यी महिला पुरुषको दाँजोमा सशक्त छन् । काफ्लेले भगाउने कुरा गर्दा मागेरै लैजानुपर्ने कुरा निर्धक्क भन्न सक्छिन्, फूल । हेर्दा फूलजस्तै कोमल भए पनि निर्णय अधिकार लिन सक्ने स्वाभिमानी र आँटिली छिन् । निर्देशक चौहानले चरित्र चित्रणदेखि कथामै पनि सम्बन्धित समुदाय र उनीहरूको संस्कृति, स्थानीयतालाई मिसाउँदै प्रेमकथा पस्केका छन् । 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully