गीति–कथा बनाउन नवीनले समाएको शैली ‘नवीन’ छ । सुरुमा उनी कथा खिच्छन्, अनि मात्रै खिचिएका ती कथामा गीत लेखिन्छ ।
गीतमार्फत कथा सुनाइरहेका निर्देशक नवीन चौहानको फिल्म ‘ऊनको स्वीटर’ लाई गायिका झुमा लिम्बूले गाएको ‘काफ्ले’ गीतले प्रचार गरिदियो ।
‘ऊनको स्वीटर’ र गीति–यात्राबारे नवीनसँग रीना मोक्तानको वार्ता :
कोभिडयता निर्देशक नवीन चौहानले ‘आर्टमान्डु’ मार्फत थुप्रै गीति–कथा पस्किइरहे । ‘के माया लाग्छ र’, ‘तीनपाते’, ‘घुमीघुमी’, ‘सुनाखरी’, ‘बटौली’, ‘चन्द्रमा’ लगायतका गीत व्यापक हिट भए । यी हरेक गीतमा निर्देशक चौहानले सुन्दर कथा मिसाए, सामान्य जनजीवन र यससँग जोडिएका आयाम देखाए ।
आर्टमान्डुका चर्चित गीतका पछाडि बसेर काम गर्ने उनै चौहानले सानो क्यानभासमा मसिनो कथा पोत्दै आए । नेपाली जीवनशैलीका नोस्टालजियादेखि सौन्दर्यसम्म पोखे । आर्टमान्डुका गीत सुन्ने कत्तिले चौहान नचिन्दा हुन् तर ती गीतका हर मेलोडी, कथाभित्रको भाव, अन्तराहरूमा निर्देशक चौहानको परिचय लुकेको छ । चौहानले अहिले कथा भन्न ठूलो क्यानभास भेटेका छन्– ‘ऊनको स्वीटर’ ।
गीति–कथा बनाउन नवीनले समाएको शैली नवीन छ । सुरुमा उनी कथा खिच्छन् अनि मात्रै खिचिएका ती कथामा गीत लेखिन्छ । कथाका भावना शब्दमा पोखिँदा म्युजिक भिडियो र गीतको तादम्य सुन्दर सुनियो ! चौहानले यही शैली पछ्याउँदै आर्टमान्डुका गीत बनाए । फर्केर हेर्दा नवीनलाई लाग्छ, उनी त्यही बेलादेखि फिल्म निर्माण अभ्यास गर्दै थिए ।
यही शैलीले फिल्म बनाउन नवीनलाई सहयोग गर्यो । ‘फिल्म डिजाइन गर्दा मलाई त्यही शैलीले सहयोग गरेको हो । खासमा फिल्ममा कस्तो रङ बस्छ, कस्तो पार्श्व संगीत बन्ला भन्ने थाहा खिचिरहँदा हुन्थेन । मसँग त चरित्र, क्यामेरा र प्रोडक्सन थियो । त्यतिका आधारमा काम गरिरहेको थिएँ,’ चौहान भन्छन्, ‘त्यतिबेला म्युजिक भिडियो गर्दा त्यो मेरो शैली अतरंगी देखिए पनि फिल्म निर्माणमा भने मिल्न आइपुग्यो । खासमा त्यो शैली मेरो पाठशाला रहेछ ।’
निर्देशक चौहानलाई यो शैलीसँग भने एउटा गीतले ठोक्काइदिएको हो । आर्टमान्डु खोलेको करिब ६ महिनापछि निर्देशक नपाएर हत्तु भएका बेला चौहानलाई गीतको निर्देशन आइलाग्यो । गीत थियो– ३ मिनेटको, कथा बन्यो १२ मिनेटको । जसोतसो कथालाई तीन मिनेटमा समेटेर ‘लुकीछिपी’ बोलको गीत सार्वजनिक गरे । काँटछाँटमा बाँकी भएका त्यही गीतमाथि बनेको ‘के माया लाग्छ र ?’ ले अचम्म शैलीमा निर्देशक चौहानसहित आर्टमान्डुलाई चिनायो ।
त्यसपछि नै चौहानले पहिले भिडियो खिच्ने अनि गीत बनाउने ट्रेन्ड थाले । ‘त्यो ट्रेन्ड मेरो सिग्नेचरजस्तै भयो । तर, त्यो मैले मेरो सुविधाका लागि गरेको हुँ,’ चौहान सुनाउँछन् । यही शैलीले गर्दा फिल्म बनाउने घोषणा गरेको निकै समयसम्म पनि नवीनसँग फिल्मको स्क्रिप्ट थिएन । दिमागमा कथा थियो तर हातमा लिखित खाका केही थिएन । तर, स्क्रिप्ट नै फिल्मको मेरुदण्ड हो भन्ने बुझेका उनले बीचमा दिमागमा भएका कथालाई कापीमा उतारिदिए ।
‘ऊनको स्वीटर’ मा काफ्ले र गुरुङसेनी चरित्रको प्रेमकथा छ । पाँचथरमा जन्मे–हुर्केका नवीनले फिल्ममा भौगोलिक विविधता, सांस्कृतिक पक्ष मिसाएका छन् । आफू भिजेको समाजलाई नै फिल्ममा देखाउँदा तथ्यपरक हुन्छ भन्ने उनले जानेकै थिए । त्यसैले पाँचथरका सौहार्दपूर्ण वातावरण, त्यहाँको सौन्दर्य देखाउन काफ्ले र गुरुङसेनीको कथा टिपे । उनी आफैं पनि लिम्बू गाउँमा हुर्के । उनको घरसँग आँगन जोडिएको छ– लिम्बू परिवारको ।
त्यसैले पनि आफूनिकट समुदाय पक्रँदै फिल्म बनाए । ‘पाँचथर भन्नेबित्तिकै लिम्बू समुदायको बाक्लो बस्ती छ । त्यस्तो भन्दैमा अन्य समुदाय पनि त्यहाँ छन् । त्यहाँ फरक समुदाय अटाएका छन्,’ नवीनले भने, ‘उहाँहरूको संस्कार, संस्कृतिसँग म निकै नजिक छु, ती कुराहरू मलाई थाहा छ । यद्यपि म अर्कै समुदायको हुँ तर मलाई आफ्नोभन्दा लिम्बू समुदायबारे धेरै थाहा छ । त्यसैले त्यो समुदायको सौन्दर्य किन नदेखाउने सोचेरै यो कथा बन्नुपर्छ भन्ने लाग्यो ।’
फिल्ममा महिला र पुरुषबीचको प्रेमसँगै, सिमाना र समाजका विभिन्न पर्खालहरू देखाउने प्रयास गरिएको छ । तर, यी पर्खाल देखाउन निर्देशक चौहानलाई हम्मेहम्मे पर्यो । कारण हो, फिल्मको तीन चरणको छायांकन !
‘काफ्ले’ गीतले जति चर्चा कमाए पनि फिल्म–छायांकनको दुःख नवीन र उनका टिमलाई मात्रै थाहा छ । तीन पटक छायांकन गर्दा निर्माण टिमको खर्च बढ्यो । छायांकन सक्न ६ महिना लाग्यो । जेठ १७ मा छायांकनका लागि काठमाडौं छाडेको टोलीले फिल्म खिचिसक्दा कात्तिक १७ भयो । तर, उनी फिल्म खिचाइको यो पर्खालहरूमै पनि जीवन देख्छन् ।
फिल्म छायांकनबीच प्रमुख कलाकार विपिन कार्कीकी आमा बितिन् । यसबीच निर्माण टोलीमा समावेश ५ जनाको छोरी जन्मिए । निर्देशक चौहान आफैं छोरीका बुबा बने । ‘यहीबीचमा पञ्चकन्याको आगमन भयो । जन्म, मृत्यु, सबै उतारचढाव । आखिर जीवन नै जन्म र मृत्यु बीचमा छ । यो सबै ऊनको स्वीटरले भोग्यो,’ पुराना समय सम्झँदै भने, ‘धेरै भावनात्मक उथलपुथलबीच फिल्म बन्यो ।’
खासमा चौहानले म्युजिक भिडियो निर्देशन सुरु गरेदेखि नै आफूलाई कहिल्यै कथावाचक ठानेनन् । कथावाचन गहन विषय हो भन्ने ठानेरै छुर्पी व्यापारमा लागे । त्यसअघि त नाटकको नियमित दर्शक, अभिनयतिर पनि रुचि । रंगमञ्चमा २/३ वर्ष भोलन्टियर पनि गरेका थिए । तर, अभिनय आफ्नो बाटो होइन भन्ने बुझेरै व्यापार रोजेका थिए । कला क्षेत्रलाई बिर्सेर ३/४ वर्ष व्यापारमा रमाए ।
व्यापारमा जम्न थालेपछि मनमा एउटै प्रश्न खेल्न थाल्यो, ‘अब के त ?’ पैसाले मात्रै सन्तुष्टि नमिल्ने रहेछ । रंगमञ्चका साथीहरू त्यतिन्जेल कोही फिल्ममा त कोही रंगकर्ममा अगाडि बढिसकेका थिए । कलामा फर्कने तर कसरी ? ‘स्टोरी टेलिङ’ दिमागमा थिएन । त्यसैले निर्माता बन्ने सोचेर गीत/लघु फिल्म निर्माण गर्ने सोचसहित ‘आर्टमान्डु’ खोले ।
च्यानल त खोले तर राख्ने कन्टेन्ट थिएन । अनि सुरु भयो म्युजिक भिडियोको निर्देशक खोज्ने यात्रा । एक जना साथीले गीत गर्ने पक्का भयो । तर, भिडियो बनाइदिने निर्देशक पाएनन् । कति निर्देशकले धेरै पैसा मागिदिने, कतिले झुलाइदिने । पर्खेको पर्ख्यै ! कम्पनी खोलेको ६ महिनासम्म एउटा भिडियो पनि बनेन । एक दिन थिएटर गर्दाका दिनमा आफैंले बनाएको लघु फिल्म हेर्दै थिए नवीन । गीत गर्ने अफरसहित ठोक्किएका साथीले भने, ‘ओहो ! तपाईं नै निर्देशक हुनुहुँदो रहेछ त, हाम्रो गीत तपाईं नै गर्नुस् ।’
यसरी निर्देशक खोज्दाखोज्दै नवीन आफैं त्यो जिम्मेवारीमा सरिक भए । ‘कला साहित्य मनपर्छ भन्ने थाहा भयो । तर, त्यतिबेला निर्देशक, लेखक, कलाकार बन्न सक्दिनँ भन्ने भयो । कम्तीमा व्यापार गर्न सक्छु है भन्ने लाग्यो । जसरी पनि कलासँग म नजिक हुनुपर्छ भनेर आर्टमान्डु खोलेको थिएँ, ‘मुसुक्क हाँस्दै विगत सम्झे, ‘आर्टमान्डुमा गीतबाट सिक्दै आएँ । म सधैंभरि फिल्मकै वरपर थिएँ, कुनै न कुनै रूपमा फिल्मसम्बन्धीकै मान्छे रहेछु– डेस्टिनीजस्तो ।’
गीतमार्फत कथा भन्दै आएका नवीनलाई अहिले गीतहरूले नै साथ दिएको छ । ‘काफ्ले’ ले फिल्मको प्रचारमा सहयोग गर्यो । ‘फूल’ होस् या ‘मखमली’ फिल्मको चर्चा यी गीतहरूकै कारण भयो । यस पटक नवीनले फिल्मको प्रचार शैलीमै पनि नवीन बाटो अपनाए । त्यो हो, सुजन चापागाईंसहितको सांगीतिक कन्सर्ट ! गायक सुजन चापागाईंले गीत गाए, एलेक्स विश्वकर्मा र परीक्षा लिम्बूले कम्मर मर्काए ।
खासमा फिल्मको प्रचारभन्दा पनि सांगीतिक टुरका रूपमा दर्शकसँग भेट गरिरहँदा चौहानलाई आफूले अहिलेसम्म गरेका कामहरूको उत्सव गरेंझैं अनुभव भयो । ‘फिल्म प्रचार गर्नुपर्छ भनेर विभिन्न सहर पुगेनौं । तर, जहाँ पुगियो हामीले गरेका कामको उत्सव मनाएझैं भयो, दर्शकले जसरी हरेक सहरमा साथ दिन आउनुभयो, त्यो नै हाम्रा लागि उत्सव हो,’ नवीनले भने ।
