‘भुठान’ ले अमेरिका हुत्तिएका भुटानी शरणार्थीको कथामार्फत् यो समयमा बाँचिरहेका ‘मान्छेहरू’ कै स्वतन्त्रता, निर्णय र स्वत्वमाथि विमर्श गर्छ
मान्छेले नाभी गाढिएको ठाउँ बिर्सिंदैन । जसले बिर्सिन्छ, त्यो शान्त हुँदैन । विष्णुबहादुर केसी शान्त छैन । विनोद पौडेल निर्देशित फिल्म ‘भुठान’ मा प्रमुखमध्ये एक प्रमुख पात्र हो– रूख । जसरी हिउँदको धुम्म परेको दिनमा एक्लो उभिएको रूख खिन्न छ, विष्णुको जिन्दगीमा पनि अँध्यारो, केही अभाव र अनेक सुनसान छ । विष्णु–चोलाको हर प्रहरहरूमा ‘दुःखहरू’ छन्, जहाँ सपना र यथार्थ समानान्तर ग्राफमा जाँदैनन्— ती दुई एक महाबिन्दुमा पुगेर चोइटिनुपर्छ अनेक कोण–त्रिकोणहरूमा ।
खैरो सुक्खा भूमिमा ठिंग उभिइरहेको छ– रूख । विष्णु पनि रूखजस्तै एक्लो छ । जसरी रूखमा कुनै पात छैन, विष्णुको जीवनबाट सबै पात झरेका छन्, केही झर्न बाँकी छन् । शिशिरको रूखझैं विष्णुको जीवनबाट पत्झर मौलाएको छ ।
विष्णुलाई उसका हजुरबाले भनिरहन्थे– हुर्किसकेको रूखलाई अर्को ठाउँमा सार्नु हुँदैन, पाप लाग्छ । भुटानबाट निकालिएपछि नेपाल हुँदै अमेरिका सारिएको छ विष्णुको जीवनको जरो । यो पाप कसलाई लाग्छ ? उसलाई थाहा छैन । तर, आफ्नो थातथलोमा सर्न ऊ विभिन्न पटक अमेरिकास्थित भुटानी दूतावासमा फोन गरेर पनि थाकेको छैन । उसलाई भुटान फर्किनु छ । विष्णुको सिडिङ नै ‘रुट आइडेन्टिटी क्राइसिस’ हो ।
२१ औं शताब्दीमा ‘पोलिटिक्स’ र ‘पावर’ कै कारण विकसित देशहरू तनावमा छन् । मान्छे आफ्नो प्राण पसेकै ठाउँमा बस्न पाइरहेको छैन, जुन उसको जैविक अधिकार हो । यही अधिकारबाट वञ्चित छ– मान्छे । यो कस्तो सामाजिक–राजनीतिक संरचना निर्माण गर्यौं हामीले ?
भुटानबाट धपाइएका हजारौं मानिससँगै पूर्वफुटबल खेलाडी (गोल्ड मेडलिस्ट) विष्णु पनि नेपाल आइपुग्यो– २०/२२ वर्ष बस्यो मनमा भुटानै राखेर, देश फिर्तीको सपना अधुरै रह्यो र ‘रिसेटलमेन्ट’ का नाममा अमेरिका पुग्यो । मान्छे आफ्नै जरामा फर्किन चाहने प्राणी रहेछ । जरा फेला नपारेसम्म ऊ भड्किइरहन्छ । संस्कृति, भाषा र पहिचान सायद मान्छेको जिन्दगीकै सबैभन्दा अहम् महत्त्वका विषय हुन् । अमेरिकामा चैन होला, पैसा होला, तर विष्णु किन आफ्नै देश फर्किन मरिहत्ते गर्छ ? जरामा फर्किनु, पहिचान खोजी गर्नु सायद उसको खुसीको पनि जरा हो । त्यसैले ऊ हरेकपटक बर्बराइरहन्छ– भुटान । सिमलको रूख र आमाको एउटा निरीह स्मृतिबाहेक अमेरिकामा पनि त्यस्तो कुनै स्थान छैन, जहाँ विष्णु बाँचेको होस् । विष्णु कुनै देशमा भए पनि विष्णुसँग देश छैन । अमेरिकाले आश्रय त दिएको छ, तर माटो उही भए पनि त्यो माटोमा भुटानको सुगन्ध छैन । अनि भुटानले आफ्नो मान्दैन, नेपाल आए जेलमा बस्नुपर्ने सम्भावना छ । पर्खाल, निषेधबीच केवल निसासिनु ‘विष्णु’ हरूको जिन्दगीको अहम् अध्याय बनेको छ । र, बैजनी सिमाना जीवन–मार्गमा उभिएको छ ।
जीवन, सपना र राजनीतिका अस्थिपञ्जरहरू तहमाथि तह, तहमाथि तह थुप्रिएको छ– ‘भुठान’ मा । फिल्मले ३ पुस्ताको कथा भन्छ– विष्णु, छोरा र नातिनी । सबै सांस्कृतिक र पहिचानको संकटबाट गुज्रिरहेका छन् । ती न देशको हुनसके, न परदेशको । विष्णु एउटै मसिनो धागोमा झुन्डिएर बाँचेको छ– आमाले रोपेको सिमलको रूखको छहारीमा फर्किने । उसका ओठहरू थर्थराउँछन्– जमिन काँपेजस्तै ! आँखा पानी पर्न नसकेको, तर धुम्मिएको बादलजस्तै चिम्सिएको छ । फिल्मको रङ बादलजस्तै ‘ग्लुमी’ (उदास) छ । हिउँदको उपत्यका पनि ‘ग्लुमी’ ! असलमा फिल्म नै ‘ग्लुमी’ छ !
नातिनी गुनगुन नेपालमै जन्मेकी हो, तर अमेरिकामा हुर्केकी । अमेरिकन भइसकेकी उसको आफ्नै अस्तित्व–संकट छ । आफू लेस्बियन भएको उसले स्विकारेकी छे, तर परिवारलाई आपत्ति छ । र, ऊ पहिचानकै संकटबाट गुज्रिरहेकी छे । भन्न त भनिन्छ, अमेरिका प्रजातान्त्रिक राष्ट्र हो । तर, अहिले त्यहाँ जुन सत्ता आएको छ, त्यसले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई प्राथमिकतामा राख्दैन । त्यसैले नातिनी भुटानी संस्कृतिबाट आएको परम्परागत सोचको परिवार मात्रै होइन, सिंगो अमेरिकासँगै लडिरहेकी छे– पहिचानका लागि । बर्फिलो सडकमा ‘गे प्यारेड’ आन्दोलन चलिरहेकै छ ।
मध्यमवर्गीय पुस्ता हुन्– गुनगुनका बा कर्मा र आमा, जो न भुटानको भए, न अमेरिकाको । तिनलाई छोरा नै चाहिएको छ । ती आधुनिक त देखिन्छन्, तर पुरानो संस्कृतिको धङधङी रगतमै छ । सायद छोरी लेस्बियन भएकैले छोराको इच्छा तिनमा पलाएको हो ।
विष्णुकी जेठी श्रीमती छे– कट्टर हिन्दु, भारतबाट आएकी । भन्छे– ‘म भारतबाट भुटान गएँ, भुटानबाट नेपाल र नेपालबाट अमेरिका, तर मैले कहिल्यै आफ्नो धर्म छोड्नेबारे सोचिनँ । धर्म त मेरो सास हो । सास कसरी छोड्न सकिन्छ ?’ श्रीमान् विष्णुलाई सोध्छे– ‘किन अँगाल्यौ क्रिश्चियन धर्म ?’ ऊ भन्छ– ‘यो धर्मबाट चाँडो कतै पुगिएला कि भनेर ।’ तर, त्यो ‘पुग्नु’ कहाँ हो ? सबै अनजान छन् । जेठी श्रीमती कट्टर र रुढिवादी हिन्दुकी प्रवक्ता हो, जसले सिंगो भारत–राज्यको भावना बोकेकी छे । कान्छी श्रीमती र उसको छोरो निरपाङ (अमेरिकन आर्मी) ले क्रिश्चियन धर्म अँगालेका छन्, जो अमेरिकाको प्रतिनिधित्व गर्छन् । ‘भुठान’ मा ‘क्रिश्चियानिटी’ ले मान्छेहरूको दुःखमा टेकेर राजनीति गरिरहेको छ । पाश्चर बेलाबेला विष्णुलाई भनिरहन्छ– यो सिमाना भन्ने केही चिज नै होइन, परमेश्वरको शरणमा आउनुस्, तपाईंलाई सन्चो हुन्छ ! ‘सन्चो हुनु छ भने धर्मको छाता ओढ’ भन्छ पाश्चर, तर कसैले भन्दैन– ‘मान्छे बन ।’
अमेरिकाजस्तो ‘सो–कल्ड’ प्रजातान्त्रिक देशमा पनि रुढिवादका प्रवक्ता हुन्– पाश्चर र कान्छी श्रीमती अनि मान्छेका दुःखमाथि खेल्ने र संसारैभरि इसाई धर्म फैलाउने अर्थोडक्स अमेरिकी प्रतिनिधि । ‘भुठान’ का प्रत्येक पात्र दुःखमै छन् । र, सबै हुन्– जिन्दगीबाट हारेका विचराहरू । कुनै बेलाको हिन्दु हो विष्णु, जो महामृत्युञ्जय मन्त्र पढिरहेको छ । तर, क्रिश्चियन धर्म अँगाले पनि विष्णुको मन सन्चो भएको छैन ।
विष्णुको आत्माको इच्छा छ– अनन्त यात्रामा जाने, जीवन सुरु भएको ‘त्यो’ ठाउँमा जाने ! ‘त्यो’ अर्थात् आमाकै कोखमा फर्किने । जीवनदेखि विछिप्त ऊ आमाकै पेटको भ्रूणझैं सुतेको देखिन्छ धेरै दृश्यमा– त्यहाँ न धर्म छ, न राष्ट्र्, न सिमाना । ऊ केवल न्यानो कोखमा आनन्दको सास फेर्न चाहन्छ । असलमा ऊ ‘मान्छे’ हुन खोजिरहेछ । र, भागिरहेको छ– धर्म, देश, सम्बन्ध र परिबन्धका आपाधापीबाट ।
मुर्दाघर कुरिरहेको अमेरिकी पात्र छ– दाहसंस्कार डाइरेक्टर टम । ऊ पनि जीवनदेखि असाध्यै गलेको छ, एकातिन्क जिन्दगीदेखि दिक्क भएको छ । असन्तुष्टिहरू सुनिन्छन्– बालबच्चाले छोडेर गएकोदेखि युनियनको राजनीतिसम्ममा । ऊ आफैं पहिचानको संकटमा छ । भन्छ– मलाई जिउँदासँग कुरा गर्नै मन लाग्दैन, मरेका मान्छेसँग कुरा गर्न मन लाग्छ ।
जहाँ विष्णु छ, त्यहाँ माया–ममता छैन, सम्बन्धको ‘न्यानो’ छैन । त्यहाँ भागदौड छ, नीरस जीवन छ, मान्छेहरू सास त फेरिरहेका छन्, तर तिनीहरूबाट आत्मा भागेर गएको छ । लाग्छ, मुर्दाघर कुरिरहेको त्यो स्वैरकाल्पनिक वा दुःस्वप्नजस्तो बुढो पात्र साँच्चै मरेका मानिससँग संवाद गर्छ ।
‘भुठान’ ले अमेरिका हुत्तिएका भुटानी शरणार्थीको जिन्दगी–कथामार्फत् यो समयमा बाँचिरहेका ‘मान्छेहरू’ कै स्वतन्त्रता, निर्णय र स्वत्वमाथि विमर्श गर्छ । मान्छे पैसा, पदको पछाडि रफ्तारमा दौडिरहेकै छ, तर असलमा त ऊ मृत्युको बाटोतिर कुदिरहेको छ ।
रेलको लिकमा आत्महत्या गरी आफूलाई सिध्याएको विष्णुको ‘लास जलाउने कि गाड्ने ?’ हिन्दु र क्रिश्चियन धर्मावलम्बी दुई छोरा र श्रीमतीहरूबीच द्वन्द्व छ । त्यो तनावले मुर्दाघर कुरुवा टम हैरान छ । हिउँबीच उभिइरहेको चौरको एक्लो रूखमा पनि आगो लाग्छ । त्यो आगोको मुस्लो गुनगुनको सपना हो । सपनामै टम गुनगुनलाई भन्छ– ‘म तिम्रो गर्भवती आमाको गर्भमा जान सक्छु ?’ टम सायद त्यो भ्रूणको आत्मामा पस्न चाहन्छ । उसको परिवेश विसंगतिहरूले घेरिएको छ ।
मुर्दाघरमा आगो लागेको छ । विष्णुको शवमा अचानक र अप्रत्याशित आगो लागेपछि टम भन्छ– ‘बोसो र कोलाकोला खाएको नतिजा हो यो ! जीवनबाट आजित र एक्लो दाहसंस्कार डाइरेक्टरले पो आगो लगाएको हो कि ? वा बोसो पग्लेपछि बिजुली शट भएर लागेको हो ?’ फिल्मले उत्तर दिँदैन । डाइरेक्टर गुनगुनलाई भन्छ– ‘यो संसारमा यत्ति धेरै रहस्यहरू छन्, जुन तिमी–हामीले कहिल्यै थाहा पाउने छैनौं ।’
‘भुठान’ को वन–लाइन स्टोरी भन्छ– संसार पीडामा छ, मान्छेहरू तनावको भारी बोकेर जीवनको उकालोमा यात्रारत छन् । त्यहाँ निषेध र निषेधका पर्खालहरू मात्रै छन् । विछिप्त छ– समाज/समय र भयानक दुरुह छ– जीवन । मान्छेले आफ्नै माटोमा टेक्न पाएको छैन । त्यहाँ द्वन्द्व छ, धर्म छ, राजनीति छ । ‘सोकल्ड’ बौद्धिकहरू बौद्धिकताको आडमा मान्छेमाथि अत्याचार गरिरहेका छन्, ‘बौद्धिकताविहीन’ हरू द्वन्द्व वा धर्मबाट पीडित छन् । जीवनमा सुख चियाउने खटप्वाल छैन । त्यहाँ मान्छेको अस्तित्व गायब छ, मान्छेबाट ‘मान्छे’ हराएको छ । यस्तोमा विष्णुको सुखद परिकल्पना छ– यो संसारभन्दा बरु आमाको न्यानो कोखमै सुख थियो कि !
‘ग्लुमी’ संसारको कथा । घर हराएको मान्छेको कथा । पहिचान गुमाएको मान्छेको कथा । असलमा जीवन ग्लसी छैन, त्यहाँ खस्रा तहहरू छन् । मान्छेले लुकाएका तहहरूमा निस्सिम अँध्यारो छ । ‘भुठान’ ले ‘ग्लुमी विन्टर’ का रङहरूमार्फत् जीवनको कथा भन्छ, जहाँ रूखबाट पातहरू खस्छन्, वातावरण खैरो छ । मान्छेका दुःखहरूको साक्षी बसेको बुढो रूख, लाग्छ एक कथावाचक हो ‘भुठान’ को ।
मान्छे संसार–यात्रा गर्छ, तर रूख त्यहीँ उभिएर उसलाई ढुकिरहन्छ । रूखलाई सबै कथा थाहा छ । कत्ति धेरै पात्रको साक्षी बसेको छ ऊ । रूखले आफ्नो गर्भगृहमा कथाहरू बोकेर बाँचेको हुन्छ, उसले धेरै एक्ला ‘विष्णुहरू’ देखेको छ, तिनीहरूसँग संवाद गरेको छ । ‘भुठान’ को सिमलको रूख एक पात्र हो, जो तिनै ‘विष्णुहरू’ को ‘दुःख’ र ‘तनाव’ को साक्षी–भावको लामो कहानी हो ।
पात्रको मानसिकता र फिल्मको ‘स्याड’ मौसमले ‘भुठान’ को पूर्ण रङ मट्मैलो अनि ‘ग्लुमी’ बनेको छ । फिल्म भन्छ– मान्छेको जिन्दगी नै ग्लुमी छ ।
