तिकन्यात हन्हको पुस्तक ‘ओल्ड पथ, ह्वाइट क्लाउड’ भन्छ– कठोर साधनामा बुद्धले नुहाउन र खान छाडिदिए, पेट पिठ्युँमा टाँस्सिन पुग्यो, टाउको छुँदा हातभरि कपाल आउन थाल्यो । मसानघाटमा बसेर साधना गरिरहँदा एक दिन अचानक बिजुली चम्केझैं उनलाई अनुभूत भयो– ज्ञान प्राप्त गर्न शरीर पीडनको यो तरिका गलत छ ।
सम्बोधि प्राप्त गर्नुअघि राजकुमार सिद्धार्थले अनेक साधकबाट ध्यान साधनाको ज्ञान पाएका थिए । तीमध्ये अन्तिम थिए, आचार्य उद्रक रामपुत्त । दुःखबाट मुक्ति पाउने मूलभूत सवाल अझै अनुत्तरित रहेकाले निरञ्जना नदी किनारमा उनले शरीर पीडन तप सुरु गरे ।
त्यसक्रममा पत्कर टेक्दै कुनै हरिण हिँड्दा कोही हत्या गर्न आएको हो कि भनी उनको मन भयभीत हुन्थ्यो । कसैले सुकेको हाँगा भाँच्दा अजिङ्गर रूखबाट ओर्लेर निल्न आएझैँ मन आतङ्कित हुन्थ्यो । कुनै पनि स्थितिमा हलचल नगरी उनी तपस्यामा लीन रहन्थे । यस प्रकार उनले भौतिक भयमाथि विजय प्राप्त गरे । उनलाई लाग्थ्यो, मन भयभावको दासताबाट मुक्त हुनसके दुःखको सिक्री चुँडाल्न सम्भव छ । यदाकदा कुम्भक (श्वास नियन्त्रण) प्राणायाममा धेरै बेर बस्दा कानमा भीषण गर्जन भइरहेझैँ लाग्थ्यो । कहिले बन्चराले हानेर कसैले उनको शिर दुई फ्याक पारिदिएझैँ लाग्थ्यो । कहिले शरीर आगोमा डढिरहेझैँ अनुभूति हुन्थ्यो । हठयोगका यी क्रियाद्वारा उनी साहस र आत्मानुशासन सुदृढ पार्न चाहन्थे । यसरी उनी वर्णनातीत पीडा सहन सक्षम भए तर हृदय अझै अशान्त थियो । आत्मशोधन तथा रागातीत हुने अभ्यासमा उनले ६ महिना शरीर पीडन तप गरे ।
सुरुका तीन महिना उनी एक्ला थिए । पछि कौडन्नको नेतृत्वमा उद्रक रामपुत्तका पाँच शिष्य उनीसँगै कठोर साधना गर्न थाले । यी ६ मध्ये प्रत्येक दिन एक जना बिहान गाउँमा भिक्षा माग्न जान्थे । ६ भाग लगाउँदा हरेकको भागमा मुस्किलले एक मुठी खाद्यान्य पर्थ्यो । बिस्तारै तिनका शरीर सुक्दै गए । सिद्धार्थको साधना अझै कठोर हुँदै गयो । तिक न्यात हन्हको प्रसिद्ध पुस्तक ‘ओल्ड पथ, ह्वाइट क्लाउड’ का अनुसार उनले नुहाउन र खान छाडिदिए । यदाकदा झरेका अम्बा, सुकेको गोबर खान्थे । पेट पिठ्युँमा टाँसिन पुग्यो, टाउको छुँदा हातभरि कपाल टाँसिएर आउन थाले । मसानघाटमा बसेर साधना गरिरहँदा एक दिन अचानक बिजुली चम्केझैं उनलाई अनुभूत भयो, ज्ञान प्राप्त गर्न शरीर पीडनको यो तरिका गलत छ । उनलाई अनुभूत भयो, शरीर र चित्त एकै अस्तित्वका अङ्ग हुन्, शरीरसँग अत्याचार गर्नु चित्तसँग पनि अत्याचार गर्नु हो । उनी आफ्नो स्वास्थ्य सम्हालेर ध्यान साधना अघि बढाउने निष्कर्षमा पुगे ।
भोलिपल्ट बिहान स्नान गरी उनले घाटबाट ल्याएको कात्रो धोए र घाममा सुकाए । त्यही बेरेर गाउँमा भिक्षाटनमा जान खोज्दा क्षीण शरीर धान्न नसकेर पछारिए र बेहोस भए । त्यसैबेला वनदेवतालाई चढाउन भनी दूध र खाद्यान्न लिएर आइरहेकी किशोरी सुजाताले सिद्धार्थको टाउको उठाएर ओठमा दूधको कचौरा राखिदिइन् । दूधले सिद्धार्थको जिब्रो र घाँटी रसायो र तुरुन्तै प्रभाव दियो । उनले पूरै कचौरा दूध पिए । लामो श्वास लिएपछि केहीछिनमै उठेर बस्न सक्ने भए । सुजाताले अर्को कचौरा दूध पिलाइन् । दूधको शक्ति थाहा पाएर त्यसै दिन उनले शरीर पीडन त्यागी वनको शीतलमा ध्यान गर्ने प्रण गरे । उनी सामान्य रूपले खानपान गर्न थाले । सिद्धार्थले कठोर तपस्या त्यागेपछि पाँच साधक मित्रले पथभ्रष्ट भएको ठानी उनलाई छाडेर गए । यसबीच उरुबेला गाउँका सुजाता, भैंसी गोठाला स्वास्तिलगायत बालबालिका उनका साथी भएका थिए ।
सम्बोधि प्राप्ति
पीपलको रूखमुनि बसेर सिद्धार्थले ध्यान साधनाद्वारा आर्जित समस्त मनशक्ति आफ्नै शरीरमा केन्द्रित गरे । उनले देखे– शरीरको कुनै पनि परमाणु यस्तो थिएन, जुन अपरिवर्तनशील र स्वतन्त्र थियो । ध्यान साधनाबाट उनले थाहा पाए– भय, क्रोध, घृणा, अहंकार, द्वेष, लोभ, अज्ञान विविध मानसिक अवस्था हो । सबै मानसिक अवस्थाको बीउ अज्ञान हो, जसलाई भेदन गरेर मात्रै मुक्ति पाउन सकिन्छ । रटेर होइन, प्रत्यक्ष अनुभूतिबाट प्राप्त ज्ञान नै सही ज्ञान हो । आकाशमा हल्लिरहेको पीपलको पातमा उनको दृष्टि पुग्यो । गहिरिएर हेर्दा उनले देखे, पातमा सूर्य र तारागण सबै विद्यमान थिए । बिनासूर्य, बिनाप्रकाश, बिनाअग्नितत्त्व पातको अस्तित्व सम्भव थिएन । मान्छेको शरीर पनि पीपलको पातजस्तै हो । यसको पृथक् अस्तित्व छैन र त्यो अस्तित्व स्थायी छैन । सूर्य छ र पृथ्वी न्यानो छ । पृथ्वी भएकैले वनस्पति, बालीनाली छन् । बालीनाली भएकैले खाद्यान्न छन् । खाद्यान्न छ र प्राणीहरू जीवित छन् । जगत्का कुनै पनि प्राणी र तत्त्वको स्वतन्त्र एवं पृथक अस्तित्व सम्भव छैन ।
जीवनका परम आवश्यक तत्त्व हुन्– अनित्यता र अनात्मता अर्थात् परिवर्तनशीलता र निर्भरता । धान अनित्य र अनात्म नभएको भए बोटका रूपमा विकसित हुँदैनथ्यो । बादल पानीमा परिणत हुँदैनथ्यो । बच्चा वयस्क हुँदैनथ्यो । वयस्क बुढो हुँदैनथ्यो । सबै दुःखको जड के हो भने हामी आफ्नो अस्तित्वलाई स्थायी र आफैंलाई पृथक सत्ता मान्छौं । मान्छेले यो सत्य बुझ्न सके सबै कष्टको दुष्चक्रबाट मुक्ति पाउँछ ।
ध्यान साधनामा डुबेको मनले एक्कासि उनलाई भन्यो, ‘सहृदयता र प्रेम एकै कुरा हुन् । सहृदयताबिना प्रेम सम्भव छैन । प्रत्येक प्राणीको स्वभाव उसको भौतिक रचना, भावनात्मक र सामाजिक स्थितिअनुरूप बन्छ । यो सत्य बुझेपछि ऊ आफूसँग निर्दयी व्यवहार गर्नेलाई पनि घृणा गर्दैन । प्रेम गर्न सत्यबोध हुनु जरुरी छ । मुक्तिको मार्ग सहृदयतापूर्ण ज्ञान हो । ज्ञान प्राप्तिका लागि मान्छे जागरुक हुनुपर्छ । जीवनको वर्तमान क्षणसँग उसको प्रत्यक्ष सम्पर्क हुनुपर्छ । अर्थात् उसले व्यक्तिको भित्र र बाहिर के भइरहेको छ भन्ने सही रूपमा देख्न सक्नुपर्छ । जागरुकता यस्तो गोप्य कोश हो, जसले मान्छेमा गहिराइसम्म सोच्ने–बुझ्ने सक्षमता ल्याउँछ । जीवन अष्टाङ्ग मार्ग अर्थात् सही ज्ञान, सही विचार, सही वाणी, सही कर्म, सही आचरण, सही प्रयास, सही जागरुकता र सही स्मृति अर्थात् चित्तको केन्द्रीकरणले मात्र प्रज्वलित हुन सक्छ ।’
सिद्धार्थलाई कारागारबाट मुक्ति मिलेझैँ भयो । आँखा खोल्दा क्षितिजमा भोरको तारा विशाल हीराजस्तै चम्किरहेको थियो ।
ज्ञान दान
भोलिपल्ट बिहान सुजाता, स्वास्ति, उसका भाइबहिनी र अन्य बालबालिकालाई सम्बोधन गर्दै सिद्धार्थले भने, ‘साथीहरू, जब तिमीहरू कुनै कुरा खान्छौ, पूर्ण होसमा रहनू । त्यसको सुगन्ध र स्वादलाई पूर्ण रूपले आत्मसात् गर्नू । फल छोडाउँदै गर्दा तिम्रो पूर्ण ध्यान बोक्रा निकाल्नमै केन्द्रित होस् । केस्रा मुखमा राख्दा पूर्ण ध्यान त्यसको स्वादमा दिनू । नन्द बालाले मलाई दिएको सुन्तलामा नौ केस्रा थियो । मैले नौवटै केस्रा पूर्ण जागरुक भएर खाएँ र अनुभव गरेँ, यो कति स्वादिष्ट र पोषणयुक्त थियो । बिनासचेतना फल खाँदा तिमीहरू त्यसको स्वाद र सुगन्धको सुन्दर अनुभूति गर्न र सुन्तला खानुको आनन्द लिन पाउँदैनौ । जीवन यही सुन्तलाजस्तै छ । हाम्रो चित्त र शरीर सदैव वर्तमान क्षणमा केन्द्रित रहनुपर्छ । सचेत अवस्थामा रहने व्यक्ति अरू र आफू स्वयंलाई कष्ट हुने कुनै पनि विचार, क्रिया र वाणीबाट बच्न सक्छ । हृदयमा परस्पर ज्ञान हुनेहरू आपसमा प्रेम गर्छन् । कसो स्वास्ति ? तिमीलाई के लाग्छ ?’
‘आदरणीय गुरुदेव, तपाईंले भनेको सही हो । ज्ञानबिना प्रेम असम्भव छ । एकपल्ट मेरी बहिनी भीमा रातभरि रोइरही । रिसाएर अर्की बहिनी बालाले उसको गाला चड्काइदिई । भीमा झनै रुन थाली । मैले भीमालाई काखमा लिएँ । उसलाई ज्वरो थियो । मैले बालालाई भीमाको निधारमा हात राख्न लगाएँ । बालालाई भीमा रुनुको कारण थाहा भयो । उसका आँखामा प्रेम भरिएर आयो र काखमा राखेर हल्लाउँदै लोरी सुनाउन थाली । भीमा चुप लागी, त्यतिखेर पनि उसलाई ज्वरो थियो । यो कसरी सम्भव भयो भने भीमाको पीडा बालाले बुझी । गुरुदेव ! तसर्थ मलाई लाग्छ, ज्ञानबिना प्रेम सम्भव छैन ।’
‘स्वास्तिको कुरा सही हो । परस्पर समझदारी भए मात्र प्रेम सम्भव छ । प्रेमबाटै स्वीकारभाव आउँछ । बाबुनानी हो, सचेत रहने अभ्यास गर । यसबाट तिम्रो विचार र बुझाइमा गहिराइ आउँछ । अनि तिमी आफैंलाई र अरूलाई बुझ्न पाउँछौ । तब तिम्रो हृदय प्रेमपूर्ण हुन्छ । मैले पाएको सूक्ष्म ज्ञान यही हो ।’
त्यसै दिन सुजाताले उनको नाम ‘बुद्ध’ राखिदिइन् र उनले ज्ञान प्राप्त गरेको पीपलबोटलाई नलकले बोधीवृक्ष नाम दिए । सिद्धार्थले दुवै प्रस्ताव सहर्ष स्वीकार गरे ।
उरुबेलाका बालबालिकापछि असार पूर्णिमाका दिन सारनाथमा आफूलाई प्राप्त ज्ञानबारे पूर्व–सहतपस्वी कौडन्न, महानाम, भद्दीय, बप्प र अस्सजीलाई उनले प्रवचन दिए । सुरुमा उनीहरूले बुद्धप्रति अनास्था प्रकट गरे । ‘सिद्धार्थ, तिमीले शरीर पीडन तप त्यागिदियौ’, कौडन्नले भने, ‘खाना खायौ, गाउँका नवयौवना र बालबालिकासित समय बितायौ । कसरी तिमीलाई सम्बोधि प्राप्त भयो होला ?’
शान्त स्वरमा बुद्धले भने, ‘मित्रहरू, ज्ञानमार्गका अनुयायी सबै जना अतिबाट बच्नु जरुरी छ । विषय वासना (भोगविलास) मा चुर्लुम्म डुब्नु एउटा अति हो, शरीलाई आधारभूत आवश्यकताबाट वञ्चित राख्नु अर्को अति । अतिबाट विफलता मात्र मिल्छ । मलाई प्राप्त ज्ञानमा अतिको कुनै स्थान छैन । खाना लिएपछि नै मेरो स्वास्थ्य सुध्रियो र साधना सफल हुँदै गयो । मेरो तरिका मध्यमार्ग हो । यसले मान्छेलाई ज्ञान, मुक्ति र शान्तिको मार्गतिर अग्रसर गराउँछ । मान्छे दुःखी छ, दुःखको कारण छ, दुःखबाट मुक्ति पाउन सकिन्छ र त्यसको उपाय छ । यी चार आर्य सत्य हुन् ।’
बुद्धका अनुसार पहिलो आर्य सत्य, जन्म, जरा (वृद्धावस्था), रोग, मृत्यु, शोक, क्रोध, द्वेष, चिन्ता, उद्वेग, भय र निराशा सबै दुःख हुन् । प्रियजनसँगको वियोग र अप्रिय जनसँगको मिलन पनि दुःख हो । दोस्रो आर्य सत्य, अज्ञान दुःखको मूल हो । तेस्रो आर्य सत्य, जीवनको सच्चा ज्ञान प्राप्तिपछि दुःख र शोकको निदान हुन्छ । चौथो आर्य सत्य दुःख निदानको उपाय हो । अष्टाङ्ग मार्ग अर्थात् सही ज्ञान, सही विचार, सही वाणी, सही कर्म, सही जीवनयापन, सही प्रयास, सही चेतना र सही स्मृति (एकाग्रता) बाट दुःख निदान गर्न सकिन्छ ।
महान् मानवीय दर्शन
बुद्ध संसारका त्यस्ता महान् गुरु हुन् जसले अन्य धर्मगुरुले झैं आफ्नो विचारलाई अन्तिम सत्य भनेनन् । ‘म मुक्तिदाता होइन, मार्गदर्शक मात्र हुँ । यो तत्काल मैले देखेको श्रेष्ठ मार्ग हो । ध्यान, साधना र अनुभवको गहिराइमा पुगेर तिमीले मेरो भन्दा सही बाटो भेट्न पनि सक्छौ,’ उनी भन्थे ।
बुद्ध शिक्षाको एउटा महत्त्वपूर्ण पाटो हो, अनुभवको गहिराइबाट सत्यबोध गर्नु । मान्छेलाई सत्यबोध गराउने उनको तरिका अनुपम थियो । एकपल्ट एउटी युवतीले उनलाई बेलुकीको खाना खाने निम्तो दिइन् । बुद्धले सहर्ष स्वीकार गरे । ती महिलालाई चरित्रहीन भन्दै गाउँका मुखियालगायतले बुद्धलाई त्यहाँ नजान सुझाव दिए । बुद्धले मुखियालाई सोधे, ‘साँच्चै, उनी चरित्रहीन हुन् ?’
‘हो, तपाईंजस्ता साधु त्यहाँ नजानू नै बेस हुन्छ ।’
बुद्धले उनको एक हात च्याप्प समाते र अर्को एक हातले ताली बजाउनू भने । मुखियाले भने, ‘एक हातले मात्र कसरी ताली बज्छ गुरु ?’ मुसुक्क हाँस्दै बुद्धले प्रतिप्रश्न गरे, ‘त्यसो भए भन्नुस्, तपाईं पुरुषहरू चरित्रहीन नभई कसरी ती महिला मात्र चरित्रहीन हुन सक्छिन् ?’ बुद्धको कुरा सुनेर सबै पुरुष निहुरीमुन्टी ‘न’ भए । यसरी बुद्धले ती महिलालाई निर्दोष मात्र साबित गरेनन्, पुरुषहरूलाई तिनको दोषको अनुभूति पनि दिलाए ।
यस्तो थियो बुद्धको तरिका ।
